nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दोलखामा एमाले–माओवादीबीच झडप, उम्मेदवारका छोराको हत्या

२७ वैशाख, काठमाडौं । दोलखामा मंगलबार राति एमाले–माओवादी केन्दका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गौरीशंकर गाउँपालिका –१ जुँगु दहबारीमा भएको झडपमा स्थानीय कुलबहादुर तामाङको ज्यान गएको हो । तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बीच बाटोमा ज्यान गएको हो ।तामाङ हुप्पाका स्थायी बासिन्दा हुन् । तामाङ गौरीशंकर गाउँपालिका २ का वडा सदस्य  उम्मेदवार गोरे तामाङका छोरा हुन् ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालका अनुसार, झडपमा गौरीशंकर गाउँपालिका–२ का एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । उनलाई बुधार राति नै उपचारका लागि काठमाडौं ल्याइएको छ । बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक हुन् ।

दोहोरो झडपमा परी वडा अध्यक्षका उम्मेदवार भरत खड्कालगायत आधा दर्जन कार्यकर्ता घाइते भएको माओवादीको दाबी छ ।

एमाले–माओवादी दुवै पक्षले घटनामा एक अर्कालाई दोष दिएका छन् । माओवादीले चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि झडप भएको बताएको छ ।

तर, एमालेले भने कुलबहादुर तामाङसहितको समूह होटलमा बसिरहेको अवस्थामा माओवादी कार्यकर्ताले आक्रमण गरेको बताएको छ ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी कटवालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । घटनापछि जुँगुमा त्रास फैलिएको छ । अवस्थालाई सामान्य स्थितिमा फर्काउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबरबाट