Tuesday, 22nd September, 2020
वि.स.

हामी कर्मचारीप्रति नागरिकका गुनासै गुनासा किन ?

Badrii-sir-1599488956.jpg

नेपालमा हरेक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाउने गरिन्छ। यसवर्ष कोभिड–१९ को महामारी र बढ्दो संक्रमणका कारण केन्द्र, प्रदेश तथा जिल्ला स्तरका समारोह आयोजना नगरी भौतिक दूरी कायम गर्दै सम्बन्धित कार्यालयहरुमा नै यो दिवस मनाइँदै छ।

२२ भदौ २०१३ मा निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो। हरेक वर्ष दिवसका अवसरमा तय भएका आदर्श वाक्यलाई सरसर्ती सिंहावलोकन गर्नु अहिले सान्दर्भिक हुन्छ।

प्रत्येक वर्षका आदर्श वाक्यलाई हेर्दा शिष्ट व्यवहार, प्रभावकारी सेवा प्रवाह, सुशासन, पारदर्शिता, जवाफदेहिता र चुस्ततालाई जोड दिएको देखिन्छ। यसवर्ष ‘स्वच्छ र सक्षम निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने आदर्श नारा तय भएको छ। निजामति दिवसमा तोकिएका नारालाई व्यवहारमा कार्यान्वयन गर्न गराउन निजामति प्रशासनमा कार्यरत कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ।

दिवसको नारा आफैँ कार्यान्वयन हुने होइनन्, कर्मचारीले आ–आफ्नो कार्यक्षेत्रमा इमान्दार प्रयत्नले मात्र ती नारा कार्यान्वयन हुन्छन्। प्रत्येक वर्ष निजामती दिवसको एक दिनमात्र नाराका बारेमा चर्चा परिचर्चा नगरी त्यस अनुसारको व्यवहार प्रदर्शन गर्नु निजामती प्रशासन र त्यसलाई मार्गदर्शन गर्ने राजनीतिक नेतृत्वको अहम् कर्तब्य हो। निजामती सेवा र त्यसको प्रभावकारिताका लागि धेरै पक्षहरु जोडिएका छन्, तर निजामती कर्मचारी आफैँ स्वच्छ, निष्पक्ष, इमान्दार र सेवाभाव भएको हुन जरुरी छ। त्यसका लागि असल आचरण र व्यवहारले मूल भूमिका खेल्दछ।

पारदर्शी, सेवाग्राहीमैत्री 
सार्वजनिक सेवा प्रवाह राज्यको न्यूनतम आधारभूत कार्य हो, जुन आम जनताको लागि स्थापना गरिएको हुन्छ। राज्यले लिएका उद्देश्य, नीति, योजना, रणनीति र कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गराउन सार्वजनिक सेवा प्रवाहको व्यवस्था गरिएको हुन्छ। उक्त कार्य निजामती प्रशासनमार्फत् हुने गर्दछ।

सामान्यतया मुलुकको सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी संयन्त्रका रुपमा स्थापित राष्ट्रसेवकहरुको समष्टिगत संरचनालाई निजामती सेवा भनिन्छ। यसलाई स्थायी सरकार मानिएको छ। निजामति सेवालाई राज्य सञ्चालनको एक आधारभुत तथा अभिन्न अङ्गको रुपमासमेत लिइन्छ।

निजामती सेवा प्रतिस्पर्धाबाट छानिएर आएका गैह्र राजनीतिक कर्मचारीहरूको सेवा संगठन वा पद हो। विश्वव्यापी मान्यता अनुसार यसलाई सरकारको मुख्य अङ्ग, योग्यता प्रणालीमा आधारित सेवा, सेवाको सुरक्षा, स्थायित्व र वृत्ति विकासका अवसरहरू भएको, नियम र कानूनमा आधारित भएर काम गर्ने, राजनीतिक तटस्थता र अनुशासन तथा आचरणका आधारमा सञ्चालन हुने सेवा मानिन्छ।

