DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

मेरी आमाको सम्झना

ama-1587637596.jpg

आज मलाई मेरी आमाको असाध्यै याद आएको छ । 
म हेर्छु सामाजिक सञ्जालका भित्ताहरु र देख्छु हजारौँ आमाका तस्विरहरु, पोष्ट्याएका छन् ति सन्तानहरुले आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन हो भन्दै । 
म हेर्छु सबै सबै तस्विर जुन पोष्टिएको छ सन्तानको फेसबुकमा, देख्छु नेपाल आमाका तमाम रुपहरु र सम्झिन्छु म मेरी आमालाई । 
कत्ति पनि फरक पाउँदिन म मेरी आमा र ति फेसबुकमा देखेको आमाहरुको तस्विरहरुमा । सबै उस्तै ममतामयी छन् । माया र स्नेहले भरिपूर्ण छन् उनका आँखाहरु, सुन्दर र निश्चल छन् मेरी आमाको मन यो प्रकृति जस्तै । 
म सम्झिरहेकी छु मेरी आमालाई, उहाँको स्पर्श पाईरहेकी छु यो प्रकृतिमा । म देखि रहेछु निश्चल मेरी आमाको माया बगिरहेको छ यो नदि र खोलाहरुमा । अटल भै जमिरहेको छ सन्तानको लागि सरोवर, ताल अर्थात समुन्द्र सरी मेरी आमाको माया । अहँ कत्ति कन्जुस्याई गर्दै गर्नुहुन्न, सबै सन्तानलाई बराबर रुझाउछिन् ममताको झरीले । कतै छहारी, कतै शितल र कतै न्यानो स्नेह पाउँछु म । 
मेरो प्यासमा क्लक क्लक्लक गदै पिलाउँछिन् र भोकको लागि मानो छरी मुरी उब्जाउछिन मेरी आमा । कत्ति फरक पाउँदिन म यो प्रकृति भन्दा मेरी आमा ।
९ महिनाको कष्ट सहेर मृत्युको मुख सम्म पुुग्ने प्रसव पीडा सहि आशाको किरण स्वरुप जन्माउछिन सन्तान । धर्तीमा टेकाउन, बोली फुटाउन र बचाउन अनेक गर्छिन आमा । उहाँ पहिलो पटक औधि खुशी हुन्छिन्, जव आफ्नो सन्तानले आफ्नो हात समाई पाइला सार्न खोज्छ, बोल्न खोज्छ ।
आफु भोक्कै बसेर पनि पसिनाको धारा बगाउँदै सन्तानको पेट भर्छिन आमा । अकालबाट बचाउँदै जवान बनाउँछिन्, संसारको हरेक चिज चिनाउछिन्, जानेजति सबै सिकाउँछिन् । साहारा दिन्छिन्, ओत दिन्छिन्, भोगमरी लाग्न दिदैनन्, रुन पटकक्कै दिन्नन्, सन्तानको हरेक  पीडामा साथ दिन्छिन । यो के हो? त्यो के हो? किन यस्तो भएको? कहाँ, किन? कसरी ? कस्तो?  कति? कहिले? पत्रकारितामा प्रयोग हुने ५ डब्लु १ एच त मैले सानैमा आमासँग प्रयोग गरेकी थिए । नचिनेका, नबुझेका कुराहरु आमालाई सोध्छु, म प्रश्नमा प्रश्न थप्दै गर्छु तर मेरी आमा पटक्कै दिक्क नमानी जवाफ दिइरहन्छिन् । आमाको जवाफ पाईरहँदा लाग्छ मेरी आमा मलाई संसार कै जान्ने मान्छे बनाउन चाहनुहुन्छ ।
आमाको सन्तानप्रति असिमित चाहना हुदैन । सिर्फ मेरो सन्तान सहि बाटोमा लागोस्, नाम राखोस्, ठुलो मान्छे बनोस् र जुन ठाउँमा पुुगेपनि घरपरिवारलाई सम्झिएर फर्कियोस् । बस यति चाहना हामीले कहिल्यै बुुझ्न खोज्दैनौ । 
आफु बलियो भएपछि त्यहि साहारालाई बेसाहारा बनाउन तत्पर हुन्छौ हामी । टाढिन्छौ परिवारबाट, यतिसम्मकी चाडको बेला आउने पाहुँना मात्र होइन चिनजान नभएको परदेशी जस्तै बनिदिन्छौ । 
