nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दसैँ बदलियो कि समय ?

  • विनोद ढकाल

यो वर्ष धेरैले आफ्ना पुराना दसैँ ‘मिस’ गरेका छन् । सामान्य अवस्था हुन्थ्यो भने यतिबेला शहर सुनसान भइसक्यो । शहरबाट गाडीभरि मात्र होइन, छतमा समेत भरिएर मानिसहरु गाउँ पुगिसक्थे । कोरोना महामारीका कारण उत्पन्न प्रशासनिक झञ्झट र स्वास्थ्य सचेतताका कारण यो वर्ष धेरैले पारिवारिक जमघटका साथ परम्परागत रुपमा दसैँ मनाउन सकेनन् ।

वडा र गाउँपालिकाले क्वारेन्टिन राख्ने, पीसीआर रिपोर्ट खोज्ने र कतिपय व्यक्ति आफैं भिडभाडमा जान डराउने भएकाले यो वर्ष गत सालहरुमा जति दसैं जमघट गाउँहरुमा नहुने भयो । हुनत दसैँ मान्ने पुरानो परम्परा हरेक वर्ष फेरिँदै गएको अनुभव पनि सबैले गरिरहेकै छन् ।

पछिल्ला केही वर्षयता गाउँघरका लागि राजधानी काठमाडौं लगायत देशका ठुला सहरहर पानीपधेँरो नै भइसकेको छ । काठमाडौंमा बसोबास गर्नेहरु घर जान मन लागेको बेला विहान मोटरसाइकलमा बसेर बेलुका गाउँ पुग्न थालेका छन् । कोही जिप रिजर्भ गरेर जान्छन्, कोही बसमै पनि साँझ घर पुग्छन् । सडक विकासले गर्दा दार्चुला, डडेल्धुरा पनि अब काठमाडौंका टाढा रहेन ।

गाउँमा मोटरसाइकल र जिपको ताँती लागेर बुङबुङ धुलो उडेपछि दसैँ लाग्न थालेको अनुभूति हुन्छ । अरु बेलामा बुढाबुढी बा–आमा मात्र भेटिने सुनसान प्राय गाउँमा युवादेखि बालबालिकासम्म देखिने दसैँमै त हो ।

दसैँ मान्न गाउँ पुग्नेको संख्या धेरै भए पनि त्यो अल्छीको जमात हो भन्ने कुरा सडक, गोरेटा र खाली चउरहरुले बताउँछन् । दसैं सकिएपछि सडकका खाल्डाखुल्डी जस्ताको तस्तै रहन्छ । नयाँ भनेको फोहोरका डंगुरहरु देखिन्छन् । बाटोको सिँढीका ढुंगा झरेको छ, झार र झाडीले लपक्कै ढाकिएको छ । पहिले लिंगेपिङ, रोटेपिङ हालिने चउर बनमाराले छोपेको छोप्यै रहन्छ । हिजोआज दसैँ मान्न गाउँ पुग्नेहरुलाई यस्ता कुरामा चासो धेरै हुन्न ।

युवाहरु गाउँका पसलमा चिया खाइरहेका, तास खेलिरहेका, मदिरा पिइरहेका वा सामाजिक सञ्जालमा भुलिरहेका भेटिन्छन् । उनीहरुसँग पिङ हाल्ने न जाँगर छ, न त ढंग नै । लिंगेपिङको डोरी बाट्ने बाबियोहरु कान्लामै सुकेर गएको छ । घरका पिँढी, दलिनमा मसिना नाइलनका डोरी टाँगिएको हुन्छ, बालबालिकाले पिङ खेल्न । ती बालबालिकाले हामीले झैं पिङ कसरी चिनुन्, लिंगे पिङ मच्चाएर खोलामाथि हावामा पुग्दाको अनुभूति कसरी गर्ने ? रोटे पिङको पिर्कामा बसेर तल र माथि घुम्दाको मज्जा कसरी थाहा पाउन् ?

