nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

thumb-1625901204.jpg

भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् । 

नेपालबाट चोरिएकारहराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले गत साता सार्वजनिक गरेको सूचनाबाट गोलमढीको उक्त मूर्तिबारे थाहा भएको हो । लस्ट आर्ट्स अफ नेपालले सन् ८० को दशकमा वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको उल्लेख गरेको छ । श्रद्धालुले भने उक्त मूर्ति ताराको नभई पार्वतीको रहेको बताएका छन् । गोलमढीका ८३ वर्षीय चन्द्रमान राजभण्डारीले आफ्नो खलकले वर्षौंदेखि पाठपूजा गर्दै आएको पार्वतीको मूर्ति २०३५ सालतिर हराएको सुनाए ।

येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाई ‘बुद्धिस्ट गडेस तारा’ भनेर चर्चा गरिएको छ । वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड ९लन्डन० ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ मा जेम्स दम्पतीले यो सम्पदा किनेका हुन् । मूर्ति सन् २००२ मा माइकल एन्ड जर्जियाले न्युयोर्कमा पुर्‍याएको देखिन्छ । येल विश्वविद्यालयमा भने सन् २०१५ मा यो सम्पदा पुगेको देखिन्छ । कसले उक्त विद्यालयमा बुझाएको हो भन्ने स्पष्ट खुलेको छैन । गोलमढीबाट हराएको कलात्मक मूर्ति अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्ट–क्युरेटर एन्टोनिया बर्तोलसँग जिज्ञासा राखिए पनि जवाफ आएको छैन ।

वीरभद्रेश्वर महादेव मन्दिरका पुजारी कीर्तिनाथ मिश्रका अनुसार पार्वतीको मूर्ति एकाएक हराएपछि प्रतिलिपि मूर्ति बनाएर नित्यपूजा हुँदै आएको छ । इतिहासको अभिलेखमा स्वीस अध्येता उसर्लच भोन स्क्रोडरले समेत भक्तपुर भ्रमणका क्रममा गोलमढीस्थित पार्वतीको तस्बिर २०३३ सालमा खिचेका थिए । उनले उक्त मूर्तिसम्बन्धी विवरण ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ शीर्षक पुस्तकमा समेटेका छन् ।

सम्पदाविद् रवीन्द्र पुरीका अनुसार गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार त्यहाँको शिव–पार्वती मूर्ति अंशुवर्माकालीन रहेको प्रमाणित भएको छ । इतिहासविद् धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ ९२०३०० पुस्तकमा गोलमढी शिवदेव संवत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापना गरिएको उल्लेख छ । ‘अमेरिकी विश्वविद्यालय र अरू अध्येताले ताराको मूर्ति भनेर प्रचार गरे पनि यो पार्वतीकै मूर्ति रहेको स्पष्ट देखिन्छ,’ पुरीले भने ।

कला–सम्पदा र सभ्यताको कुरा पढाउने अमेरिकी विश्वविद्यालयले नेपालबाट चोरिएको सम्पदा आफ्नो संग्रहालयमा राखेको भन्ने सूचना आफैंमा लाजमर्दो रहेको उनले बताए । युनेस्को अभिसन्धि र ‘सम्पदा उत्पत्ति मुलुक’ को आधारलाई हेरेर पनि यो प्राचीन अंशुवर्माकालीन नेपालको सम्पदा तत्काल घर फर्काइनुपर्नेमा उनले जोड दिए ।

सम्पदासम्बन्धी विज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले भने ‘धार्मिक र सांस्कृतिक सद्भाव रहेको समाजमा शिव मन्दिरभित्र तारा ९बौद्धमार्गी० मूर्ति रहन सम्भव रहेको’ धारणा राख्दै यो सम्पदामा देवीको ‘बसुधरा रूप’ देख्न सकिने बताए । ‘यो एउटै मूर्तिलाई हिन्दुहरूले पार्वतीका रूपमा र बौद्धहरूले ताराका रूपमा मान्दै आएका हुन सक्छन्,’ उनले भने, ‘हाम्रो समाजमा सम्प्रदाय गौण रहिआएको छ । यो मूर्तिमा देखिएको प्रतिमा लक्षणकै आधारमा पनि यो ताराकै मूर्ति हो कि भन्ने देखिएको छ ।’

अमेरिकाको कनेटिकट राज्यको नेपाली मामलासमेत हेर्ने न्युयोर्कस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालयमा रहेको नेपाली सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै यसबारे छिट्टै पत्राचार प्रक्रिया अघि बढाउने बताए ।  इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)