Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

किसानलाई व्यवशायिक बन्न उपप्रमुख गोपालीको आाग्रह, उत्कृष्ट किसानलाई पुरस्कार

009-1594655120.jpg

थाहा नगरपालिकाका पशुपालक किसानहरु निर्वाहमुखी नभई व्यवशायिक हुनुपर्ने थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपालीले बताएकाछन् । थाहा नगरपालिका पशु सेवा शाखाको आयोजनामा वडा नम्बर ६ को बज्रवाराहीमा भएको दुध उत्पादक कृषक तथा संकलन केन्द्रलाई अनुदान तथा पुरस्कार वितरण कार्यक्रममा उपप्रमुख गोपालीले यस्तो बताएका हुन् ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर उपप्रमुख गोपालीले अहिले पालन गरिरहेको पशुहरुको संख्या बढाएर आर्थिक रुपले समेत बलियो हुन किसानहरुलाई सुझाव दिए । व्यवशायिक पशुपालनमा सरकारले समेत अनुदान दिने कार्यक्रम रहने हुँदा किसानको सम्वृद्धिको लागि नगरपालिकाले पनि दुध उत्पादक किसानहरुलाई सहयोग हुने खालका कार्यक्रम संचालन गर्ने योजनामा रहेको गोपालीले बताए । 

एक  अर्को प्रसंगमा उपप्रमुख गोपालीले भने–‘कागजमा मात्र कृषि तथा पशु फार्म बनाउने र अनुदान ताक्ने व्यवस्थाको अन्त्य गर्न हामी सबै एकजुट हुनुपर्छ ।’ नगरले दुध उत्पादक किसानको लागि प्रवद्र्धनात्मक कार्यक्रम संचालनमा ल्याएको उनको भनाइ थियो । कृषि सहकारी संघ नेपालका केन्द्रिय लेखा समिति संयोजक महेश्वर सुवेदीले दुध उत्पादक किसानको परिमाण मात्र हैन गुणस्तरको आधारमा दुधको मूल्य निर्धाण गर्न सुझाव दिए । खेतबारीमा जे हरियो देख्यो त्यही घाँस भनेर बस्तुभाउलाई खुवाएर दुध गुणस्तर उत्पादन नहुने बताउँदै उनले किसानलाई भने–‘दुधका लागि झार हैन, घाँस खुवाउने गर्नुहोस् ।’

थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीले थाहा–६ दुधको पकेट क्षेत्र रहेको बताउँदै नगरलाई नै दुधमा आत्मनिर्भर हुन सबै किसान यसतर्फ उन्मुख हुनुपर्ने बताए । किसानहरु परम्परागत नभई उन्नत दुधालु गाई भैसी पालन गरेर दुधबाट आम्दानी लिन आग्रह गरे । दुध बेच्ने नाउँमा विहानभर बजारमा किसानले समय विताउन छाडेर उन्नत वस्तु पालेर मनग्य आम्दानी गर्नतर्फ किसानहरु अग्रसर हुनुपर्ने उनको भनाई थियो । कृषि विकास बैंक लि. पालुङ शाखाका प्रबन्धक प्रकाश ढुङ्गानाले किसानहरुको साथमा बैङ्किङ क्षेत्र रहेको धारणा राखे । पशुपालनको क्षेत्रमा बैंक तथा सहकारीहरुले कर्जा सहयोग गर्दै आएको बताउँदै सुलभ ब्याजदरमा समेत बैकको लगानी गर्ने नीति रहेका सुनाए । किसानहरुको आर्थिक सम्वृद्धिको लागि जहिले पनि सहयोग गर्न तयार रहेको बताए । 

