Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा पड्काउने हैन, तर्साउने एम्बुस

मकवानपुरको थाहा नगरपालिका वडा नं. ५ वडा कार्यालय नजिकै ४ चैत्र साँझ विद्युतीय धराप (एम्बुस) फेला परेको छ । वडा नं. ५ का वडा अध्यक्ष विष्णुबहादुर गुरुङको घरदेखि पाँच सय मिटरको दुरीमा बाटो छेउमा ४ चैत्र साँझ ५ बजेतिर एम्बुस फेला परेको वडा अध्यक्ष गुरुङले बताए । एम्बुस भनिए पनि पड्किने अवस्थामा भने नभएको र स्थानीयमा त्रास फैलाउन राखिएको उनले जानकारी दिए । मट्टितेलबाट चल्ने स्टोभको ट्याङ्कीमा प्वाल पारेर ३ फेजको तार जडान गरी एम्बुस राखिएको थियो । 

स्थानीय हिँड्ने बाटोमा तार जोडिएको अवस्थामा स्टोभको ट्याङ्की देखेपछि स्थानीयले तत्काल वडा अध्यक्षलाई खबर गरेका थिए । वडा अध्यक्ष गुरुङ कार्यालयको काम सकेर सोही बाटो हुँदै घरतर्फ जाँदै थिए । पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले जनप्रतिनिधि लक्षित गतिविधि गरिरहेको समाचार आइरहेकै बेला स्थानीय तहका वडा अध्यक्ष हिँड्ने बाटोमै एम्बुस फेला परेको हो । उक्त एम्बुस पड्काउने गरी नभई तर्साउने गरी राखिएको वडा अध्यक्ष गुरुङले बताए । वडा अध्यक्ष स्वयम्ले स्टोभको ट्याङ्कीमा ३ ठाउँबाट तार जोडिएको अवस्थामा देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक ध्रुबप्रसाद सिलवालको नेतृत्वमा सीमभन्ज्याङ प्रहरी चौकीबाट गएको टोलीले उक्त विद्युतीय सामग्री पड्निे अवस्थामा नरहेको पुष्टि गरेको थियो । पड्किने अवस्थामा नरहेको भनिए पनि अहिले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ । ‘सर्वसाधारणलाई त्रास फैलाउने गरी विद्युतीय सामग्री राखिएको रहेछ, हामीले कब्जामा लियौं’ पालुङका प्रहरी प्रमुख सिलवालले भने । पछिल्लो समय थाहा नगरमा नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को गतिविधि बढ्दै गएको देखिएको छ । 

२९ साउनमा उक्त पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै थाहानगरको टिस्टुङ विद्यार्थी बोक्न प्रयोग गरिने बस जलाएको थियो भने २९ फागुनमा थाहा नगरकै नयाँगाउँमा ट्रकमा आगजनी गरिएको थियो । १४ असोजमा थाहा नगरकै केन्द्र मानिने थानाबजारस्थित मालपोत कार्यालयमा तोडफोड भएको थियो ।