ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

शब्दहरूको शिविरमा प्रारम्भिक पर्यवेक्षण
बिर्खे अञ्जान

Bi-1625328582.jpg
  • बिर्खे अञ्जान, पालुङ मकवानपुर 

पूर्व पृष्ठभूमि 

        भेट्नु पुर्व जब तस्बिरमा देख्छौ हामी त्यो मान्छे  , गर्न थाल्छौं उमेरको अनुमान ।हुनुपर्छ पक्कापक्की सत्तरी हाराहारी ।बोकेर दीर्घ रोगको अैषधी ।टेकेर लौरोको साहारामा टुकुटुकु हिड्ने एउटा बृद्ध स्वरूपको कल्पना सबैको मष्तिकमा आँउनू स्वभाविक हुन्छ।अथवा भनौं धार्मिक पुस्तकको ठेलीभित्रबाट घोकेर नैतिकताको श्लोक गाइरहेको हुनुपर्छ कुनै चौतारीमा ।या खोकेर कुनै बन्द कोठामा एकोहोरो हेरिरहेको हुनुपर्छ युवावयको आफ्नै तस्बिर ।हिमाल जस्तै सेतो कपाल , फुलिरहेको काँसघारी झैं दाह्री ।अैाषध उमेर भन्दा ज्यादा बुढ्यौली देखिने अनुहारको रङ्ग आफैमा कुनै चित्रकारले बनाएको अमूर्त चित्र झैं लाग्छ।

    एकाएक जब कुनै ध्वनियन्त्रबाट सुनिन्छ उनको अर्गानिक स्वर।भत्किन्छ कल्पनाको पहाड।उत्साहको टड्कारो स्वर ।उर्जावान जीवनको ब्याख्या ।सिङ्गै पहाड बोकुला झैं हिक्मतको हिमाल ।निष्ठा बोकेरै निरन्तर ,दौडिरहेको सिपाही झैं त्यो मान्छे पक्कापक्की जीवनको धरहरामा आधाआधी उमेर टेकेको जुझारु ब्यक्ति को चित्र मष्तिकमा सल्बलाउँछ।क्रमशः मेटिन्छ भ्रमले पोतिएको कल्पनाको रङ्ग ।

    पेशाले प्राध्यापक ।शैक्षिक उच्चताले प्राप्त विद्यावारिधि ।संस्कृत भाषामा छापिएका आफ्नै मौलिक कृति ।लेखनले  निर्धारण गरेको निजत्व।किताबको पानामा छापिएका अक्षरहरूको ऐनामा स्पष्ट देखिने बौद्धिकता।कोही कसैले परिचयका निम्ति प्रसंशाको पुल बाध्नुपर्ने झन्झटको अन्त्य।आफ्नै कर्म,निष्ठा र मेहनतले स्थापित गरेको स्वाभिमानको अग्लो धरोहर ।नेपालको भूगोलमा सिमाङ्कन पुर्वी क्षेत्रमा अवस्थित स्वतन्त्र अस्तित्वको सादगी ब्यक्तित्व भीम खतिवडा ।नेपाली साहित्यको सुपरिचित नाम हो।

   भीम खतिवडा नेपाली साहित्यमा क्रियाशील एउटा यस्तो  नाम हो , जसको कलमबाट पाठकहरूले समसामयिक समयको चित्र , जीवनको यथार्थ रङ्ग र हाम्रो समाजको सजीव आकृति देख्न पाउँछन् ।यसको प्रमाण हाइकु सङ्ग्रह -- शब्दहरूको शिविर हो ।

पृष्ठभूमि 

   सम्भवतः विश्वकै लघुकाब्य हो -- हाइकु।हाइकु कविताको शुरूवात जापानमा भएको हो ।थोरै शब्दमा धेरै भन्न सक्ने हैसियत निर्माण कवितामा विद्यमान नभएसम्म हाइकु लेखनको सार्थकता रहदैन ।बिषय बस्तुलाई सिधै प्रस्तुत गर्नुको सट्टा प्रतिकात्मक बिम्ब मार्फत विचारलाई संवेदनशील शैलीद्वारा प्रहारात्मक प्रस्तुति नै हाइकु लेखनको बिशेषता हो । ५-७-५ अक्षरको अनौठो किसिमको शास्त्रीय संरचनामा बाँधिएर लेखिनुपर्ने भएकोले हाइकुको महत्त्व दिनानुदिन बढ्दै गइरहेको छ।प्रकृतिसँग निकटरही हाइकु लेख्ने जापानी परम्परा भएपनि नेपाली कविहरूले सो प्रवृत्तिको अनुशरण गरेको पाइदैन ।आक्षरिक सन्तुलनको मात्रै पालनाबाट हाइकु हुन्छ भन्ने भ्रमबाट जवसम्म स्रष्टाहरूले मुक्ति खोज्दैनन् तबसम्म वास्तविक हाइकुको विकास हुदैन ।भन्न खोजपएको कुरालाई सहजता पुर्वक सरल शब्दको संयोजन मार्फत जब हाइकुको निर्माण हुन्छ तबसम्म अर्गानिक हाइकुको कल्पना गर्न सकिदैन ।प्राकृतिक बिम्ब र प्रतिकलाई सहि ढङ्गले सदुपयोग गरि चेतनालाई सौन्दर्यता पुर्वक स्थापित गर्दै बौद्धिकताको संकेतात्मक शब्दको प्रयोगमा महत्त्व दिनु अनिवार्य छ हाइकु सिर्जनाको निम्ति ।

