Sunday, 11th April, 2021
वि.स.

थाहानगरका ‘सुरेश’ जसले हिम्मतले कोरोना जिते

Suresh-Bidari-1590413556.jpg

पत्रकार भएदेखि अरूको बारेमा लेख्छु । आफ्नो बारेमा लेख्ने फुर्सद नै मिल्दैन भन्नुपर्ला । लेख्ने क्रममै भएछ कोरोना संक्रमण । नारायणी अस्पतालस्थित आइसोलेसनको अवस्थाका बारेमा लेखिसकेँ । १२ दिनमा धेरै सुधार आएको छ। बाँकी सुधारपछि हुने अपेक्षा छ। सुधार गरेनन् भने फेरि लेख्छु, लेखिरहन्छु । जिम्मेवारी लिने पूरा नगर्ने अनि जवाफदेहिता पनि नहुने कहिलेसम्म ?

कामबाट अलि फुर्सद् मिलेको अवस्थामा घर परिवारको बढी याद आउँदो रहेछ । आइसोलेसनमा बस्दा धेरै कुरा मनमा खेले । आफ्नै बारेमा एउटा ब्लग लेखुँ भन्ने पनि लाग्यो । हुन त एउटा व्यक्तिको बारेमा हो, सबैलाई राम्रो नलाग्न सक्छ । सुरुमै तपाईंको समय बर्बाद भयो भने क्षमा गरिदिन आग्रह गर्छु ।

म मकवानपुरको ऐतिहासिक र पर्यटकीय गाउँ चित्लाङ विचारीथोकमा ०४४ सालमा जन्मिएको हुँ । त्यतिबेला अस्पतालमा बच्चा जन्माउने चलन थिएन । म जन्मेको घरलाई ०७२ सालको भूकम्पले घरलाई थिलथिलो बनाएको छ । बुबाको पाँच भाइमध्ये चार जना अझै हुनुहुन्छ । कान्छो काकाका अनुहार हामीले पनि देख्न पाएनौं । नेपाल प्रहरीमा काम गर्नुहुन्थ्यो रे । नेपालगञ्जमा औंलोका कारण छोडेर जानुभयो भन्ने सुन्दै हुर्कियौं । काकी र दाइ हुनुहुन्थ्यो अरे । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । जेठो र माइलो बुबाले पहिले नै आ-आफ्नो बन्दोबस्ती मिलाउनुभएछ।

अंशबण्डामा साइँलो बुबा, बुबा र काकाका लागि एउटा पुरानो घर तीन भाग लगाइएको हो । काकाको परिवार सम्पर्कमा नआएकोले त्यही घरमा दुई परिवार हुर्केका हौं । मटान र त्यसको माथि गाह्रो लगाएर घर बनाइएको । बाहिरबाट हेर्दा गज्जब राम्रो लाग्छ । साइँलो बुबाले पछि तल खेतमा घर बनाएपछि उतै सर्नुभयो ।

त्यो घर ०७२ कै भूकम्पमा भत्कियो तर बुढो घरलाई भूकम्पले ढलाउन सकेन । पानी चुहिने घरको अवस्था डरलाग्दो छ । बुबा आमा मात्रै भएकोले वर्षामा सँधै मुटु काँप्छ । भित्र बस्न सक्ने अवस्था छैन । पूर्व फर्केको दक्षिण तर्फको गाह्रोमा औँला छिर्ने चिरा परेको छ । धुरी भस्केको छ । भूकम्पपछि सुरुमा रातो कार्ड नै दिइएको हो । म वीरगञ्ज बसेर अरूका समस्याको उठान गर्दै थिएँ। अरूको घर ढलेर बिजोग छ । हाम्रो घर त भत्केको छैन भन्ने लाग्ने । तर, पछि कुन इन्जिनियर गए कुन्नी बाहिरैबाट हेरेर कार्ड चेन्ज गरिदिएछन् । पूर्ण अनुदानबाट नाम हटाइएछ । रेक्टोफिटिङका लागि भनेर पैसा आएको रहेछ । घर भएको जमिन साइँलो बुबाको नाममा रैछ । उहाँहरूले जमिन साटासाट गर्न नमानेपछि हाम्रो केही लागेन । त्यो मर्मत गरेर फाइदा नै नहुने देखिर त्यसलाई त्यसै छोडियो । पछि पटक-पटक प्रक्रियागत ढंगले प्रयास गरियो तर पूर्ण क्षतिमा पार्न सकिएन । त्यो इन्जिनियरलाई घरमा एक वर्ष राख्ने धोको छ ।

