Saturday, 16th January, 2021
वि.स.

रूपचन्द्र विष्टको प्रेम र झोक

Rupchandara-1606143430.jpg

रूपचन्द्र विष्टसँग मेरो चिनजान २००९ जेठतिर भएको थियो। सन्दर्भ थियो, एउटा आन्दोलनको। त्यो बेला निजामती कर्मचारीको तलब–सुविधा कम भएको विरोधमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघले सडक आन्दोलन शुरु गरेको थियो। त्यो संघका नेता थिए, केशरबहादुर मास्के। 

त्यो बेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री र सूर्यप्रसाद उपाध्याय गृहमन्त्री थिए। सरकारले कर्मचारीको आन्दोलन दमन गर्न सुरक्षा कानून लगायो। संघले आन्दोलन सफल पार्न काठमाडौं खाल्डोका हाइस्कूलदेखि कलेजसम्मका विद्यार्थीलाई मिसाउने नीति लिएछ।

भैरव रिसालउक्त आन्दोलनमा विद्यार्थी लाग्ने वा नलाग्ने भन्ने निर्णय गर्न एउटा छलफल आयोजना भयो। छलफलमा म संस्कृत क्याम्पस वाल्मीकि विद्यापीठबाट गएको थिएँ। रूपचन्द्र जैसीदेवलको सीताराम हाइस्कूलबाट आएका थिए। त्यसै क्रममा रुपचन्द्रसँग पहिलो भेट भएको हो। 

हरेक शिक्षालयबाट दुई–दुई जना बोलाएकाले रूपचन्द्रसँग पुण्यप्रताप राणा र मसँग भुवनेश्वर गौतम थिए। मोहनविक्रम सिंह जुद्धोदय हाइस्कूलबाट आएका थिए। 

अन्ततः कर्मचारी आन्दोलनमा विद्यार्थीले पनि सहयोग गर्ने निर्णय भयो। सुरक्षा कानून कालो कानून हो, फिर्ता गर भनी सबै हाइस्कूल र कलेजका विद्यार्थी सहभागी भएपछि आन्दोलन चर्कियो। हामी धेरै विद्यार्थी पक्राउ पर्‍यौं। कारागारमा ठाउँ नभएपछि सरकारले विद्यार्थीलाई मानभवन दरबारमा समेत थुन्यो। 

हामी पक्राउ परेको दिनदेखि सरकारले आन्दोलनमा कठोर नीति लिएछ– धुस्नु पारेर कुट्ने र केही दिनमा छोड्ने। म पनि सारै कुटिएँ र तेस्रो दिन छुटें। रूपचन्द्रहरूको के भयो, थाहा भएन। 

त्यो आन्दोलनपछि रूपचन्द्र, पुण्यप्रताप, मोहनविक्रमहरूसँग बेलाबेला भेट हुन थाल्यो। हामीबीच दोस्ती बढ्दै गयो। म संस्कृत छात्र संघको साथै अखिल नेपाल विद्यार्थी फेडरेशनको पनि सदस्य भएँ। रूपचन्द्र पनि फेडरेशनको सदस्य भएछन्। 

उनी नेपाल कम्युनिष्ट पार्टीको पनि सदस्य भएछन्। पार्टीले रूपचन्द्र र मलाई विद्यार्थी र किसान फाँटमा खटाउन लाग्यो। त्यसपछि त हामी दुईको दोस्ती झनै झांगियो। रुपचन्द्र प्रायः सबैलाई तँ सम्बोधन गर्थ्यो। हाम्रो सम्बोधन पनि तँ–तँ कै थियो। 

पार्टीबाट जिम्मेवारी पाएपछि हामी नैकाप, ढुङ्गाअड्डा, कीर्तिपुर, पाङ्गातिर खटियौं। किसानहरू दिनभर खेतीमा व्यस्त हुने भएकाले राति मात्र भेट हुन्थ्यो। यसैले रूपचन्द्र र म किसानको घरमा बास बस्ने गरी जान्थ्यौं। 

बेलुका उसिना चामलको भात खुवाउँथे। दाल वा झोलिलो तिहुन थालमै हालिदिन्थे। तरकारी रहेछ भने कचौरामा दिने। भातमाथि अचार टुसुक्क राखिदिने। खाना खाएपछि थाल र कचौरा हामी आफै माझ्थ्यौं। 