   ब्यस्त मान्छेहरूको भीडमा समयको मित्तव्ययी प्रयोगका खातिर जापानीहरूले हाइकु मार्फत आफ्नो उपस्थिति देखाएका हुन्।भौतिक पुर्वाधारको विकास ,मान्छेहरू बीच  थपिदै गएको आबश्यक्ता र त्यो आबश्यक्ताले निर्धारण  गरेको कार्य ब्यस्तताका बीचमा पनि मानवीय सम्बन्ध र आत्मीयतालाई कायम राख्न तथा साहित्य सिर्जनाको अपरिहार्यतालाई मितव्ययी बनाउन हाइकु लेखनको प्रारम्भ भएको हो जापानमा।भाषिक सूक्ष्मता र भावीय गहनतामा ब्रमाण्ड नै समेट्न सकिने हाइकु बिधाको आफ्नै स्वाद,शैली  र संरचनाको कारण आज जापानी भूगोल नाघेर बिश्वको सबै कुनाकाप्चामा यसले आफ्नो अस्तित्व निर्माण गरिसकेको छ।ब्यस्त समयमा पनि लेख्न र पढ्न सकिने सुविधा अन्तर्निहित हाइकु र सो सम्बन्धि समालोचनाका पुस्तकहरू अङ्ग्रेजी ,हिन्दी,डच,जर्मन लगायत विविध मातृभाषामा अनुवादित भए पश्चात् यसको गरिमा,महत्त्व र विधागत पहिचान बिश्वभर फैलिएको देखिन्छ।जसको प्रभाव नेपाली साहित्यमा पनि देखिन्छ ।लगभग आजभन्दा ६० बर्ष अगाडि शङ्कर लामिछानेद्धारा हाइकु भित्र्याउँने कार्य गरेको हुन् भन्ने प्रमाण नेपाली साहित्यका इतिहासकारसँग छ।

माकुरा जाल
झोल्लिएको अेासले
तन्किदै गयो 
(-रूपरेखा , २०१९ भदौ अङ्क)

त्यसो त पारिजातको उपन्यास " शिशिरको फूल " ( वि. स. २०२२)को भूमिकामा एउटा हाइकु प्रकाशित छ।जसको लेखन शङ्कर लामिछानेले नै लेखेका हुन् भन्ने तर्क सार्वजनिक भएपनि त्यो बिषय विवादित छ।खैर जे भएतापनि इतिहासको त्यो कालखण्डदेखि नै हाइकुले नेपाली साहित्यमा प्रवेश पाएको हो र त्यसले बिस्तारै बिस्तारै पाठक र लेखक दुबैलाई आक्रषित गरेको देखिन्छ ।त्यतिबेलाका प्रखर कविका रूपमा चर्चा कमाएका नेपाली काव्य साहित्यका शिखर ब्यक्तित्व भूपि शेरचनले पनि हाइकु लेखनलाई अपनाएको इतिहास छ।उनको कृति  " घुम्ने मेचमाथि अन्धो मान्छे " ( वि. सं. २०२६ ) मा सङ्ग्रहित एउटा  हाइकु यस्तो छ -

म एक श्रम

एक उत्पादन

र , एक ज्याला हुँ

 लेखनमा निखारिएका र बौद्धिक पाठकले मन पराएका नेपाली साहित्यकारहरूले क्रमशः हाइकु लेखनमा देखाएको रुचि र तिनबाट सिर्जित सिर्जनामा देखिएको कलात्मकता , निख्खरता र बैचारिक बौद्धिकताको तिख्खरताको कारण चर्चाको शिखरमा रहेका प्रतिष्ठित साहित्यिक पत्रिकाहरूले पनि अग्रस्थानमा हाइकुलाई पनि संवोधन गरेपछि क्रमशः यसको विकास र विस्तार हुदै गएको देखिन्छ ।४० को दशकसम्म आइपुग्दा नेपाली भाषा साहित्यमा कर्तब्यनिष्ठ भएर लेख्ने धेरै स्रष्टाहरूले आफ्नो विधागत पहिचानको प्रमुख बिधा नै हाइकुलाई मान्न थालेको देखिन्छ।सैद्धान्तिक मूल्यमान्यता र वास्तविकता हाइकुमा हुनुपर्ने गुण तत्कालीन समयको सिर्जनामा देख्न नसकिएता पनि भावना र अभिब्यक्तिको सूक्ष्म माध्यमको रूपमा लघुतम आकारमा रमाउन खोज्ने प्रवृत्तिको विकास भएको प्रतीत हुन्छ। र पनि हाइकु लेखनको संख्यात्मक वृद्धि र त्यो संख्याले अपिल गरेको गुणात्मकता क्रमशः ६० को दशकसम्म आइपुग्दा परिपुर्ति गर्ने अभियानमा धेरै स्रष्टाहरूको प्रतिबद्ध भएको देखिन्छ । र आजको दिनसम्म नेपाली साहित्यको इतिहासमा अनगिन्ती हाइकु कृतिले आफ्नो उच्च स्थान कायम गरिसकेको यथार्थ हामी सामु घामजस्तै छर्लङ्ग छ।डा. रामकुमार पाँडे , क्षेत्रप्रताप अधिकारी ,डा. अभि सुवेदी ,डा. रामदयाल राकेश ,गोविन्द गिरी प्रेरणा ,माधवलाल कर्माचार्य ,पुष्कर लोहनी ,रत्न शमशेर थापा लगायत नेपाली हाइकु लेखनमा प्रतिबद्ध अग्रज स्रष्टा देखि यही बिधामा समर्पित रहेका करिव २०० भन्दाबढी कर्तव्यनिष्ठ युवा पुस्ताका साहित्यकारहरूको मेहनत , लगनशीलता र परिश्रम हाइकु बिधामा परिसकेको  ज्यूदो इतिहास हामीसामु जिवितै छ।यही लहरमा आफ्नो  पृथक पहिचान, नवीन लेखन शैलीका साथ नेपाली हाइकु बिधामा उदाएका भरोसा योग्य ब्यक्ति हुन् प्रा. डा. भीम खतिवडा ।यिनकोतभर्खरै बजारमा  आएको कृतिको नाम हो -- शब्दहरूको शिविर ।

