nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पुलपुलिएका लोकमानलाई ‘चड्कन चिउरा’ !
प्रतीक प्रधान

लोकमानसिंह कार्की चाँदीको चम्चाले भुजा ज्युनार गरेर हुर्केका व्यक्ति हुन् । उनी जन्मँदा नै उनका पिता भूपालमान सिंह कार्कीको रजगज थियो । पञ्चायत कालमा राजाका पूर्वी कमान्डर मानिएका पिताको पालादेखि नै कार्की परिवारमा शक्ति र सम्पत्तिको रोब जमाउनुपर्ने व्यसन देखिएको थियो । पिता भूपालमानलाई कतिसम्म घमण्ड थियो भने उनले आफू जिउँदो हुँदै विराटनगर–धरान राजमार्गको दुहबी नजिक बीच बाटामा पुराना राजाहरूको जस्तै आफ्नै पूर्ण कदको सालिक उभ्याएका थिए । त्यो सालिक २०६३ को आन्दोलनपछि मात्र जनताले ढालेका हुन् । 

त्यस्ता बाबुका छोरा लोकमानलाई नपुग्दो केही थिएन । यिनलाई सरकारी जागिर खाएर जीविका चलाउनु पर्ने बाध्यता पनि थिएन । तर सरकारी पदमा भएको प्रतिष्ठा र आँट गर्दा हुने कमाइले उनलाई आकर्षित गर्यो । फेरि उनले चाहेमा जे पनि हुने बेला थियो त्यो । उनका पिताको प्रभावले उनले न त सामान्य ज्ञान पढ्नु पर्यो, न नेपाली, न अंग्रेजीमै लेख्नुपर्यो । 

लोकमानलाई सबैभन्दा पहिले पुल्पुल्याए राजा वीरेन्द्रले । जनताका छोरा टुपी बाँधेर लोकसेवा लड्दा पनि अत्यन्त प्रतिभावान भएमात्र शाखा अधिकृत बन्ने र त्यसको दसौं वर्षमा उपसचिव हुने बेलामा हुकुमप्रमांगीबाट कार्की सिधै उपसचिव भए । उपसचिव भएको केहीपछि जनआन्दोलन भयो तारतम्य मिलाएर अर्थ मन्त्रालयको कमाउ स्थानमा खटिए पनि । विसं २०४६ सालपछि राजा वीरेन्द्रको प्रभाव कम भयो, उनी संवैधानिक राजा भए । तर कार्कीको प्रभाव घटेन ।

लोकमानका पिताले पञ्चायत कालमा कांग्रेसी विरोधलाई साम्यपार्न केही टुकडा त्यता फ्याँकेका रहेछन् । विसं २०४६ सालपछि त एकाएक लोकमान नेपाली कांग्रेसका सबैभन्दा नजिकका कर्मचारी देखिए । महेश आचार्य अर्थमन्त्री हुँदा उनी शक्तिशाली राजस्व अनुसन्धान विभागका प्रमुख बनाइए । नेकपा (एमाले)को महाधिवेशनमा तिनको मञ्चमै विराजमान हुने व्यापारी मोहनगोपाल खेतानलाई चोट पुर्याएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको इच्छा पूर्ण गर्न लोकमान हतियार बने । 

हुँदाहुँदा लोकमान कति शक्तिशाली भए भने बलदेव मजगैयाँजस्ता इमानदार र स्वाभिमानी नेता र लोकमानमध्ये एक जना रोजिने र त्यसमा पनि प्रधानमन्त्रीको रोजाइमा लोकमान पर्ने विडम्वना पनि देखियो । मजगैँया जलस्रोत मन्त्री थिए । उनलाई सोध्दा पनि नसोधी लोकमान कार्कीलाई जनस्रोत मन्त्रालयमा सचिव बनाइयो । मजगैँयाले विरोध गरे । लोकमानलाई नहटाउने हो भने राजीनामा दिन्छु भने । ती सज्जन कांग्रेसले अपमान सहेर मन्त्री हुन रुचाएनन् र राजीनामा गरे । लोकमानले जिते ।

