Tuesday, 13th April, 2021
वि.स.

गाउँटोलमा अवरोध ! कति ठीक, कति बेठीक ?

Siraj-1587210578.jpg

कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने भरपर्दो अनि अचुक उपाय हो, ‘बन्दाबन्दी’ अर्थात लकडाउन । विश्वमै महामारीको रुप लिन थालेपछि नेपालमा पनि ११ चैतबाट लकडाउन शुरु भएको छ । यो नेपाल सरकारको कोरोना विरुद्धको एक्शन हो । सरकारले जस्तै नागरिकले पनि साथसाथमा कोरोना विरुद्ध एक्शन लिन सक्नुपर्छ । तर, लकडाउन गरेर होइन । यसको कार्यान्वयनको लागि आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । सामान्यतः नेपालीहरु हातधुने कार्यमा अघि नै छन् । तैपनि सामान्य अवस्थामा हातधुने र गरिने व्यक्तिगत सरसफाईको तुलनामा अहिलेको अवस्थामा बढाउर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यो नै नागरिकले घरैबाट कोरोनालाई उछिन्ने उपाय हो । घरैमा बस्ने बाहिरी सम्पर्कमा नजाने कोरोनाको घरेलु ओखती हो । 

लकडाउन सम्भवतः नेपालका लागि नौलो शब्द हो । तर लकडाउन र कर्फ्युमा फरक छ । सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ । लकडाउनमा कर्फ्युमा भन्दा केही लचकता हुन्छ । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीे नेतृत्वको जिल्ला सुरक्षा समितिले कर्फयु लगाउँछ । त्यस्तै संक्रामक रोग ऐन, २०२० अनुसार संघीय सरकार तथा प्रदेश सरकारले लकडाउनको निर्णय गर्दछ । हाल सोही ऐनअनुसार लकडाउन गरिएको हो ।  

लकडाउनको अवस्थामा औषधि तथा खाद्य सामग्री किन्न पाइन्छ । निश्चित समयमा खाद्यान्न तथा तरकारी पसलसमेत संचालन गर्न दिइन्छ । कफर््यु र लकडाउन दुबै अवस्थामा सवारीसाधन अनुमति लिएर मात्र सञ्चालन हुन पाउँछन् । अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्नेले सवारीसाधन संचालन गर्न पाउँछन् । लकडाउन संघीय सरकारले कार्यान्वयनमा ल्याउँछ । अरु दायित्व प्रदायकहरुले आफ्नो ठाउँबाट सकेको सहयोग गरेर कार्यान्वयनलाई दरिलो बनाउँछन् ।

पछिल्लो समय लकडाउन कार्यान्वयन गराउन नागरिकहरु आफै अघि सरेको देखिन्छ । ताकी नागरिकहरुले सरकारले गरेको लकडाउनको घोषणा परिपालना गर्ने हो । उनीहरु आदेश दिने वा सोही प्रकारको क्रियाकलापमा सहभागी हुने होइन ।  अझ भनौ, गाउँघरमा प्रवेश गर्ने टोलवस्तीको र सहायक राजमार्गमा समेत तगारो हालेर सडक नै बन्द गर्न समेत पछि परेका छैनन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ को बुङकोटघाट पुलमा बार हालिएको रहेछ । छेवैको छेकबार पार गर्न खोज्दा ३८ वर्षीय होमबहादुर राना बगरमा बजारिए । उनले संसार छाडे ।  देशका सबै ठाउँमा यस्ता अवरोधका क्रियाकलाप देख्न अनि भोग्न पाइन्छ । अरु त अरु प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हिरा बहादुर भण्डारीले गाउँमा अरु मान्छे प्रवेश गरे भनेर पुल नै भत्काएको समाचारले नेपाली मिडियामा अग्रस्थान पायो । यि केही प्रतिनीधि घटना मात्र हुन् । 

लकडाउनको नाममा गरिएको यस्तो क्रियाकलापले घाटा कस्लाई ? गाउँटोलमा मारमुङग्री परे के गर्ने ? विरामी परेर फत्रक–फत्रक परे एम्बुलेन्स कसरी पुग्ने ?  सुत्केरी ब्यथाले च्यापेर बच्चा र आमाको ज्यान गए कस्ले जिम्मा लिने ?  कहिँकतै आगोलागी भए दम्कल कसरी जाने ?  यस्ता प्रश्नको उत्तर आफैले दिन जब तयार भइन्छ यसो कसैले गर्दैनन् । कोरोना भाइरस गाडी चढेर आउने हो र ? होइन । यो त मान्छे मान्छेबीचको संक्रमणका कारण सर्छ । मानिसहरु कस्सिएर हिँडेपछि जसरी पनि आफ्नो घर पुग्छन् । काठमाण्डौबाट कोलपुर पुगेका छन्, पूर्वमा झापा पुगेका छन् । तगारोको सट्टा बरु उनीहरुको बानी व्यहोरामा छिमेकीले सम्झाउने सिकाउने हो । सडक भत्काएर, पुल भत्काएर, रुख ढालेर, कोरोना गाउँ नपस्ने होइन । 

के छ कानूनी व्यवस्था ?

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –२ मा सार्वजनिक शान्ति विरुद्धको कसूर सम्बन्धी व्यवस्था गरिएको छ । 

संहिताको दफा ६७ मा सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने व्यवस्था गरिएको छ । दफामा ६७ को (१) मा भनिएको छ–‘कसैले सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आवागमनलाई बाधा पु¥याउन वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्न हुँदैन ।’ 

उक्त दफाको (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ मा व्यवस्था गरिएको छ । 

त्यस्तै, संहिताको दफा ७० मा झुठ्ठा अफबाह फैलाउन नहुने व्यवस्था गरिएको छ । दफा ७० को (१) मा कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुश गर्न नहुने व्यवस्था गरिएको छ । यदि त्यस्तो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

फोटोहरु स्रोतः सामाजिक संजाल फेसबुक ।

https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल यस अनलाइनका सम्पादक हुन् । उनी विकास विटमा समाचार लेख्ने पत्रकार हुन् ।