 बिषय प्रवेश 

    भनिन्छ साहित्यमा नयाँ बिषयको अन्त्य भैसकेको छ।बिश्वमा लाखौंको संख्यामा स्रष्टाहरू छन् ।ती स्रष्टाहरूबाट समाज , संस्कृति ,सभ्यताका सन्दर्भदेखि राजनीति ,अर्थशास्त्र ,मानवशास्त्र लगायत मानवीय जीवनमा देखा पर्ने प्राकृतिक भौतिक र अन्य विविध बिषयका सन्दर्भलाई लिएर कल्पना गर्ने,चिन्तन गर्ने र आफ्नो मष्तिकले अनुभूत गर्ने सबैखाले सन्दर्भका स्रोतहरूका बारे लेखिसकिएको जिकिर कतिपय विद्वानहरूको छ।अब जो जसले जसरी लेखे पनि त्यो बिषयको पुनरावृत्ति मात्रै हो ।नवीन बिषयमा लेखिरहेछु भन्ने भ्रमबाट अब स्रष्टाहरू मुक्त हुनुपर्छ भन्ने तर्कहरूमा केही सत्यता अबश्य होलान् । र पनि व्रहामण्डमा मान्छे नामको एउटा प्राणीले देखेको , भोगेको र अनुभूत गरेको सत्यता बाहेक पनि अनेकौं रहस्यहरू अझैसम्म बिद्यमान छ भन्ने तर्कमा मेरो पनि पुर्ण समर्थन यद्यपि कायमै छ।केही सत्यताको स्पर्श गर्दैमा सबै सुषुप्त सत्यको उत्खनन भयो भन्नू ,आफ्नो आँखाले देखेको दृश्य बाहेक अरूको आँखाले नियालिरहेको अर्को दृश्य केवल भ्रम मात्रै हो भन्ने कल्पना गर्नु र सत्यताको खोज जति गर्यो उति नै अर्को सत्यताको उदय हुन्छ र त्यसले नयाँ मार्ग,नयाँ विचार र नयाँ आयामको स्थापना गर्छ भन्ने यथार्थलाई स्वीकार्न नसक्नु हाम्रो कमजोरी हो।परम्परागत मान्यताबाट माथि उठेर संवेदनाको गहिराइमा पुग्दै नयाँ एवम् पृथककोणबाट जब व्रहाण्डलाई नियाल्न थालिन्छ तब देख्न बाकी ,लेख्न बाकी,अनुभूत गर्न बाकी सबै - सबै  चिजहरू पुनश्च: देख्न थाल्छ हाम्रो आँखाले , हाम्रो विवेकले र हाम्रो मष्तिकले।यथा:

विसंगति 

-----------

 खरानी धूलो

हिउँको पहाड 

भ्रमको तुष्टि ( पृष्ठ २ )

 

 पहिचान 

------------

 समय गुरु

काग भो क्वैली

वसन्तसम्म  ( पृष्ठ ३ )

 

 अविश्वास 

--------------

 ऐंजेरु आँखा

फूलको यात्रासँग

तर्सन्छ सधैं ( पृष्ठ ३ )

    निश्चित रूपमा बिषयहरू पुनरावृत्ति भैसक्यो भन्ने तर्कलाई स्वीकार गर्ने अबस्था आएछ भने पनि आखिर के नै असर पर्छ साहित्य सिर्जनाका निमित्त ।पुरानै बिषयलाई पनि नयाँ कोणबाट विश्लेषण गर्ने र चिन्तनको पृथक मापदण्ड तयार गर्दै अनुभूतिलाई सुकुमार बनाउँन सकिन्छ ।असली स्रष्टा त्यो हो जसले जुन चिजलाई अरूहरूले हेर्छन् त्यसबाट आफू अलग रहि पृथक दृष्टिकोण पेस गर्न सक्छ।पुरानो बिषयलाई नयाँ दृष्टिकोणले सिघार्न सकियो भनेन स्रष्टा हुनुको अैाचित्य सावित हुन्छ।पृथक शैली  र पृथक विचारको प्रहसन गर्नसक्ने हैसियत स्थापित गर्नु नै स्रष्टाको दायित्व हो ।यो दायित्व निर्वाहमा भीम चिन्तनशील छन्। यथा : 

