nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रुदानेका इतिहास सम्झदा
रणसंग्राम विष्ट

१७ बर्ष बितेछ रुदानेले यो धर्तीबाट आफ्नो पार्थिव शरीर छोडेको । यी दौरानमा घर्तिखोला लगायत दामन पालुङ उपत्यका हुँदै बग्ने खोलाबाट  कति पानी बगेर कुलेखानीको बाँधमा जम्मा भयो होला ? अनि कति बिजुली उत्पादन भएर नेपालीहरुको घरघरमा पुग्यो  होला ? सायद हिसाब किताब कोहीसंग पनि छैन होला ! अनि जनहितका नाममा यो देशमा के कति आन्दोलन, परिवर्तन साथै सन्धि संझौता भए त? अनि कति वटा शासक ढले ? कति वटा शासक उदाए ? के यो देशमा साच्चै रुदानेले लागु गर्न खोजेको जस्तै जनमुखी संबिधान.. कानुन, बजेट र सरकार आएको हो     त ? के साच्चै  जनसाधरणले  इन्शाफ, विकास र प्रगति अब पाउँछन् त ? आदि इत्यादी मात्रै होइन धेरै प्रश्नहरु उब्जिन थाल्यो रुदाने अनि उनको इतिहासलाई स्मरण गर्दा । उनको देहावसान पछी विभिन्न संचार माध्यममा आएको उनका जिबनी, मृत्यु , थाहा दर्शन र जनमुखी    राजनीतिको विषयमा जे जति कुरा      आवरणमा आयो त्यो सबै सत्य नै थियो त ? या हचुवाको भरमा जान्न नखोजेका तर जानेका स्वाङ पार्ने स्वाँठहरुले लेख्ने, फलाक्ने काम गरे ! वा प्रायोजित ढंगले आएका हुन् ? आज यिनै कुराको सेरोफेरोमा रहेर यो सानो आलेखमा अति  नै छोटकरीको रुपमा समेटन कोशिस गर्दैछु ।

 

   २६ पौष १९९० मा जन्मेका रुदाने..  छैंटीको दिनमा (जन्मेको ६ दिन) आमा चित्र कुमारी आफ्नो दोस्रो छोराको भाग्य भाबीले लेख्ने दिन भन्दै उत्साहका साथमा कलश, बत्ती, धुप, फलफूल साथै आवश्यक सरसमान तयारी गर्दै गर्दा यो देशमा ठुलो महाभुकम्प आएको थियो रे ! आमाले छोरो च्यापेर भाग्ने क्रममा खोला पारी चौर (विकास बारी) पुग्दा थांग्ना मात्रै आफ्नो काखीमा हुँदा अतालिदै छोरो खोज्न आउँदा मुलाबारीमा घोप्टो परी    रहेका अबस्थामा भेटिएका थिए रे ति न्वारान नै नभएका बालक !  बाजे डिठ्ठा नरकेशरले (केशर बहादुर ) किर्तिपुरबाट घर बनाउने डकर्मी झिकाइ घर्तीखोलामा चार तले इट्टा, झिगटिले बनाएको तत्कालीन गाउँ कै अलिशान घरमा जन्मेका ति बालक आफ्नो छैंटीको दिन खुल्ला आकाशमा र नौ दिन देखि  तीन महिनासम्म महाभुकम्प अनि पराकम्पनको कारणले अस्थायी स्याउले छाप्रो र आमाको काखमा हुर्केका थिए । अलिसान घरमा जन्मे ता पनि स्याउले छाप्रोमा पुरोहित बोलाइ न्वारान गरिएका ती बालकका बाबु तत्कालीन श्री ३ जुद्ध संमशेरका हुजुरिया कप्तान पदम बहादुर बिष्टबाट उनलाई बोलाउने नाम केदार अनि थर बिष्ट पाएका थिए रे । सानैदेखि बिद्रोही स्वभाव.. भएका बालकले (केदार ) लुकिलुकि ..समाजसेवा गर्ने आफ्नो आमालाई कहिले पनि दुख कष्ट दिएनन् रे ..। ज्यु, हजुरलाई.. समर्थन, सुरक्षा र प्रोत्साहन गर्ने उनका बाबु र त्यहीँ प्रथाको विरुद्ध विद्रोह गर्ने सानो बालक केदार ...बाबुको नजरमा तारो थिए भनी लुकिछिपी समाजसेवा गर्ने आमाको नजरमा तारा नै थिए. ..। बाबु छोराको विचार, स्वभाव र व्यबहार नमिल्दा आखिर १० बर्षको कलिलो  उमेरमा  सुबिधाजन्य घर, कुलीन जीवनशैली अनि बाबुले दिएका नाम पनि त्यागेर आफ्नो न्वारान आफै गरी रुपचन्द्र नाम राखेर सत्य र ठीकको यात्रामा हिडेका थिए । 