कुनै पनि राष्ट्रको प्रशासन सञ्चालन गर्न निजामती सेवा र अन्य सेवाहरु गठन गरिएको हुन्छ। सरकारले लिएका लक्ष्य तथा उद्देश्य परिपूर्ति गर्न निजामती प्रशासनले भूमिका खेल्दछ। राज्यको नीति, ऐन, कानून कार्यान्वयन गर्ने एवं सेवा र वस्तुको प्रवाह गर्ने संयन्त्र कर्मचारी भएकोले राज्यको आधार स्तम्भका रुपमा निजामती कर्मचारीलाई मानिन्छ।

लोकतन्त्रको लाभ जनतासमक्ष पुर्याउने सशक्त माध्यम सार्वजनिक प्रशासन हो। सकेसम्म कम लागतमा सर्वसुलभ सेवा उपलव्ध गराउन, जनउत्तरदायी भई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न, नतिजामुखी र परिणाममुखी कार्यसम्पादनबाट लक्षित उद्देश्य पुरा गराउनु निजामती सेवाको उद्देश्य हो।

कुनै पनि सेवामा रहने व्यक्ति तथा पेशाकर्मीले पेशागत धर्म तथा सेवाग्राहीका भलाईका लागि काम गर्नुपर्छ। सार्वजनिक सेवामा रहने पदाधिकारीहरु कानूनको परिपालना गर्ने, जवाफदेही, पारदर्शी र सेवाग्राहीमैत्री हुनुपर्दछ।

हाम्रा ऐन कानून विशेष गरी निजामती सेवा ऐन २०४९ (संशोधन सहित), सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ र निजामती कर्मचारीको आचरण सम्बन्धी नियमावलीमा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरण तथा व्यवहारको बारेमा व्यवस्था गरिएको छ।

निजामति सेवा ऐन २०४९ (संशोधन सहित) परिच्छेद ७ मा समयपालना, नियमितता, अनुशासन र आज्ञापालन, उचित आदर गर्ने, राजनैतिक वा अवाञ्छित प्रभावमा पर्न नहुने, सबैप्रति शिष्ट व्यवहार गर्ने, मर्यादापूर्वक पदीय दायित्व निर्वाह गर्ने, निष्पक्ष तथा छिटो छरितो रुपमा कार्यसम्पादन गर्नुपर्ने, सेवाग्राहीप्रति सम्मानजनक व्यहार गर्नुपर्नेसहित १६ वटा बुँदामा निजाममती कर्मचारीले पालना गर्नुपर्ने आचरणको बारेमा उल्लेख गरिएको छ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा २३ मा सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले पदमा रहँदा वा जुनसुकै कारणले अवकास प्राप्त गरेको मितिले तोकिएको अवधिसम्मका लागि पदीय वा पेशागत आचरण पालना गर्नुपर्ने उल्लेख गरिएको छ। सोही ऐनको परिच्छेद ५ को विविध दफा २४ मा पदीय उत्तरदायित्वको निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ।

निजामति कर्मचारीको आचरणसम्बन्धी नियमावली २०६५ ले मूलभूत रुपमा निजामती कर्मचारीको आचरणलाई निम्न रुपमा उल्लेख गरेको छः

१. पदीय आचरण सम्बन्धी व्यवस्थाः पदीय मर्यादा कायम राख्ने, उचित र समान व्यवहार गर्ने, कार्यालय समयमा सम्बन्धित काम मात्र गर्नुपर्ने, कार्यालयका सामान र सुविधाको सदुपयोग गर्ने, सूचनाको दूरुपयोग गर्न नहुने, काम कारवाहीमा निष्पक्षता कायम गर्ने, व्यापार व्यावसाय गर्न नहुने, परिचयपत्र र पोशाक लगाउनुपर्ने, राजनीतिक तटस्थता कायम गर्ने, पारदर्शिता कायम गर्ने, सेवाप्रवाह गुणस्तरीय रुपमा सहज तरिकाले उपलब्ध गराउने र गुनासो व्यवस्थापन गर्ने।

२. पेशागत आचरण सम्बन्धी व्यवस्थाः कानूनको जानकारी र पालना, पेशाको सम्मान गर्नुपर्ने, आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने, पेशागत अनुमति पालना गर्ने, गुणस्तरीय रुपमा कार्यसम्पादन गर्ने, व्यवसायिक मापदण्डको पालना गर्नुपर्ने र आर्थिक अनुशासन र सदाचारिता कायम गर्नुपर्ने।