 कार्लमाक्स

---------------

 कति विशाल 

छोउँ कि भइरहन्छ

आस्थाको चुली  ( पृष्ठ ६ )

 

 भ्रष्टाचार 

-------------

 अब पेटमा

राष्ट्र नै परिसक्यो

जुका पर्दैन  ( पृष्ठ १० )

 

 यथार्थ 

----------

 पढ्नै पर्ने भो

महावेद सबैले 

ठगोपनिषद् ( पृष्ठ ५ )

 

   साहित्यका कुनै पनि विधा सानो या ठूलो भन्ने हुदैन ।सिर्जनाको मुख्य मापन त्यसको आकार , स्वरूप र शैलीमा  मात्रै निर्भर रहदैन ।पाठकलाई तान्न सक्ने हैसियत निर्माण भएको गुणस्तरीय सामाग्री नै असल सिर्जनाको मुख्य सूचक हो ।एउटा स्रष्टाले आफ्नो भाषिक सौर्न्दर्यता मार्फत विचारको प्रवाहद्वारा संवेदनालाई प्रस्तुत गरिरहदा कुन खालको पाठकालागि लेख्दैछु भन्ने कुराको हेक्का राख्न जरुरी छ।

   बौद्धिक पाठक र आम पाठकमा भिन्नता छ।ती दुबै पाठकले अनुभूत गर्ने साझा समस्या र सरोकारको  बिषयलाई उठान गर्दा खासै फरक नपर्ला परन्तु हुँदा खाने र हुनेखाने बीचको जीवन शैली,रहनसहन एवम् उनीहरूले बाँच्ने समूह र सम्प्रदायका बीचको आबश्यक्ता र अनुभूति  फरकफरक हुन्छ।हो यही फरकतामा एकताको साझा संवेदनाको पहिचान गरि भाषिक सरलताको प्रयोग सँगै गम्भीर ढंगले बिषयको उठान गर्न सकिएन भने हामीले लेख्नु र नलेख्नुको खासै अन्तर रहदैन ।तसर्थ लेख्ने भनेर जेसुकै र जसरी लेख्दा हुन्छ भन्ने स्रष्टाको पुरातन मान्यतामा परिवर्तन आँउनु आजको अपरिहार्यता हो ।सम्भवतः यो सवालमा भीम खतिवडा सजक छन् ।विधागत शास्त्रीय मान्यतालाई कायम राख्दै यिनले प्रस्तुत गरेका बिषयहरू सर्वकालीन देखिन्छन् ।यथा:

 विधवा

----------

 नीलो आकाश 

आँखाभरी पोखिने

गुराँस - गृह  ( पृष्ठ २३)

 

 प्रेमपथ

----------

 अेार्लदो जून

परेली सघनता

रजनीगन्ध ( पृष्ठ २४ )

 

 विकल्प 

------------

 ज्यँदाहरूले

यौटै रोज्नुपर्ने भो

मुक्ति या मृत्यु  ( पृष्ठ १६ )

 

   समय परिवर्तनशिल छ।जो सबैलाई अवगत नै छ।तर परिवर्तन सँगसँगै मानवीय जीवनमा देखिने उतारचढावले समाजमा पार्ने प्रभावको सामान्य आँकलन र त्यो समयमा हुनसक्ने गतिशीलताको कल्पना स्रष्टाले गर्न सक्यो भने उसले चिन्तन गर्ने बिषयको दायरा फराकिलो हुन्छ।केवल कुण्ठा,आक्रोश र आवेगको जुलुस मात्र पनि साहित्य होइन ।साहित्यले आक्रोशको उठान त गर्छ नै यद्यपि त्यो आवेगसँग उत्साहको उज्यालो दियो पनि प्रदिप्त गर्ने  हैसियत निर्माण गर्न सकियो भने कालजयी रचनाको सिर्जना हुन्छ।जे देखिन्छ त्यो लेख्ने काम त अखबारहरूले पनि गर्छन् ।समाचारको हेटलाइन बनेर समसामयिक घटनाको प्रतिविम्ब उतारेकै हुन्छ अखबारले।हामीले सिर्जनामा समाचार मात्रै होइन समष्टि जीवनको रहस्यको उद्घाटन पनि गर्न सक्नुपर्छ ।