 

    जीवन र जगतलाई बुझ्न् एक्लै हिँडेका कलिला मस्तिष्कका ति बालक अरुका घरमा भान्से, घरेलुु कामदार बनेर अफ्नो जीवनयापनका साथै पढ्ने कामलाई पनि निरन्तर दिन थाले । यी दौरानमा देशमा राजनीति परिवर्तनको नारा गुन्जिन थाल्यो १६ बर्षे रुपचन्द्र पहिलो पल्ट पदम बबहादुर बुढाथोकीले २००६ सालमा आयोजना गरेका पन्च भेलामा सहभागी भएका थिए । सात सालको राणा शासन विरुद्धको आन्दोलनमा सहभागी हुँदै विद्यार्थी राजनीति गर्दै २००९ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिएर राजनीतिक यात्रा शुरु गरेका रुपचन्द्रले २ वर्ष संगठनमा काम गर्ने दौरानमा पक्राउ परे र ऊनी जुन ठाउँबाट पक्राउ परे त्यो ठाउँ पार्टीको जिम्मेवार केही सदस्यलाई मात्रै थाहा थियो रे । र, जेलबाट छुटेर आएपछी बैठक राखी उनलाई पक्राउ गरेर तत्कालीन सरकारलाई सहयोग गर्ने जासुस् पार्टी भित्र रहेको तिनका पहिचान गर्न पर्ने अडान राख्दा पार्टीले वेवास्था गरेकोले नेतृत्वको आलोचना गर्दै  अन्ततः पार्टीलाई त्यागेर आफ्नै ढंगमा जनसाधारणलाई सचेत गराउदै हिड्न थाले। यिनै दौरानमा काठमाडौंको पश्चिमी भेग किर्तिपुर, बोसे गाउँ, नैकाप, सतुगललगायत कालीमाटीमा ‘धर्म भकारी’ स्थापना गर्दै समाजप्रति  हरेक नागरिकको केहि न केहि  दायित्व हुनुपर्छ भन्दै ‘सक्दो सबैले, पुग्दो      सरीलाई’ भन्ने नारालाई अगाडि सारी केही नागरिकहरुलाई मितव्यायितामा सहभागी गराइ केहि विद्यालय खोल्ने, पढाने काम गरे । त्यसै क्रममा २०१५ सालको आम निर्वाचनमा स्वतन्त्र उमेदवार रूपमा भाग लिए तर पराजित भए । यिनै दौरानमा जीवनयापन र श्रमको गाथाको महत्वलाई अनुभव गर्नको साथै पढ्ने पैसाको जोहो गर्न ट्रकको खलासी हँुदै ड्राइभर बनेर त्रिभुवन राजपथमा   करिब करिब ७ महिना ट्रक चलाएर केहि पैसा जोहो गरेर २६ बर्षको उमेरमा     म्याट्ररिक (क्ीऋ) पास गर्न सफल भए    र त्रिचन्द्र कलेज भर्ना हुँदै बि.ए., बि.एल अध्यन पुरा गरी ०२१ सालको उपनिर्बाचनमा दामन, पालुङको प्रधान पंन्चमा निर्वाचित हुँदै विकाश निर्माणको काममा आफू अघिसर्दै जनताहरुलाई प्रत्यक्षरुपमा सहभागी बनाउने उदेश्यका साथमा ‘जनशक्ति जनहितको’ निम्ति भन्ने नारालाई अघि सार्दै जनता को प्रत्यक्ष सहभागितामा एउटा ठुलो प्रगतिशील  आन्दोलन अधि बढाए यिनै दौरानमा विकास घर, सामुहिक खेती–विकास खेत र विकास बारीमा), आधुनिक खेती र आधुनिक पशुपालन, सामुदायिक बन साथै धर्म भकारीको (सक्दो सबैले, पुग्दो सरीलाई) अबधारणा ल्याएर गाउँको जिबनशैलीमा कायापलट गरि दिए । गाउँका शोषक सामन्ती मात्रै होइन सिङ्गो राज्य नै  यी कार्य देखि डराएर आखिर प्रधानपंन्च रुपचन्द्रलाई झ्यालखानामा हाले यी दौरानमा रुपचन्द्रलाई राज्यबाट विभिन्न भौतिक प्रोलोपनले (धन, मन्त्री पद) लोभ्याउने काम भयो तर तर खाने अनि लाउने उमेरमै कुलिनता, विरासतलाई  त्यागेर हिडेका, जिबन र जगतको महिमा, गरिमा र उदेश्य बुझेका ईमानका पहाडले ब्यक्तिगत स्वार्थ भनेको रछ्यान हो भन्दै इन्कार गरेपछि अझै यातना दिन     गोलघरमा केही महिना राखे । जेलको बसाईको दौरानमा उनले नाताले नजिकको आफन्त पर्ने पाँच बर्षे बालकलाई चिट्ठी लेखेका थिए, जुन चिट्ठीको विवरण यस्तो थियो ।

