nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज गुरु पूर्णिमा, तमाम गुरुहरुप्रति नमन् ।।।

article-pic-1563274884.PNG

आज गुरु पूर्णिमा । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ । यस अर्थ जीवनमा अन्धकारको नाश गरी उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । जीवनमा अन्धकारको नाश गरी उज्यालो फैलाउन आफूलाई शिक्षा प्रदान गर्ने गुरू अर्थात शिक्षक प्रति श्रद्धाभाव प्रकट गरी आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा मनाइन्छ । 

ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ । त्यसैले भनिन्छ– गुरु ब्रम्हा गुरु विष्णु गुरु र्देवो महेश्वरस् । गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ । यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ । आमा बाबुलाई जस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा विद्यालय एवम् शैक्षिक संस्थाहरुले विभिन्न कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरु अर्थात शिक्षक प्रति श्रद्धाभाव प्रकट गर्दछन् । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीको अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

गुरुको पहिलो रुप शिष्य अर्थात विद्यार्थी हो । शिक्षक बन्नका लागि विद्यार्थीले आफ्ना गुरुबाट धेरै ज्ञानहरु लिनु पर्दछ । लिएका ति सबै ज्ञानहरुलाई व्यवहारमा उत्तार्न सके या नसके पनि विभिन्न तह र अवस्थामा दिइएका जीवनको परिक्षापत्रमा उतार्न सक्नु पर्दछ । जसले कागजिय योग्यताको दर्जा प्रदान गर्दछ । यो औपचारिक या अनौपचारिक दुबै किसिममा हुन सक्दछ । 

विद्यालयमा लिने ज्ञान र व्यवहारिकतामा लिने ज्ञानलाई सहि तरिकाले विश्लेषण गर्न सकेमा मात्र ज्ञानको अर्थ हुन्छ । पढेर लिने ज्ञान र परेर लिने ज्ञान बिच वर्तमान समयमा धेरै अन्तर रहेको समाजका बुद्धिजिवीहरु भन्ने गर्दछन् । “पढेर भन्दा परेर जानिन्छ” भनिन्छ । पढेर जानिने कुरा शिक्षकबाट थाहा पाइन्छ भने परेर जानिने कुरा व्यवहारिकतामा भोगेर सिकिन्छ । व्यवहारिकतामा सिक्नका लागि समाजका अग्रज, बुद्धिजिवी देखि समाजमा रहेका सबै मानिसहरुको प्रत्ययक्ष वा अप्रत्यक्ष र सकारात्मक वा नकारात्मक भुमिका रहन्छ । यि दुबै पक्ष महत्वपूर्ण छन् । समाजबाट लिइएको सकारात्मक शिक्षा वा नकारात्मक शिक्षालाई विश्लेषण गरी कस्तो व्यक्ति बन्ने भन्ने विद्यार्थी स्वयमको जिम्मेवारी हो । पढेर लिइने शिक्षाले योग्यताको प्रमाण दिन्छ भने परेर जानिएको शिक्षाले अनुभव दिन्छ । जब मानिसमा अनुभव र योग्यता दुबै हुन्छ तब मात्र मानिस कुनै कामका लागि दक्ष मानिन्छ । 

एउटा विद्यार्थीका लागि विद्यालय र समाजको सबै ज्ञान दिने आमाबुबा, विद्यालयमा ज्ञान दिने शिक्षक र समाजमा रहेर ज्ञान दिने समाजका व्यक्तिहरु सबै महत्वपूर्ण हुन्छ । एउटा योग्य र दक्ष व्यक्ति बन्नका लागि कुनै न कुनै तहबाट भएको प्रत्यक्ष,  अप्रत्यक्ष, सकारात्मक र नकारात्मक सबै किसिमको भुमिका खेल्ने व्यक्तिहरु आवश्यक हुन्छ । यस हिसाबमा हेर्ने हो भने ति सबैजना गुरु हुन् । र ति सबै जननालाई गुरु मानेर श्रद्धाभाव व्यक्त गर्न जरुरी छ । र आजको दिन म कत्ति पनि कञ्जुस्याइ नगरीकन ति तमाम व्यक्तित्वहरुलाई नमन् गर्न गर्दछु ।

