Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको दामन: यस कारण पर्यटकीय गन्तव्य

नेपालकै सितल टावर कहाँ पर्छ ? मकवानपुरको दामनमा । कुनैबेला हाजिरी जवाफमा सोधीएको यहि प्रश्नको जवाफ दिएका विद्यार्थीहरुले रुचाएको ठाउँ हो, दामन । मकवानपुरकै पर्यटकीय गन्तव्य, दामन । प्रदेश–३ सरकारले घोषणा गरेको ‘दामन घुमफिर वर्ष २०७५’ ले चिनाएको, दामन । संघीय सरकारले देशभरमा घोषणा गरेको एकसय पर्यटकीय गन्तव्य मध्येको एक ठाउँ हो, थाहा नगरपालिकाको, दामन । वि.सं. २०१३ सालमा खुलेको नेपालकै पुरानो राजमार्ग त्रिभुवन राजपथले फन्को लगाएको ठाउँ पनि दामन नै हो । 

थाहानगरको दामन बजार साथमा दामन भ्यू टावर । फोटोः विकासखबर

थाहानगरका अरु पनि पर्यटकीय गन्तव्य थुप्रै छन् । तर पनि दामनलाई मध्येनजर गरेर आउने पर्यटकको संख्या दिनदिनै बढ्न थालेको छ । नेपालमा विद्युतीय संचार माध्यम तथा सडक मार्गबाट पुगेर कुन ठाउँ कस्तो छ भनेर थाहा नपाउँदै दामन उदियमान पर्यटकीय क्षेत्रको रुपमा खडा भएको ठाउँ हो । 

शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । साप्ताहिक विदा होस् वा नजिकैको भ्रमण गर्ने ठाउँको खोजी गर्ने जो कोहीलाई पनि दामनले तलतल मेटाउँछ । यसका लागि दामन जहिल्यै तम तयार छ । विदा मनाउने साह्रै उपयुक्त विकल्प मकवानपुरको दामन हुन सक्छ । काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट बज्रवाराही निस्केर दामन पुग्ने अर्को वैकल्पिक बाटो छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । तर अहियो यो बाटो निर्मााधिन छ । यसकारण बाटो बन्द छ । हेटौंडाबाट ५५ किलोमिटर पार गरेपछि दामन पुगिन्छ । भारतीय पर्यटकहरु समेत विरगञ्ज हुँदै आउँदा उस्तै नजिक छ दामन ।

थाहानगरको दामनमा आइपुगेका साइकलयात्रीहरु । फोटोः विकासखबर

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत अग्ला हिमाल हेर्न सकिन्छ । दुई हजार ३ सय २२ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ । देशकै सितल टावरको रुपमा परिचित भ्यूटावर थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको पालामा निर्माण भएको हो । यहिँबाट हिमाल लगायतका अन्य दृश्यावलोकन सजिलै गर्न सकिन्छ ।राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवन, नवलपरासी, कपिलबस्तु लगायत तराई क्षेत्रबाट फरक हावापानीको अनुभव लिन दामन उक्लने युवायुवती बग्रेल्ती भेटिन्छन् । हिउँदमा हिउँ परेर दामन सेताम्मे हुन्छ । हिउँ परेको बेला होस् वा अरु बेला दामन क्षेत्रमा पर्यटक उत्तिकै धुइरिन्छन् । फागुन चैत्रमा लाली गुराँसले राताम्मे हुने यस क्षेत्रले पर्यटकलाई उत्तिकै मोहित पार्छ । प्राकृतिक उपहारको भएको स्वीकार्ने प्रकृति प्रेमी एकपल्ट पुग्नै पर्ने ठाउँ हो, दामन । 

थाहानगरको दामनबाट देखिने हिमश्रङ्खलाहरु । फोटोः विकासखबर

दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाटचन्द्रागिरी हँुदै चित्लाङ, होस् वा दक्षिणकालीबाट फाखेल इन्द्रसरोवर कुलेखानी मार्खु, बज्रवाराही, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ । त्यसोत त्रिभुवन राजपथकै नौबिसे हुँदै पनि साइक्लिङ गर्न सकिन्छ । यो दुरी भने काठमाण्डौबाट भित्र अलि टाढा छ । त्यस्तै हेटौंडाबाट त्रिखण्डी, भैसे, बाह्रघुम्ती हुँदै पनि साइक्ङिमा रमाउँदै दामन सजिलै पुग्न सकिन्छ । 

दामनमा हाइकिङमा रमाउन चाहने पदलयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् । सुनगाभा पैदल मार्ग अर्को आकर्षण हो । दामन बजारबाट ग्रामिण परिवेश बुझ्दै गाउँमै स्थानीय खानाको स्वाद लिँदै इन्द्रसरोवर तालसम्म हाइकिङको मज्जा लिन सकिन्छ । यो पैदलमार्ग ११ किलोमीटर लामो छ ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । दामनमा रहेका सबै होटलमा गरी एकै पटक तीनसय जनालाई बास बस्न सक्ने क्षमता रहेको दामन बजार व्यवस्थापन समितिका सचिव सुरथ अधिकारीले जानकारी दिए । दामन बजारमा मात्र आठ वटा बासको व्यवस्था सहितको होटल रहेका छन् । सिमभन्ज्याङमा अरु सातवटा होटल रहेका छन् । सिमभन्ज्याङमा पनि राम्रो बस्ने खाने सुविधा रहेको छ । सो क्षेत्रमा एभरेष्ट पानोरमा रिसोर्ट पनि रहेको छ । दामन सिमभन्ज्याङमा पुगेपछि यथेस्ट मात्रामा घुमफिर गर्ने ठाउँको व्यवस्था   रहेको छ । दामनमा रहेको वनस्पती उद्यान, शीतोष्ण वागवानी केन्द्र अर्को पर्यटकलाई घुमफिर गर्ने ठाउँ हो । कृषिको विषयमा अनुसन्धनात्मक भ्रमणका लागि समेत शीतोष्ण वागवानी केन्द्र आकर्षणको केन्द्रको रुपमा स्थापित भएको बागवानी प्रमुख आइतसिंह गुरुङले बताए । बागवानीमा आएका पर्यटकहरु दामनको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बलियो आधार भएको प्रमुख गुरुङको भनाइ छ । 