महाभूकम्पपछि बनेका नयाँ घरहरुमा सिमेन्ट दलिएको छ । त्यहाँ पहिलेजस्तो कमेरो पोत्नुपर्दैन । चिलाउने, साल, साजको बोक्रा पकाएर बनाएको कालो कहाँ दल्ने, कमेरो खोज्न को जाने ? पहिलेझैं दसैँको छेको खोलामा जानुपर्ने खाँचो हिजोआज पर्दैन ।

पहिले दसैँको लामो विदा सुरु हुनुअघि स्कुल रंग्याउने र दसैँ विदा भएपछि घर सजाउने चलन हुन्थ्यो । विद्यालयमा सरहरुले कक्षा अनुसार काम भाग लगाइदिनुहुन्थ्यो– कसैले ग्राउण्ड सफा गर्ने, कसैले कमेरो ल्याउने, कसैले विद्यालयको गारोमा छेपेर स्कुल टल्काउने । कसैले विरुवा सार्ने, पानी हाल्ने र विद्यालयको गेट सजाउनेसम्मको काम गरिन्थ्यो ।

समूहमा कमेरो खोज्न जाँदाको मज्जा बेग्लै हुन्थ्यो । वनभित्र खोला वरपरका भीर वा पाखामा कमेरो माटो पाइन्थ्यो । माटो खनेर खोलाका ठूला ढुंगामा धेरैबेरसम्म कुटेर मिहीन पारेपछि पातमा बेरेर झोलामा राखेर स्कुल ल्याइन्थ्यो ।

स्कुलमा बाल्टीमा कमेरो घोलेर बाबियोको कुचोले गारोमा छेपेर रंग्याउने चलन थियो । हिजोआज स्कुलको पनि सिमेन्ट लगाएको भवनमा इनामेल पोतिएको छ । आउँदा वर्षमा रङ खुइलिएपछि दसैँकै बेलामा फेर रङ दलिने होला । त्यतिबेला पनि विद्यार्थीको काम रोटेपिङ दैन । विद्यालय सजाउने काममा ठेकामा लिएर अरुले नै गर्नेछन् ।

घरमा पनि त्यस्तै हो । दसैँविदा सुरु भएपछि घर रंग्याउने काम सुरु हुन्थ्यो । घर वरपर झार खुर्केर सफा गर्ने, तला, भित्ता, पिँढी, आँगन पोत्ने, गाउँले जुटेर बाटाहरु मर्मत गर्ने, पिङ हाल्ने गरिन्थ्यो । धेरै छोराछोरी हुनेको घर बेग्लै रंगिन्थ्यो, कसको घर राम्रो बनाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । घरको पिँढीको भित्ता पुछारमा एक हात जति कालो रङ, त्यसपछि २ हात रातो माटो, त्यसपछिका एक वित्ता पहेँलो र त्यसमाथिको एक हात जति कमेरो दलेपछि घर धपक्कै बलेजस्तो लाग्थ्यो ।

मूल ढोकाको बाँयापट्टि शुभ र दाँयापट्टि लाभ लेख्ने चलन हुन्थ्यो । अहिले दसैँ मान्न मात्र घर पुग्नेहरु यस्ता कृयाकलापमा सरिक हुँदैनन् । टीकाभन्दा एकाध दिनअघि घर पुग्ने र टीका लगाउनेवित्तिकै शहर फर्किने हतारिने जमातले पहिलेको दसैं माहोलको माया मारिसके ।

फूलपातीको दिनदेखि दसैँभर हाँडी प्रयोग गर्नुहुन्न भन्ने मान्यताका कारण पहिले भुटेको मकैको सट्टा चिउरा खाजा पाइन्थ्यो । अहिले त बाह्रमासे बनेको छ चिउरा । गाउँमा मोटर पुगेपछि चिउरा पनि पुग्न थाल्यो । पहिला दसैँमा घरकै धान पानीमिलमा कुटेर चिउरा बनाइन्थ्यो । घरमै एक दिनभरि ताउलामा धान भिजाएर मिलसम्म लगिन्थ्यो । अनि त्यहीँ भुटेर कुट्दा मगमग बासना आउने त्यही चिउराले दसैँ मानिन्थ्यो । अहिले गाडी चढेर आउने चिउरामा त्यो स्वाद कहाँ !