   अरूले हेरेको तर देख्न नसकेको कुराहरूलाई समाज समक्ष सार्वजनिक गर्न जबसम्म हैसियत निर्माण हुदैन तबसम्म हामीले साहित्यकार हुँ भन्ने भ्रममा बाँच्न सक्छौं परन्तु असली स्रष्टा बन्न सक्दैनौं ।कोरा कल्पनाको शिखरमा भावनाको थुप्प्रोले , शब्दहरूको चाङ लगाउँदैमा साहित्यकार बनिदैन।साहित्यकार बन्नको लागि ऊ भित्र बिषयको खोज गर्ने मानसिकता ,अनुसन्धानप्रति लगनशीलता र विचारको नवीन आविष्कार हुन जरुरी छ।सम्भवतः यो कुराको जानकारी भएरै नै भीमले आफ्नो सिर्जनामा चिन्तनको दायरालाई फराकिलो  बनाउँनु भएको छ।लेखनको निजत्व कायम गर्ने मनसायबाट उनको लेखन अभिप्रेरित छ।हिजो आज हामीले जसलाई हाइकु भनेर पढिरहेका छौँ त्यो हाइकुको स्वरूप,शैली र प्रस्तुतीकरणबाट अलग रहने धुनमा उनी अघि बढिरहेका छन्।यथा:

 आस्वासन

--------------

 चुपचाप छन् 

कस्ले दिएछ पापा

तिनलाई हँ ? ( पृष्ठ १५ )

 

पर्दाफास

-----------

 स्वास्नीपिराहा

राम हो कि रावण

द्यौता त्यही भो ( पृष्ठ ११ )

 

स्वतन्त्रता 

------------

 बाटो नसोध

हिजोआज यो बाटो 

जता, नि जान्छ ( पृष्ठ १४ )

 

   नेपाली साहित्यमा हाइकु लेखनको भविष्य राम्रो छ।यद्यपि जो जसले हाइकु माथि कलम चलाइ रहनु भएको छ तिनीहरूबीच हाइकु साहित्य पनि एउटा विशिष्ट बिधा हो भन्ने मान्यता अझैसम्म विकसित भएको देखिदैन।लहड र रहरमा मात्रै लेख्ने परम्पराले जो जसले जसरी लेख्दा पनि हुन्छ भन्ने एक किसिमको विकृत मानसिकता विकास भएको प्रतीत हुन्छ।हाइकु लेखनको मान्यतालाई एकरूपता ल्याउँन पाठशाला  चलाउँनु पर्ने आबश्यक्ता बोध हालसम्म कोही कसैले गरेजस्तो लाग्दैन ।

    जापानमा पनि हाइकुको विकास र विस्तार त्यसै भएको होइन ।हाइकु सम्राट को रूपमा चर्चित कवि माचुअेा वाशो ( १६४४-९४ ) ले यसको विकास र विस्तारको लागि जीवन पर्यन्त हाइकु पाठशाला चलाएको इतिहास छ।उनी मर्दा उनको २००० जना चेलाहरू भैसकेका थिए।आधुनिक हाइकुकारको रूपमा चर्चाको शिखरमा रहेका अर्का स्रष्टा माशाअेाका शिकी (१८६७-१९०२ ) ले त जापानी  हाइकु साहित्यमा एउटा तरङ्ग नै पैदा गरेको तथ्यहरू सार्वजनिक छ।हाइकुका बारेमा शास्त्रीय र आधुनिक मान्यता बीच स्पष्ट अन्तर छुट्याइ हाइकुमा नयाँपन थपेका थिए। माचुअेा वाशोका मुख्य अनुयायीको रूपमा स्थापित योशा वुसोन (१७१६-८३ ) लाई जापानमा दोस्रो हाइकुसम्राटको रूपमा मानिन्छ ।यिनले विभिन्न ठाउँमा घुम्दै , त्यस ठाउँको प्रकृति र प्रवृत्तिलाई समातेर हाइकुमा नयाँ मान्यता स्थापित गरेको थिए।त्यसपछि क्रमशः कोवायाशी इशा ( १७६३-१८२८) ,ताकाहामा क्योशी ( १८७४-१९५९ ) जस्ता प्रतिबद्ध हाइकु कविहरूले यो विधालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको देखिन्छ।

   अन्य विधामा कलम चलाउँन नसकेर या लेख्न समयको अभाव भएकै कारण मसिनो देखेकै आधारमा संरचनागत सानो आकारको विधातर्फ लेख्छु भन्ने मनोगत मनोवृत्ति पाल्न थालियो भने वास्तविक हाइकुको मिठासतर्फ स्रष्टा पुग्न सक्दैनन् र बिधागत गम्भीरता एवम् प्रस्तुतिगत खदिलोपन आँउदैन।साहित्यको जुनसुकै विधाको लेखनमा जबसम्म हामीले कलम चलाउँन थाल्छौ तब हरेक बिधाप्रति स्रष्टा निष्ठावान र इमानदारी हुनु आबश्यक छ।यही इमानदारीताको एउटा ज्वलन्त नमुना हुन् खतिवडा ।उनको हाइकुमा बिम्बको ब्यापकता र बिषयको प्रतिकात्मकता यथेष्ट छ।यथा:

 प्रजातन्त्र 

-----------

 ए हजुर बा

कसले दियो साहारा

ढोडको लठ्ठी ( पृष्ठ २१ )

 

 सर्वसत्य

------------

 सम्झदा चस्स

विर्सदा नि चस्स

उत्तरदायित्व ( पृष्ठ २० )

 

 सत्वार्ता

-----------

 साग खानेले

कीरा खान्छ भन्दैन

नमो नारायन् ( पृष्ठ १८ )