सानोमा बिहान दुईतीन बजे उठेर चित्लाङबाट चन्द्रागिरिको उकालो ओरालो गर्दै कालीमाटी तरकारी पुर्‍याउँथ्यौं । वि.संं. २०६० सालमा एसएलसीमा स्कुल प्रथम भएदेखि घर छाडेको हुँ । २२ जनाले परीक्षा दिएकोमा ११ जना पास, एक्लै पहिलो श्रेणीमा । त्यसपछिको पढाइ गाउँमा थिएन। मध्यम आर्थिक अवस्था खान लाउन ठिकै भए पनि बाहिर राखेर छोराछोरी पढाउन गाह्रै थियो । बुबाले छोराछोरी पढाउन काम लाग्छ भनेर दुःख जिलो गरेर रकम जोडेका पनि रहेछन् । तर, परेको बेला गाउँलेले सापटी दिएको रकम फिर्ता गरिदिएनन् । कतिले त अझै फिर्ता गरेका छैनन् । सोझोपनको फाइदा उठाउँदै फकाई फुल्याई विश्वासमा पारेर कागज समेत नगरी पैसा लगेछन् । सानै भए पनि हामी खेतबारीको काममा सघाउँथ्यौं । कागज नभएकोले उनीहरूलाई मैले अझैसम्म केही गर्न सकेको छैन ।

पढाइमा मेरो रुचि भएकोले पढ्ने अडान कायम राखेको थिएँ । पढेर के गर्ने भन्ने थाहा नभए पनि पढ्नुपर्छ भन्ने मनमा थियो । बुबालाई हेटौंडाबाट एक जना नजिकका आफन्तले यतै ल्याएर पढाउनु भन्ने सल्लाह दिनुभएछ । बस्न, खान र पढाउन कुनै खर्च गर्न पर्दैन भनेर कुरा भएछ । कारण बुबासँग उनीहरूले केही पैसा सापटीमा लिएका रहेछन् । त्यहाँ गइयो । त्यही घरका एक जना सदस्यको सल्लाहमा व्यवस्थापन पढ्ने निधो गरियो । नातामा उनी भाञ्जा पर्ने ।

त्यतिखेर हामीलाई उच्च शिक्षाको बारेमा जानकारी नै थिएन । भूटनदेवी उच्च माविको पहिलो ब्याचको रुपमा। ती आफन्तको घरमा एक वर्ष बस्दा कुन किसिमले बसे भन्ने कुरा म लेख्न सक्दिन । बिहान कलेज पढेर आउँथे । घरका सबै सदस्यले खाएको भाँडा धारामा थुपारेर राखिदिएका हुन्थे । म फुच्चेले सबै माझ्नुपर्ने । आलोकाँचो थिएँ । व्यवहारमा कुनै कमजोरी भए होलान, आफन्त भए पनि उनीहरूले मलाई नोकरले जसरी व्यवहार गरे भन्ने लाग्छ । उकुसमुकुस भए पनि मसँग विकल्प थिएन। अझ एक महिनामा एक्लैले ३० किलो चामलको भात खान्छ भनेर गाउँभरि हल्ला गर्ने । ती दिन सम्झँदैमा आँसु झर्छन् । तर, त्यही परिस्थितिले मलाई दुःखको सामना गर्न सिकायो भन्ने लाग्छ अहिले ।

