Sunday, 6th September, 2026
वि.स.

एसईई परीक्षा : विद्यार्थीले के गर्ने ? के नगर्ने र?

slc-1584508993.jpg

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी बिहीबारबाट अर्थात चैत ६ बाट सुरू हुँदै छ । एसईई वर्षभर अध्ययन अनुसन्धान, आर्जन गरेको ज्ञान र सीपलाई विद्यार्थीले देखाउने अवसर पनि हो । तर, विद्यार्थीले सामान्य कुरामा ख्याल नगर्दा परीक्षा बिगार्ने पनि उत्तिकै हुन्छ । परीक्षाको समयमा तनाव लिने, कसरी धरै नम्बर ल्याउने भन्ने चिन्तामा विद्यार्थी हुन्छन् ।

परीक्षालाई कसरी राम्रो बनाउने र? परीक्षाको समयमा विद्यार्थीले के गर्ने के नगर्ने ?विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका र विद्यालयले के के कुरामा ख्याल गर्ने र?

आत्मविश्वास आवश्यक
महेन्द्र खनाल, कार्यकारी निर्देशक, काञ्जिरोवा नेसनल स्कुल

विद्यार्थीले शान्त वातावरणमा परीक्षा दिने व्यवस्था गर्नु हामी सबैको दायित्व हो । त्यसैले परीक्षाको समयमा केन्द्राध्यक्ष र शिक्षकहरूले विद्यार्थीहरूलाई परीक्षार्थीको रूपमा स्वीकार गरेर स्वस्थ उत्तर लेख्ने वातावरण बनाउनुपर्छ ।

त्यसका लागि परीक्षा केन्द्र सुरक्षित हुनुपर्छ । परीक्षार्थी परीक्षा कोठामा पुगेपछि सुन्दर वातावरण रहेछ भन्ने बनाउनुपर्छ । सफा, सुन्दर कोठा, डेस्क बेन्च राम्रो भयो भने विद्यार्थीलाई लेख्न पनि मन लाग्छ ।

आत्मविश्वासका साथ परीक्षार्थी परीक्षामा सहभागी हुनुपर्छ । लडाइँमा जाँदा आत्मविश्वासका साथ गयो भने आधी लडाइँ पहिल्यै नै जितिन्छ भनेझैँ आत्मविश्वास लिएर गयो भने परीक्षा पनि राम्रो हुन्छ ।

प्रश्नपत्र हातमा परेपछि विद्यार्थीले प्रश्न सुुरुदेखि अन्तिमसम्म हेर्न २र४ मिनेट समय खर्चिने । आफ्नो उत्तरपुस्तिका व्यवस्थित बनाउने । कुन प्रश्नको उत्तर पहिले दिने हो, त्योे छनोट गर्ने । गाह्रो लागेको प्रश्नको उत्तर अन्तिममा लेख्ने ।

पाठ्यक्रमले प्रत्येक प्रश्नमा कति समय खर्चिने भन्ने निर्देश गरेको हुन्छ । कति नम्बरको प्रश्नलाई कति समय खर्चिने भन्ने विद्यार्थीलाई स्कुलमा सिकाइएको हुन्छ । त्यहीअनुसार विद्यार्थीले समयको व्यवस्थापन गर्ने । समयको विभाजन गरेर धेरै अंक बोकेका प्रश्नलाई धेरै समय र कम अंक बोकेका प्रश्नलाई कम समय छुट्याउने ।

परीक्षाको समयमा नकारात्मक कुरामा खर्च नगर्ने । आफूले गरेको तयारीलाई सुन्दर ढंगले उत्तरपुस्तिकामा प्रस्तुत गरेको हुनुपर्छ । परीक्षकले उत्तरपुस्तिका हेर्दा आहा १ भन्ने बनायो भने धेरै नम्बर नदिई सुखै छैन । अनुशासित भएर परीक्षा दिने ।

