nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

ऋषितर्पणी, जनै पूर्णिमा, रक्षा बन्धनः महत्व तथा विशेषता
बद्रि पण्डित

यस वर्षको श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा अाज मनाइंदैछ । प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउंमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा गुनुपुन्ही भनेर मनाइन्छ । आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता छ । यसवाहेक कजरी पूर्णिमा, नरियल पूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नाम दिए पनि हामीहरुका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षा बन्धनका नामले प्रसिद्ध छ । यसैले आज ऋषितर्पणी, जनै पूर्णिमा, रक्षा बन्धनको महत्व तथा विशेषतालाई मुख्यरुपमा आम जनमानसमा जनचेतित पार्नको लागि विकासखबर डट कममा केही लेख्दैछु । 

पौराणिक कथनअनुसार अर्थात सत्युगमा यसै दिन महाराज इन्द्रले बृहस्पति गुरुको सल्लाह लिई भगवान विष्णुको आराधना गरे भने भगवान विष्णुले बलीराजा दानवको घमण्डलाई नाश गरी पाताल लोकमा राज्य गर म तिम्रै साथमा रहनेछु भनी बाचाबन्धन गरेकाले यसैको विजयोत्सवस्वरुप यो पर्व मनाउंदै आएको पाईन्छ । यसरी दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बांधिए, त्यसैले म तिमीलाई बांध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बांधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको शास्त्रहरूमा उल्लेख छ । रक्षाबन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल भएर पवित्रताको पालन गर्नु हो, यसै कारण हामीहरुले अहिलेसम्म हामीहरु जहां भए पनि यो पर्व मनाउंदै आइरहेका छौं र भविष्यमा पनि हाम्रा सन्ततिहरुले मनाउंदै जानेछन् भन्ने कामना गर्दछु । 

आजकै दिन तागाधारीहरुले आफनो जनै (यज्ञोपवित) फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीहरुले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । अर्को प्रसंग 
ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमा सनातनधर्मी समाजको एउटा महत्त्वपूर्ण पर्व हो । मूलतः कृषिमा आधारित समाजको आजका दिनदेखि करिब तीन महिना किसानी कामबाट फुर्सत हुन्छ र यही फुर्सतलाई उत्सवमा बदल्ने कामको सुरुवात आजकै दिनबाट हुन्छ । तीज, दशैं र तिहारजस्ता धार्मिक सामाजिक उत्सवसम्म यो फैलिन्छ । 

सामान्यतया मानिसमाथि तीनथरी ऋण हुन्छन् । देवऋण अर्थात् मानवजीवनमा महत्व राख्ने समग्र प्रकृतिमाथिको ऋण, ऋषिऋण अर्थात् जीवनमा संस्कार र शिक्षा प्रदान गर्ने ऋषि, गुरु, महात्माहरूप्रतिको ऋण र जन्मदेखि, लालनपोषण र व्रतबन्ध गरिदिने आमाबुबाको ऋण । हामीले यी सबैबाट जीवनमा धेरै लिएका छौं र त्यो ऋण तिर्नु मानवको कर्तव्य हो । आजको दिन खासगरी मानवसभ्यताको विकासमा योगदान दिएका समग्र ऋषिहरूलाई सम्मान र संस्मरण गर्दै आफूले व्रतबन्धको कति पालना गरें र ऋषिऋण चुक्ता गर्ने दिशामा कति अघि बढें भनेर आत्मालोचना गर्ने दिन पनि हो । त्यसैले यसलाई ऋषितर्पणी पनि भनिन्छ । आफूले हासिल गरेको शिक्षाको समाजको सकारात्मक परिवर्तनमा कति योगदान रह्यो भनेर आजको दिन समीक्षा गर्नु जरुरी छ र अझ प्रतिबद्ध भएर त्यस दिशामा लाग्नु जरुरी छ । यो वैदिक सनातन संस्कृतिको एजुकेसन डे जस्तै हो ।