तिनै लोकमानले गरेको कारवाहीको ठूलो समाचार बनाएर पहिलो पृष्ठमा छपाउनेमा यो लेखक पनि पर्यो । साह्रै प्रभावशाली राजस्व अनुसन्धान विभागका प्रमुखलाई भेट्न द काठमाडौं पोस्टको संवाददाताको हैसियतले दिनहुँ गइन्थ्यो । त्यसैले उनलाई मैले ‘दाइ’ भन्ने र उनले ‘भाइ’ भन्ने नाता पनि जोडियो । 

त्यसपछिका केही वर्ष लोकमान पाइलट बाबाको अनुयायी बनेको खबर सुनियो । एक दुईपल्ट पशुपतिमा भेट्दा नमस्कार आदानप्रदान भयो, खासै केही भएन । लोकतान्त्रिक शक्ति सबैलाई जेलमा राखेर शासन चलाउने पूर्व राजा ज्ञानेन्द्रको पनि फेरि तिनै लोकमानमाथि विश्वास बढ्यो । कांग्रेसीलाई तहलाउन राजा वीरेन्द्रले जसरी पिता कार्कीलाई लगाएका थिए पुत्र कार्कीले पनि त्यही जिम्मेवारी पाए । आफूभन्दा आठजना वरिष्ठ सचिवलाई लडाएर उनी मुख्य सचिवको पदमा पुगे । 

त्यसबेला प्रधानमन्त्रीबाट अक्षम भनि निकालिएका शेरबहादुर देउवालाई प्रहरी तालिम केन्द्र महाराजगंजमा थुनामा राखिएको थियो । तर, शाही आयोग खारेज हुने सर्वोच्च अदालतको निर्णय तथा अन्तर्राष्ट्रिय दबाबका कारण उनलाई छोड्न राजाको शासनलाई कर लाग्यो । आफू थुनामुक्त भएपछि देउवाले पत्रकार सम्मेलन गरे । तर देउवाको भनाइ कतै पनि प्रकाशित नगर्न लोकमानले कान्तिपुर र काठमाडौं पोस्टलाई उर्दी लगाए । तत्कालिन गृह सचिव चण्डी श्रेष्ठलाई द काठमाडौं पोस्टको सम्पादकको हैसियतले सोधें, समाचार रोक्नुभन्ने आदेश कस्को हो? उनले माथि भन्ने इसारा गरे । 

मैले आफ्ना पुराना परिचित लोकमान दाइलाई फोन गरेँ । तर, उनी मुख्य सचिव लोकमानको हैसियतले बोले । कुनै पनि हालतमा त्यो समाचार प्रकाशित गर्न हुन्न भनेर अड्डी लिए । यो लेखकले या त प्रकाशित गर्न नपाइने भन्ने पत्र काट्नु, जुन पत्र प्रकाशित गरेर समाचार रोक्छौँ या सेना पठाएर कान्तिपुरको प्रेस बन्द गर्नु भन्ने चुनौती दिएँ । अन्त्यमा उनले यसो मिलाएर प्रकाशित गर्नु भनेर पछि हटे । तर त्यो समाचार कान्तिपुर तथा द काठमाडौं पोस्टमा जस्ताको तस्तै प्रकाशित भयो ।

लोकतन्त्र आयो । त्यसबेला भने लोकमानलाई एक चड्कन हानेजस्तो गरे दलहरूले । उनलाई मुख्य सचिवबाट हटाएर योजना आयोगमा लगियो । तर लोकमानको प्रभाव त्यत्तिमै सकिएन । अब लोकमानको विशाल जिउडाल र जे सुकै गर्न कुनै नैतिकता र नियम हेर्न नपर्ने सोच भारतलाई आकर्षक लाग्यो । उनले सरकारी सेवाबाट अवकाश पाउनेबित्तिकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा उनलाई ल्याउने चलखेल तीव्र भयो । 

