nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले राष्ट्रिय भेला: नेपाल 'छ' ओली 'छैन' !

Madhav-kumar-nepal-and-Kp-1615948904.jpg

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले ४ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन् । अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ । 

भेलाबारे जानकारी दिन ३ फागुनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको भन्दै भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए । पत्रकार सम्मेलनमा एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको आरोप लगाए ।

 उनले आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको बताए । ‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेको भनाइ छ । 

उता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने भेलामा सहभागी हुनेहरूलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

ओली पक्षले भन्यो– चैत ४ र ५ गते कुनै भेला आयोजना गरेको छैन

एमाले महासचिव ईश्वर पोखरेलले नेकपा एमालेका तर्फबाट चैत ४ र ५ गते कुनैपनि भेला आयोजना नगरेको जनाएका छन् । महासचिव पोखरेलले ३ चैत साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् । 

उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पस्ट गरिन्छ ।’

एमालेको नेपाल खनाल पक्षले एमाले पूर्ववत् अवस्थामा फर्किएको सर्वोच्चको फैसलापछि एकलौटी ढंगले विधान संशोधन तथा पार्टी विधानविपरीत पार्टी विभाजन गर्ने मनसायले नेताहरुको जिम्मेवारी खोस्दै अन्यलाई जिम्मेवारी दिएको विरोधमा भोलिबाट २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलाबाट साझा धारणा तय गर्ने र सोही अनुसार अघि बढ्ने सो समुहको तयारी छ । त्यसको पुर्व सन्ध्यामा ओली समुहले भने त्यसको विरोध गर्दै एमालेले कुनै भेला नगरेको जनाएको हो ।  

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)