एकवर्ष राखेपछि उनीहरूले राख्न नसक्ने भन्ने घोषणा गरे । एकातिर खुसी कै कुरा भएपनि अर्कोतिर अब कसरी पढ्ने भन्ने समस्या थियो । तर मेरो अवस्थाको बारेमा जानकारी पाएका जेठो बुबाकी साली र साढुभाइ (मेरो ममी बुबापछिको आमाबुवा ) ले एक वर्ष राख्न सक्छु भन्नु भएछ । उहाँहरूको तीन सन्तानमध्ये जेठी दिदीको विवाह भइसकेको, दाइ वैदेशिक रोजगारीका क्रममा कतार गएको अनि कान्छी दिदी काठमाडौं होस्टलमा हुनुहुन्थ्यो । त्यसैले एक वर्षमा त्यो घरमा छोरा जसरी नै पुल्पुलिएर बिताएँ । ०६२/६३ को आन्दोलन चलेको समय थियो । सानुबुबालाई दूध बेच्न सघाउँथेँ । दूध पुर्‍याउन गएको बेलामा नै पहिलो पटक अश्रुग्यासको स्वाद थाहा भयो । प्लस टु फस्ट डिभिजनमा पास भएकालाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले भर्ना फि नलिने भनेर अफर ल्याएकोले त्यतै जाने निर्णय गरियो ।

तर, अब कहाँ बस्ने त ? कुनै टुङ्गो थिएन । म बसेको घरकै परिवारसँग चिनजान भएकी जनकपुरको एक परिवारले हेटौंडाको हङकङ बजारमा कपडा पसल गर्दा रहेछन् । त्यही अंकल आन्टीले म राखेर पढाउन तयार छु भने । उनीहरूको घर, भान्छाको काम सघाएर पसलमा पनि सहयोग गर्थे । त्यतिमात्रै नभएर नयाँ बनेको घरमा पानी हाल्ने र राति कुर्ने समेत गरेँ । उनीहरूले पढाइ खर्च समेत नदिने भनेपछि विकल्प खोजे । श्रीमानले मलाई निकै माया गर्थे तर साहुनी कडा स्वभावको थिइन् । बेतलबी नोकर राख्न खोजेपछि मैले त्याग्ने निर्णय गरेको हुँ। छोड्ने बेलामा उनीहरूले चोर दोष लगाउँदा साह्रै दुःख लाग्यो । बरु उल्टै मैले उनीहरूको पैसा कलेक्सनमा आउने सहकारीकी दिदीले पैसा खाएको पत्ता लगाइदिएको थिएँ ।

मसँगै भूटनदेवीमा पढेको साथीले राप्ती रोडको एउटा मेडिकल हलमा मान्छे खोजेको छ भन्यो । बस्ने खाने सुविधासहित । बस्ने खाने र पढाइ खर्च भए मलाई पुग्ने। हुन्छ भनेर गएँ । तर, उनीहरूले पनि मलाई घरमा काम गर्ने नोकरको रुपमा राख्न खोजेका रहेछन्। तल्लो तलाबाट खानेपानी भरेर सकीनसकी माथिसम्म पुर्‍याउँथें । साहुनीले यसो हेर्थिन्, अनि पोखिदिन्थिन् । फरर्र परेको भात चाहिने । पकाउँदा पानी अलिकति बढी वा कम हुँदा चर्को स्वरमा गाली गर्थिन् । मलाई सुत्नका लागि बिरामी सुत्ने बेड दिइएको थियो । चिलेसा परेको चामल केलाएर पकाउनुपर्ने । कति दिन त उनीहरूले मलाई बासी भात समेत खुवाए । बिहान म पछाडिको ढोका खोले क्याम्पस पढेर आउँथे । मेडिकलमा सघाउँथे, घरको काम पनि गर्थे, सुत्ने बेलामा पढ्थे । साहुनीले जोड जोडले कराउँदा मलाई एकदमै डर लाख्थ्यो ।