 

   ब्याख्या ,विवेचना र स-विस्तार घटनाको चर्चा गर्ने काम हाइकुबाट सम्भव छैन।यसले केवल बिषयमाथि सांकेतिक प्रहार मात्रै गर्ने हो।हाइकु पढिरहदा आँखामा घटनाक्रमको धुमिल चित्र बोध हुन्छ।त्यसलाई नै आधार मानेर पाठकहरूले यो  बिषयमा यो भन्न खोजिएको हो भन्ने आँकलन गर्नुपर्ने हुन्छ।साहित्यका अन्य बिधाको अध्ययन गरिरहदा जब पाठकले कुनै सामाग्री  पढ्छ तब घटनाक्रमको क्रमिक विकास सँगसँगै अन्त्यतिर पुग्दा केही ज्ञान , केही मनोरञ्जन र बिषयबस्तु माथिको स्पष्टता प्राप्त  गरिसकेको हुन्छ।तर हाइकु पढ्दा त्यो गुण ,मिठास र झट्का सहजै प्राप्त हुदैन ।लेखकले बिषय माथि संकेत गर्छ ,पाठक स्वयंले त्यो सांकेतिक भावनालाई विस्तृतिकरण गर्दै बुझ्नुपर्ने हुन्छ।हाइकुले सामान्य पाठक भन्दापनि बौद्धिक पाठकको माग गर्दछ र ती बौद्धिक बर्ग मार्फतै बिषयको गहिराइ ,संवेदना र चेतनाको खोज गर्न आग्रह गर्दछ।एउटै हाइकुबाट पाठकैपिच्छे फरकफरक दृष्टिकोण ,ब्याख्या  र विवेचना गर्न सक्ने संरचना हुन्छ।यसर्थ हाइकु लेख्न जति जटिल छ ,त्यो हाइकुलाई बुझ्न झन कठिन छ।यथा:

 नारायणहिटी 

-----------------

 श्वेत सदन

अवगीतनामको

विज्ञान भो ( पृष्ठ ५८ )

 

 गतिशीलता 

----------------

 समय दौडियो

भाँचेर छाया आफ्नो 

काँचुली न्यानो ( पृष्ठ ५५ )

 

 पूर्वान्ह

-----------

 सम्झेर आगो

हिउँदका बूढा बा

तन्नेरी स्वप्न ( पृष्ठ ५० )

 

 शब्दहरूको शिविरले उठान गरेको विषयबस्तु

प्रा. डा. भीम खतिवडाले आफ्नो कृति " शब्दहरूको शिविर " मा विविध विषयबस्तुको उठान गर्नु भएको छ।साहित्यको सिर्जना गर्दा सुखका भन्दा दुःखका ,पीडाका र सङ्घर्षका अभिव्यक्तिहरू सिर्जिन्छन्।समाज , परिवेश र परिस्थितिले जन्माएका उतारचढावको अतिरिक्त लोभलालचा ,प्रेम ,घृणा ,विकृति ,विसंगति ,राजनैतिक अस्थिरता र अराजकता पनि हिजोआज साहित्यको प्रमुख मुद्दा बनेर उपस्थित भएको छ।आफूले बाँचेको जीवन र जगतका यावत् घटना क्रमका अभिव्यक्तिहरू काव्यात्मक शैली मार्फत " शब्दहरूको शिविर " मा आएका छन् ।जसमध्ये राजनीतिमा देखिएको वेथिति,विकृति र विकारलाई भीमले आफ्नो कलमद्वारा सुन्दर आकृति दिएका छन् ।यथा:

 

 राजनीति 

------------

 हाम्रो ढाड त

चोरहरूको निम्ति 

भ-याङ मात्रै भो ( पृष्ठ २२ )

 

 विरूपता

------------

 देख्यौं तिमीले

गाईको ढाडमा ब्याँसो

कनाउँदैछ ( पृष्ठ १७ )

 

 प्राप्ति 

---------

 जनाधिकार 

माछोमान्छो भ्याकुतो

टम् टम् नगरा ( पृष्ठ ७० )

 

     समय संसारकै बलवान् एउटा शक्ति हो।समयलाई चिन्न ,बुझ्न र अनुभूत गर्न त्यति सजिलो छैन।समयलाई मैले चलाएको छु भन्नेहरू कालन्तरमा समयले नै चलाएर किनारमा पुगेको धेरै घटनाहरू छन्।यही समयले सधैं सधैं मान्छेलाई  चलाउँने , हसाउँने र रूवाउँने गर्छ।समयको विविध स्वर , शैली र स्वरूपको एकाकार आकृति नै " शब्दहरूको शिविर " हो।जसबाट वर्तमान समयलाई   नजिकैबाट चिन्न ,बुझ्न र अनुभूत गर्न सकिन्छ ।

     

सम्झौता 

----------

 शान्त साँझमा

घुँडा टेकेर युद्ध 

बुद्धअगाडि ( पृष्ठ ४४ )

 

 विछोड

----------

 बाँसुरीधून

एकोहोरो शङ्ख सुन्छे

विधवा जून ( पृष्ठ ४१ )

 

