Sunday, 11th April, 2021
वि.स.

सुमन ल्वागुन ‘क्षितिज’को मुक्तक “रुवाई”

20915520_1709220526054146-1564808743.jpg

रूवाई–१
कहिले रूप त कहिले सार देखाउँछ
बारम्बार त्यसैले अहंकार देखाउँछ
बटुलेर पसिना जनता सरकार बनाउँछन्
लोकतन्त्रमा महाराजको अवतार देखाउँछ


रूवाई–२
पानीको प्यास दूधले मेटिन्छ भने
एउटालाई छोड्दा अर्को भेटिन्छ भने
शरणार्थी हुन विवश छ मेरो माया 
मायाकै देशबाट मायालु लखेटिन्छ भने


रूवाई–३
सम्बन्ध गाँज र गाबो जस्तै हो
दुईबीच चंगा र धागो जस्तै हो
सम्झौता हुँदैन भने विचारहरूमा
एक–अर्का खरानी र आगो जस्तै हो


रूवाई–४
अँध्यारोमा विश्वासको दियो बल्ने छ
कष्टहरू सबै–सबै मेरै अगाडि ढल्ने छ
प्रियसी एक पटक माया मात्र गरेर हेर 
अब तिम्रै साथले मेरो जिन्दगी बदल्ने छ


रूवाई–५
कहिले नम्र त कहिले कडा हुन्छ
आफ्नो कुरा सुनाउन उ तगडा हुन्छ
हरदम सोच्दैछु नियती या संस्कार नै यस्तो
क्रान्ति गर्ने नै अन्त्यमा किन लङ्गडा हुन्छ ?

सुमन ल्वागुन ‘क्षितिज’