nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पर्यटन जोगाउने मेसो
रामशरण नेपाल

RRAMM-1599309225.jpg
  • रामशरण नेपाल

विश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड–१९ महामारीको अवस्थामा सम्पूर्ण उद्योग, व्यवसाय प्रभावित नै छ । त्यसमा पनि पर्यटन उद्योग अझै प्रभावित भएको छ ।

जतिसुकै उत्कृष्ट पर्यटकीय गन्तव्य भए पनि पर्यटन भनेकै मानिसको हिँडडुल, आवतजावत नै हो । यस महामारीबाट बच्ने उपाय भनेकै सामाजिक/भौतिक दूरी कायम गर्नुपर्ने भएकाले पर्यटकहरूको आवागमन रोकिएको छ, जसले गर्दा पर्यटन व्यवसाय अनिश्चित बनेको छ । विश्वमा हुने साना–ठूला सबैखाले घटनाहरूले सर्वप्रथम प्रभावित पार्ने यो व्यवसाय संवेदनशील र जोखिमयुक्त व्यवसाय हो । यो जटिल अवस्थामा पर्यटन मानिसको आवश्यकताभित्र पर्दैन । यो महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म पर्यटकहरूको भ्रमण गर्ने योजना नबन्ने हुँदा सामान्य अवस्था नआएसम्म पर्यटन क्षेत्रलाई कसरी बचाउने भन्ने नै अहिलेको मूल प्रश्न हो ।

पर्यटन क्षेत्रका लगानीकर्ताहरूमा आफ्नो लगानी र व्यवसायलाई कसरी बचाउने भन्ने एकप्रकारको निराशा देखिएको छ । हामी कच्चा पदार्थ आयात नगरी विश्वबजारमा हाम्रो उत्पादनकहरूको प्रचार–प्रसार गरेर पर्यटक भिœयाएर उनीहरूलाई गाँस, बाँस, कला, सँस्कृति, मनोरञ्जनदेखि अन्य सेवाहरू बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौँ । यस सँगसँगै जोडिएका अन्य व्यवसाय तथा यसले समाजमा पु¥याएको योगदानको विषयमा त अझै गहिरो अध्ययन नै भएको छैन । त्यसैले अन्य भौतिक वस्तुको उद्योग, व्यवसायजस्तै यो व्यवसायलाई पनि सोलोडोलो एउटै डालोमा राखेर हेर्ने हो भने पर्यटन व्यवसायमा लगानी गर्ने लगानीकर्ताहरूलाई अन्याय हुन सक्छ ।

नेपालमा केही समययता पर्यटन क्षेत्रमा लगानी निकै आकर्षित भएको देखिन्छ । साना–ठूला लगानीकर्तादेखि नेपालका औद्योगिक घरानाका परिचित अनुहारसमेत पर्यटन क्षेत्रमा आँखा लगाउँदै ठुल्ठूला होटेलहरूमा लगानी गरिरहेका छन् । अझ पर्यटन वर्ष २०२० लाई लक्षित गरी ठूलो लगानी गर्नेक्रम बढिरहेको थियो । पर्यटन क्षेत्रमा साना–ठूला होटल, रिसोर्टलगायतका पूर्वाधारमा गरी करिब डेढ खर्ब रुपियाँभन्दा बढीको लगानी रहेको देखिन्छ भने प्रत्यक्ष रूपमा करिब पाँच लाखजनाले रोजगारी पाएका छन् । राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रले चार प्रतिशतको जीडीपीमा योगदान पुर्याएकाले यस क्षेत्रलाई बचाउनु सरकारको पनि प्रमुख दायित्व हो । व्यवसायी, जनता बलियो भएमात्र सरकार र अर्थतन्त्र बलियो हुने हो ।

निजी क्षेत्रले जहिले पनि सरकारको कमजोरी देख्ने र सरकारले निजी क्षेत्रलाई बढी नाफामुखी वा व्यापारमुखी देख्ने पुरानो मानसिकता, रोग भनौँ या प्रवृत्ति अन्त्य गरी यो व्यवसाय सामान्य अवस्थामा नफर्कंदासम्म बचाइराख्नु व्यवसायी र सरकार दुवैको दायित्व हो ।