अहिले पनि धेरै आमाहरु आश्रममा छिन् । ति सन्तानको माया पाएर आश्रम पुुगेका हुन त ? सन्तानको सजिलोको लागि आश्रम राख्छन् तर मेरी आमाले पिठ्युमा भारी बोक्दै पनि मलाई काखमा बोक्नुहुन्थ्यो । यदि सजिलो खोज्ने हो त मेरी आमाले मलाई आश्रममा राख्न कुनै बाहाना चाहिन्थ्यो र ? मलाई अझै याद मेरी आमाले जंगलमा पतकर लिना जाँदा मलाई डोकोमा राखेर लानु हुँन्यो । जंगलमा पतकर सोहरुन्जेल खानेकुरा दिएर दोकोभित्र बसाउनु हुन्थ्यो र फकिँदा भारी सँगै मलाई पनि बोकेर ल्याउनु हुन्थ्यो । बिरामी हुँदा रातभर मेरै ख्याल गर्नु हुन्थ्यो । मेरो पेट नअघाए सम्म मेरी आमालाई भोक लाग्दैन थ्यो ।
खै कसरी बयान गर्न सकुँला र म मेरी आमाको ममता । मेरी आमाको त्याग । मलाई ठुलो मान्छे बनाउन दुखगरि एस.एल.सी सम्म जसरी नी पढाउने अठोट गरी पढाउनु भयो । मलाई सफलता दिलाउन दिनरात खट्नु भयो । मेरी आमाले दैनिक गर्ने कामहरु मैले गर्ने हो भने म दिक्क हुन्थ्ये होला, शोषण गरेको अनुुभव हुन्थ्यो होला तर मेरी आमाले सबै सहेर बस्नुभयो । मलाई जिम्मेवार बनाउनु आफु जिम्मेवार हुनुभयो । के रहर होला र सारा काम गर्न आमालाई ? सबै छोडेर छुट्टै संसारमा जिउन सक्नहुन्थ्यो नी ? संसारमा कति आमा त्यस्ता पनि त छन् । सन्तानको भविष्य प्रति जिम्मेवार नहुने । तर मेरी आमाले त्यस्तो गर्नुभएन । मेरो लागि त्याग गनुभयो ।
मैले कार्यशिलशिलामा धेरै धेरै आमाहरुलाई भेटेकी छुु । भन्छन् जन्म दिने आमा भन्दा कर्म दिने आमा महान हुन तर मेरो लागि सबै सबै आमाहरु उत्तिकै महान हुन । जब जन्म दिने आमाले मलाई यो धर्तिमा जन्म नदिनु भएको भए कर्मदिने आमाले कर्म दिने जिम्मेवारी नै कसरी पाउनुहुन्थ्यो र ? 
मैले जीवनमा धेरै आमाहरुको माया पाएकी छु । यस अर्थ म गर्व गर्छु किनकी उमेरले ८०÷९० दशक काटिसकेका आमाहरुले समेत यो मनलाई विश्वास गर्नुहुन्छ । म प्रति केही आशा राख्नुहुन्छ । 
सरकारले फाँसीको सजाय दिन सक्ने गल्तीमा पनि आमाले माफि दिन सक्छिन् । सन्तानले केही प्रगति नगरोस् तर सन्तान आफ्नो साथमा हुँदा निक्कै खुशी हुन सक्छिन । आफु चुलो चौकाबाट बाहिरा जान नपाओस् तर सन्तानलाई संसारको हरेक ठाउँ घुम्न पठाउछिन । ठुलै बिपती आएपनि आफ्नो ज्यान जोखिममा राखेर सन्तानलाई बचाउछिन । 
सानो चाँडमा पनि एक गाँस मिठो खानेबेलामा सन्तानको साथ चाहन्छिन र सम्झिन्छिन । मेरी आमा । यो जुनीभर मैले शब्दकोषका सबै अक्षर प्रयोग गरेपनि आमाको ममता र त्यागको बयान गर्न बिल्कुलै सक्दिन ।
आमाको स्वरुप धेरै छन्, आमा, ममि, हजुरआमा, बज्यै, ठुलीआमा, सानीआमा, रगतको नाता र भावनाको नाता भएको आमा, मितिनी आमा, सासुआमा, साथीको आमा पनि आमा सबै आमा नै हुन । यी सबै आमाहरुको माया, ममता, सहयोग र आशिर्वादले नै सन्तानको जीवन सफल र सुखी हुन्छ ।