 

   पुन्टे, अब त अक्षर चिन्ने भयौं   होला !

सानो हुँदा तिमी चङ्गा उड्यो भनेर   रमाउथ्यौ, चङ्गा होइन जिबनमा आफै उडेर रमाउँदा बेस !

अहिले म नेपाल भन्ने जेलको पनि सानो जेल भित्र छु। अनि तिमी अलि ठुलो जेलमा, फरक यति मात्रै ।

उहीँ तिम्रो जुङे माइलाकाका

 

    करिब दुई बर्षको जेलको बन्दी जीवन बिताएर जब रुपचन्द्र दामन पालुङ आउँदाखेरि उनले जे देखे उनी जिल्ला   राम परे उनले जनताको प्रत्येक्ष सहभागितामा बनाएको विभिन्न वडाको विकास कार्यको समिति उपसमिति सबै भंग भै सकेको थियो । विकास बारी र विकास खेत बाजो चौरमा परिणत, धर्म भकारी बन्द, आइएनजिओ र एनजिओको चहलपहल साथै कु–प्रभावमा परेकाले अब जनतालाई शिक्षित गरेपछी मात्रै उनले लिएको उदेश्य पूरा हुने देखेर उनले शिक्षालाई नै जोड दिने संकल्प लिए । ती समयमा सेती गणेश स्कुल निम्न माध्यमिक मात्रैमा सिमित भएकोले अर्को माध्यमिक स्तरमा जनकल्याण हाइ स्कुललाई उच्च प्राथमिक राखेर शिक्षा आन्दोलन चलाए ती दौरानमा हाईस्कुलमा पढ्ने विद्यार्थीलाई हरेक वडामा खुलेको बिहानी र साँझको स्कुलमा पढाउन लागाएर होस् या हरेक विद्यार्थीले विद्यालय आउँदा हरेक दिन एकएक वटा ढुङ्गा अनिवार्य ल्याउन पर्ने नियम बनाएर होस... आखिर उनले जनकल्याण स्कुलको भबन बनाएर छाडे यिनै दौरानमा उनको प्रेम बिबाह उमा शाहसंग भयो । करिब डेढ बर्ष शिक्षा क्षेत्रमा चालाएको आन्दोलन एक सफलताको सिडिमा पु¥याएपछी जनकल्याण हाइस्कुलका  प्रधानाध्यापकको पद छोडेर २०२८ सालको घोषणा पत्र सहित स्नातकको चुनावमा भाग लिएका उनी  झिनो मतमा पराजित हुन पुगेका रुदाने त्यसै सालको माघ १ गते देबघाटमा आफन्त नातेदारको चुडाकर्म गरिएको कार्यक्रममा अकस्मात् देखा परेका थिए । सुरुमा राम्रैसंग कुराकानी गरिरहेका ऊनी अचानक अस्वभाविक कुराहरु गर्दै निस्बस्त्र हुँदै नारायणी नदिमा हामफालेर बेपत्ता भएका थिए । किन बेपत्ता भएका थिए त रुपचन्द्र त्यस्तो के परेको थियो त उनलाई ? उनी नदिमा हाम्फालेर कता गए ? अनि के गरे ? पछि आर्को पुर्ण लेखमा लेख्ने नै छु । 

