nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

छुवाछुत र भूकम्प
कुमार नेगी

भूकम्प भुविज्ञानमा एउटा स्वभाविक प्रक्रिया हो । अरु मुलुकका भूभागमा जस्तै नेपाल रहेको भूभागमा कुनै पनि बेला यो आउन सक्थ्यो, सक्नेछ । अहिलेको भूकम्पले जुन क्षति भएको छ, यसमा हाम्रो क्रियाकलाप दोषी छन् । कमजोरी हाम्रो छ । हामीले भूकम्पबाट हुन सक्ने जोखिमलाई ध्यान दिएर संरचनाहरु निर्माण गरेको भए यति क्षति नहुनसक्थ्यो । हामीसँग व्यवस्थापनको पूर्व तयारी भएको भए पनि पीडितले थप पीडा पाउँदैनथे । यस्ता गम्भीर विषयहरु छन् जसलाई सरकारले पनि कमजोरीको मुन्टो हल्लाउनुको बिकल्प थिएन । सरकारको आलोचना गरेर मात्र हुँदैन, लोकतान्त्रिक व्यवस्थामा सरकारसँग नागरिक जोडिएकै हुन्छ । दोष सबैको छ । हाम्रो घर हामीले बनाएको हो, सरकारले बनाइदिएको होइन । घर कस्तो कहाँ कहिले कसरी बनाउने भन्ने सरकारले भनिदिएको भए हुन्थ्यो, तोकिदिएको भए हुन्थ्यो, लेखिदिएको भए हुन्थ्यो । हामीले पनि बुझेको भए हुन्थ्यो । गाउँमा इन्जिनियरहरु छैनन् । माटोको जाँच हुँदैन । परम्परादेखि पर्खाल र गाह्रोको काम गर्दै आएका डकर्मी र काठको काम गर्दै आएका सिकर्मी नै हाम्रा इन्जिनियर हुन् । भरसक साइत पारेर घडेरीमा जग शुरु गरेपछि हाम्रो इन्जिनियरिङ शुरु हुन्छ । आज भूकम्प ठूलो आएको भन्ने होइन, हाम्रो परम्परागत इन्जिनियरिङले भूकम्पको धक्का सामना गर्न नसकेको हो । हामीले घर बनाउँदा हुरीबतास, वर्षा, असिना, चिसोतातो छेक्न छानो हाल्यौं । बाढीको डरले खोलाखालीले नभेट्ने ठाउँमा घर बनायौं । अरु भन्दा प्रतिष्ठित देखिन तला थप्यौं । पहिलेजस्तो अगेनामा अगुल्टो जोडिराख्दा आगलागी हुनसक्छ भनेर त्यस्तो बानी छोड्यौं । उर्जाको नयाँ प्रयोग गर्न थाल्यौं । रोगव्याधीका बारे चर्चा गर्न थाल्यौं । झाडापखाला लाग्दा प्रसस्त पानी पिउन थाल्यौं । झाक्रीको भर छाडेर अस्पतालतिर कुद्न थाल्यौं । प्राकृतिक रुपमा हुने यस्ता विपद छेक्न गरिएका प्रयासहरु राम्रा हुन् । तर जुन कुरामा हामीले ध्यान दिन चुक्यौं, त्यही भूकम्पले हाम्रो संरचना स्वाहा पा¥यो । अनि हामीले भन्यौं, यो भूकम्पमात्र होइन, महाभूकम्प हो । यो विनासकारी भूकम्प हो । यो राक्षश हो । यो खतरनाक हो । यो भूकम्प एउटा स्केलमा आयो, जुन सबै प्रभावितहरुको लागि बराबर हो । तर यसले जुन पीडा दिएको छ, त्यो बराबर छैन । महिला, बालबालिका, एकल महिला, गरीब, धनी, ज्येष्ठ नागरिक लगायत समाजको विभिन्न वर्ग, क्षेत्र र लिङ्गलाई यसले फरकफरक पीडा दिएको छ । यस्ता पीडाहरुलाई वर्गाीकरण गरेर काम गर्न सक्नु नै अबको सरकारको चूनौति हो । सरकारको अबको बजेट, कार्यक्रम, नीति सबै यसैमा केन्द्रित हुनुपर्छ । अर्कोपटक यतिको मात्रामा भूकम्प आउँदा महाभूकम्प नभएर सामान्य भूकम्प भन्ने सावित गर्न सक्नु नै सरकारको मुख्य चुनौति हो । अहिले पुर्पुरोमा हात लगाएर होइन, यसबाट पाठ सिकेर अघि बढ्नु नै सबैको बुद्धिमानी हुनेछ । यो भूकम्पले झण्डै नौ हजारको ज्यान लिइसकेको छ । १५ हजारभन्दा बढी घाइते छन् । लाखौं जनता घर विहिन छन् । करोडौं नेपाली चिन्तित छन् । साँच्चै यो संकटको घडी हो । तर सिर्जना र विकासको मूल संकटकै बीचमा फुट्ने हो । विकल्पहरु संकटबाटै निस्कने हो । त्यस्ता हजारौं विकल्पहरु हुन सक्छन् । जसको यहाँ चर्चा गर्न खोजिएको छैन । चर्चा गर्न खोजिएको एउटै कुरा के हो भने भूकम्पले दिएको असह्य पीडाका बाबजुद एउटा महत्वपूर्ण पाठ भएको छ कि भुकम्पले जात भन्दैन, धर्म भन्दैन । सामान्य जीवनमा नेपाली समाजले जातपातलाई धेरथोर अंगाल्दै आएकोमा मानवतालाई विर्सेर यो जात र उ जात भनेर बस्नुको कुनै अर्थ नरहेको भूकम्पले पाठ दिएको छ । जव भूकम्प आयो, यसले