सानो छँदाको दसैंको भुल्न नसकिने पक्ष भनेको नयाँ लुगा पनि हो । नयाँ लुगा किन्ने खास अवसरका रुपमा पनि आएको हुन्थ्यो, दसैँ । दसैँका बेला थानका कपडा किनेर आवश्यकता र रहर दुबैका आधारमा नयाँ लुगा किनिन्थ्यो । दसैँं आएपछि गाउका दर्जी दाइहरुलाई पानी खाने फुर्सद हुन्नथ्यो ।

दसैँमा लुगा किनेपछि घरमै दर्जी बोलाएर सिलाउने चलन हुन्थ्यो । उनीहरुले कपडा नापेर चिनो लगाउन भित्तामा रातो माटोमा दल्थे । सिलाउनुअघिको कपडाबाट खुब बास्ना आउँथ्यो । आफ्नो लुगा कहिले तयार हुन्छ भनेर पिँढी छाडेर अन्त जान मन हुँदैनथ्यो । अहिले आज चाहिए आजै, भोलि चाहिए भोलि नै कपडा किन्न पाउँदा पनि दसैँको मजा घटेको छ ।

पहिला केटाकेटीले जुत्ता–चप्पल पाउने अवसर पनि दसैं हुन्थ्यो । अहिलेजस्तो रेडिमेड कपडाले देश ढाकेको छ । नयाँ–नयाँ डिजाइनका जुत्ता–चप्पल पनि सर्वसुलभ भएको । अर्थात्, यी चिजवस्तु पाउँदा लाग्ने खुशी हराएर दसैंको मजा घटेको छ ।

यो वर्ष मेरा गाउँका भाइहरुले खेलकुद सामग्री लगेका छन् । गाउँमा खेल गतिविधि नियमित होस् भन्ने चाहनाले उनीहरुले आआफैं पैसा उठाएर यस्ता सामाग्री जुटाएका हुन् । गाउँमा खेल्ने चउर पनि छ, तर दुखको कुरा दसैं–तिहारपछि त्यो फुटबल, भलिबल खेल्ने मान्छे हुने छैनन् । दसैँमा शहरबाट गएकाहरुले खेलेपछि सकियो !

पहिले फुटबल प्रतियोगिता हुँदा खेलाडी उब्रेर एउटै टोलको ए टिम र बी टिम बनाउनुपथ्र्यो । घटस्थापनादेखि चल्ने प्रतियोगिता फूलपाती वा अष्टमीको दिन पुरस्कार वितरणसँगै सकिन्थ्यो । फाइनल खेल हेर्न सयौं मान्छे भेला हुन्थे । यो वर्ष त प्रशासनले प्रतियोगिता नै नगर्नू भनेको छ । अवस्था सामान्य भएको भए पनि अब अब गाउँमा प्रतियोगिता आयोजना हुन मुस्किल छ । खेलाडी पाउनै मुस्किल भएपछि के प्रतियोगिता !

किसानका लागि चाडवाडमा पनि कामको चटारो हुने । दसैँमा बस्तुभाउ भोकै राख्नु भएन । त्यसैले दसैँका लागि कान्लाको बाक्लो घाँस साँचेर राखिन्थ्यो, नवमी, टीकाको दिन र भोलिपल्ट छिट्टै घाँस जम्मा पार्नका लागि ।

पिङ खेल्न जानुअघि एक डोको घाँस ठीक पारेर मात्र निस्कन पाइन्थ्यो । अहिले दिनभर पसलमा भुलिरहनेलाई पनि बाबुआमाले केही भन्न सक्ने स्थिति छैन । यसरी जमाना आँखै अगाडि फेरियो ।

अहिले त दसैँ विदामा पनि गाउँमा धेरै मान्छे भेटिँदैनन् । पहिले जागिर खान र पढ्न गएकाहरु अनिवार्यरुपमै दसैँमा घर फर्किन्थे । अहिले नेपालीहरुको जागिर खान र पढ्ने दायरा बढेर देशको सीमा बाहिर सात समुद्रपारिसम्म पुगेको छ । उनीहरु हरेक दसैँमा आउन भ्याउँदैनन् । त्यसैले आधा परिवार भेला भएर दसैँ मान्ने बानी परिसकेको छ । पहिले कोही दसैँमा गाउँ आएन भने परिवारमा धेरै नमज्जा हुन्थ्यो, अहिले सामान्य भइसक्यो ।

पेशागत फैलावट बढ्दै गएपछि दसैँजस्ता चाडवाडको महत्व घट्दै जाँदोरहेछ । अब चाडपर्वमा भेटघाट गर्ने होइन, बरु भेट भएका बेला चाडवाडमा जस्तो रमाइलो गर्ने प्रचलन बढेको छ । समयले मानिसलाई परिचालन गरेर यसरी परम्परामा बद्लाव ल्याउँदोरहेछ ।

-अनलाइनखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)