Tuesday, 20th October, 2020
वि.स.

सधैँ दबाब र त्रासमा जिउनु पर्ने कस्तो जीवन?

घडीले रातिको १० बजाईसकेको थियो। म रातिको ड्युटीमा भर्खरै बिरामीलाई मेडिकेसन गरेर रेकर्ड गर्दै थिएँ। त्यतिबेलै ढोकामा २/३ जना महिलाहरू हातमा जेब्रा झोला लिएर उभिएको देखेँ। जसमध्ये एकजना महिला गर्भवती हुन् भनी छुट्टाउन गाह्रो परेन।

सबैलाई भित्रै बोलाएर समस्या सोधेँ। उनलाई प्रसव व्यथा सुरू भएको उनका आफन्तले बताए। उनको पहिलाको गर्भ र पारिवारिक इतिहास बुझ्दा घरमा ३ वटा छोरी रहेछन् र यो चौथो गर्भ रहेछ। उनी आफू पेशाले शिक्षिका रहेछिन्। उनको बारेमा सबै कुरा बुझिसकेपछि उनलाई पिसाब फेर्न पठाएँ र फर्केपछि उनको रक्तचाप, बच्चाको धड्कन र भजाइनल एग्जामिनेसन गरेँ।

पाठेघरको मुख ६ सेन्टिमिटर खुलिसकेको रहेछ। जाँच अनुसार उनलाई भर्ना गरेर राख्नुपर्ने सुनाएँ। प्रसव व्यथा सुरू भैसकेको महिला पाठेघरको मुख ६ सेन्टिमिटर खुल्दा समेत मौन अवस्थामा थिइन्। दिदी दुखाइ के-कति छ भनी सोध्दा समेत बोल्न चाहिनन् तर उनलाई अत्यन्तै पीडा भएको कुरा ठम्याउन गाह्रो थिएन। उनको आफन्तलाई किन नबोलेको भनी सोध्दा आफन्तहरू पनि बोल्न चाहेनन्।

प्रसव पीडामा भएको अवस्थामा एउटा खुट्टा धर्तीमा अर्को खुट्टा स्वर्गमा हुन्छ भनिन्छ। पक्कै पनि यो पीडादायी समय हो तर उनलाई देख्दा यस्तो लाग्थ्यो, उनी प्रसव पीडामा भन्दा ठूलो अरू कुनै पीडामा छिन्। उनी प्रसव पीडामा भएका अन्य महिलाभन्दा फरक देखिन्थिन्। अनुहार निकै चिन्तित र थकित देखिन्थ्यो।

मैले उनलाई गर्नुपर्ने काम कर्तव्य पूरा गरिरहेकी थिएँ। यत्तिकैमा राति १ बजे बच्चा बस्ने पानीको फोका फुट्यो। जाँच गरी हेर्दा पाठेघरको मुख पूरै खुलिसकेको रहेछ र तुरुन्तै डेलिभरी रूमतिर सारियो। सेकेन्ड स्टेज अफ लेबर (प्रसवको दोस्रो चरण) प्रसव अवधिकै धेरै पीडादायी समय हो। यो समयमा पनि उनी आफूलाई पीडानै नभए जस्तो गरिन्।

एकैछिन्मा बच्चा जन्मियो, जन्मिना साथ बल्ल ती महिलाले आवाज निकालिन्- 'सिस्टर के जन्मियो?' म छक्क परेँ। त्यति धेरै पीडामा आफूलाई मौन राखेकी उनले ठूलो जिज्ञासाका साथ सोधिन् 'के जन्मियो?'

साल पूरै नझरेको कारण मैले उनलाई भन्न चाहिनँ र उनको आफन्तलाई छोरी जन्मेको कुरा जानकारी गराएँ। ती महिलाहरू फेरिपनि छोरी जन्मियो भनेर एकआपसमा खस्याक खुसुक गरे। सालनाल छुट्याईसकेपछि उनलाई पोस्ट न्याटल वार्डमा सारियो अनि बल्ल मैले दिदी तपाईको छोरी जन्मिएको छ भनी जानकारी गराएँ।

उनी त बल्ल पो प्रसव पीडामा भए जसरी डाको छोडेर रून थालिन् र भनिन् 'हे भगवान्, मेरो फेरि पनि छोरी भयो।' मानौँ उनको कोखबाट उनको सन्तान नभइ कुनै राक्षसको जन्म भएको जस्तो गरिन्। मानसिक तनावको कारण सुत्केरीमा धेरै रगत बग्ने समस्या (पोस्ट पार्टम हेमरेज) हुने भएकोले सम्झाउन खोजेँ तर उनलाई आफ्नो शरीरको भन्दा धेरै पिर छोरा नजन्मिएकोमा थियो।

