nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जिर्ण बन्यो, थाहाको ऐतिहासिक महत्व बोकेको चार नारायण

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण रहेको उत्तरी मकवानपुरको थाहा नगरपालिकामा धार्मिक महत्वका स्थलहरुको जगेर्नामा खास प्राथमिकता दिइएको पाइँदैन । ऎतिहाँसिक महत्व बोकेका धार्मिक सम्पदाहरुको जीर्ण अवस्था देख्दा पछिल्ला पुस्ताले ति सम्पदाहरु कहानीमा मात्र सुन्न पाउने होकि भन्ने आशङ्का गर्न सकिन्छ । धार्मिक विषयलाई लिएर बहस र छलफल गर्ने समय जनमानसमा कम भेटिन्छ । भनिन्छ नि, ूनजिकको तिर्थ हेलाू । वास्तवमा यस्तै भएको छ थाहा नगरपालिका वडा नं २ मा रहेको चार नारायण मन्दिरहरुको अवस्था पनि ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको शेषनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौ उपत्यकामा चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिर पर्दछ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । जहाँ पुजा गर्नका लागी देशभरका मानिसहरु पुग्ने गर्दछन । 

काठमाडौ पछिको चार नारायण यहि उत्तरी क्षेत्रकै थाहा नगरपालिका वडा नं २ को पालुङमा पर्दछ । पालुङमा रहेको चार नारायणमा चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिर नै पर्दछ । धार्मिक दृष्टिकोणले अत्यन्तै महत्व मानिने उक्त मन्दिरहरु अचेल संरक्षण र प्रचारको अत्यावश्यकतामा गुज्रिरहेका छन् । हरिबोधिनी एकादशीको दिनमा उक्त मन्दिरमा थाहा नगरपालिकाका बिभिन्न स्थानहरुबाट मानिसहरु पुजा आजा गर्न आउने भएता पनि पछिल्लो समय पुजा गर्न आउनेको संख्या घटेको  पालुङका स्थानिय मधुकर बिक्रम श्रेष्ठले बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको शंखुनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

पालुङ गाउँको पुर्वदिशातर्फ चागुनारायण, पश्चिमतर्फ शङ्खुनारायण, उत्तरतर्फ बिशङ्खु नारायण र  दक्षिणतर्फ शेषनारायणको मन्दिर रहेको छ । दक्षिणतर्फ रहेको शेषनारायण मन्दिरको अवस्था भने अन्यको तुलनामा निक्कै नै जिर्ण भैसकेको छ । पुर्व तर्फ रहेको चागुनारायण मन्दिर भने जिर्ण भएका कारण भुकम्प अघि नै स्थानियको पहलमा निर्माण गरिएको स्थानिय शिव बहादुर कार्कीले बताए । उनका अनुसार आफ्नै गाउँमा भएको नारायण मन्दिरहरुको नाम, महत्व र बिशेषताको बारेमा स्थानियहरुलाई नै खास जानकारी नभएको बताए ।

परापूर्व कालमा पालुङ गाउँको सुरक्षाको लागि पालुङको चारै दिशामा चार नारायण स्थापना गरिएको भए पनि हाल संरक्षण गर्ने निश्चित समिति र निकाय नभएको कारण मन्दिर जिर्ण अवस्थामा पुगेको पालुङका एक बुद्धिजीवी शम्भु राज नापितले बताए । उनका अनुसार चारैवटा मन्दिरको स्थापना छुट्टाछुट्टै समयमा भएकोले पनि कुनै जिर्ण त कुनै सामान्य अवस्थामा रहेको बताए । मन्दिरको अवस्था जिर्ण हुँदै गर्दा पनि समुदायमा उक्त मन्दिर संरक्षणको लागी कुनै समिती र सम्बन्धित निकाय नभए पछि संरक्षणको लागी घच्घच्याउन नसकिएको उनले बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको विशंखुनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

खास त चारैवटा नारायणको मन्दिर छुट्टाछुट्टै ब्यक्तिले आफ्नो ब्यक्तिगत रुपमा निर्माण गरेको वडा नं २ का वडाध्यक्ष गुप्त बहादुर कार्कीले बताए । ब्यक्तिगत रुपमा बनाइएको हुनाले पनि जिर्ण भएको अवस्थामा उसैले बनाउने र संरक्षण गर्ने गरेकाले समाजिक रुपमा संरक्षणको लागी खास पहल नभएको उनले बताए । ब्यक्तिगत सम्पत्ति झै मानिने भएकाले पनि समुदायले चासो नदिएको भए पनि अवका दिनमा निर्माण पक्षकै सहभागीतामा समिति बनाएर नै संरक्षण र प्रचार प्रसारका लागी पहल गरिने समेत वडाध्यक्ष कार्कीले बताए ।

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको चाँगुनारायण मन्दिर । फोटो: मञ्जरी बलामी/विकासखबर

थाहा नगरपालिकामा रहेका थुप्रै धार्मिक स्थलहरु मध्य पनि महत्त्वपूर्ण धार्मिक स्थलहरुको संरक्षण र प्रचारप्रसार गर्न सकेमा धार्मिक पर्यटक भित्र्याइ स्थानियहरुको जीवनस्तर उकास्न र आम्दानिको स्रोत बढाउन सकिन्छ । जसको ज्वलन्त उदाहरणको रुपमा पालुङको चार नारायणको मन्दिर हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।