 नेताजी

----------

 सिमीको थाङरो

छेपारोको कहानी 

सुन्छ,विर्सन्छ (  पृष्ठ ३६ )

 

   साहित्य र संस्कृतिले समाज र समाजभित्र हुने यथार्थ  क्रियाकलापको सङ्लो चित्र उतार्ने गर्छ।चाहे त्यो आफ्नै अनुहार होस् या देश र परिवेशको।समय बिम्ब , काल बिम्ब  र चरित्र बिम्बको  समष्टि स्वरूप नै साहित्य हो र त्यसले कहीं न कतै हाम्रो समाज,हाम्रै परिवेश र हाम्रै परिस्थितिको अभिलेखिकरण गरिरहेकै हुन्छ।सङ्क्षिप्त रूपमा " शब्दहरूको शिविर " ले उठान गरेको विषयवस्तुलाई यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ ---

 # शक्ति लिप्सा र स्वार्थको बिरोध 

# राष्ट्रप्रति वफादार ,उदात्त प्रेम र संवेदनाको स्वर

# वर्गीय र जातीय भेदभावप्रति आक्रोश 

# मान्छे हुनुको अैचित्यलाई प्रष्ट पार्दै जीवन दर्शनको सूक्ष्म  दृष्टि 

# समृद्ध समाज र स्थिर राजनीतिको पक्षमा वकालत 

# जोरजवर्जस्ती र हिंसा विरूद्धको हुँकार

# परिवर्तनमुखी क्रान्ति चेतको अभिव्यक्ति 

# सत्ता मोहको स्वार्थी प्रवृत्तिप्रति व्यङ्ग्य 

# सामान्ती आर्थिक शोषण र वैमनस्यताप्रति युगी विद्रोह चेत

# वर्तमान समयको आँखीझ्यालबाट जीवन जगत छाम्ने प्रयास 

# कृतिम प्रेमको देखावटी भ्रमको पर्दाफास

# मानवीय मूल्यमान्यताको खोज

# जीवन र जगतको घटनालाई दार्शनिक रूपबाट अवलोकन 

# न्याय,निष्ठा र स्वाभिमानमा देखापर्दै गएको अराजकता माथि सांकेतिक हमला 

# कर्तव्यपथबाट पलायन मान्छेको दुखान्त चित्रण 

# मानवीय अस्तित्व र अस्मितामाथि दमनकारी नीतिको भण्डाफोर

# निराशा,कुण्ठा र वैमनष्यताको यथार्थ चित्रण

# आपसी सद्भावना ,सौहाद्रता र मेलमिलापको कामना

# अमानवीय व्यबहार र रूढीवादी चिन्तनको बिरोध 

# वैदेशिक हस्तक्षेप र मुक्तिका लागि एकताको कामना

     नेपाली समाजलाई प्रेरणा ,ज्ञान र सिर्जना मार्फत जागृत गराउँने काम स्रष्टाको पनि हो ।सबै तह र तप्काको आआफ्नो उद्देश ,लक्ष्य र गन्तव्य हुन्छ।निश्चित विन्दुमा पुग्न निर्धारित काम र योजना हुनु जरुरी हुन्छ।हो साहित्य क्षेत्रको पनि आफ्नै मार्ग र उद्देश्य छ।त्यसलाई बोध गर्नु आजको स्रष्टाको दायित्व हो ।मनोरञ्जन ,सन्तुष्टि र मनोगत इच्छा पुर्तिको लागि मात्रै सिर्जनालाई उपयोग गरियो भने त्यसको अर्थ र अैाचित्य रहदैन ।अब कवि जिम्मेवारीकासाथ आफ्नो दायित्व निर्वाहका लागि प्रतिबद्ध हुन पनि जरुरी छ।सकारात्मक गन्तव्यको खोजी गर्दै अक्षरहरूको जुलुस मार्फत समाज रूपान्तरणको लागि  आफ्नो भूमिकालाई सशक्त ,प्रभावकारीताका अतिरिक्त दिर्घकालीन बनाउँन सिर्जनालाई मनोहारी ,कालजयी बनाउँन अपरिहार्य छ।कनिकुथी सैद्धान्तिक मान्यताको दायरालाई मात्रै टेकेर अब साहित्यकार बन्न सकिदैन ।अबको पाठक हिजोको जस्तो साक्षर मात्रै छैनन् ,बौद्धिक पनि भैसकेका छन्।अर्को कुरा प्रविधिको विकासले विकल्पको धेरै बाटोहरू निर्माण गरिसकेको छ।हाम्रो सिर्जनाले पाठकलाई असर पार्न सक्दैन भने पाठकले आफू अनुकूलको साधन र स्रोतको उपयोग गरिदिन्छ।तसर्थ साहित्यमा रमाइरहेका पाठकलाई  सधैव आफ्नो मुठ्ठी भित्र बनाउँनका लागि पनि स्रष्टाले बौद्धिक कसरत र आफूलाई युग सापेक्ष अपडेट गर्नु अपरिहार्य छ।