यसरी त पढ्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि साथीहरूसँग सल्लाह गरे । मकवानपुरको छतीवनको एकजना साथीले सँगै बसौं न त भन्यो । उसले घर सल्लाह नगरी मलाई त्यसो भनेको रहेछ । उसले भनेको मानेर खुसी हुँदै मामाघरमा गएर चामल लिएर आएँ । पछि उसले राख्न नसकिने भयो भनेर भनिदियो । अब परेन त फसाद । उसकोमा म धेरै दिन बसिनँ । मेरो त्यो दूरावस्था देखेर नातामा मामा पर्ने एकजनाले अर्को व्यवस्था नहुन्जेल हामीसँग बस्नु भनेर भने । त्यहाँ बसेर पढ्दै थिए । मामाकै गाउँ सामरीको मेरो अर्को आफन्त नाताले भाइ पर्छ । अमिर चौलागाईं । उसले सँगै बसौं भनेर लग्यो । त्यसबखत उ मेरा लागि भगवान बनेर आएको हो । पछि दिदी, अमिर र मसँगै बस्यौं । उनीहरू सरेपछि मैले भाइलाईसँगै राखेको थिएँ। कोठामा बस्ने खर्च जुटाउन मैले मासिक नौ सय रुपैयाँमा बुद्धचोकको जुत्ता पसलमा काम गरें । ‘ए हजुर ! आउनूस्, जुत्ता लिएर जानूस’ भन्ने मेरो काम अहिले सम्झँदा हाँसो लाग्छ, हा हा हा । खाजाका लागि १० रुपैयाँ पाइन्थ्यो । त्यसले दुईवटा समोसा आउँथ्यो ।

त्यही बस्दै गर्दा भूटनदेवी नै पढेको निवुवाटारतिरको साथीले पत्रिका बाँडेर पढाइ खर्च जुटाउने गरेको रहेछ । कलेजमा कलर मैलो भएको लुगा लगाएर आउँथ्यो ऊ । किनकि उसको कपडा बिहानै पत्रिका बाँड्दा पसिनाले भिज्ने रहेछ । उसकै सल्लाहमा मैले हेटौंडाका साप्ताहिक पत्रिका बाँड्न सुरु गरेको हुँ । पछि सातवटासम्म साप्ताहिक पत्रिका बाँडेको याद छ । कलेज जानु अघि ४ बजे नै उठेर तोकिएको ठाउँमा पत्रिका पुर्‍याएर कलेज पुग्ने गरेको थिएँ । कौशल पाण्डे सर र क्याम्पस प्रमुख पुरन कुमार जोशी सरले जोशिलो पारामा ‘तिमीहरू जस्तोले नै पछि केही गर्ने हो ’ भन्नुहुन्थ्यो । कडा अनुशासनमा राखेर दिइएको गुणस्तरीय शिक्षा सधैं काम लाग्ने रहेछ । आइसोलेसनमा आउँदा महसुस भयो ।

पत्रिका बाँड्ने क्रममा नयाँ साइकल हराएको छु, पैसा नदिनेको साइकल उठाएर हिँडेको छु । कति महिना त दाइहरूले पैसा नै नदिएर खटाएका छन् । तर पनि इमान्दारीतालाई मैले कहिल्यै छोडिन । धेरै दुःख र हण्डर खाएर स्नातक तह पूरा गरे । तेस्रो वर्षमा हामी ट्युसन जान नसक्ने साथीहरू जान्ने साथीकोमा पढ्न जान्थ्यौं । चटपटे बनाएर खान्थ्यौं । दुःख लुकाएर निकै रमाइलो गरेको दिन पनि हुन् ती । कलेजमा पैसा हुने साथीहरू टुर गए । हामी दाजुभाइ दुवैले हेटौंडामा आयोजना भएको आरजेभिजे तालिम लियौं । दोस्रो वा तेस्रो वर्षतिरकै कुरा हो । त्यही तालिम जीवनको नयाँ गोरेटो बन्ला भनेर मैले कहिल्यै सोचिन । हामीलाई लेखा पढाउने सर जहिल्यै भन्नुहुन्थ्यो । हेर केटा हो नेपालमा जागिर खान कि ब्रेन चाहिन्छ कि क्रेन ।

स्नातक तहपछि ०६५ सालमा घरको स्कुलमा लेखापालको जागिर खाने भन्ने कुरा चलेर गएको थिएँ । तर, त्यो नमिल्ने देखियो । सिन्धुली र बर्दिवास घर भई हामीसँगै कलेज पढ्ने साथी वाईपी विनयले रेडियोमा काम गर्न बर्दिबास आउने हो ? भन्ने प्रस्ताव राख्यो । हेटौंडा बस्दा सफल नेपाल साप्ताहिकमा उनीहरूलाई सघाएको थिएँ ।