मैले अचार खाएको देखेर रूपचन्द्रले हाँस्दै भन्यो, “खा खा, अचार थपेर खा।” अचार अलि पिरो, तर ठुस्स गन्हाउने। अचार भनेपछि अमिलो र पिरो त स्वाभाविकै भयो, गन्ध आउनुको कारण भने बुझिनँ। 

रुपचन्द्रले अचार कस्तो लाग्यो भनेर सोध्यो। किसानले खुवाएको खानेकुरा नमीठो भन्ने त प्रश्न नै आएन। भनें, “मीठो लाग्यो।” 

रुपचन्द्र खूब हाँस्यो र भन्यो, “त्यो अचार त ‘कट’ को हो। कट भनेको जाँडको छोक्रा।” किसानहरू कटको अचार बनाउँदा रहेछन्। म परें बाहुनको छोरो। जाँडको कटको अचार खाएको देखेर मलाई रुपचन्द्रले उडाएको रहेछ। 

सूर्यबहादुरले ग्यालरी बैठकमा पस्न दिएनन्

रूपचन्द्र मकवानपुर दामनका हुन्। उनी आफूलाई ‘रुदाने’ भन्न रुचाउँथे। अर्थात्, रुपचन्द्र दामन नेपाल। त्यतिबेला दामन जस्तो दुर्गम गाउँमा विद्यालय थिएन। रूपचन्द्रका बुवा पद्यबहादुर विष्ट राणा शासनमा सेनाका मेजर रहेछन् र आठपहरिया समेत रहेछन्। रूपचन्द्र कालीमाटीमा डेरा लिएर बस्थे। जैसीदेवल र कालीमाटी नजिकै भएकाले सीताराम हाइस्कूलमा पढेका होलान्। 

२०१७ साल ताका रूपचन्द्र त्रिभुवन राजपथमा ट्रक चलाउँथ्यो। २०१७ चैतमा म र मेरी जीवनसंगिनी सुशीला डोटी जाँदै थियौं। ठूलो पानी परेपछि बाटो अवरुद्ध भएछ। यता र उता रोकिएका बसले एक–अर्को बसको यात्रु लैजाने उपाय निकालेछन्। रूपचन्द्र ट्रकबाट ओर्लिएर हाम्रा झिटीगुन्टा सबै उताको बसमा पुर्‍याएर उद्धार गरेको सम्झना ताजै छ। 

साउनको अन्तिमतिर एक साँझ भक्तपुर दधिकोटस्थित हाम्रो घर आएछ रूपचन्द्र। घर बाहिर ठिङ्ग उभिएर मलाई बोलाउँदो रहेछ ‘ए पुन्टे, ए पुन्टे भनी। गाउँलेहरूले डाँका आएको हो कि भनी हाम्रो घरनिरै जम्मा भएर सुरक्षा दिन खोजेछन्। मेरो साथी भनेपछि वातावरण शान्त भयो। पोलेको हरियो मकै खाएर सुत्यौं। 

रूपचन्द्र हिमाल चढ्न हुरुक्कै हुने। पर्वतारोहीसँग बेस क्याम्पसम्म जाँदा केही कमाइ पनि हुने भएकाले पाएसम्म जान रुचाउँथ्यो। त्यसका लागि सिंहदरबार प्रवेशमा मैले मद्दत गर्न सक्ने र परराष्ट्र मन्त्रालयमा सुन्दरमान भट्टराईले सहयोग गर्ने हुँदा वर्षमा त्यस्ता दुई–तीन वटा काम पाउँथ्यो। केही वर्ष उसले त्यसरी जीवन चलायो। 

रूपचन्द्रको बिहेमा हामी जान सकेनौं। पछि एक दिन बिहे खान जानुपर्‍यो भनी गएँ। रूपचन्द्र प्रधानाध्यापक भएको हाइस्कूल निर्माण हुँदै रहेछ। मलाई पनि ढुङ्गा ओसार्न लगायो। मन फुकाएर सहयोग गरें। ऊ २०२०/२२ सालतिर हाम्रो डेरा नयाँसडकतिर खूब आउँथ्यो। घण्टौं गफ गर्थ्यौं। हाम्रो दम्पतीले नै कैयौं पल्ट रूपचन्द्रको कालीमाटीस्थित डेरामा खाना खाएका छौं।