आमालाई एक दिन मात्र सम्झिने र माया गर्ने पटक्कै होइन । आमाले सानोमा हामीलाई स्याहारे झै, हामीले व्यवहार गर्न सक्नुपर्छ । अहिले सन्तान अलि जान्ने हुँदा आमा नजान्ने, अनपढ, गवार, अबुुझ, फोहोरी, नराम्री.........। यस्तै लाग्न सक्छ । तर सम्झिनुस्, तपाईलाई सरसफाई गर्ने, स्याहार्ने, सिकाउने, बुुझाउने पहिलो गुरु नै आमा हो । सन्तान बोल्नै नजान्दा पनि मनको कुरा बुुझेर प्यासमा पानी, भोकमा खाना दिने र दिसा र पिसाब गराउने आमा नै हुन् । यो भन्दा जान्ने कुन चै ज्योतिष हुन्छ ? कुन वैज्ञानिक हुन्छ ? मेरी आमा मेरो हरेक दुख बुुझ्न सक्नुहुन्छ, हरेक फिलिङ्सलाई महसुस गर्नसक्छिन् । र मेरो हरेक इच्छा पुरा गर्न सक्छिन् ।
अहिले ठुली हुँदा आमाको फिलिङ्सलाई सन्तानले बुुझ्न नसक्ने भयो भने  त्यो सन्तान भन्दा अबुुझ को हुन सक्ला ?
आज मातातीर्थ औँशी भएकाले मैले मेरी आमालाई सम्झिँदै केही शब्द लेख्ने प्रयास मात्र गरेकी हु । मलाई जन्मदिने, कर्मदिने, विश्वास गर्ने मेरी आमाहरु सबैलाई म हृदय देखि नमन गर्दछु । 
मलाई जन्मदिने आमा सकुशल हुुनुहुुन्छ तर पनि आजको दिनमा मैले भेट्न सकिन । अघिल्लो २ साल पनि मेरी आमालाई भेट्न पाईन मैले, काम विशेष र विशेष परिस्थितिले गर्दा, म आमालाई फोनमा कुरा गथ्र्ये र कार्यस्थल मै रोएर बस्थ्ये । आज उसैगरी फोन गरे मेरी आमालाई, गरे केही कुरा, भेट्न आईन नी आमा आजको दिन पनि म । सन्तुुष्ट छिन तै पनि भन्छिन् सुरक्षित भएर बस्नु है । यसपाली हजुरबुुबाको बित्नुुभएको कारण एक वर्षसम्म कुनै चाड मनाउनु हुन्न । झन आज नै कान्छो काका बित्नुुभयो भने दुखद खबर आयो । कोरोनाको कारण आउने स्थिति पनि भएन । 
आमाको मुख हेर्न अर्थात चाड मनाउनु नहुने भए पनि यसपालि कोरोनाको कारण मैले घर जाने योजना नै बनाइन । किनकी परिवारलाई भेट्न जाँदा कोरोनाको संक्रमण पनि म सँगै जान सक्छ र मेरो परिवार पनि संक्रमणमा पर्न सक्छ । म लकडाउन मै छु । एकान्तवासमा छु । सरकारको निर्देशन पालना गरिरहेकी छु । 
आमाको मुख हेर्न औशी नै आउनु पर्छ भन्ने होइन । म मेरी आमालाई साधै हेर्छु, माया गर्छु । सुख दुुखमा साथ दिन्छु । मेरी फुलजस्ती आमालाई हेर्न यो औशीको रात चाहिँदैन । म त्यो पूर्णिमाको दिन हेर्छु । आमाको हरेक दुखको क्षणमा हेर्छु र प्यारी सन्तानको जिम्मेवारी पुरा गर्छु । ३ सय ६५ दिन नै आमालाई मातातीर्थ औँशीको दिनमा दिने माया, ममता, खुवाई, साथ र आत्मियता दिने प्रयास गर्नेछु । सोचेकी छुु अर्को साल, कोरोना, जुठो, विशेष परिस्थिति नआए मेरी आमालाई मातातीर्थ औँशी कै दिन पनि मुख हेर्ने छुु । 


 

https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।