Friday, 11th September, 2026
वि.स.

थाहानगरको ‘दामन–चित्लाङ’ पर्यटकीय गन्तव्य घोषणा

बागमती प्रदेश सरकारले घोषणा गरेको ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ अन्तर्गत मकवानपुर थाहानगरको दामन–चित्लाङ छनोट भएको छ । प्रदेश सरकारले १३ जिल्ला मध्ये काठमाण्डौं उपत्यका बाहेकका १० जिल्लाको पर्यटन विकासका लागि बजेट समेत विनियोजन गरिसकेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि ३ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । 

प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचार प्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब ८७ करोड ९५ हजार रुपैयाँको योजना निर्माण गरी काम अघि बढाएको जानकारी दिएको छ । मन्त्रालयले यो वर्ष पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि मात्र १ अर्ब एक करोड ५३ लाख ९५ हजार रुपैयाँ छुटा्याइएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिएका छन । 

त्यस्तै स्थानीय पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि ५९ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले प्रदेशभित्रका १० पर्यटकिय गन्तव्य स्थान तोकेरै आवश्यक भौतिक पूर्वाधार विकासको प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले काठमाडौं उपत्यका बाहेक दश जिल्लाका स्थान नै तोकेर एकीकृतरुपमा भौतिक पूर्वाधारको विकास गर्दै ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ निर्माण गर्न लागेको मन्त्रालयका अधिकृत पाठकले जानकारी दिएका हुन । 

मकवानपुरको दामन–चित्लाङ, दोलखाको सैलुङ, सिन्धुलीको हरिहरपुर गढी, काभ्रेको वासुकी थुम्का, नुवाकोटको ककनी, सिन्धुपाल्चोकका ब्रमायणी, धादिङको रुबी भ्याली, रसुवाको सोम्दाङ, चितवनको मेघौली र रामेछापको जिरी शिवालयलाई पर्यटकिय गन्तव्य निर्धारण गरिएको पाठकले जानकारी दिएका हुन । 

मन्त्रालयले सिधँै नतोकेर जिल्लाबाट छनोट गरेर पठाएका आधारमा पर्यटकिय गन्तव्य तोकिएकाले ती स्थानको मात्र भौतिक पूर्वाधारको विकास गरिने छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा मन्त्रालयले छुट्टै कार्यक्रम लागू गर्ने छ । मन्त्रालयले स्थानीय तहहरुसँग सहकार्य गरेर उपत्यकाको लागि विशेष योजना बनाउने तयारी गरेको छ । मन्त्रालयले एउटा पर्यटकिय गन्तव्यमा ५० करोड रुपैयाँ खर्च गर्ने योजनाअन्तरगत प्रत्येक गन्तव्यमा हरेक वर्ष ५ करोड रुपैयाँ खर्च गरी दश वर्षमा पूर्णता दिने योजना बनाएको हो । मन्त्रालयले पर्यटकिय गन्तव्य तोकेका चितवन, रसुवा र काभ्रे गरी तीन जिल्लाका पर्यटकिय गन्तव्य बाहेक अन्य सात जिल्लाका गन्तव्य स्थानमा ‘हिल स्टेशन’ निर्माणको काम सुरु गरिसकेको छ । 

प्रदेशका हेटौँडा उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिकाले पनि आ–आफ्ना क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेका पर्यटकिय गन्तव्यको पूर्वाधार विकास गर्ने कार्यक्रम आगाडि बढाएका छन् ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

DAChi-1583821749.jpg