रूपचन्द्रले २०३८ सालको निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्यमा जित्यो। त्यसपछिका दिनमा म राष्ट्रिय समाचार समिति (रासस) बाट राष्ट्रिय पञ्चायतको समाचार संकलनका लागि सिंहदरबार जाँदा त्यहाँको चमेनागृहमा रूपचन्द्रसँग नियमित भेट हुन थाल्यो।

यो दोस्ती तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई पचेनछ। आफ्नो विपक्षमा आउने समाचारमा मेरो हात छ भन्ने उनलाई लागेछ। राष्ट्रिय पञ्चायतको बैठक बस्ने सिंहदरबारको ग्यालरी बैठकमा प्रवेश गर्न मलाई प्रतिबन्ध नै लगाए। सूर्यबहादुरले राससका हाकिमसँग ‘भैरव रिसाललाई पचाउन सक्दिनँ, उनलाई राष्ट्रिय पञ्चायतको बैठकमा नपठाउनू’ भनेछन्। तै जागिर भने खोसेनन्।  रूपचन्द्रको संगतका कारण मैले राससमा गर्दै आएको समाचार संकलनको काम खोसिएको थियो। २०४० असारमा सूर्यबहादुर विरुद्ध महाअभियोग लाग्दा त्यस विरुद्ध उभिने १७ जनामध्ये रूपचन्द्र पनि थियो। अन्ततः सूर्यबहादुर प्रधानमन्त्रीबाट बर्खास्त भए। राससको प्रमुख सम्वाददाताबाट मलाई ६ महीनासम्म सम्पादन शाखामा राखियो। 

टाढिएको रुदाने

रुपचन्द्रको मित्रता र प्रेम चाख्दै आएको मैले उसको झोक पनि भोगें। जसले हाम्रो मित्रताको धागो नै मक्कियो। 

दधिकोट छाडेर हामीले काठमाडौंमा घर बनाउन थालेपछि रुपचन्द्रसँग केही मतभेद भयो। रुदानेलाई शंका लागेछ, घर बनाउँदा गलत पैसा परेको। यसबारे उसले सुशीलासँग पनि कुरा गरेछ। सुशीलाले ‘शंका भए छानबिन गरौं, एक पैसा मात्र पनि गलत परेको रहेछ भने घर भत्काउँछौैं’ भनेर चुनौती नै दिइछन्। त्यसपछि रुपचन्द्र र हामीबीच सम्पर्क दुब्लाउन थाल्यो। त्यस्तो मीठो दोस्ती हामीले काठमाडौंमा घर बनाउँदा टाढिंदै गयो। 

याे प्रसंगले रुपचन्द्र निष्ठा, इमान र सदाचारमा कति कडा मिजासको थियो भन्ने उदाहरण दिन्छ।

ऊ साह्रै विलक्षण थियो। मानिसहरूमा चेतना जगाउने थाहा आन्दोलनको प्रणेता ऊ विद्रोही त थियो नै, दार्शनिक, परिवर्तनकारी र समाजसुधारक पनि थियो। हाम्रो मित्रता त्यस्तै दृष्टान्तविहीन थियो, तर जोगाउन सकेनौं। 

सुशीला र मैले अलि बढी भावुक भएर छानबिनको लागि चुनौती दियौं कि ? रूपचन्द्रले शंका गर्दैमा के भएको थियो र ? आखिरमा अनियमित कमाइ छँदै थिएन र घरमा त्यस्तो पैसा परेकै थिएन। एक दिन सत्य कुरा बुझिहाल्थ्यो रुदानेले। 

म अहिले पनि कीर्तिपुर सम्झनासाथ कटको अचार सम्झन्छु। हामी कम्युनिष्ट हुँदा कति खाँटी कम्युनिष्ट थियौं, तब न कम्युनिष्ट पार्टी थियो भन्ने लाग्छ। 

-हिमालबखरबाट

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

[email protected]

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)