पछि मात्रै थाहा भयो, यसपाली पनि छोरी जन्मने होला भनी उनीसँग उनका घरका सदस्य कोही आएका रहेनछन्। ती दुई महिला पनि माइती पक्षका रहेछन्। मैले बच्चा जन्मिएको एक घण्टा भित्रै दूध चुसाउन अनुरोध गरेँ तर उनले मानिनन् र भनिन्- 'यो बच्चा मलाई चाहिदैन।'

मनमनै आफैलाई धिक्कार गरेँ। हामी छोरीहरू त आफ्नै जन्म दिने आमा जसले निस्वार्थ माया दिन्छन्, उनीहरूबाटै अपहेलित हुँदा रहेछौँ। मलाई निकै दुख लाग्यो, एउटा अबोध शिशु जसले यस धर्तीमा आएपछि पूर्ण रूपमा गाँस, बास र कपासको अधिकार पाउँछिन् तर आफ्नै आमाले त्यस अधिकारबाट पनि बन्चित गराइन्।

उनी त्यति धेरै प्रसव पीडामा बोल्दै नबोली रूदै नरूनुको तात्पर्य बल्ल पो बुझेँ। छोरी जन्मन्छ की भन्ने पिरले पीडा दबाएर बसेकी रहेछिन्। विचरा, आफैले जन्माएको सन्तानको कसलाई पो माया लाग्दैन होला र! उनी त पारिवारिक र सामाजिक दबाबमा रहेछिन्।

पहिलेदेखि नै पारिवारिक सहयोग नपाएकी उनले फेरिपनि छोरी जन्माएँ भने श्रीमान, घरपरिवार र समाजले गर्ने व्यवहार के होला, कस्तो नजरले हेर्ला भनी त्रासमा रहेछिन्। निकैबेर सम्झाउने कोशिस गरेँ- 'दिदी तपाई आफै शिक्षित मान्छे, तपाई जस्तो मान्छेले परिवार समाजलाई बुझाउन सक्नुपर्छ की छोराछोरीमा विभेद गर्नु पर्ने कुनै पनि कारण हुँदैन। 

छोराले गर्न सक्ने सबै काम छोरीले पनि गर्न सक्छन्। हाम्रै देशमा पनि छोरीहरु उच्च पदमा पुगी समाज र देशको लागि ठूलो योगदान पुर्‍याएका छन्। दिदी कस्को भाग्यमा के लेखेको छ थाहा हुँदैन। आज समाजको परिवारको व्यवहारले मन दुखाइरहनु भएको तपाई, भोलि यही छोरीको कारणले समाजबाट सम्मानित हुने दिन आउन सक्छ। त्यसैले आफूलाई कमजोर बनाउनुको साटो यो बच्चालाई आफ्नो कोखको पहिचान दिनुस्,पालन पोषण र अघि बढ्ने उचित वातावरण तयार गर्नुस्, ताकी भोलि कुनै छोरीले यस्तो व्यवहार भोग्न नपरोस्।'

यति भनिसकेपछि त्यो दिदीको बोली बन्द भयो तर मलाई भने छट्पटाहट सुरु भयो। समानताका गफ चुट्ने हामी भित्र भने निकै खोक्रो छौँ। यसका लागि कुनै अग्नि परीक्षा कुर्नु पर्दैन, मात्रै दोस्रो सन्तान पनि छोरी जन्मिए अनुहारमा छरपस्ट हुन्छ विभेद कुन स्तरमा छ भन्ने।

छोरी भइ जन्मिनु एउटा चिन्ता, परिवारको इज्जत जोगाईदिनु पर्ने चिन्ता, घरवार बिग्रन्छ की भन्ने चिन्ता, गर्भ बस्छ बस्दैन भन्ने चिन्ता, कतै फेरि पनि छोरी नै जन्मिने होकी भन्ने अर्को चिन्ता। उफ्! आखिर महिला चिन्ता लिनको लागि मात्र जन्मिएका हुन्?

बच्चा जन्मिदा पहिलो चासोको विषय बिरामी र बच्चाको स्वास्थ्य अवस्था हुनुपर्ने। तर त्योभन्दा चासोको विषय छोरो वा छोरी के जन्मियो भन्नेमा हुन्छ। नवजात बच्चा छोरो हुनुपर्यो, त्यसपछि मात्र आमा र बच्चाको स्वास्थ्यको कुराले प्राथमिकता पाउँछ। नर-नारी बराबरी भन्दै चिच्याउने हाम्रो समाज वास्तवमै परिवर्तन हुन अझै कति समय लाग्ने हो?

