nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थैलोमा मैलो, हातमा पैसा

मकैबारी टोलमा पुग्ने जो कोही पनि मोहित हुन्छन् । सफा गाउँ, स्वच्छ वातावरण मकैबारी टोलको पहिचान नै बनिसकेका छन् । मकैबारी टोल मकवानपुरको फाखेल गाविस वडा नम्बर ६ मा पर्छ । टोल सफा गर्न गाउँका भद्रभलाद्मी बसेर नियम बनाएका पनि होइनन् । गाउँका स्थानीयहरुकै सक्रियतामा भएको हो, जो नारी सीप सृजना केन्द्रको सहयोगमा संचालन भएको देउराली सामुदायिक छलफल केन्द्रका सहभागी थिए । मकैबारी टोलका बासिन्दाले आ–आफ्नो घर छेवैमा बाँस गाडेका छन्, । गाडेको बाँसमा दुई वटा थैलो, एका तिर कुहिने र अर्कातिर नकुहिने फोहोर जम्मा गर्न मिल्ने गरी बोरा तुन्द्रुङ्ग झुण्ड्याइएको छ । गाउँका कतिपयले दुई तीन घरको बीचमा पर्ने गरी फोहार जम्मा गर्ने साझा थैलो राखेका छन् । फोहोर जम्मा गर्न कत्ति पनि खर्च नगरी घरमा चामल मकै ल्याउँदा खाली भएको थैलोको सदुपयोगबाटै सम्भव भएको देख्दा कमैबाचरी टोलकी स्थानीय रेनु गुरुङ मख्ख छिन् । आजभोलि कसैले टोलमा प्लाष्टिक, कागज र अन्य फोहोर फालेको देख्ने वित्तिकै लक्ष्मी गुरुङ सचेत पारिहाल्छिन् । गुरुङ गाउँका बालबालिकाहरुलाई फोहोर थैलोमै हाल्नुपर्छ भनेर पनि सिकाउँछिन् । घरकालाई त उनले बानी नै पारिसकेकी छिन् ।

थैलोमा जम्मा गरेको फोहोर बढिमा हप्तैपिच्छे गाउँलेहरु झिक्छन् । कुहिनेलाई कम्पोष्ट मल बनाउँछन् । नकुहिनेलाई फेरी एकै ठाउँमा जम्मा गरेर राख्छन् । त्यस्तो फोहोर विक्री गरेर आम्दानी गर्ने उनीहरुको सोच छ । फाखेलको छिमेकी थाहानगरको बज्रवाराहमिा प्लाष्टिकजन्य फोहोर प्रशोधन उद्योग खुलेको छ । अब त्यस्ता फोहोर त्यही लगेर बेच्ने छलफल केन्द्रको सोच छ । कुहिने फोहोरबाट बनेको मलले मकैबारी टोलका महिलाहरुको करेसाबारीमा तरकारी सप्रेको छ । तरकारी बिक्रिबाट पनि उनीहरुले आफ्नो आम्दानी बढाउँदैछन् । फोहोर व्यवस्थापनको विषयमा शान्ति गुरुङले राम्रोसंग बुझेकी छिन् । किनभने उनले छलफल केन्द्रमा यसको फाइदा र बेफाइदाको विषयमा खुलेर छलफल गरेकी छिन् । फोहोर व्यवस्थापनको सवाल छलफल केन्द्रमा उठेपछि भएको प्रतिवद्धताले गाउँमा यस्तो परिवर्तन संभव भएको छलफल केन्द्रकी सहजकर्ता निर्मला लोले बताइन् । देउराली सामुदायिक छलफल केन्द्रमा अहिले २२ जना सहभागीछन् । उनीहरु फोहोर व्यवस्थापन घरैमा गर्न सके सबैलाई फाइदा हुने बताउँछन् । अहिले गाउँभरीका ३० घरमा यसरी नै फोहोर संकलन गरी सरसफाई गर्ने अभियान संचालन भएको छ । ‘व्यवहारिक ज्ञान सिक्ने थालो छलफल केन्द्र हो, यहाँ कर्तव्य र अधिकारलाई राम्रोसंग बुझाइन्छ’– सहजकर्ता निर्मलाले भनिन् । केन्द्रमा विशेष गरी सामाजिक मुद्दाको विषयमा छलफल हुने गर्दछ । महिला हिँसा विरुद्ध, सरसफाई सचेतना, बाल विवाह विरुद्ध, जन्मदर्तालगायतको विषय छलफलको मुख्य मुद्दा हुन् । गाउँलेहरुले वातावरण सरसफाईसंगै व्यक्तिगत सरसफाईमा पनि उत्तिकै जोड दिएको सहजकर्ता लोले बताइन् । वातावरणको साथै व्यक्तिगत सरसफाई नगरे त्यसको अर्थ नहुने विषयमा सहभागीहरुले राम्रोसंग बुझेको सहजकर्ता लोले सुनाइन् । 

सरसफाईमा नमुना काम गर्दै अघि बढेको देउराली सामुदायिक छलफल केन्द्र फाखेलको पहिलो समूह हो । फाखेलमा नारी सीप सृजना केन्द्रको सहयोगमा यस्ता नौ वटा छलफल केन्द्र छन् । अहिले फाखेलका अरु वडामा रहेका छलफल केन्द्रका सहभागीहरुले पनि देउरालीकै दुरुस्त सिको गर्न थालेका छन् । छलफल केन्द्रहरुको फाखेल गाउँस्तरीय संजाल छ । संजालको प्रत्येक महिना नियमित बैठक बस्छ । बैठकमा एक÷अर्को छलफल केन्द्रले गरेको राम्रो कामको समिक्षा हुन्छ । यहि समिक्षाबाट अरु समूहले राम्रा काम पछ्याउँछन् । गाविसले छुट्याउने लक्षितवर्गको बजेटको खर्च विधि र त्यासको योजनाको विषयमा पनि बैठकमा छलफल र निर्णय हुन्छ । अहिले फाखेलको वडा नम्बर ५ मा रहेको महिला जागरण सामुदायिक छलफल केन्द्रले पनि सरसफाईमा लाली गुराँसको मोडल अपनाइरहेको छ । ‘हामी टोल सफा गर्ने विषयमा छलफल केन्द्रबाटै प्रतिवद्ध भएर थालनी गरेका हौं’– सहजकर्ता रिया लामाले भनिन् । सहजकजर्ता रिया, गाउँमा सरसफाई अभियानको नेतृत्व छलफल केन्द्रका सहभागीहरुले गरेकोमा खुशी छिन् । ‘अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्रले संचालन गरेको महिला नेतृत्व परियोजनाको उद्देश्य पनि नेतृत्व लिउन् भन्ने नै हो’– गाविस सामाजिक परिचालक रेशम कुमारी घिसिङले भनिन् । सरसफाई अभियान संचालन गर्नको लागि छलफल केन्द्रका सहभागीहरु मात्र हैनन्, आजभोलि गाउँका अगुवाहरु पनि लागी परेकाछन् । वडा नागरिक मञ्च, बाल संरक्षण समिति, सहकारीका सदस्यहरुले पनि गाउँ सफा गर्ने अभियानमा हातेमालो गरेको सामाजिक परिचालक घिसिङले बताइन् । छलफल केन्द्रको नेतृत्वमा भएको अभियानलाई प्रसंशनीय कार्यको रुपमा लिएको फाखेल गाविसका प्रशासनिक सहायक हिरा बलामीले प्रतिक्रिया दिए ।
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।