Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा कार्यविधि पछ्याउँदै टोलटोलमै सामाजिक सुरक्षा भत्ता 

मकवानपुर थाहा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाका टोल–टोलमै पुगेर वितरण शुरु गरेको छ । कार्यविधि अनुसार दोस्रो चौमासिकको भत्ता टोलमै पुगेर वितरण थालिएको हो । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको लकडाउनका कारण लाभग्राहीहरु बैंकसम्म पुग्न समस्या भएपछि बैंककै प्रतिनीधिसहित वडाका टोल–टोलमै पुगेर भत्ता वितरण थालिएको हो । 

थाहा नगरपालिकाको वडा नम्बर ६ र ७ बाट वितरण कार्य शुभारम्भ गरिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनले भने,–‘अन्य वडामा पनि वितरणका लागि बैंकहरुसंग छलफल भैसकेको छ ।’ 

लकडाउनका बेला भत्ता नै राहत

दुई वडाबाट वितरण थालिएको भत्ता वितरण कार्य प्रभावकारी भएको जनप्रतिनीधिहरुले बताउका छन् । थाहा नगरपालिकाको वडा नम्बर ६ का धेरै लाभग्राहीको त घरघरैमा पुगेर भत्ता वितरण गरियो, वडा अध्यक्ष शशीधर सुवेदीले भने–‘हिँडडुल नै गर्न नसक्नेलाई घरैमा भत्ता पु¥याउँदा असाध्यै खुशी भए ।’ लकडाउनले अरु आम्दानीका स्रोतहरु नभएकाहरुलाई झन ठूलो राहत मिलेको अध्यक्ष सुवेदीको भनाइ थियो । थाहा–६ मा एकैदिन २१ वैशाखमा १ सय ७५ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । 

त्यस्तै वडा नम्बर ७ मा पनि तीन दिनमा ६ स्थानमा घुम्ती शिविर संचालन गरी भत्ता वितरण भैरहेको छ । थाहा–७ मा .१ सय ४९ जनालाई भत्ता वितरण भैसकेको वडा अध्यक्ष सनमसिं मोक्तानले जानकारी दिए ।  थाहा–६ मा सेन्चुरी कमर्सियल बैंक बज्रवाराही शाखा र थाहा–७ मा दामन शाखाले भत्ता वितरण गरिरहेको छ ।

भत्ता वितरणका लागि चार बैंकसंग सम्झौता

थाहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि विभिन्न चार वटा बैंकसंग सम्झौता भएको छ । 

थाहा नगरपालिका वडा नम्बर १, २, ११ र १२ मा महालक्ष्मी विकास बैंक पालुङ शाखा, वडा नम्बर ३, ४ र ५ को कृषि विकास बैंक पालुङ शाखा, वडा नम्बर ६, ९ र १० को सेन्चुरी कर्मर्सियल बैंक बज्रवाराही शाखा तथा वडा नम्बर ७ र ८ को सेन्चुरी कर्मर्सियल बैंक दामन शाखाबाट भत्ता वितरणका लागि सम्झौता भएको हो । 

विपदका बेला सेन्चुरी कर्मर्सियल बैंक बाहेकका अरु बैंकहरुले पनि भत्ता वितरणको मेकानिज्म बनाइरहेको जनाएका छन् ।  उनीहरु पनि आफ्नो वडालाई सजिलै सेवा उपलब्ध गराउने तयारीमा छन् । 

पारदर्शिताको उदाहरण थाहानगर

सामाजिक सुरक्षा भत्ता वितरणमा प्रश्न उठिरहेको सन्दर्भमा थाहा नगरपालिकाले जिल्लामै पहिलो पटक अनलाईन प्रणालीमा अभिलेख राखी बैंङ्किङ प्रणालीबाट भत्ता वितरण शुरु गरेको हो । जिल्लामै मात्र नभई मुलुकै उत्कृष्ट कार्य गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको ठहर छ । 

थाहा नगरपालिका मुलुककै ७ सय ७३ स्थानीय तहमध्येको अनलाइन व्यक्तिगत घटना दर्ता तथा अनलाइन अभिलेख राखी बैंङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरी पुरस्कृत पालिका हो । नगरपालिकाले यो पुरस्कार आर्थिक वर्ष २०७३/०७४ मै पाइसकेको  छ । 

कस्लाई कति भत्ता ?

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आर्थिक वर्ष २०७६/०७७ को लागि १० किसिमको सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । 

विभागले जेष्ठ नागरिक (दलित),  जेष्ठ नागरिक (अन्य), जेष्ठ नागरिक (कर्णाली), एकल महिला र विधवाका लागि मासिक     २ हजार रुपियाँका दरले भत्ता वितरण गररहेको छ । 

त्यस्तै पूर्ण अशक्त अपांग भएकालाई मासिक ३ हजार, अति अशक्त अपांगलाई मासिक १ हजार छसय रुपियाँ, लोपोन्मुख आदिवासी जनजाती    लाई  मासिक ३ हजार बालबालिका (कर्णाली र दलित) लाई मासिक ४ सय    र जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका)लाई थप मासिक १ हजार रुपियाँ भत्ता वितरण गर्दै आएको छ । 

के छ कानूनी व्यवस्था ?

आर्थिक वर्ष २०७२/०७३ बाटै पुर्णतः बैंकिङ प्रणालीबाट भत्ता वितरण थालेको थाहा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ अनुसार बैंकका प्रतिनिधीकै उपस्थितीमा घुम्ती शिविर संचालन गरी भत्ता वितरण गरिएको हो । कार्यविधिको दफा २५ को ख (ई) मा यसरी टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । 

भत्ता वितरणको सबै व्यवस्थापन कार्यविधिको दफा २५ को (ग) अनुसार जनप्रतिनीधिहरुले गरेका छन् भने, सोही दफा बमोजिम सुरक्षाकर्मीले आवश्यक सुरक्षा व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । थाहानगरमा करिब ४ हजार भत्ताका लाभग्राही छन् ।

पढ्नुहाेस्, सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५



https://thahatimes.com/public/images/users/AMBIKA-1588562241.jpg

अम्बिका के.सी.

ambikakc333@gmail.com

पत्रकार केसी थाहा टाइम्सकी संवाददाता हुन् ।