३. व्यक्तिगत आचरणः उचित आदरभाव र व्यवहार प्रदर्शन गर्ने र नेपाल सरकार तथा निजामति सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न प्रयत्नशील रहने।

अमेरिका, भारत र हामी  
निजामती कर्मचारीहरुले पालना गर्नुपर्ने आचरण र व्यवहारका बारेमा हाम्रो छिमेकी देश भारतमा संविधान कानून र राष्ट्रप्रति निष्ठावान, राजनीतिबाट मुक्त रहने, वस्तुनिष्ट, निष्पक्ष, इमान्दार, स्वच्छ र उचित व्यवहार गर्ने, उच्च नैतिकता स्थापित गरी गुणस्तरीय सेवा प्रवाह गर्ने र जवाफदेही बहन गर्ने जस्ता पक्षहरु तोकिएका छन्।

बेलायतमा कर्मचारी आचरण र व्यवहारका सम्बन्धमा स्वार्थरहित सार्वजनिक हीतमा काम गर्ने, कर्तव्य पालनामा इमान्दारिता, वस्तुनिष्ट भई कार्य सम्पादन गर्ने, कामकारबाही र निर्णयप्रति जवाफदेहिता लिने, स्वच्छ व्यवहार, खुला र पारदर्शी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तोकिएका छन्।

अमेरिकामा उच्च आदर्शका साथ सेवाभाव भएको, कामप्रति समर्पित, कानूनको परिपालक, पारदर्शी, जवाफदेही र कर्तव्यप्रति प्रतिवद्ध, जनविश्वास जित्ने, उच्च आचरण र सदाचार र व्यावसायिक उत्कृष्ठता जस्ता विषय कर्मचारीमा तोकिएको छ।

अफ्रिकामा लोकतान्त्रिक मूल्यमान्यताप्रति समर्पित, पूर्वाग्रहरहित, पारदर्शी र कार्यसम्पादनमा निष्पक्षता, राजनीतिक रुपमा तटस्थता, सेवाप्रति समर्पित, इमान्दार, समान व्यवहार गर्ने र विविधतालाई सम्मान गर्ने जस्ता आचरण र व्यवहार निजामती सेवाका कर्मचारीको लागि तोकिएका छन्।

सबै देशले सामान्यतया पेशाप्रति निष्ठा, नैतिकता, कानून परिपालना गर्ने, सेवाभाव भएको, जवाफदेहिता बहन गर्ने र गुणस्तरीय सेवा प्रवाह गर्ने लगायतका पक्षलाई निजामती कर्मचारीको मूल पक्ष मानेका छन्। हाम्रोमा पनि त्यहि छ।

तर, ऐनमा भएको व्यवस्था र हाम्रो व्यवहारमा तालमेल नमिलेको हो कि जस्तो भान हुन्छ। अन्तरमनबाट स्वस्फुर्त सेवा दिनुपर्नेमा सो भावको कमी भएको, पेशाप्रतिको जिम्मेवारी भन्दा राजनीतिप्रति नजिक हुन खोज्ने प्रवृति, जवाफदेहिता र जिम्मेवारी बहनमा कमी अर्थात काम पन्छाउने प्रवृत्ति, पेशाको मर्यादा कायम गर्न नखोज्दा जनविश्वास आर्जनमा कमी, सेवाग्राहीप्रति उदासीन व्यवहार देखाउने र कार्यसम्पादनलाई जटिलता तर्फ उन्मुख गर्ने प्रवृति, सेवक भन्दा शासकको व्यवहार देखाउने, पेशागत व्यावसायिकताको मर्मअनुसार काम नगर्ने प्रवृत्ति, कार्यकुशलता र निपष्पक्षतामा विश्वासको अभाव, जनस्तरमा अनुभुति हुने गरी सुशासनको अभाव लगायतका कमजोरी हामीमा छ। यी आम सरोकारवालाले टिप्पणी गर्ने गरिरहेका विषय हुन्।

आम कर्मचारी जगतप्रति नागरिकको वितृष्णा रहेको कुरा जगजाहेर नै छ। हामीभित्र राम्रा वा असल काम गर्नेहरु पनि धेरै छौँ, अर्थात इमान्दार तरिकाले सेवाप्रवाह गर्नेहरु गरिरहेकै छौँ। नागरिकलाई सेवा प्रदान गर्न सबैभन्दा अग्रभागमा रहेर हामी रातदिन इमान्दार प्रयत्नले लागि रहेका छौँ, तर पनि हामीप्रति नागरिकका गुनासा प्रशस्तै छन्।