 

    वि.सं. २०२९ सालको कुरो हो त्यो बेला हाम्रो परिवारको बसाई नारायणघाट थियो । एउटा हातमा कमान्डलु बोकेको, पहेँलो बस्त्र धारण गरेको, दारी कपाल पालेको एउटा जोगिले मलाई एता आउ त पुन्टे भनेर बोलाउदा म डरले भागेर आमा कहाँ पुगे, आमा बाहिर एउटा जोगी आएको छ र मलाई एता आउ भनेर बोलाएको थियो तर भागेर तपाईं कहाँ आएको भन्दा आमा हत्तपत्त अतालिदै बाहिर आउँदा उक्त जोगी हास्दा मात्रै आमाले चिन्नुभयो र उहाँ जोगी होइन तिमी सानो हुँदा पालुङमा चङ्गा लट्टाइ लिएर आउने तिम्रो काका अर्थात माइलो काजी      (आमाले संबोधन गर्ने नाता ) करिब एक बर्ष बेपत्ता भएका र मर्यो कि बाँच्यो भन्ने खबरसम्म पनि नपाएको अबस्थामा आफ्नो भाइ देखा पर्दा मेरो बुबा, हजुरबुबा, कान्छो काका लगायत सम्पुर्ण परिवारहरुको अँखाबाट हर्षको आसु बगेको थियो त्यो दिन । करिब दुई तीन दिन नारायणघाट बसेर     मेरो, अनि ठाइलो काकाको छोराहरु र साइलो हजुरबुबा छोराहरुको नामै परिवर्तन गरेर उनी आफ्नो जन्म थलो साथै कर्म थलो दामनपालुङ तिर हानिए । आफुले अधुरो छोडेर गएको गएको जनकल्याण हाइस्कुल त्यो बेलामा आर्थिक अभावको कारणले संकटमा गुर्जीरहेको अबस्थालाई मध्यनजर गर्दै फेरि स्कुलको जिम्मेवारी समाल्दै पाविस ३१ गठन गरि दामन पालुङमा उत्पादित तरकारी, चौपाया लगायत अन्य चिजहरुमा कर लगाएर उक्त करको आम्दानी हिसाब किताब दैनिक सुचना पाटीमा दुरुस्त प्रकाशित गर्दै स्कुल संचालनको साथै अन्य विकास कार्यमा सहभागी जनाउन थाले । ती दौरानमा फेरि दामन पालुङको बिकास साथै शिक्षाको गुणस्तरमा क्रान्तिकारी परिवर्तन हुँदा राज्य र स्थानीय शोषक, सामन्ती र गाउकै लोभीपापी मिलेर रुपचन्द्र अनि उनको अभियानको विरुद्धमा षड्यन्त्र जालो बुन्न थाले । तत्कालिन टिष्टुङ गाबिसको विडारी थरको एउटा बोल्न सिपालु केटोलाई काठमाडौमा प्रशिक्षण गराएर जनकल्याण हाइ स्कुलमा भर्ना गरि विद्यार्थी संगठनको नेता बनाउने काम गरे र बहुसंख्यक विद्यार्थीको माग हो भन्दै किर्ते सहि गरेर स्कुलको संचालक समितिमा पेश भए पछि अन्त्यत रुपचन्द्र बिष्टले हाइस्कुल साथै पछी गएर पाविस ३१ बाट राजिनामा दिएर जनतालाई म