त्रिभुवन राजपथ निर्माणका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण भएको स्मृति स्तम्भ पनि दामनमै रहेको छ । यो ठाउँलाई अहिले दामन बजार व्यवस्थापन समिति र एभरेष्ट युवा क्लबको व्यवस्थापनमा सेल्फी डाँडोको रुपमा विकास गरिएको छ । दामनमा इन्द्रसरोवरदेखि थाहानगरका विभिन्न क्षेत्र अवलोकन सजिलै गर्न सकिने प्रशस्त भ्यूप्वाइन्टहरु समेत रहेको छ । 

एकै ठाउँबाट सबैभन्दा बढि हिमश्रृङखला दृश्यावलोकन सकिन्छ भने त्यो ठाउँ पनि दामन नै हो । अझ जैविक विविधताले समेत भरिपूणर््ा दामन क्षेत्रमा विश्वकै दुर्लभ सुनगाभा सुनिपिया नेपालेन्सेस यहिँ क्षेत्रको जंगलमा पाइने करुणभूमी सामुदायिक वनका अध्यक्ष बिनोद लामाले जानकारी दिए । त्यस्तै विश्वमै लोप हुँदै गएको ‘ग्रे साइडेड थ्रस’ नामको चरा पनि मकवानपुरको दामनमा फेला परेको छ । २४ सेन्टिमिटर लामो उक्त चराको आँखीभौं सेतो तथा शरीरको कोखा तथा पेट खैरो हुन्छ । नयाँ प्रमाणित भएको उक्त चराको नेपाली नामकरण भइसकेको छैन । 

थाहानगरको दामनमा आएका पर्यटकलाई टिका लगाएर स्वागत गर्दै स्थानीयहरु । फोटोः विकासखबर

दामन सिमभन्ज्याङ पुग्ने जो कोही पर्यटक पनि ऋषेश्वर महादेव पुग्छन् । तसर्थ त्यस क्षेत्रका होटल व्यवशायीले नै आफ्नो होटल प्याकेजमै ऋषेश्वर दर्शनसम्मको सुविधा राख्ने गरेका छन् । हिन्दु र बौद्ध धर्मावलम्वीको आस्थाको केन्द्रको रुपमा रहेको यस मन्दिरमा अनवरत रुपमा बगिरहने पहाडको कापबाट पानी आइरहेको छ । उक्त कुण्डको पानीमा स्नान गरे निःरोगी हुने विश्वास छ । यस स्थानमा त्रिभुवन राजपथबाट सजिलै पुग्न सकिन्छ । अति सुन्दर प्राकृतिक दृश्यावली देखिने दामन क्षेत्रमा सिमभन्ज्याङ र दामनको बीच भागमा ऋषेश्वर मन्दिर पर्दछ । ऋषेश्वर महादेवलाई हिन्दू र बौद्ध दुवैले समान रूपमा भक्तिभावले पूजाआजा गर्दछन् । हिन्दूहरूले यिनलाई शिवजी मान्दछन् । बौद्धमार्गीले धर्मगुरु पद्मसम्भव मान्ने   गर्दछन् । ऋषेश्वरको मन्दिर सामान्य छ, जुन मध्यकालतिर बनेको मानिन्छ ।

ग्रामीण जीवनशैलीको आनन्द उठाउने हो भने थाहानगरको पालुङ, कुन्छाल तथा चित्लाङमा होमस्टे सुविधा पनि  छन् । थाहा नगरपालिकामा पर्नेे यि क्षेत्र ग्रामीण पर्यटनका आकर्षणका केन्द्र हुन् ।

कति पर्यटक आउँछन् अभिलेख नै छैन

थाहा नगरपालिकालाई पर्यटकीय नगरी भनिरहँदा यस नगरमा वार्षिक रुपमा कति पर्यटक भित्रिन्छन् भन्ने कुनै यकिन तथ्याङ्क छैन । नेपालको संविधान अनुसार स्थानीय सरकारको रुपमा स्थापित थाहा नगरपालिकासंग न यसको कुनै तथ्याङ्क संकलनको मेकानिजम छ न कुनै संघ संस्थासंग नै छ । 

थाहानगरको दामनमा आएका पर्यटकहरु साथमा स्थानीयहरु सामुहिक फोटो खिचाउँदै । फोटोः विकासखबर

होटलमा बास बस्न पुग्ने ग्राहकको अभिलेख बाहेक अरु कुनैपनि तथ्याङ्क भेटिदैन । यसरी बास बस्नेको पनि एकीकृत तथ्याङ्क कहीँ पनि छैन । यद्यपी थाहा नगरपालिकाको नगरसभाले होटलहरुबाट पर्यटन शुल्क उठाउन निर्णय समेत गरेको छ । यो निर्णय पनि अझै कार्यान्वयनमा आएको छैन । नगरमा पर्यटन विकास समिति भने गठन भएको छ ।



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।