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा हालै राष्ट्र बैङ्कबाट घोषित मौद्रिक नीतिले केही हदसम्म सम्बोधन गरे पनि यो पर्याप्त छैन । मुख्यतः तीनप्रकारका समस्याबाट व्यवसायी गुज्रिरहेका छन् । सर्वप्रथम श्रमिकहरूप्रतिको दायित्वको बोझ, हाम्रो परम्परागत श्रम नीति तथा श्रमिक ट्रेड युनियनहरूका कारण व्यवसायीहरूले आफ्ना श्रमिक कटौती तथा व्यवस्थापन आफूअनुकूल गर्न सक्दैनन् । दोस्रो, बैङ्कको किस्ता तथा ब्याजको बोझ देखिन्छ । तेस्रो, लिज तथा घर भाडामा लिएर व्यवसाय गर्नेहरूलाई लिज तथा भाडाको समस्या छ ।

यस्तो अवस्थामा यदि पर्यटन क्षेत्रलाई बचाउने हो भने राज्यले कम्तीमा तीनवर्षे योजना बनाई श्रमिकहरूको तलबलगायत ब्याज व्यवस्थापन गर्न निव्र्याजी ऋणको व्यवस्था गर्नुपर्ने हुन्छ । अस्तित्वमा रहेको ऋणको ब्याजलाई न्यूनीकरण गरी किस्ता तिर्ने समय कम्तीमा दुई वर्ष सारिनुपर्नेछ र तेस्रो वर्षदेखि मात्र ब्याजमा सरलीकरण गर्दै साँवा–ब्याज तिर्नेगरी व्यवस्था गरिदिनु आवश्यक छ । कम्तीमा आगामी दुई वर्ष पर्यटन व्यवसाय सामान्य अवस्थामा आउने देखिँदैन । करिब दुई वर्ष कम्तीमा ५० प्रतिशतमात्र कर्मचारीको न्यूनतम तलब व्यवस्थापन गरी बाँकी ५० प्रतिशत कर्मचारीहरूलाई बेतलबी बिदामा राख्नेगरी नीतिगत निर्णयसहित व्यवस्था गरिनु आवश्यक छ ।

मरेको छैन आशा
भनिन्छ, विनाशले विकास निम्त्याउँछ । एक दिन पक्कै पनि मानव जातिले यो विश्वव्यापी समस्या बनेको कोरोना महामारीमाथि जित हासिल गर्नेछ र पर्यटन व्यवसायमा हामी पुरानै लयमा फर्कनेछौँ । यो समयलाई व्यवसायीहरूले यसै व्यतीत गर्नेमात्रै नभई, कोरोना महामारीपछि अझ विश्वबजारमा प्रतिस्पर्धी कसरी बन्न सकिन्छ र पर्यटकलाई दिने गुणस्तरीय सेवा सुविधामा कसरी अझ स्तरीकरण गर्न सकिन्छ भन्ने विषयमा सदुपयोग गर्न सक्छौँ ।

विगतमा नेपालले धेरै राजनीतिक अस्थिरता भोग्नुप¥यो । राज्य संयन्त्र अस्तव्यस्त, फोहोरमैला व्यवस्थापन हुन नसक्नु, सडक तथा विमानस्थलजस्तो भौतिक पूर्वाधारको अवस्था एकदम कमजोर भएका कारण नेपाल घुम्न आउने स्तरीय खर्चालु पर्यटकहरू बिस्तारै विश्वका अन्य गन्तव्यतिर लाग्न थाले । योसँगै सङ्ख्या बढाउने नाममा पर्यटन व्यवसायीहरूबीचमै लाजमर्दो अस्वस्थ फोहोरी प्रतिस्पर्धाले पनि बजार खस्किएको अवस्था छ ।

