Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

खोई जेब्रा क्रसिङ ? साटसुट्टै उड्यो ।

नेपालीमा नानीबाबुहरुले लय हालेर गाउने एउटा कविता छ, कुखुरी काँ......खोई खोला ? साटसुट्टै सुक्यो । त्यस्तै भएको छ थाहा नगरपालिकामा पर्ने त्रिभुवन राजपथमा । खोई जेब्रा क्रसिङ ? साटसुट्टै उड्यो । 
    त्रिभुवन राजपथअन्तर्गत पर्ने थाहा नगरपालिकाको मुख्य सडकमा केही समय अघिमात्र निर्माण गरिएको जेब्रा क्रसिङ कतिपय स्थानमा नामोनिसान छैन भने कतै होकीहोकी जस्तो मात्र देखिन्छ । 

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७४÷०७५ को करिब २ लाख रुपैयाँ बजेटअन्तर्गत  निर्माण भएको जेब्रा क्रसिङ २ महिना नहुदै मेटिएको छ । थाहा नगरपालिकाले सडकमा जेब्रा क्रसिङ बनाउने, पार्किङ, नो–पार्किङ, लगायतका ट्राफिक चिह्नहरुको ब्यवस्थापन गर्नको लागि ईलाका प्रहरी कार्यालय पालुङलाई २ लाख रुपैयाँ प्रदान गरेको थियो । 
    थाहा नगरपालिकाको मुख्य सडक त्रिभुवन राजपथको बिभिन्न मुख्य चोकहरुमा यात्रुहरुको आवत जावतमा सहजताको साथै ट्राफिक नियमको पालनाको लागि जेब्रा क्रसिङ चिन्ह राखिएको थियो ।

 

थाहा नगरपालिकाका नगरप्रमुख लबसेर बिष्टले जेब्रा क्रसिङ बनाइएको छोटो समयमै मेटिएकोले अब के गर्ने भन्ने विषयमा छलफल गर्ने बताए । 
नगरपालिकाको बिभिन्न ठाउँमा भएका जेब्रा क्रसिङहरु मेटिएका कारण बाटो काट्दा यात्रु अलमलमा पर्ने गरेको देखिएको छ । पैदल यात्रुहरुले जेब्रा क्रसिङ गतिलो गरी पेन्ट नगरेको र कम गुणस्तरको रङ्ग प्रयोग गरेको भन्दै गुनासो गरेका छन ।
    जेब्रा क्रसिङको रेखाङ्कन र पेन्टिङको काम सडक विभागले गर्ने भएपनि थाहा नगरपालिकामा सुरक्षा निकायलाई नै जेब्रा क्रसिङको काम जिम्मा दिइएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १३७ मा पैदल हिंड्ने मानिसले बाटो काट्नु पर्दा जेब्रा क्रसिङ्ग, सब–वे, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाउँबाट मात्र बाटो काट्नु पर्ने उल्लेख गरिएको छ भने दफा १५३ मा अन्तर्राष्ट्रिय प्रचलन अनुरूप ट्राफिक संकेतहरू सार्वजनिक स्थानमा राख्ने व्यवस्था गर्ने कार्य यातायात व्यवस्था विभागको हुने स्पष्टरुपमा उल्लेख गरेको छ । 
थाहा नगरपालिकाको नौखण्डेदेखि सिमभञ्ज्याङसम्मको मुल सडकमा माघ महिनामा जेब्रा क्रसिङ निर्माण गरिएको थियो ।

निर्माणको दुई महिनामै मेटिनुका मुख्य कारण सडकको पिच नै खुकुलो भएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख बिरेन्द्र पासवानले बताए । आफुहरुलाई जेब्रा क्रसिङको लागि दिइएको रकम केही बढी भएपछि सडक सुरक्षा बोर्डहरु निर्माण गरिएको उनको भनाइ छ । 
फेरि पेन्टिङ गर्न सकिने भए पनि पुनः सडकमा राम्रो पिच नभएसम्म जेब्रा क्रसिङलाई टिकाउ बनाउन नसकिने पासवानको भनाइ छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।