Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

चित्लाङ–थानकोट सडकामा सवारी आवागमन शुरु

पर्यटकीय नगरी थाहालाई छोटो दुरीमा काठमाण्डौं जोड्ने नाका खुलेको छ । पर्यटकहरुलाई छोटो दुरीमा काठमाण्डौंबाट नगर भित्र्याउने बहुचर्चित सडक चित्लाङ–थानकोट सडकमा यातायात आवागमनमा आएसंगै नगरबासीमा खुशीयाली छाएको छ । सडक निर्माण गरिने भन्दै अवरुद्ध भएको दुई वर्षपछि उक्त सडकमा यातायात आवागमन ठप्प रहको थियो । चित्लाङ चन्द्रागिरी सडकमा १६ फागुनबाट चार पाङ्ग्रे तथा दुईपाख्रे सवारी साधन चल्न थालेको स्थानीय हरि मगरले जानकारी दिए ।

सडक निर्माणको बहानामा ठेकेदार कम्पनी किरातेश्वर कन्ट्रक्सनले बाटो बन्द गरिदिएका कारण वि.सं. २०७४ मंसिरदेखि नै गणेशमान मार्गमा यातयातका साधन सञ्चालनमा आउन सकेको थिएन । जसका कारण स्थानीयले मात्रै नभइ चित्लाङ घुम्न आउने पर्यटकले समेत घुमाउरो बाटोबाट यात्रा गर्नुपर्दा सास्ती भोग्दै आएका थिए । चित्लाङ थानकोट सडकबाट यातायत सुचारु नभएपछि दक्षिणकालीबाट फाखेल तथा सिस्नेरी वा नौबिसे हुँदै कुन्छालबाट चित्लाङ जानुपर्ने बाध्यता थियो । 

नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा पर्यटक आवागमनमा समेत धक्का पुगेमा अब सहज हुने पर्यटन व्यवशायी रामशरण नेपालले जानकारी दिए । चित्लाङ थानकोट सडक जति स्तरीकरण हुँदै जान्छ पर्यटक भित्र्याउन सजिलो हुने नेपालको भनाइ छ । पर्यटकमैत्री होटल रिसोर्ट तथा होमस्टेहरु हुँदाहुँदै पनि पर्यटक भित्रने नाकाको सडक नखुल्दा व्यवशायीहरुले व्यवशायमा धक्का महशुस गर्दै आएका थिए । थाहानगरमा पर्यटकीय पूर्वाधार विकास भइरहेको बताउादै आउने–जाने सहज बाटो नभएकै कारण यहाँको पर्यटकीय प्रडक्टले बजार लिन नसकको नगर प्रमुख लवशेर विष्टले बताए ।  उनले  भने–‘चित्लाङ चन्द्रागिरी बाटोलाई थप स्तरीकरण गर्नसके यहाँको घरघरमा होमस्टे, गाउँ–गाउँमा रिसोर्ट संचालान हुनेछ ।’ सडक स्तरीकरणको लागि सम्बन्धित निकायमा पहल गर्ने र थाहाकै पर्यटकीय नाकाको रुपमा यो सडकलाई विस्तार गरिने विष्टले बताए । 

चित्लाङबाट काठमाण्डौं २२ किमीको दुरीमा पुग्न सकिने भएपनि काठमाडौं पुग्न ४ घण्टाको बाटो यात्रा गर्नुपरेको भन्दै यसअघि स्थानीयहरु निर्माण व्यवशायीसंग रुष्ट भएका थिए । वि.स. २०७५ माघ २१ गते बसेको  मन्त्रिपरिषद्को बैठकले सडकको स्तरोन्नती संघीय सरकारले गर्ने निर्णयसमेत गरेर सडकको निर्माण प्रक्रिया अघि बढाइएको भएपनि सोचेजस्तो काम नभएको स्थानीयहरु बताउँछन् । गणेशमान मार्ग उत्तरी मकवानपुरलाई काठमाडांैसँग जोड्ने सबभन्दा छोटो सडक मार्ग हो । करिब तीन दशकअघि निर्माण सुरु गरिएको सडकको महत्वलाई ध्यानमा राखेर सरकारले छुट्टै आयोजना गठन गरी प्राथमिकताको सूचीमा राखेको छ । आयोजनाले सडक स्तरोन्नतिका लागि २०७१÷७२ देखि काम सुरु गरेको हो । 

सडक हाल प्रदेश सरकारको नाममा आए पनि केन्द्रीय सरकारमार्फत बजेट विनियोजन भएर निर्माण जारी थियो । उक्त आयोजनाका लागि नेपाल सरकारबाट १२ करोड ६९ लाख ७९ हजार प्रदेश सरकारलाई ससर्त अनुदान प्राप्त भएको थियो । जबकि, उक्त सडकको अनुमानित लागत १ अर्ब १३ करोड छ । उक्त अनुमानित लागतको तुलनामा प्राप्त रकम अत्यन्त कम हो । चित्लाङ–थानकोट सडकखण्ड निर्माणको काम वि.स. २०६० सालभन्दा अघि देखि नै शुरु गरिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०