जीवन जगतमा नारी शक्तिको महत्व र स्थान सर्वोच्च छ भन्ने संस्मरण पनि आजको दिन (गायत्रीजप दिदीबहिनीको हातबाट रक्षासूत्र) ले गराउंदछ ।
यसरी मूलरूपमा जीवनलाई संस्कारित गर्ने प्रक्रियाको वार्षिक नवीकरण गर्ने र जीवनोपयोगी र लोककल्याणकारी शिक्षा दिने ऋषिहरूप्रति कृतज्ञता ज्ञापन गर्ने दिनका रूपमा यो समग्र सनातनधर्मीहरूको साझा चाड हो । यस दिनमा विशेषगरी विभिन्न ठाउं, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्राह्मण तथा क्षत्रीयहरुका लागि यो पर्वविशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरुले नयँं जनैहरु (५४ सरा धागोले ब्रह्म गांठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेर पुरानो जनै निकाली फेरिन्छ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । जसको वैदिक विधिअनुसार चूडोपनयन (ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ ।जनैमा तीनवटा शिखा हुन्छन् र यो नौवटा तन्तुहरूले बनेको हुन्छ । ती सबैको प्रतीकात्मक अर्थ छ । तीनवटा शिखाहरूले सृष्टिको बीजमन्त्र अर्थात् ॐ (ओउम) को प्रतिनिधित्व गर्दछन् । ब्रह्मा विष्णु महेश्वर यिनका प्रतीकात्मक देवता हुन् । जसले सृष्टि स्थिति प्रलयको संङ्केत गर्छन् । यही तीनवटा अवस्थालाई त्रिपदा गायत्रीमन्त्रले प्रतिनिधित्व गर्दछ । एटम र त्यसको इलोक्ट्रोन, पोट्रोन र न्युट्रोनले जसरी सृष्टिको मूल बुझ्न मद्दत गर्दछन, ॐले पनि त्यही गर्दछ । जनैमा रहने नौ तन्तुले नव गुणको संङ्केत गर्दछन् र धारकलाई सदैव ती गुणहरूको जीवनमा विकास गर्न प्रतिबद्ध बनाउंछन् । शम (शांति प्रियता), दम (आत्म संयम), तप (तपस्या), शौच (पवित्रता), क्षान्ति (सहिष्णुता), आर्जव (सत्यनिष्ठा), ज्ञान, विज्ञान एवं आस्तिकता (धार्मिकता) यी नवगुणहरू जीवनको कल्याणकारी विकासका लागि आवश्यक मानिएका छन् । यी गुणको विकासतिर ध्यान नदिनेहरूले जनै लगाउनुको खासै अर्थ छैन । व्रतबन्धित विप्रले जनै धारण गरेर आफू संङ्कल्पित रहेको अनुभव गर्दछ । यो प्रतीक हो । समग्र ज्ञान हासिल गरिसकेपछि र सन्यासको अवस्थामा पुगेपछि सबैले जनैको त्याग गर्ने शास्त्रीय विधान छ । मृत्यु भएपछि पनि जनै काटेर व्रतहरूको बन्धन सकिएको संङ्केत गरिन्छ ।

हाम्रो समाजमा एक किसिमको भ्रम फैलाइएको पाईन्छ त्यो हो बाहुन् भएर जन्मिएकोले मात्र जनै लगाउनु पर्छ भन्ने धारणा । मान्छे जातले मात्र ब्राह्मण हुने होइन ऊ कर्म गरेर ब्राह्मण बन्ने हो । ब्राह्मणको घरमा जन्मदैमा उसलाई सबैले गुरु पुरोहित मन्नुपर्छ भन्ने होइन, उस्ले ब्राह्मणले जस्तै कर्म ग¥यो भने मात्र ऊ गुरु तथा पुरोहित बन्न सक्छ । जनै लगाउदैमा गुरु पुरोहित पनि भइने होइन, गुरु पुरोहित बन्ने मार्ग खुला हुन्छ । जनै लगाउनाले मन, वचन र कर्मलाई पवित्र बनाउन सकिन्छ । आफनो मस्तिस्कको शक्तिलाई बढाउन सकिन्छ, जनै लगाइसकेपछि उस्ले नित्य गरिनु पर्ने नित्यकर्मको बारेमा जानकारी लियी त्यस्को पालना गर्नुपर्छ जसले गर्दा उसको जीवन सधै स्वस्थ र निरोगी बन्नुका साथै दिमाग लगाएर गर्नु पर्ने काममा सहयोग पुग्दछ । 

जनैपुर्णे दिनको अवसरमा थाहानगरकाे पाण्डुकेश्वर, काठमाडौंको पशुपति र मणिचूड, रसुवाको गोसाईकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पांचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा मेला लाग्छ ।