nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बन्दाबन्दीमा श्रीमतीको काम युट्युब हेरेर नौलो परिकार चखाउने
विजयविक्रम श्रेष्ठ

म विजय विक्रम श्रेष्ठ । थाहा नगरपालिका पालुङमा मेरो घर । अहिले काठमाण्डौंमा छु । सामाजिक सञ्जालमा यस्सो चिहाउँछु । साथीसंगीको पिकनिक फायर क्याम्प हाइकिङ ट्रेकिङ देख्छु । अनि मनमनै आफैलाई सराप्न थाल्छु किन बेलैमा पालुङ पुगिएन भनेर । सामाजिक सञ्जालबाट नै समाचार बिहान बेलुका एक÷एक पटक नियाल्छु । आंकडा हेर्छु, मन डराउँछ आतिन्छ । अनि आफैलाई स्याबासी दिन्छु–‘आहा मेरो जन्मथालो ।’ प्रकृतिको उपहार मेरो गाउँ । उफ म न्दाबन्दीमा काठमाण्डौंमा थुनिएँ । केही छैन, म सुरक्षित छु । सावधानी अपनाएर बसेको छु ।

काठमाण्डूमा बन्द बन्दी अलिक कडा नै छ । बन्दाबन्दीको पहिलो हप्ता झण्डै घर र अस्पताल गरेर नै बिताए । नजिकको आफन्त बिरामी हुनुहुन्थ्यो, अहिले उहाँलाई नै राम्रो नै छ । उहाँको स्वास्थ्य सुधारले खुशी छु । म स्वास्थ्यप्रति सचेत छु । साँझपख २÷३ घण्टा हिँड्थे । बन्दाबन्दीले कडिकडाउ छ । त्यो पनि छोडे । अल्छि लाग्छ, ज्यान भारी छ । बेलुका सुत्ने बेला म सोच्छु भोलि उठेर यो काम गर्छु त्यो काम सिक्छु आदि–आदि । अनि बिहान आँखा खुल्छ, घडी हेर्छु । उठ्ने बेलामा नै अल्छि लागि सकेको हुन्छ । किनभने योजना, योजना मात्र हुन्छ, पूरा गर्ने कुनै उपाय हुन्न किनभने बन्दाबन्दी छ । दिनभर आलटाल गर्दैमा दिन बित्छ । सोफामा, घरी बेडमा ओल्टीपल्टी गरेरै दिनहरु विताउनु पर्छ ।  नयाँ फिल्म हेर्यो, मोबाइल चलायो यहि मेरो दैनिकी बनिरहेको छ । 

यो अनुभवले के पनि लाग्यो भने मान्छे धेरै फुर्सदमा भएपनि अनेकन कुरा सोच्छ, गर्छ । मलाई त्यो पनि लागेको छ की बन्दाबन्दीले मानिसहरुमा कुलत पनि शुरु हुन सक्छ । यसमा परिवार र स्वयंम व्यक्तिले पनि ख्याल गर्नुपर्छ । इन्टरनेट ने चलाउँदा पनि नयाँ कुराको खोजी र राम्रा सिकाइ गर्नुपर्छ ।  पत्रपत्रिका र अनलाइनमा आफूले सिकेको कुरा अरुलाई शेयर गरेर सिकाइ आर्दान प्रदान गरेर सदुपयोग गर्नुपर्छ । 

उमेरले उकालो चढ्दै गर्दा व्यावहारिक हुँदै गएपछि जीवनमा साथीभाईसँगको सम्बन्ध पनि टाढा भए जस्तो, धमिलिएको जस्तो हुँदो रहेछ । बन्दावन्दीमा स्कुले साथीदेखि रिसाएका खुशाएका टाढिएका बाँधिएका नजिकिएका सबै साथीभाईसँग अनलाइनमा नै भलाकुसारी गर्ने समय पनि जुरेको छ ।  मनमा यति आनन्द अनुभव गरियो की लाग्छ, फेरि म त्यही सरस्वती स्कूलमा आकासे सर्ट र हरियो पाइन्टमा दौडिरहेको साथी छु । ४÷५ कक्षा तिरको जनक सरको लौरो सम्झिन्छु, ६÷७÷८ तिर को महेन्द्र सरको कडा स्वभाव सम्झिन्छु, वीरेन्द्र सर प्रवीण सर, गौतम सर र आत्माराम सरको मिजासिलो पढाइ सम्झन्छु । अनि याद आउँछ माध्यामिक तहको जनकल्याण, जहाँ धेरै थप साथी भाई कमाए, सम्झन्छु त्यहाँको सानुभाई सर, गोविन्द सर, राउत सर, अधिकारी सर,  सिंह सर र अन्य सर हरु । उहाँहरू जहाँ मैले २ वर्ष पढेँ गाली नै खानु परेन, सधैं मायामा नै पढे हुर्के । अनि आए क्याम्पस तिरको मिया सर अधिकारी सर कुँवर सर । अहिले सम्पर्कमा नभए पनि उहाँहरू प्रति सदैव माया सद्भाव र सम्मान रहिरहनेछ । 

म र मेरो श्रीमती हाल काठमाण्डुमा छु र बाँकी मेरो परिवार सम्पूर्ण पालुङमा नै छन् । श्रीमतीको काम युट्युब हेर्ने तथा नयाँ नयाँ परिकार चखाउने रहेको छ । झगडा गर्छौ, मिल्छौ झगडा गर्छौ मिल्छौं यस्तै छ । बाँकी परिवारसँग बन्दबन्दीले गर्दा टेलिफोन बाहेक भौतिक भेटघाट छैन । मातातीर्थ औंसी पनि नजिकिदै छ अनि देवाली पनि । भौतिक रूपमा भेटघाट सम्भव छैन । सम्झना माया सबैलाई सधैं छ, रहिरहने छ । धेरै याद छोरीको आउँछ । किनभने हामी बाउ छोरी पहिलो पटक यति लामो समय छुट्टिएर बसेको । सन्तानको माया पनि अचम्मको हुँदो रैछ, कामना छ आशा छ हामी चाँडै भेट्छौं ।

समग्रमा बन्दाबन्डी कठोर रहेपनि, बाध्यता भएपनि जीवनलाई फर्केर नियाल्ने मौका दियो । साथी भाईसँगको सम्बन्ध नविकरण गरियो । तसर्थ दुःखदायी तथा कठोर रहेपनि सबै सुरक्षित बसौ घर मै बसौ । महामारी पनि यस्तो महामारी निस्कियोकी हामीले आकलन नै गर्न सक्दैनौं । एउटा व्यक्ति बाट परिवार, परिवारबाट समाज र राष्ट्रलाई खतरा हुने महामारी । जसको हालसम्मको उपचार नै छैन मात्र सावधानी छ, तसर्थ सावधानी अपनाऔं ।