समृद्ध नेपाल बनाउने हो भने वास्तवमै पर्यटन नै मुख्य आधार बन्न सक्छ । विश्व पर्यटन बजारमा समेत प्रतिस्पर्धा हुनेखालको पर्यटनमैत्री नीति नियमको तर्जुमा, विभिन्न भौतिक पूर्वाधारको सुधार, निर्माण, ऐतिहासिक, साँस्कृतिक, पुरातात्त्विक सम्पदाहरूको पुनःनिर्माण, संरक्षण, सम्बद्र्धन गर्दै भौतिक विकास निर्माणमा हाम्रो आफ्नै सँस्कृति र मौलिकता झल्काउन भुल्न हुँदैन ।

हाम्रोजस्तो कृषिप्रधान देशमा कृषिलाई प्रत्यक्ष रूपमा पर्यटनसँगै जोड्दै विभिन्नखाले खाद्यवस्तु, पशुजन्य वस्तुहरू, पेय पदार्थहरू तथा विभिन्न विदेशी ब्रान्डका मदिरा आयातलाई न्यूनीकरण गर्दै नेपालमै उत्पादित फलफूलहरू तथा खाद्यवस्तुबाट उच्चस्तरको मदिरा उत्पादन तथा बिक्री वितरण गर्न सकिनेगरी हाल विद्यमान नीति र कानुनहरूलाई परिमार्जन गर्न जरुरी छ । यसो गर्दा नेपालबाट बिदेसिने करोडौँ रुपियाँ बचाउन सकिन्छ, हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । विश्वबजारबाट स्तरीय तथा खर्चालु पर्यटक भित्र्याउन सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्दै यसका लागि ठोस नीतिसहित तयारी गर्नु आवश्यक छ । धार्मिक, साँस्कृतिक, प्राकृतिक भौगोलिक भू–बनौट तथा प्राकृतिक सौन्दर्यले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य हो । साहसिक पर्यटनका लागि पनि उत्कृष्ट छ । विश्व व्यापार सङ्गठनको एक तथ्याङ्कअनुसार ४० प्रतिशत पर्यटक विश्वभर साहसिक पर्यटनका लागि घुम्ने गर्छन् । साहसिक पर्यटन खेलका लागि विश्वबजारमा बजारीकरण गर्ने र अन्तर्राष्ट्रियस्तरका खेलहरूको आयोजना गरी अझ विदेशी प्रायोजकहरूलाई भित्र्याउनुपर्दछ । साथै गल्फ, हात्तीपोलोजस्ता खेलहरूको आयोजना गर्न सकिन्छ । हिमाल आरोहणलाई अझ सहज बनाउनुपर्छ । नयाँ–नयाँ हिमशृङ्खलाको आरोहणका लागि खुला गर्नु जरुरी छ ।

पर्यटन विकासको नाममा हाल प्राकृतिक वन–जङ्गल विनाश गर्नेगरी निर्माण भइरहेको भ्युटावर र हिल स्टेसन निर्माण गर्नेक्रम रोक्नुपर्छ । नयाँ एडभेन्चर ट्रेकिङ ट्रेल रुटहरूको विकास गर्नुपर्दछ । अझै लुकेर बसेका विभिन्न प्राकृतिक गुफाहरू र झरनाहरूहरूसम्मको पहुँच बढाउन भौतिक पूर्वाधारको विकास आवश्यक छ । चराचुरूङ्गी, वनस्पति, वन्यजन्तु आदिको अनुसन्धानका लागि आउन चाहने पर्यटकहरूलाई आमन्त्रणसहित विश्वबजारमा प्रचार–प्रसार गर्नुपर्दछ ।

अन्ततः समग्र रूपमा पर्यटन क्षेत्रको विकासका लागि राज्यले दीर्घकालीन ठोस नीति निर्माण गर्न परम्परागत पर्यटन नीतिमा सुधार गर्न ढिला गर्नै हुन्न । ग्राममुखी पर्यटनको अवधारणालाई विकास गर्दै समग्रमा नेपाली समुदायलाई समेत पर्यटनमैत्री बनाउन सके पर्यटन क्षेत्रको भविष्य उज्ज्वल छ ।
(लेखक  मकवानपुर चित्लाङका पर्यटन व्यवसायी हुनुहुन्छ ।)

-गोरखापत्र अनलाइनबाट