अहिले कोरोना भाइरसको डर पनि छ । त्यसका लागि सबैले सजगता अपनाउनु आवश्यक छ । सरकारले विशेष हेल्थ डेस्कको व्यवस्था गरेको छ । विद्यार्थी परीक्षा केन्द्रमा छिर्नेबित्तिकै स्वास्थ्य जाँच गराएर परामर्शको व्यवस्था पनि गराउनुपर्छ ।

परीक्षाको नाममा विद्यार्थीलाई जोख्नु हुँदैन

मधु लोहनी, निर्देशक, सुदेशा स्कुल

विद्यालय तहको परीक्षालाई धेरै केन्द्रमा राखेका छौँ । यसलाई परिमार्जन गर्नुपर्छ । परीक्षा प्रणालीमा लिभरल बनाउनुपर्छ, बन्दै गएको छ पनि । पहिले कक्षा ९ र १० बाट प्रश्न सोधिन्थ्यो । त्यो पनि हट्यो । एसएलसी हटाएर एसईई बनाइयो । परीक्षालाई अझै लिभरल बनाउने विषयमा छलफलहरू पनि चलिरहेका छन् ।

विद्यार्थीहरूलाई परीक्षाको तयारी गराउनुपर्छ । ३ घण्टामा विद्यार्थीले लेखेको कुरालाई शिक्षा मन्त्रालयले लाहाछाप लगाउँछ । तर, परीक्षाको नाममा विद्यार्थीलाई जोख्ने प्रणाली बनाउनु हुँदैन । यो लामो समयसम्म जान सक्दैन ।

परीक्षामा विद्यार्थीहरूले तनाव लिने होइन । परीक्षा नै सबै थोक होइन । परीक्षाका लागि मात्र तयारी गर्ने भन्नेबाट बाहिरनुपर्छ ।

सोधिएका प्रश्नको उत्तर शान्त वातावरणमा लेख्नुपर्छ । परीक्षामा समय महत्त्वपूर्ण हुन्छ । त्यसैले समयलाई सही सदुपयोग गर्नुपर्छ ।

अरूलाई के आउँछ रु मलाई के आउँदैन रु भन्नेभन्दा पनि त्यो प्रश्नप्रति आफ्नो बुझाइ के हो ? त्यो लेख्ने हो । आफूले बुझेको जानेको कुरा इमानदार भएर राम्रो अक्षर बनाएर अभिव्यक्त गर्नुपर्छ ।

छेउमा रहेको साथीले जानेको छ भनेर उसको हेर्ने होइन । १ वर्षसम्म आफूले पढेको जानेको लेख्नुपर्छ । परीक्षाको समयमा रातभर पढ्नेभन्दा पनि रिभिजन गरेर फ्रेस भएर परीक्षा दिने हो ।

स्वास्थ्य र खानपान महत्त्वपूर्ण
रवीन्द्रजंग थापा, अध्यक्ष, रिलायन्स एकेडेमी

एसईई परीक्षा राष्ट्रिय लेभलको परीक्षा हो । परीक्षा राम्रो बनाउन अभिभाक, शिक्षक–शिक्षिका र राज्यको भूमिका पनि महत्त्वपूर्ण हुन्छ ।

विशेषतः विद्यार्थीको स्वास्थ्य र खानपानमा ख्याल राख्नुपर्छ । स्वास्थ्य र खानपान राम्रो भएन भने विद्यार्थीले पढेका कुरा सम्झन, लेख्न सक्दैनन् । त्यसैले अभिभावकले आफ्नो बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ । कम्तिमा ६ घण्टा सुत्नुपर्छ । नयाँ कुरा पढ्नेभन्दा पनि हिजो पढेको कुरा कसरी राम्रोसँग लेख्ने भनेर स्मरण गर्नुपर्छ ।

परीक्षा दिइसकेपछि सकिएको परीक्षाको चिन्ता नगर्ने । अगाडिको परीक्षाको तयारी गर्नुपर्छ । आफूलाई चाहिने शैक्षिक सामग्री छुटाउनु हुँदैन । समयमै परीक्षा केन्द्रमा पुग्नुपर्छ । आफूलाई जुन प्रश्न सजिलो लाग्छ, त्यो प्रश्नबाट लेख्न सुरू गर्नुपर्छ ।