कमजोर संरचना जुन जातको भए पनि भत्काइदियो । घर भत्केसँगै खाने अन्न पुरियो, कपडाहरु थिचिए । आफन्तको मृत्यु भयो । कैयौं घाइते भए । भुकम्प रोकिएन । ठूलाठूला पराकम्पन आइरह्यो । एउटाको आडमा अर्को बस्नु पर्ने भयो । साथ र सहयोग सबैको चाहिने नै भयो । बाचौं र बचाऔंमा लाग्नै पर्ने भयो । परिस्थितिले एउटा यस्तो मोडमा ल्याइदियो कि अब नेपालीले जात विर्से । धर्म विर्से । मेरो र तेरो भन्ने विर्से । सानो र ठूलो भन्ने विर्से । मावनता नै सबै भन्दा ठूलो धर्म भयो । मानव नै समग्र जात भयो । बाँच्नु नै सबै भन्दा ठूलो भयो । बाँच्न जात भएर होइन, मानिस भएर मात्र सम्भव रहेछ भन्ने बुझियो । यति स्वीकारेपछि बाहुन दलितको घरमा आश्रय लिए पनि फरक परेन, दलित बाहुनको घरमा बसे पनि फरक परेन । एउटै त्रिपालमुनि एउटै भाँडामा जे भएको पकाएर खाए । दुःख साटासाट गरे । एउटालाई अर्कोले सहयोग गरे । विगत विर्से, भूकम्पले जातपात भन्दैन रहेछ भन्ने बुझे । दलितले पठाएको सामग्री पीडित बाहुनका लागि पनि राहत भयो । बाहुनले पठाएको सामग्री पीडित दलितका लागि पनि राहत भयो । अब जातपातको कुरा आएन । एउटा नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने कुरा हो । हामी सबै नेपाली, हाम्रो एउटै भावना भन्ने कुरा उत्कर्षमा आयो । यसलाई एउटा युगको शुरुवातको रुपमा लिन सक्नुपर्छ । जाति व्यवस्था मानिसले बनाएको व्यवस्था हो । यो प्रणालीलाई नेपाल र भारतमा इतिहासमा सरकारले नै जवरजस्ती लाद्ने काम ग¥यो । यसले साँस्कृतिक रुप लियो र मानिसको मनमनमा जरा गाड्यो । आधुनिक राज्य व्यवस्थासँगै यसका अबगुणहरु केलाइए । शिक्षा र प्रविधिको युगमा जाती व्यवस्था निकम्मा भयो । प्रगतिको बाधक भयो । यसलाई आम रुपमा स्वीकारियो । हिजोको जस्तो जातीय दृष्टिकोणले कठोर व्यवहार कायम भएको भए यो भूकम्पले दिएको पीडामा अझ पीडाबाहेक केही थपिने थिएन । समस्या झन चुलिने थियो । बैशाख १२ गते भूकम्प जाँदा त्यसबाट पीडामा परेका नेपालीको उद्धार, सहयोग कसले गरेको थियो ? मृतकको परिवारलाई ४० हजार रुपैया दिने निर्णय गर्न अरु ६ दिन लगाउने सरकार त्यहाँ थियो त ? विपत्तिको बेला जुन जात भए पनि जुन धर्म भए पनि, व्यक्तिगत रुपमा रिसराग नै भए पनि एकले अर्कोलाई दिल खोलेर सहयोग गरे । सहयोगमा सबैभन्दा पहिले छिमेकी पुगे । कम पीडा भएकाले बढी पीडा भएकालाई सहयोग गरे । मिलेर बसे । दलित भएकै कारण गाउँमा खान नपाएर मृत्यु भएको सुन्नु परेन, बाहुन भएकै कारण दलितको सहयोग नपाएर मर्नुपरेको समाचार आएन । सकेको सबैले सबैलाई सहयोग गरे । विपदको केही समयपछि पीडितको घरटोल पुगेका नेपाली सेना र प्रहरी कुन जातका थिए भनेर कसैले सोधेनन् । राहतको पोका लिएर आउने कुने जातका थिए भनेर कसैले चियोचासो गरेनन् । मानवता कुनै पनि जातभन्दा माथि हुन्छ भन्ने कुरा नेपालीहरुले भूकम्पबाट पीडित भएको बेला देखाइदिए । अब यस्तो होस् कि सबै प्रकारको भेदभाव विरुद्धको महासन्धीमा नेपालले गरेको हस्ताक्षर यो भूकम्पले सार्थक सावित गरिदेओस् । छुवाछुत विरुद्धको ऐन बमोजिम कसैलाई सजायँ गर्नु नपरोस् । पण्डितहरुले हिजोको जस्तो आफ्नो स्वार्थ अनुकूलको व्याख्या नगरुन् । जातीय छुवाछुत विरुद्ध भन्दै कुनै आन्दोलन गर्नु नपरोस् बरु पण्डितहरु नै भूकम्पको बेला बाचौँ र बचाऔंको मूल मन्त्रमा रहेका नेपालीहरुको उदाहरण दिँदै समतामुलक नेपालको वकालत गर्न थालून् । यसले कसैको भावनालाई कमजोर नबनाओस् । नेपालमा विभिन्न जाति, भाषा, धर्म, संस्कृति छ भन्ने कुरालाई आत्मसात गर्दै सबैको साझा भावना, एकता र समझदारी नै समग्रमा नेपाल राष्ट्र हो भन्ने कुरा स्थापित गर्न मद्धत पुगोस् ।

(यो लेख विनासकारी भूकम्पको केही दिनपछि लेखिएको थियो ।)