धेरै सोच विचार गरेपछि हुन्छ भनेर घर छोडें । माघको चिसो मौसम, तराईमधेसमा सशस्त्र समूहले दैनिक मानिस मार्ने गर्थे । बर्दिबास हिँडेकै दिन पूर्वपश्चिम राजमार्गमा चक्का जाम रहेछ। हामी निजगढमै अड्कियौं, कलेजमासँगै पढेको साथीको घरमा खाना खायौं । रेडियोको यात्रा बिलकुल नयाँ । विनयकै घरबाट धाउँथे । समाचार लेख्ने भनेर लगिएको मलाई समाचार वाचककै जिम्मेवारी दिइयो । हातले कपीमा लेखेर समाचार तयार पार्ने अनि पढ्ने गरेका थियौं । आधारभूत कम्युटर तालिम लिएको भए पनि अभ्यास नहुँदा चलाउन आउँदैन’थ्यो ।

एउटा मात्रै कम्युटर हुने भएकोले स्टेसन म्यानेजरले मात्रै चलाउँथे । उनी अरूलाई सिकाउन नखोज्ने खालका । पछि उनी काठमाडौं गएपछि मैले नै मेल चेक गर्नुपर्ने अवस्था आयो । त्यस्तै मौकामा बिस्तारै टाइप गर्न थालेको हुँ । टाइपिङ स्पिड अहिले ठिकै छ । पछि समाचार प्रमुखको जिम्मेवारी दिइयो । ०६८ असोज १ गते मैले सर्लाहीको लालबन्दीस्थित एकता एफएममा सोही जिम्मेवारी लिएर काम सुरु गरेँ । म रेडियोमा ६ बजेको समाचार पढ्न छिर्नै लाग्दा भूकम्प आएको थियो । रेडियोमा काम गर्दा वैदेशिक रोजगारसम्बन्धी केही नगद पुरस्कार र सामुदायिक सूचना नेटवर्क सीआईएनबाट जुम रेकर्डर पुरस्कार पाएको छु । तत्कालीन अन्तरिम मन्त्रिपरिषद् प्रमुख खिलराज रेग्मीले पुरस्कार दिएका थिए । स्कुल पढ्दा पनि विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कारमा चाङ कपी बटुल्थेँ म । ०७० सालदेखि वीरगञ्जमा छु ।

सुरुमा वीरगञ्जको नारायणी एफएममा काम गरेँ । मधेस आन्दोलनलाई नजिकबाट देखे, भोगे र बुझेँ । मधेश आन्दोलनमा डिजिटल क्यामेरा नै फुट्यो । १३ हजार रुपैयाँको क्षतिपूर्तिका लागि आवेदन दिएको गृह मन्त्रालयमा पुगेर अड्कियो । पत्रकारका नेताहरूको चाकडी नगर्ने स्वभावको भएकोले होला उनीहरूले त्यतातिर कहिल्यै पहल गरेनन् । नारायणी एफएम छोडेर एक वर्षपछि आवाज एफएमको स्टेसन म्यानेजर बने । त्यहीबीचमा हिमाल खबरपत्रिका, नयाँ पत्रिका, एभिन्युज खबर जस्ता राष्ट्रिय सञ्चारमाध्यममा आवद्ध हुँदै खारिने मौका पाँए । तन्नेरी चासोमा आवद्ध भएर जवाफदेहिता खोज्न र प्रश्न गर्न सिके । ‘चन्ता हैन चिन्तन गर्दैछन तन्नेरी गुनासो होईन प्रश्न गर्दैछन तन्नेरी’ हाम्रो नारा नै छ ।

पटक पटक खोज पत्रकारिताको तालिम लिइसकेको छु । व्यवस्थापन संकायमा स्नातकोत्तर अधुरो छ । मदन भण्डारी मेमोरियल पत्रकारितामा स्नातक पढ्दैछु । स्थानीय तहको पहिलो निर्वाचनपछि नेपालकै नम्बर १ अनलाइन मिडिया अनलाइनखबरमा काम गर्ने अवसर पाएँ । गत वर्ष सेयरकास्टको खोज पत्रकारिता प्रतियोगितामा सहभागी हुँदा प्रदेश २ प्रथम भएको थिएँ । ७ वटै प्रदेशको प्रथम हुँदा आउने रकममा थपथाप गरेर गाउँमा बुबा आमालाई बस्न एउटा कटेरो बनाउँला भन्ने सोचेर मेहनत पनि गरेको हो । तर, उपाधि मेरो हातमा आएन । सपना तुहियो । घर बनाउने सपना तुहिएको छैन । मिडिया फाउन्डेसनको फेलोसिप पनि हात पारे । संघर्षसँगै सफलताको सिँढी चढिरहेको छु । काम गर्दै गर्दा कोरोना संक्रमित भएँ । त्यो बीचको धेरै कुरा जानकारी गराइसकेको छु ।