     नयाँ समयले नयाँ कुराको माग गर्दछ।नयाँ स्वाद,नयाँ स्वरूप र नयाँ सामाग्रीबाट नै साहित्य बजारको अवस्थालाई सुधार गर्न सकिन्छ ।अबको पाठकले नयाँ अन्तर्वस्तु ,नयाँ शैली र नवीन आविष्कारको माग गरिरहेकै छ।यस्तो बेलामा पुरातन प्रवृत्तिको पुनरावृत्ति भयो भने स्रष्टाको अैाचित्य मात्रै होइन साहित्यको अबस्था नै धरासायी हुने खतरा हुन्छ।समयको आवाजलाई अभिलेखन गर्दै ,चिन्तनको दायरालाई फराकिलो बनाउँन तर्फ अबको साहित्यकारहरू अभिमुख हुनु आबश्यक छ।तर मौलिकताको नाममा रूढिवाद संस्कृतिको बचाउ तर्फ लाग्ने  एउटा कित्ता र आधुनिकताको नाममा पुरै पश्चिमी संस्कृतिको अन्धानुकरण गर्ने अर्को कित्ता नेपाली साहित्य बजारमा जो देखिएका छन् ,तिनीहरूको शैली र प्रवृत्तिबाट भने होसियार हुन जरुरी छ।नेपालको भौगोलिक विविधता र सांकृतिक एकताबाटै मौलिकता र पहिचानको खोजी गर्दै हिजोको एकात्मवादी चिन्तन र शासकीय  स्तुतिलाई त्याग गरेर नयाँ बिम्ब ,नयाँ विचारका साथ भूँइमान्छेहरूको ,उत्पीडितहरूको , सीमान्तीकृतहरूको आवाजलाई उठान गरिकन रूपान्तरणको मुद्दालाई उठाउनुपर्ने देखिन्छ ।केवल आलोचना ,विरोध  र गाली मात्रै स्रष्टाको विषयवस्तु होइन ।पहिचानको खोजी र दमनको स्वरलाई खरो रूपमा फरक शैलीले लेख्नुपर्ने आजको आबश्यक्तालाई अबको स्रष्टाले बुझ्न जरुरी छ।भीम खतिवडा आफै नेपाली साहित्य क्षेत्रका विद्वान हुन्।सम्भवतः यो कुराको गहिरो अध्ययन गरेरै होला उनले आफ्नो नवीन कृतिमा वढो सजकता अपनाएको देखिन्छ ।र भन्न खोजिएको विषयवस्तुलाई बढो हार्दिकताका साथ प्रभावकारिता पुर्ण अभिव्यक्ति गरेको देखिन्छ।

समापन

   प्रा. डा. भीम खतिवडाको प्रस्तुत कृति " शब्दहरूको शिविर " हाइकु विधाको स्तरिय पुस्तक हो ।हाइकु के हो र कसरी लेख्ने भन्ने बहस भैरहदा यीनको कृति बजारमा आएको छ।विचारको घनत्व , बिम्बको प्रचुर प्रयोग र प्रतिकात्मक अभिव्यक्तिका कारण भीम खतिवडाको लेखनले परिमार्जनको माग भन्दा पनि गुणात्मक मूल्य स्थापित गरेको छ।शास्त्रीय मान्यतालाई विशेष जोड दिइरहदा कतिपय हाइकुमा लेख्य भाषालाई परिमार्जन गरि बोल्य ( बोलिने ) भाषाको प्रयोग गरेको देखिन्छ ।हालसम्म हाइकुको शिर्षक नराख्ने पुरातन प्रवृत्तिलाई परिमार्जन गरि प्रत्येक सिर्जनाको भाव अनुसार शिर्षक चयन गरिएको छ।उक्त पुस्तक मा क्लिष्ट र सामान्य दुई प्रवृत्तिका हाइकु भेटिन्छ।बौद्धिक पाठकको माग भएका कतिपय हाइकु बुझ्नकालागि गहन अध्ययन र शब्दहरूको गहिरो अर्थ बुझ्नसक्ने सामर्थ्य हुन जरुरी देखिन्छ भने अर्काथरी हाइकुहरू आम पाठकले पनि सहजै बुझ्न सक्ने हैसियत राख्दछ।प्रयोगको लक्ष्य केवल प्रयोग मात्रै भयो भने सिर्जनामा हुनुपर्ने अन्य शक्ति ,लक्ष्य र गुण समाप्त हुन्छ भन्ने कुराको ज्ञान भएका खतिवडाले आफ्नो हाइकुहरूमा वैचारिक  आयतनको धरातल फराकिलो बनाएका छन् ।शिल्पगत अब्बलता स्थापित गर्न साधना र कल्पनाको सामर्थ्य हुन जरुरी छ।भीमको हाइकुहरू पढिरहदा त्यो सामर्थ्य यथेष्ट छ भन्ने प्रमाणित हुन्छ।लामो साधना र समर्पणबाट प्रकाशनमा आएको अनुभूत हुने यिनका सिर्जनामा कोरा कल्पना,बौद्धिक विलास र आत्मरति मात्रै छैनन् कलात्मक शब्द र विषयलाई सिघार्ने उच्चस्तरको चेतना प्रवाह पनि छ।

 



jhamka-1624645162.jpg
corona_ad-1626692113.gif
thah-COO-1587359073.png
balsram-1625416970.jpg