नेपालका रछ्यान हाम गर्न पल्किएका नेताहरूलाई भारतले केको लोभ वा त्रास देखायो कुन्नि सबै ठूला दलका नेता उनैलाई अख्तियारको प्रमुख बनाउने खेलमा लागिपरे । डा. रामवरण यादव राष्ट्रपति थिए । उनले सरकारले गरेको सिफारिस ढिला गर्न सक्थे । ढिलाइ भएको भए अदालतमा मुद्दा हालेर लोकमान सो पदमा बस्न कुनै पनि प्रकारले नैतिक चरित्र भएका मान्छे होइनन् भन्ने प्रमाणित गर्न सकिन्थ्यो । तर, यादव पनि गले । भनिन्छ भारतबाट यस्तो कडा फोन आयो कि भोलिपल्ट सर्वोच्च अदालत खुल्नुभन्दा पहिले उनलाई बिहानै साढे आठ बजे शपथ खुवाइयो । 

अख्तियारको प्रमुख आयुक्त भएपछि केही समय लोकमान आफ्नो प्रभाव विस्तार गर्ने क्रममा रहेछन् । एकदिन त्यति बेला कारोबार दैनिकको सम्पादक रहेको पंक्तिकारलाई कार्कीले सिधै फोन गरे । उनको आशय थियो, उनको कार्यकालमा अख्तियारलाई समर्थन गर्नुपर्ने । मिडिया धेरै उनको प्रभावमा आइसकेका थिए । कारोबारका सम्पादकले हुन्छ समर्थन गर्छु भनेर भनिदिँदा ठूलो नोक्सान हुने पनि थिएन । तर, सर्वशक्तिमान लोकमानलाई समर्थन गर्न सक्दिन भनेर जवाफ फकाइयो । कुनै बेला आफू राजस्वमा हुँदा रातारात हिरो बनाउने पत्रकार ‘भाइ’ले किन समर्थन गर्दिन भन्यो उनले सायद बुझेनन् । मैले सम्झाएँ, लोकतन्त्रको लडाइँलाई दबाउन उनले खेलेको भूमिका । कारण त्यही भएको पनि बताइदिएँ । तर, उनलाई आश्वासन दिएँ – भएको घटनाबाहेक जानाजान उनको पछि लागेर समाचार प्रकाशित गर्दिन । यो वाचा लामो कायम रहेन । उनको उद्दण्डता र भ्रष्टाचारका विषयमा कति धेरै गुनासा आए भने उनलाई सिधै चुनौती दिनुको विकल्प रहेन । बाह्रखरीमा त धेरै लेख उनको विरोधमा लेखियो । 

अब अहिले लोकमान ‘ओरालो लागेका मृग’ भएका छन्, जसलाई वाख्राले पनि लखेट्छ । उनको पैसा खाएर जन्मिएका मिडियासमेत लाजै नमानी उनको पछि लाग्दैछन् । त्यसैले अब उनको धेरै विरोध गर्नुको तुक छैन ।

उनको विरुद्ध अदालतमा भएको मुद्दा र संसद्मा दर्ता भएको महाभियोग उनको गलत व्यवहार र कार्यशैलीका लागि दरिलो चड्कन बनेको छ । तर, लोकमानले अझै पनि लोकलाज ख्याल नगरी मुद्दा टार्न खोज्ने र महाभियोग छल्ने खेल खेले भने उनलाई केही फाइदा हुँदैन । अब उनको ‘समानान्तर सरकार’ चल्दैन । अब उनलाई घाँटी नै चढाउन आउने सुरक्षा निकाय प्रमुख तथा दिनरात उनीबाट निर्देशन लिएर घुँटा टेकेर दर्शन गर्ने अनि कुममा धाप लिने अन्य सुरक्षा निकायका प्रमुखले पनि उनलाई साथ दिँदैनन् । कथंकदाचित उनले पुरानो सान र कार्यशैली फेरि अपनाउने मौका पाए भने जनताकै भिडले उनलाई टंगालको रातो दरबारबाट सडकमा ल्याउनेछ । 

त्यसैले लोकमान दाइ !, अब खुरुक्क राजीनामा दिएर यस प्रकरणबाट मुक्ति पाउने कि ? त्यसो भयो भने अब उप्रान्त कार्की लोकमानलाई छाडेर अरू लोकमानको खाँडो जगाउनु पर्ला । हैनभने अर्कोपल्ट गलत काम गर्नेलाई जनताले गर्ने कारबाही चड्कनभन्दा धेरै हिंसात्मक हुनसक्छ । जो विचार !

-बाह्रखरीबाट