नचाहेको रहेछ भन्दै सिमभञ्ज्याङमा गोठ बनाएर बाख्रा पालन गरेर एउटा गोठालोको जीवन यापन गरेर बसे । हरेक कुराहरूलाई मसिनोसंग अध्यन गर्ने स्वभाव भएका उनले बाख्रा पाल्दा एकातिर बाखा पाल्ने बैज्ञानिक विधिको अध्यन गर्दै थिए भनी अर्को तिर दामनको जंगलमा पाइने जैविक जडिबुटी अनि उपचार गर्ने विधिको पनि मसिनोसंग अध्यन गरेका थिए ।      करिब करिब ८ महिना जति बाख्रा पालनमा आफ्नो जीवनकाल बिताएर उनले दामन टावरमा होटल तथा रेस्टुरेन्ट चालाउन थाले ती दौरानमा खगोल शास्त्रको मसिनो अध्यन साथै ध्यान र पतन्जली योग सुत्रको ‘हठ योग’ करिब करिब ७ बर्ष कठोर अभ्यास गर्नुको साथै कुकुरहरू पालेर त्यस सम्बन्धमा पनि अध्यन (यी कुराको वस्तृत वर्णन पुर्ण लेखमा) गर्दै गर्दा देशमा विद्यार्थी आन्दोलनद्वरा आएको जनमतसंग्रहमा उनले पुरै निलो रंगको लुगा लगाएर हिड्ने काम गरेका थिए । र, सुधरिएको पंचायती ब्यबस्थाले जनाअधिकारलाई अलि खुकुलो गर्दा उक्त अधिकार उपयोग गर्ने रणनीति अनुरुप २०३८ सालको आम निर्वाचनमा घोषणा पत्र सहित केदार, रुपचन्द्र, रुप अनि समयसंग जुधेर, माजिएर, अभ्यास, साधना र तपस्या गरेर दाशैनिकमा रुपान्तरण भैसकेका रुदानेले ‘थाहा दर्शन’ र जनमुखी राजनीतिलाई अघि सारेर चुनावी मैदानमा अन्ततः फेरि उत्रिए । ध्यान, भाब, बिचार, व्यबहार, निष्पक्ष सक्रियताको अभ्यास जीवन, जगत, अबस्था, ब्यबस्था, आबश्यकता, सत्य, इन्साफ, अधिकार, बिकास र प्रगति अर्थात थाहा दर्शनको शुत्रलाई लामा–लामा ब्याख्या गर्दै मकवानपुरका जनताको हजुरमा उजुर हाल्ने काम गर्न थाले । सत्य र ठीकले बनेको थाहा दर्शन अनि ईमान, बिबेक र प्रेमले बनेको जनमुखी राजनीतिलाई चुनावी सभामा राखेर ब्याख्या गर्दै बहुसंख्यक जनसाधारणबाट हात उठाएर .पारित गराउदै हिड्न थाले ति दौरानमा विरोधिहरुलाई पनि जनमुखी सभामा आफ्ना विचार राख्न दिएर  वैचारिक स्वतन्त्रताको अभ्यास उनले गरे । मकवानपुरको बिकट गाउँ गाउँमा  जनमुखी सभा रेर हरेक जनताले राजनीतिकमा सकृय साथै  प्रत्यक्ष रुपमा सहभागिता जनाउनु पर्छ भन्ने रुदानेको बिचारलाइ जनताबाट अनुमोदन हुँदा ऊनी रापसमा निर्बा्चित हुन पुगे । ....क्रमशः