Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरकी महिला बेच्ने दुई जनालाई कैद फैसला

  • पुष्पराज अधिकारी

मकवानपुर थाहा नगरपालिका की २८ वर्षीया महिलालाई बेचबिखन गरेको कसुरमा दुईजना आरोपितलाई मकवानपुर जिल्ला अदालतले १ फागुनमा २० वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले २८ वर्ष अघि मकवानपुरको महिलालाई बेचबिखन गरेको घटनाका आरोपित हेटौडा–३ बसामाडीका ५० वर्षीय हर्कलाल गोले र हेटौडा–८ की ४७ वर्षीया हरिमाया घ्यावालाई २०/२० वर्ष कैद फैसला गरेको अदालतका श्रेस्तेदार केशवराज कौशिकले बताए । अदालतले जनही दुई लाख रूपियाँ जरिबाना र एक लाख रूपियाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश गरेको श्रेष्तेदार कौशिकले जानकारी दिए ।

गोले र घ्यावाको सहयोगमा ०४८ असोजमा थाहा नगरपालिका–१२ का मानबहादुर थोकरले पीडितलाई नक्कली विवाह गरी पाँच दिन नबित्दै लठ्याउने औषधि खुवाएर मुम्बई पुर्‍याएर २ लाख रुपियाँमा बेचेका थिए । थोकर हाल क्षेत्रीय कारागार भीमफेदीमा रहेको र ती दुई दुवै जना हालसम्म फरार रहेको र गोले र घ्यावा फरार रहेको कौशिकले बताए । 

थोकरकै बयानका आधारमा गोले र घ्यावाले ती पीडितलाई विक्री गरेको खुलासा भएको थियो । मुल्तवीमा राखिएको मुद्दा ब्युँत्याएर उनीहरूको हकमा फैसला गरिएको श्रेस्तेदार कौशिकले बताए । पीडितलाई त्यतिबेला मानबहादुरले घ्यावा र गोलेसँग ५० हजार रूपियाँ लिएर बेचेको बयानमा खुलेको कौशिकले बताए । मुम्बईस्थित कोठीमा आएका एकजना भारतीय नागरिकको सहयोगमा त्यहाँबाट भागेर पीडित महिला भारतीय नागरिककै सहयोगमा ०६८ मङ्सिरमा हेटौंडासम्म आइपुगेका थिए ।

महिला अधिकारकर्मीको सहयोगमा पीडितले ०६९ जेठ २१ गते मानबहादुर विरुद्ध प्रहरीमा उजुरी दिएपछि मानबहादुरलाई प्रहरीले गिरफ्तार गरेको थियो । ०७० जेठ ७ गते मकवानपुर जिल्ला अदालतले मानबहादुरलाई मानव बेचबिखन गरेको ठहर गर्दै २० वर्ष कैद र दुई लाख रुपियाँ जरिबाना फैसला गरेको थियो ।


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०