Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका अब विहान ९ बजेबाटै खुल्ने
वडाबाटै सम्पत्ती कर तिर्न पाइने, सामाजिक सुरक्षा बैकबाट, पञ्जिकरण अनलाइन

मकवानपुरको थाहा नगरपालिकाले अब विहान ९ बजेबाटै सेवा प्रदान गर्ने भएको छ । थाहा नगरपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा आएका    हरिलाल पुरीले पहिलो कर्मचारी बैठकबाट यस्तो निर्णय भएको जानकारी दिए । निर्णय आउँदो कार्तिक १ गतेबाट कार्यान्वयन हुने कार्यकारी अधिकृत पुरीले बताए । नगरपालिकामा केही नयाँ काम गर्नु आवश्यक रहेको बताउँदै कार्यकारी अधिकृत पुरीले सेवा समय बढाइएको जानकारी दिएका      हुन् । यसरी विहान ९ बजेबाटै कार्यालय खुल्ने थाहानगर जिल्लाकै पहिलो स्थानीय तह भएको छ । 

कार्यालय समयमा कर्मचारीहरुले इमान्दार भएर काम गर्न कार्यकारी अधिकृत पुरीले निर्देशन दिएका छन् । थाहा नगरपालिकामा कर्मचारीहरुको हाजिरी व्यवस्थापन गर्नको लागि इलेक्ट्रोनिक हाजिरी संचालनमा ल्याइने भएको छ । त्यस्तै नगरपालिकामा हाजिर नभइ कामकाजमा गए त्यस्तो कर्मचारीको विवरण नगरपालिकामा सेवाग्राहीले देखिने गरी राखिने र अद्यावधिक गरिने भएको छ । यसले नागरिकलाई सेवा लिन सहज हुने विश्वास लिइएको छ । कार्यालयमा हाजिर भएका तर कामको शिलशिलामा कहिँ कतै जान परे पनि नगरपालिकामा सबैले देखिने गरी को कर्मचारी कहाँ गएको कुन समयमा कार्यालयमा फर्कछन्, कोबाट स्वीकृत लिएर गएको हो उक्त विवरण पनि राखिने नगरपालिकाले जनाएको छ । त्यसो त सबै      कर्मचारीको नाम, पद तथा सम्पर्क नम्बर समेत सेवाग्राहीको पहुँचमा हुने गरी नगरपालिका परिसरमा सार्वजनिक    गरिने छ । 

कर्मचारीहरु विदामा बस्दा वा काजमा जाँदा स्वीकृत कोबाट गराउने भन्ने विषयमा अन्यौलमा नपर्न   कार्यकारी अधिकृत पुरीले आग्रह गरेका छन् । कार्यकारी अधिकृत पुरीले भने–‘वडा सचिवहरुले वडा अध्यक्षबाट, नगरपालिकाका कर्मचारीहरुले   कार्यकारी अधिकृतबाट र कार्यकारी अधिकृतले मेयरबाट स्वीकृत गराउनु   पर्छ ।’ सबै कर्मचारीको एकता र लगनशीलताले नै चुस्त सेवा प्रदान गर्न सकिने भएकोले नगरका सबै विषयगत शाखाको प्रशासनिक व्यवस्थापन नगरपालिकाकै प्रशासनले गर्ने उनले बताए ।

नगरपालिकाबाट प्रदान हुने सेवामा ‘कमेन्ट’ नआउने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिइएको छ । नक्शापास तथा अन्य प्रक्रियाहरुमा समेत गुनासो आइरहेकोले नागरिकहरुलाई टोकन प्रणाली मार्फत सेवा प्रारम्भ गरिने पुरीले बताए । आफू र आफ्ना कर्मचारीहरुबाट प्रदान हुने सेवाको ‘क्वालिटी र क्वान्निटी’ मा कुनै पनि सम्झौता नहुने उनको प्रतिवद्धता रहेको छ । नगरपालिकाले संचालन गरेको हरेक काम कारवाही पारदर्शी हुनुपर्ने भएकोले आफ्नो शाखा र फाँट तथा वडाबाट भएको प्रगती विवरण कार्यालयको सूचना शाखामा जानकारी गराउन आग्रह गरे । यस्तो विवरण वेभसाइट र नगर बुलेटिन मार्फत सार्वजनिक गरिने थाहा नगरपालिकाले जनाएको छ । कार्यकारी अधिकृत पुरीले नगरका लाभग्राही भूकम्पपीडितको विवरण डिजिटल रुपमा अद्यावधिक गरी सम्झौता तथा लाभग्राहीको सहयोग रकम निकासामा गम्भीर भएर लाग्न वडा सचिवहरुलाई आग्रह गरे । 

वडाबाटै सम्पत्ती कर तिर्न पाइने

छ वटा गाविस एकीकृत भएर घोषणा भई कार्यान्वयन भएको थाहा नगरपालिकामा अब वडाबाटै एकीकृत सम्पत्ती कर तिर्न सकिने व्यवस्था मिलाइने भएको छ । कार्तिक महिनाबाट यो सेवा संचालन गर्नका लागि तयारी थालिएको कार्यकारी अधिकृत हरिलाल पुरीले बताए ।

१२ वटा वडा रहेको थाहामा अहिले संचालनमा रहेका छ वटा संयुक्त वडा कार्यालयबाट यो सेवा कार्तिकबाटै शुरु गरिने  कार्यकारी अधिकृत पुरीले जानकारी दिए । उनले भने–‘यसरी शुरु गर्न लागिएको सेवा मार्फत जुनसुकै वडाबाट पनि जुनसुकै वडाको कर तिर्न सकिने व्यवस्था गरिनेछ ।’ आग्राको सेवाग्राही काठमाण्डौबाट कर तिर्न आए, उनलाई चित्लाङ नजिक पर्छ भने उनले त्यहीबाट कर तिर्न सक्छन्–पुरीले भने । 

थाहा नगरपालिकामा अहिलेसम्म  एकीकृत सम्पत्ती कर तिर्नको लागि नगरपालिका कार्यालय नै पुग्नु पर्ने बाध्यता छ । नगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ बाट एकीकृत सम्पत्ती कर लागु गरेको हो । 

सामाजिक सुरक्षा बैकबाट, पञ्जिकरण अनलाइन

थाहा नगरपालिकामा एकीकृत भएका गाविसहरुका सामाजिक सुरक्षा लाभग्राहीको पनि सामाजिक सुरक्षा भत्ता बैकबाटै प्रदान गरिने भएको छ । आर्थिक वर्ष २०७३-०७४ बाट सामाजिक सुरक्षा बैङ्किङ प्रणालीबाट वितरण थालेको थाहाले एकीकृत भएका आग्रा, टिष्टुङ र चित्लाङका लाभग्राहीलाई पनि बैक मार्फत नै भत्ता वितरण गर्ने भएको हो । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता तिहार अघि नै वितरण गर्ने तयारीमा जुटेको छ । 

यसैबीच थाहा नगरपालिकामा व्यक्तिगत घटना दर्ता अनलाईनबाटै गर्न थालिएको छ । नगरबासीको जन्म, मृत्यू, बसाइसराई, विवाह र सम्बन्ध विच्छेदको घटना अनलाइनबाटै गर्न थालेको हो । अहिले थाहा नगरपालिका वडा नम्बर ११ र १२ बाट यो सेवा प्रारम्भ भएको वडा सचिव पूर्ण गोलेले    जानकारी दिए । मकवानपुर जिल्लामा थाहा नगरपालिका अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने पहिलो र एक मात्र स्थानीय तह हो ।