आजकै दिन म सम्पूर्ण गुरुहरुको योगदानको प्रशंसा गर्न चाहान्छु । जन्मदेखि मेरैलागि चिन्तित हुँदै मलाई यो स्थान सम्म ल्याउन प्रयत्नरत मेरा आमा बुबा प्रति नमन् । अनौपचारिक शिक्षा मार्फत नैतिक र व्यवहारिक ज्ञान दिइ अघि बद्न सिकाउने शिक्षम प्रति नमन् । मलाई अघि बढ्न उत्प्रेरण दिने समाज र सामाजिक व्यक्तित्व प्रति नमन् । विद्यार्थी जीवनबाट शिक्षकको पदमा नियुक्ति भए पछि सर्लक्कै आफु पनि विद्यार्थी थिए भन्ने कुरा बिर्सिएर पदको शक्ति प्रयोग गरि विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकहरुलाई नमन् । तलब पचाउनका लागि मात्र पद लिने शिक्षकहरुलाई नमन् । अन्धकारमा उज्यालो छर्न ४÷५ हजार तलबमा पनि जिम्मेवार हुने शिक्षकहरुलाई नमन् । विद्यालयमा शिक्षकको पदमा बसि राजनीति गर्नेहरुलाई नमन् । आफ्नै घरमा छोराको जन्म नहुँदा पटक पटक छोरी जन्मिँदा पनि छोरा र छोरी दुबै बराबरी भन्दै कक्षामा पढाउने हिम्मत गर्ने शिक्षकहरुलाई नमन् । चुरोत र सुर्ती गोजीमा राखेर धुम्रपान र मद्यपान गर्नु हुँदैन भनि सिकाउने शिक्षकहरुलाई नमन् । १६÷१७ वर्षको उमेर देखि बुढेसकाल सम्म पनि शिक्षा फैलाउन प्रतिबद्ध शिक्षकहरुलाई नमन् । आफैले पढाएको विद्यार्थीहरु ठुला ओहोदामा पुग्दा पनि आफ्नो पेसा प्रति सन्तुष्ट हुँदै आफ्नो विद्यार्थी प्रति गर्व गरिरहने शिक्षकहरु प्रति नमन् । आफ्नो पेसामा प्रतिबद्ध भै असल र योग्य जनशक्ति उत्पादनमा दिनरात नभनी, बर्षा, हिउँदो नभनी, जाडो, गर्मी, सित, तुसारो, हिउँ नभनी खटिरहने शिक्षकहरुलाई नमन् । आफ्नो घरपरिवारबाट टाढा रहेर पनि विद्यार्थीको भविष्यको लागि चिन्तित शिक्षकहरु प्रति नमन् । चाड पर्व र घरपरिवारको पिडामा मल्हम लगाउन भन्दा पनि विद्यार्थीको परिक्षा केन्द्रित गरी पढाउन सक्ने शिक्षकहरुलाई नमन् । विद्यार्थीहरुलाई पारिवारिक वातावरणमा शिक्षा दिन सक्ने शिक्षकहरुलाई नमन् । महिनावारीको पिडालाई सहँदै आफ्नो कर्तब्यप्रति जिम्मेवार शिक्षकहरुलाई नमन् । सुत्केरीको घाउ निको हुन नपाउँदै शिशु काखमा च्याप्दै आफ्नो काम प्रति जिम्मेवार शिक्षकहरु प्रति नमन् । 

यस्तै यस्तै आफ्नो समस्यालाई थाति राखि काम कर्तब्य सँगै हजारौँ विद्यार्थीको जीवन उज्वल बनाउन निरन्तर लागिपर्ने तमाम मेरा गुरुहरु प्रति धेरैधेरै धन्यवाद व्यक्त गर्दै दश औँला जोडी नमन् गर्दछु । समाजको विकासमा दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण योगदान गरिरहेका सम्पुर्ण शिक्षकहरुको योगदानलाई कदर गर्दै म जस्ता हजारौँको विद्यार्थीहरुको तर्फबाट श्रद्धाभाव व्यक्त गर्दछु ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।