थाहा नगरपालिका पशुसेवा शाखाका प्रमुख राघवेन्द्र मिश्रले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराएको उक्त कार्यक्रममा कृषक ओमकुमार सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थाहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बैंक लि. पालुङ शाखाका प्रबन्धक यादव पौडेल, नन्दीकेश्वर डेरीका संचालक प्रमोद जोशी, बज्रवाराही पशुपालन कृषक समूहका अध्यक्ष एशोधा अधिकारी, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक प्रकाश पौडेल, सिन्धु विकास बैंकका प्रबन्धक आशिष बानियाँ क्षेत्री,  दामन एफ.एम.का स्टेशन मेनेजर कुमार नेगी, प्यासीफिक बचत तथा ऋण सहकारी संस्था, बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि.लगायतका संघसंस्थाका प्रतिनीधिहरु तथा पशु सेवा प्राविधिक विकेश कार्की र रुपेशकुमार मिश्रलगायतको उपस्थिती रहेको थियो । 

कस्ले पाए प्रोत्साहन अनुदान ?

थाहा नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत कार्यक्रम अनुसार ३ सय ६ जनाले प्रोत्साहन अनुदान रकम वितरण गरिएको छ । 

थाहा नगरपालिकाले थाहा–६ बज्रवाराहीमा कार्यक्रमको आयोजना गरी नियमित दुध बिक्रि गर्ने ३ सय ६ जनालाई अनुदान वितरण गरेको हो । नगरका विभिन्न ७ वटा दुध संकलन केन्द्रमा लगेर दुध विक्रि गर्ने किसानहरुका लागि ४ लाख ९६ हजार ६ सय ५८ जनालाई अनुदान वितरण गरिएको पशुसेवा शाखा प्रमुख राघवेन्द्र मिश्रले जानकारी दिए । 

को भए उत्कृष्ट दुध उत्पादक कृषक ?

थाहा नगरपालिकाले सबैभन्दा बढि दुध उत्पादक किसानलाई सम्मान गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको आयोजनामा बज्रवाराहीमा २९ असारमा आयोजित कार्यक्रममा सबैभन्दा बढि दुध विक्रि गर्ने थाहा–३ का युवराज बर्तौलालाई सम्मान गरिएको हो । 

कृषक वर्तौलाले सम्मानपत्र सहित नगद ५ हजार रुपियाँ नगद पुरस्कार पाएका छन् । २०७६ साउनदेखि २०७७ वैशाख मसान्तसम्म दुध संकलन केन्द्रमा सबैभन्दा बढि दुध विक्रि गर्ने किसानहरुलाई नगरपालिकाले पुरस्कृत गरेको हो । 

त्यसैगरी थाहा–६ का यशोधा अधिकारी द्वितीय र थााह–६ कै ओमकुमार सुवेदी तृतीय भएका छन् । उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपियाँ नगद सहित सम्मानपत्र पाएका छन् । 

दुध संकलन केन्द्रलाई पनि पुरस्कार !

थाहा नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढि दुध संकलन गर्ने दुध संकलन केन्द्रलाई नगदसहित सम्मान गरेको छ ।  नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नन्दीकेश्वर डेरी उत्कृष्ट घोषित भएको छ । नन्दीकेश्वरले ११ हजार नगद सहित सम्मानित भएको हो । उक्त डेरीले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ लाख ४ सय ६१ लिटर दुध संकलन गरेको थियो । 

त्यस्तै पशुपालक कृषक समूह द्विवतीय भई नगद ९ हजार, एकीकृत कृषि सहकारी संस्था लि थाहा–२ तृतीय भई ७ हजार, घर्तिखोला दुध संकलन केन्द्र चौथो भई नगद ५ हजार, ओखबर बजार डेरी पाँचौ भई ३ हजार, थानाबजार डेरी छैठौं भई २ हजार र फाँटबजार दुध संकलन केन्द्र सातौंभई नगद १ हजारसहित सम्मान पत्र पाएको छ । 

यसैबीच कार्यक्रमको अवसरमा थाहा नगरपालिकाकै पहिलो गाई फार्म ‘नन्दीकेश्वर गाई फार्म’लाई पुरस्कृत गरेको छ ।  फार्मका संचालक उद्धव भट्टलाई नगद ११ हजार रुपियाँसहित नगरपालिकाले सम्मान गरेको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)