कोरोना संक्रमित भई आइसोलेसनमा आउँदा रिपोर्टिङ बसेको १२ औं दिन एउटा रिपोर्ट नेगेटिभ आईसकेको छ । त्यहीदिन स्वाब कलेक्सन गरिएको छ । वीरगञ्जकै पीसीआर मेसिनमा हालिएकोले रातिसम्म रिपोर्ट आउँछ होला । नेगेटिभ आउँदा भोलि ईदको दिनमा बिदाइ हुने सम्भावना देखिन्छ ।

आइसोलेसनमा बस्दा जीवनलाई फर्केर हेर्ने मौका मिल्यो । शरीरभित्रको विकार फाल्ने अवसर बन्योे । आराम गर्न आएको जस्तो । तर पनि म चुपचाप बसिनँ । आइसोलेसनमा होस वा बाहिर पत्रकार त पत्रकार नै हो नि हैन र ? पत्रकारिता गर्न बाहिरभन्दा अझ सुरक्षित ठाउँ त यही लागेको छ । यो तेस्रो जन्म हो । कसरी भन्नुहोला, पहिलो आमाको कोखबाट भइगयो, दोस्रो, सानोमा झाडापखाला र निमोनियाले थलिएको थिएँ रे । बुबा मलाई लिएर राति पुग्नुभएछ । अस्पताल बन्द थियो । एक जना नर्सले एक बोतल जीवनजल चोरेर दिनुभएछ । त्यही मलाई पियाइयो । म बाँचे । निमोनियाको दाग छातीमा अझै रहेछ । तेस्रो कोरोनाले दिएको नयाँ जीवन ।

आइसोलेसन समाजकै एउटा अंग हो । जीवन र जगतलाई बुझ्ने अवसर । उच्च मनोबलका साथ आफ्नो आनीबानी व्यवहारलाई सरल बनाउनुपर्छ । बिहान उठेर एक गिलास कागती पानी, नियमित व्यायाम, दिनभरि दालचिनी, बेसार र अदुवा हालेर तताएको पानी । पौष्टिक आहार र व्यक्तिगत सरसफाइमा ध्यान दिँदा कोरोनाले केही गर्न सक्दैन । वायुमण्डलमा नकारात्मक तत्वहरू हाबी भएकोले प्रकृतिले मानिसलाई तह लगाउन कोरोना भाइरस नाम जीवाणु उत्पत्ति गराएकी हुन् । अन्न तरकारी बालीमा रासायनिक मल, विषादीको प्रयोग, मांसाहारी भोजन, कमिसन, घुसखोरी, भ्रष्टाचार, व्यभिचारमा मानिसको मन बढी गएको छ । हाम्रा पितापूर्खाको जस्तो जीवनशैली अपनाउने हो भने यस्ता भाइरस हाम्रो छेउ पनि आउँदैन ।

अन्त्यमा, बुबाले छोरो पढेपछि सरकारी जागिर खान्छ र सुख पाइन्छ भन्ने आश गर्नुभए’थ्यो सायद । त्यो त पूरा गर्न सकिएन । तर, बुबाले सुरेश नभई सूर्य प्लस यश सूर्ययश अर्थात् सुर्यको जस्तो ख्याती कमाउँछ भनेर नाम राखेको भन्नुहुन्थ्यो । जति सकेको गरेको छु । धेरथोर ख्याती त पत्रकारिताबाट पनि कमाएको छु नि । अस्पतालमा निरन्तर सेवामा खट्ने नर्सलाई सलाम, ड्युटीमा फोन गर्ने डक्टरलाई नमस्कार अनि पटक पटक आएर शौचालय र स्नानघर सफा नगरी जाने सफाइकर्मीलाई पनि सम्झेको छु है ।

-अनलाइनखबरबाट साभार