Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरको आग्रामा अमेरिकी फौजी किराको प्रकोप

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा अमेरिकी र्फौजी किराको प्रकोप फैलिएको छ । थाहा नगरपालिका वडा नम्बर ८ मा मात्रै करिब ५ सय रोपनी मकैबालीमा किराको प्रकोप रहेको वडा अध्यक्ष टिकाराम रुम्बाले जानकारी दिए । 

गाउँका किसानले लगाएको मकैबालीमा किराको प्रकोप फैलिएपछि थाहा नगरपालिकाको कृषि विकास शाखामा खबर गरेको अध्यक्ष रुम्बाको भनाइ छ । हुर्किँदै गरेको मकैबालीमा फौजी किरा लागेको कृषि प्राविधिकबाट फिल्डमा अनुगमन भएको १५ दिनपछि प्राविधिकले केही विषाधि पठाइदिएको अध्यक्ष रुम्बाले बताए । ‘कृषि शाखाले पठाएको विषधि अपुग छ, माग गरेका छौं बाली खत्तम पारिसक्यो’– अध्यक्ष रुम्बाले भने । 

वडा नम्बर ८ का कृष्ण सापकोटाले २० रोपनी बारीमा कमै छरेका छन् । उनको बालीमा फौजी किराको थामिनसक्नूको प्रकोप छ । उनी भन्छन्–‘विषाधि छैन न अरु प्राविधिक सरसल्लाह पाइएन आपत् परेको छ ।’  सापकोटा जस्तै स्थानीय सन्तोष खड्काले पनि बालीमा छर्कने विषधि नपाएको गुनासो गर्छन् । अन्नबाली  नभए बाँच्नै कठिन हुने बताउँदै यसपालि अनिकाल लाग्न सक्ने कृषक खड्का सुनाउँँछन् । किनभने पूरै जग्गामा अमेरिका फौजी किराको प्रकोप छ ।

कृषक खड्काको जस्तै पीडा थाहा नगरपालिका वडा नम्बर ७ का किसानहरुको पनि रहेको छ । अब बालि के हुने हो ? कसरी जोगाउने हो ? जोगाउन के गर्नुपर्छ ? किसान अन्यौलमा छन् । उनीहरु भन्छन्, ‘पहिले यस्तो किरा आउँदैनथ्यो, यसपालि त पूरै मकै बर्वाद पारिदियो ।’

सिफारिस नगरिएको रासायनिक विषादी प्रयोग गर्दा सही विषादी पनि प्रभावहीन हुन सक्ने किटविज्ञहरु बताउँछन् । दुई वडाका गाउँहरुको बालीमा अमेरिकी फौजी किराको प्रकोप फैलिइरहेको अवस्थामा आवश्यक प्राविधिक सल्लाह र विषाधि अहिलेको आवश्यकता भएको स्थानीय कृषकहरुको भनाइ छ । त्यसोतः थाहा नगरपालिकाका कृषि विकास शाखाका संजय तिवारी फौजी किरा नियन्त्रणका लागि विषाधि पठाएको बताउँछन् । 
 

के हो फौजी किरा ?

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो ।

यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् । बैशाख २६ गते नवलपरासीको गैंडाकोट क्षेत्रमा पहिलोपटक फौजी किरा फेला परेको थियो ।

यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति पुर्‍याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ ।

यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर पुर्‍याउने गरेको छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।

खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ । अमेरिका पछि अफि्रकी महादेशको नाईजेरियामा सन २०१६ को जनवरीमा देखा परेको थियो । अहिले ४० भन्दा बढी अफ्रिकी मुलुकमा फैलिसकेको बताइन्छ । सन् २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशका ४ करोड जनसंख्यालाई असर पारेको थियो । त्यस बखत मकै उत्पादनमा फौजी किराले ५३ प्रतिशत कमी ल्याएको थियो ।

सन २०१८ मा भारत, श्रीलंका, म्यानमार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बंगलादेशमा देखा परेको थियो ।

नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीट वैज्ञानिकहरूको भनाइ छ ।

कसरी थाहा पाउने फौजी किराको प्रकोप

फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ । भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ ।

अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् । लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ । घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञको भनाइ छ ।

नियमित अनुगममन जरुरीः विज्ञ

मकै लगाएको ८/१० दिनमै यसले क्षति गर्ने भएकोले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने विज्ञ बताउँछन् । पातको माथिल्लो भागहरुमा यो किराको पोथीले पारेका अण्डा देख्न सकिन्छ । त्यस्तो देखिएलगत्तै व्यवस्थापनको विधि शुरु गर्नुपर्छ ।

राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका किटबिज्ञ घनश्याम भण्डारी अण्डा देखिएमा त्यो भागलाई काटेर व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘जसरी सर्प जाडोमा देखिँदैन, दुलोमा गएर बस्छ अरु किरा सुसुप्त अवस्थामा बस्छ तर फौजी किराको प्रकृति त्यस्तो छैन,’ भण्डारीले भने, ‘जुनसुकै मौसम र ठाउँमा फैलन सक्छ, हामीकहाँ आएको छैन भनेर ढुक्क भएर बस्न हुन्न । बालीको नियमित अनुगमन गर्नुपर्छ ।’

व्यवस्थापनका लागि उपाय

नेपाल कृषि अनुसन्धान परिषद नार्क कीट विज्ञान महाशाखा खुमलटारका अजयश्री रत्न बज्राचार्य, बिनु भाट र डा. प्रेमनिधि शर्माको टोलीले फौजी किरा व्यवस्थापन गर्न यी सुझाव दिएका छन् ।

  • मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने ।
  • राम्रोसँग खोस्टाले घोगा छोपिने जातको मकै लगाउने ।
  • बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात एक हप्ताभित्र रोप्ने ।
  • मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ ।
  • डेस्मोडियम घाँस यो कीरालाई मन नपर्ने हुनाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मन पर्ने नेपियर घाँस लगाएर कीरालाई आकर्षित गर्ने आकर्षित भएका किरालाई विषादी प्रयोग गरी मार्ने ।
  • अण्डाहरु संकलन गरेर नष्ट गर्ने ।
  • गुभोमा मसिनो माटो वा खरानी राख्दा पनि यसको नियन्त्रणमा सघाउँछ ।
  • हरियो खुर्सानी गाईको गहुँतमा पकाएर १ : १० को अनुपातमा पानी मिसाएर गुभोमा राख्दा पनि प्रभावकारी हुन्छ
  • सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाइ किराको प्रकोप सहन सक्ने पार्ने ।
  • मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
  • मकैको पातमा प्वाल परेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
  • विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्ने गरी छर्ने ।
  • एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने ।
  • जैविक विषादीको हकमा ब्याक्टेरियामा आधारित विषादी जस्तै महाशक्ति, डाइपेल २ मिलिलिटर वा २ ग्राम प्रतिलिटर पानीमा राखेर छर्ने ।
  • अण्डाको परजीवी किरा ट्राइकोग्रामा वा टेलिनोमस नामक बारुला छोड्ने ।
  • मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन वेन्जोयट ५ प्रतिशत एस.जी. ०.४ ग्राम, क्लोरान्ट्रानिलिप्रोल १८.५ प्रतिशत एस.जी. ०.४ मिलिलिट, स्पिनोस्याड ४५ प्रतिशत एसी ०ं३ मिलिलिटर, स्पाइनेटोराम ११.७ प्रतिशत एस.सी ०.४ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने
  • विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल गुभोमा समेत पर्ने गरी छर्ने ।


https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०