Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

कोभिड-१९: थाहानगरका यस्तो सतर्कता !

कोरोना भाइरस (कोभिट–१९) संक्रमण भित्रन र फैलन नदिन यसको नियन्त्रण तथा रोकथाम व्यवस्था मिलाउन थाहा नगरपालिकाले विशेष निर्देशन जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्र बमोजिम गठित स्थानीय तह समन्वय समितिले हदैसम्मको सतर्कता अपनाउन निर्देशन जारी गरेको हो । 

थाहा नगरपालिकास्तरीय समन्वय समितिले नगरपालिका र मातहतका कार्यालयहरुलाई कुनै कसर बाँकी नराखी सतर्कता अपनाउनको लागि निर्देशन गरेको छ । स्वास्थ्य मन्त्रालयले २८ फागुनमा देशभरका कार्यालयहरुलाई सतर्कता अपनाउन पत्राचार गरेको  थियो । थाहा नगरपालिका प्रमुख तथा स्थानीय समन्वय समितिका संयोजक लवशेर विष्टको अध्यक्षतामा ६ चैतमा बसेको समितिको बैठकले  निर्देशन सहित विभिन्न निर्णयहरु समेत गरेको छ । थाहा नगरपालिकालाई तत्कताल बजार अनुगमन गर्न निर्देशन गरेको छ । बजारमा कित्रृम अभाव सृजना गरी दैनिक उपभोग्य सामाग्रीको अभाव हुन सक्ने संभावनालाई मध्येनजर गरी नगरपालिकाको मुख्य बजारहरुमा नगरपालिकाको संयोजकत्वमा अनुगमन गर्न निर्देशन दिएको हो । 

कोरोना भाइरस संक्रमण भित्रन नदिन प्रतिकार्य योजना सहित तयारी अवस्थामा रहँन नगरपालिकाको स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ । उक्त कार्यका लागि स्वास्थ्य शाखा तयारी अवस्थामा रहेको संयोजक मेघराज बलामीले बताए । समितिको बैठकले प्रचार प्रसारलाई तिब्रता दिने निर्णय गरेको छ । पर्चा पम्प्लेट, रेडियो तथा पत्रपत्रिका र अनलाइन संचार माध्यममा कोरोना भाइरसबाट जोगिन उपनाउनुपर्ने उपायहरुको विषयमा प्रचार प्रसार गर्ने अभियाननै संचालन गर्ने समितिले निर्णय गरेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

नगरपालिकामा रहेका सामुदायिक तथा निजी स्वास्थ्य केन्द्रहरुमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी छुट्टै बेड तथा उपचार कक्षको व्यवस्था मिलाउन पनि बैठकले निर्देशन जारी गरेको छ । यस स्थानीय तहमा रहेका सामुदायिक तथा निजी संस्थाहरुबाट संचालन भैरहेका एम्बुलेन्स चालकहरुलाई शंकास्पद विरामी ओसारपसार गर्दा अपनाउनुपर्ने सतर्कताको विषयमा अभिमुखीकरण गर्ने निर्णय भएको छ । थाहा नगरपालिकाको मातहतमा रहेका स्वास्थ्यकर्मीहरुले प्रसुति  र किरिया विदा बाहेक अरु कुनै पनि विदा नदिने निर्णय भएको छ । 

नगरपालिकाका सबै कार्यालय तथा नागरिकहरुलाई व्यक्तिगत तथा सामुदायिक सरसफाइका कार्यहरुलाई तिब्रता दिन भनिएको छ । व्यक्तिगत सरसफाइमा अनिवार्य रुपमा साबुन पानी तथा स्यानिटाइजर प्रयोग गर्न समन्वय समितिले अनुरोध गरेको छ । होटल तथा होमस्टेलाई कोरोना भाइरस भित्रन नदिन अपनाउनु पर्ने विधिको विषयमा सूचित गर्ने बैठकको निर्णय छ । निर्णय अनुसार स्वास्थ्य शाखाले चित्लाङमा यस किसिमको कार्यक्रम सम्पन्न समेत गरिसकेको छ ।