छोरो पाउने लक्षणका सपना देखेको भरमा मात्रै गर्भवती बुहारीले स्याहारसुसार पाउने मानसिकता भत्काउन जरुरी छ। छोरो जन्माउदा मात्रै महिलालाई परिवारको साथ सहयोग चाहिने होइन, छोरी हुँदा झन् बढी शारीरिक र मानसिक रूपमा साथ आवश्यक पर्दछ।

साक्षर देश घोषणा भैसक्यो, अर्थात् शिक्षितहरूको जमात छ यहाँ तर सोचाइ भने पितृसत्तात्मक देखिन्छ। नीतिनिर्माण तहमा बसेका व्यक्ति समेत छोराकै खोजीमा पटक-पटक गर्भपतन गराइरहेको दृश्य नदेखिएका हैनन्। के जन्मिन्छ हैन, आमा र बच्चाको स्वास्थ्य अवस्था ठिक होस् यसैमा खुसी साटौँ।

केही दिन अगाडि मात्रै सप्तरीको एउटा घटना बाहिर आयो- 'तीन छोरी जन्माएकै कारण सासू र श्रीमानले मरणासन्न हुने गरी कुटपिट गरेको भनी प्रहरीकहाँ न्याय खोज्दै जाँदा निवेदन नै दर्ता नगरी घर फर्काईदियो।' समृद्धि, समानता र न्यायका ठूला ठूला कुरा गर्नेहरू यस्ता घटनामा किन केही बोल्दैनन्? छोराले डोर्‍याएर बृद्धआश्रमको गेटसम्म पुर्‍याउदा छोरीले फर्काएर घरको न्यानो ओछ्यान दिएका घटनाबाट हामीले पाठ सिक्नु जरुरी छ।

एउटै कोखबाट जन्मिएका निर्दोष सन्तानलाई भोलिको स्वार्थप्रेरित भाव राखी विभेदकारी व्यवहार गर्नु अनुचित कार्य हो। गर्भ बसेको खुसी बाड्न नपाउदै छोरी जन्मन्छ की भन्ने पिर लिएर बस्न बाध्य पार्ने हाम्रो समाजमा असल संस्कार भएकी बुहारीको भने खोजी भइरहन्छ।

महिला हिंसाका घटनाहरू दिनानुदिन नयाँ नयाँ रूपमा आइरहेका छन्। बलात्कारका घटनाहरू त सुनीनसक्नुका छन्। सुरक्षाकवच मानिएकाहरूबाटै असुरक्षित हुनुपरेको छ। काठमाडौँ उपत्यकामा त दिनदाहाडै अपहरण गरी बलात्कार भएका घटना सुन्दा विकट गाउँमा घाँस दाउरा नगरी गुजारा नचल्ने परिवारमा पक्कै पनि सन्नटा छाएको छ।

के महिलाहरु पुरुषको भोक प्यास मेटाउने साधन मात्र हुन्? गर्भमा हुँदा हत्या, जन्मिएपछि आमाको दूध छुट्न नपाउदै बलात्कार, यौवन अवस्था पार नहुँदै बिहे, बिहेपछि पारिवारिक बन्धन, किशोर अवस्थामा हिंसा, बलात्कार र शोषण, फेरि जीवनको अन्तिम अवस्था बुढेसकालमा बोक्सीको ट्याग भिर्नु पर्ने। के एउटा मानव भएर जन्मेपछिको जीवन यही हो?

बलात्कारीहरू केही समय जेल बसेपछि हाँस्दै हिड्ने तर बलात्कृतहरू भने जीवनभर मुस्कुराउन नसक्ने अवस्था सृजना हुनु निकै दुखदायी हो। हामी जतिसुकै अगाडि बढेपनि हामीलाई नैतिक शिक्षाको अभाव भएकै हो। एउटा परिवारले आफ्नो बच्चालाई धेरै अंकको लागि प्रतिस्पर्धा गराउनुभन्दा पनि बच्चैदेखि असल/खराब, कुन ठिक कुन बेठिक भन्ने कुरा मात्रै सिकायो भने ऊ जीवनकै प्रतिस्पर्धामा सबैभन्दा अगाडि बढन सक्छ।

वास्तविक पीडकलाई कठोर सजाय र पीडितलाई हौसला, अवसर र पुनर्स्थापित गर्नमा सरोकारवाला निकायहरु सबैले सहकार्य गरौँ। सृष्टिको आधा हिस्सेदार महिलालाई सम्मानपूर्वक सुरक्षित रहने वातावरण निर्माण गरौँ। आजका कोपिला भोलिको राष्ट्र निर्माणका खम्बा अनि पहरेदार हुन्।

(लेखक स्वास्थ्यकर्मी हुन्।)

-सेतोपाटीबाट