अब यसो गरौं  
नयाँ संविधानमार्फत् संघीयता कार्यान्वयनमा आएको पाँचवर्ष पूरा भएको छ। निर्वाचित सरकारले पनि तीनवर्ष पूरा गर्न लागिसक्यो। संविधानले परिकल्पना गरेको तीनवटै तहको सरकार अहिले क्रियाशील छ। त्यसैबमोजिम कर्मचारी व्यवस्थापन भइसक्यो। तर, अझै संघीय निजामती ऐन आएको छैन भने प्रदेश निजामती सेवा र स्थानीय सेवा त अझै बाँकी त हुने नै भए।

निजामती प्रशासनलाई सुदृढ र सक्षम बनाउन निजामति सेवा ऐन छिटोभन्दा छिटो ल्याउन जरुरी छ। राजनीतिक र उच्च प्रशासनिक नेतृत्वले हाम्रोभन्दा राम्रो, समयानुकूल प्रविधिमार्फत रुपान्तरण गर्न सक्ने, निजामती सेवाभित्रका सेवा समूहलाई समान व्यवहार, कामको उचित र वस्तुनिष्ट मूल्याङ्कन गरी क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्नु अहिलेको आवश्यकता हो। त्यस्तै गरी हामी कर्मचारी व्यवहार र आचरणमा अझै इमान्दार प्रयत्नका साथ नागरिकको विश्वास जित्ने गरी काममा जुटन आवश्यक छ।

भएका र गरिएका कमिकमजोरीलाई स्वीकार गरौं, नयाँ ढंगबाट सेवाप्रवाहमा विश्वास जितौँ। हाम्रा ऐन, कानून र नियमावलीमा व्यवस्था भएका निजामती कर्मचारीका आचरण सम्बन्धी व्यवस्थालाई व्यवहारमा सहजतापूर्वक कार्यान्वयन गर्न प्रयत्न गरौैँ। सेवाग्राहीलाई मुस्कान सहित हार्दिकता तथा आदरभावको व्यवहार देखाउने, कार्यालयको नागरिक वडापत्र अनुसार सरल रुपमा सेवा प्रवाह गर्ने गरौँ। कार्यसम्पादन गर्ने क्रममा हामी आफैँले सेवाग्राही भएर सोच्न जरुरी छ।

प्रक्रियाभन्दा नतिजामा ध्यान दिने, नागरिक र सहकर्मीसँग सहकार्य र आपसी विश्वासमा जोड दिने, नियम कानुन अनुसार गर्न नमिल्ने कामको बारेमा सही सूचना समयमै उपलब्ध गराउने, राजनीतिक रुपले तटस्थ, इमान्दार र निष्पक्ष भएर कार्यसम्पादन गर्ने, कार्यसम्पादनको पृष्ठपोषण लिने र असफलताबाट पाठ सिक्ने कर्मचारी आफैँले सोच्ने कुरा हुन्।

त्यस्तै सम्बन्धित निकायबाट नियमित अनुगमन र मूल्याङ्कन हुनु जरुरी छ। आचरण पालना नगर्नेलाई कडाइका साथ कारबाही गर्ने, कर्मचारीको पेशागत व्यवसायिकता विकासका कार्यक्रम सञ्चालन गर्ने, बदलिँदो समय र अवस्था अनुसार कर्मचारीहरुको सेवा सुविधामा बढोत्तरी गर्ने, कर्मचारीलाई समय समयमा कार्य व्यवहार र आचरणबारे अभिमुखीकरण गर्ने तथा सेवाग्राहीबाट समेत मूल्याङ्कन गर्ने व्यवस्था मिलाउने गर्न सकेमा पक्कै हाम्रो सेवा अनुकरणीय बन्ने छ। उत्प्रेरित कर्मचारीले मात्र सुशासन र समृद्धिका लागि काम गर्न सक्छन्।

निजामती सेवा दिवसका अवसरमा यही शुभकामना!

(पाठक जिल्ला आयोजना कार्यान्वयन इकाई, मकवानपुरका शिक्षा तर्फका उपसचिव हुन्)