nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका भूकम्पपीडितका लागि आयो १० करोड, नक्सापास नगरी घर निर्माण गरे दोस्रो किस्ता रोकिने

मकवानपुर थाहा नगरपालिकाका अनुदान सम्झौता गरेका दुई हजार बीस भूकम्पपीडित परिवारको पहिलो किस्ता वापतको अनुदान रकम निकासा भएको छ । पीडितहरुको लागि पहिलो किस्ता वापत प्रति परिवार ५० हजार रुपियाँको दरले रकम निकासा भएको हो । उनीहरुका लागि यो समाचार तयार गर्र्दासम्म पुर्ननिर्माण इकाई जिल्ला कार्यालय मकवानपुरले कुल दश करोड दश लाख रुपियाँ निकासा दिएको जनाएको छ ।

थाहा नगरपालिका अन्तर्गत साविक पालुङ गाविसका ५३१ परिवारका लागि, साविक दामन गाविसका ७६९ परिवारका लागि र साविक बज्रवाराही गाविसका ७२० परिवारका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यालय मकवानपुरले निकासा दिएको जनाएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले प्रकाशन गरेको लाभग्राहीको सूची अनुसार थाहा नगरपालिकामा दुई हजार नौ सय ७२ परिवार भूकम्पपीडित छन् । थाहाका भूकम्पपीडित मध्ये अब नौ सय ५२ परिवारको पहिलो किस्ता वापतको रकम निकासा हुन बाँकी छ । बाँकी पीडित मध्ये कतिपयको निस्सा नम्बर नमिलेको, निस्सा नम्बर छुट भएको, घर निर्माण भएको ठाउँको जग्गाधनी पुर्जा नभएकोलगायतको समस्याले गर्दा अनुदान सम्झौता हुन नसकेको थाहा नगरपालिकाले जनाएको छ ।

थाहाको प्रकाशित लाभग्राही विवरण अनुसार ६७।९७ प्रतिशत पीडितका लागि पहिलो किस्ताको अनुदान निकासा भएको हो ।  विवरण अनुसार वडा नम्बर १ को १८० लाभग्राही मध्ये १३४, वडा नम्बर २ को १५५ लाभग्राही मध्ये १२३, वडा नम्बर ३ को १०३ लाभग्राही मध्ये ९१, वडा नम्बर ४ को १४३ लाभग्राही मध्ये १०७, वडा नम्बर ५ मा २१३ लाभग्राही मध्ये ७६, वडा नम्बर ६ मा १८० लाभग्राही मध्ये १३५, वडा नम्बर ७ मा १५० लाभग्राही मध्ये ११४, वडा नम्बर ८ मा ३५२ लाभग्राही मध्ये २५७, वडा नम्बर ९ मा २३६ लाभग्राही मध्ये १३८, वडा नम्बर १० मा २२३ लाभग्राही मध्ये १२५ को पहिलो किस्ता वपतको अनुदान निकासा भइसकेको छ ।
त्यस्तै वडा नम्बर ११ को २८४ लाभग्राही मध्ये १९७, वडा नम्बर १२ को २०२ लाभग्राही मध्ये १४९, वडा नम्बर १३ को १६८ लाभग्राही मध्ये १३०, वडा नम्बर १४ को १५० लाभग्राही मध्ये ९३ र वडा नम्बर १५ को २३३ लाभग्राही मध्ये १५१ भूकम्पपीडितको अनुदान रकम निकासा भएको हो । 

भूकम्पपीडितलाई अनुदान निकासा भएपछि उनीहरुले घर निर्माण भट्टाभट्ट थालेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण अन्तर्गत थाहानगरमा रहेकी इन्जिनियर सोनी कार्कीले बताइन् । इन्जििनियर कार्कीका अनुसार–‘अहिले थाहानगरमा आठ पीडित परिवारले घर बनाउन शुरु गरेका छन् ।’ उनले भनिन्–साविक दामन गाविसमा ५ र बज्रवाराहीमा ३ परिवारले निजी आवास निर्माण थालेका छन् । पालुङमा कुनैपनि भूकम्पपीडितले अनुदान लिएर निजी आवास निर्माण नथालेको, दामनमा ३ वटा घरको डिपीसी कार्य समेत सकिएको र बज्रवाराहीमा तीनवटा घरको जग खन्ने काम शुरु भएको कार्कीले जानकारी दिइन् । 

नक्सापास नभए दोस्रो किस्ता रोकिने 

भूकम्पपीडितहरुले मापदण्ड विपरित घर निर्माण गरे कानून बमोजिम कार्बाही हुने भएको छ । थाहा नगरपालिका क्षेत्रमा मापदण्ड विपरित घरहरु बन्न थालेपछि नगरपालिकाले यस्तो भनाई सार्वजनिक गरेको हो । 

थाहानगरमा पछिल्लो समय पुर्ननिर्माण प्राधिकरणबाट भूकम्पपीडितहरुका लागि पहिलो किस्ता निकासा भएपछि स्थानीयहरुले मापदण्ड विपरित भवनहरु बनाउन थालेका हुन् । पुर्ननिर्माणका लागि निकासा भएको पहिलो किस्ताबाट मापदण्ड विपरित घर निर्माण थालेमा दोस्रो किस्ताको रकम निकासाको लागि सिफारिस नहुने नगरपालिकाले जनाएका छ ।

प्राधिकरणले उपलब्ध गराएको नमुना घरहरुको पनि नक्सा पास गर्नुपर्ने नियम छ ।