परीक्षाको समयमा अभिभावक र शिक्षकले विद्यार्थीलाई प्रेसर दिनु हुँदैन । हौसला दिने हो । विद्यार्थी सानो कुरामा विचलित छन् भने काउन्सिलिङ गर्नुपर्छ ।

आफैैँले आफंँलाई विश्वास गर्ने

सुदन डोटेल, प्रिन्सिपल, लिभरपुल स्कुल

एसईई परीक्षा पनि अन्य परीक्षाजस्तै हो । वर्षभर पढेको सिकेको कुरा परीक्षामा लेख्ने हो । परीक्षाको समयमा पढेर मानसिक तनाव लिने होइन । पढ्नेजति पढिसकियो । तयारी गर्ने पनि गरिसकियो । तर, धेरै विद्यार्थी परीक्षा हलको ढोकामा पुग्दासमेत पढिरहेका हुन्छ । त्यसो गर्ने होइन ।

परीक्षाको २ घण्टाअघिबाट त पढ्ने नै होइन । परीक्षा दिँदा विद्यार्थी निदाएको उदाहरण पनि छन् । परीक्षा राम्रो बनाउने हो भने विद्यार्थीले ६ देखि ८ घण्टा सुत्नैपर्छ । अन्तिम समयमा पढेर बुझ्ने, जानिने र सिक्ने पनि होइन । परीक्षामा आफैैँले आफंँलाई विश्वास गर्ने हो ।

परीक्षाको समयमा अभिभावकले बच्चाको विशेष ख्याल गर्नुपर्छ । अभिभावकले बच्चालाई आउँदैन होइन, तिमीलाई आउँछ भनेर हौसला प्रदान गर्ने हो । ग्लुकोज र पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ । गरम हुने कुरा खुवाउनु हुँदैन । परीक्षाको पहिलो दिन अभिभावक आफैँ परीक्षा केन्द्रमा पु¥याउन जानुपर्छ । विद्यार्थीले म राम्रो गर्न सक्छु भनेर परीक्षा दिने हो । अनि परिणाम पनि राम्रो हुन्छ ।

यी कुरामा पनि ध्यान दिऔँ

स्वास्थ्य र खानपामा ख्याल गर्ने
तनाव नलिने
समयमा सुत्ने
बिहान छिटो उठ्ने
योग प्राणायाम गर्ने
पानी प्रशस्त पिउने
आत्मविश्वास बढाउने
रातभर नपढ्ने
आराम गर्दै पढ्ने
घोक्नेभन्दा पनि स्मरण गर्ने
परीक्षा केन्द्रमा समयमा पुग्ने
परीक्षा सामग्री स्केल, ज्योमेट्री बक्स, ग्राफ पेपरजस्ता सामग्रीहरू बोक्न नबिर्सने
प्रवेशपत्र साथमा राख्ने
आफ्नै शैलीमा उत्तर लेख्ने
अभिभावकले धेरै नम्बर ल्याउनुपर्छ भनेर प्रेसर नदिने
परीक्षा केन्द्रमा होहल्ला नगर्ने
उत्तरकापीमा निरीक्षकलाई चिट्ठी नलेख्ने
निरीक्षकलाई लोभ्याउने काम नगर्ने
परीक्षा हलभित्र गेसपेपर, चिट, पुस्तकजस्ता कुरा नलाने
उत्तरपुस्तिकामा नाम, सिम्बल नम्बर, स्पष्टसँग लेख्ने
उत्तरपुस्तिका सफा राख्ने
पटक–पटक प्रश्न पढ्ने
धेरै केरमेट नगर्ने
जानेको विषय छ भन्दैमा धेरै नलेख्ने
समय अवधिभर परीक्षा कोठामै बस्ने
अन्त्यमा आफ्नो नाम र सिम्बोल नम्बर चेक गर्ने 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

slc-1584508996.jpg






Thaha-002-1774415222.gif