nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यो होनि त ! लकडाउनमा स्थानीय तहले गर्न सक्ने काम
लवशेर विष्ट

नूतन वर्ष २०७७ लकडाउनमै बित्यो । तीनसातादेखि लगातार लकडाउन थियो । लकडाउन हट्ने सम्भावना पनि थिएन । तात्दो तापक्रममा कोरोनाको भाइरस कमजोर हुन्छ भनिए पनि नेपाल र भारतमा गर्मीको भन्दा बढी कोरोना संक्रमितको अंकगणित थियो । सरकारले २ वैशाखमा लकडाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको छ । आहतको त्रिपालमुनि रहेका नागरिकमा यसले अरु निरासाको पिङ मच्चाएको छ । लामो समयदेखि लकडाउनमा बस्नु पर्दाको पीडा घट्ने सूचकहरु पनि थिएन । संक्रमितको संख्या बढ्दो थियो । यसैले सरकारले लकडाउन मात्र बढाएको थिएन, स्थानीय सरकारले लकडाउन प्रभावकारी बनाउन थप प्रयास गर्दै नागरिकमा देखिएको निरासाको धर्सो मेट्नु हामी जनप्रतिनिधिको दायित्व पनि हो ।

तरकारी नबिकेको पीडा

लकडाउनले सबै घरमा रहे पनि खेतीपातीको समयमा खेतीपातीको काम हुन सकिरहेको छैन । लकडाउन तेस्रो साता पुग्दासमेत नागरिक देशभित्रैबाट र विदेशबाट फर्कन चाहिरहेका खबर आइरहेका थिए । काठमाडौंमा भोक टार्न नसकेर नागरिकहरु सयौँ किलोमिटरको दूरीमा पैदल हिँडिरहेका दृश्यहरु आएका थिए । कोरोनासँग भन्दा भोकसँग लड्न नसकेर हिँडेकाहरुहरुको आवाज र दृश्यले साँच्चै दारुण स्थिति देखाइरहेको थियो । तर यो बाध्यता थियो । रहरमा गरिएको हतारको निर्णय थिएन । आर्थिक वर्ष सकिनै लाग्दा विकास निर्माणको काममा गति दिनु पर्ने चैत र वैशाखमा लकडाउन गर्नु पर्ने बाध्यता नै थियो ।

उत्पादन भएका तरकारी बिक्न छाडेपछि उखेलेर आगो लगाइएको थिए । मकवानपुरको मनहरीको रमौली र प्रतापपुरका किसानले काठमाडौंमा २५ रुपैयाँ किलोमा भेन्टा बेचिरहेका थिए । कालिमाटी तरकारी बजारमा मकवानपुरको तरकारीले मात्र ५९ प्रतिशत हिस्सा ओगट्छ । तर लकडाउन लम्बिएसँगै काठमाडौंमा तरकारी ढुवानी रोकियो । ५ रुपैयाँ किलोमा पनि बिक्न छाडेपछि उखेलेर आगो लगाउनुको विकल्प थिएन किसानसँग । अझ बारीमा लौका र काँक्रो फलेर बजार लैजाने बेला भएको छ, यहीबेला लकडाउन थपिँदा समस्या पर्ने नै भयो । मकवानपुरका कुखुरापालक किसान दैनिक एक करोड रुपैयाँ बराबरको कुखुराको मासु नबिकेर क्षति बेहोरिरहेको बताउँछन् ।

आइसोलेसन वार्ड स्थापना

कोरोना संक्रमितहरुलाई क्वारेन्टाइनमा राख्न स्थानीयस्तरमा पहल गर्नु नै थियो । हामीले बज्रवाराहीमा रहेको अध्याय रिसोर्टका सुविधासम्पन्न कोठाहरुमा ओइसोलेसन वार्ड बनाएका छौँ । स्वास्थ्य परीक्षणका लागि मकवानपुरमै अत्याधुनिक उपकरणसहित थाहा नगरपालिकाले ७ जनाको चिकित्सक टोली परिचालन गरेका छौँ । हामीले राम्रो पूर्वतयारी गरेका छौँ । सुविधासम्पन्न नै बनाएका छौँ । अत्याधुनिक मोनिटरिङ सुविधाहरु पनि छन् । हाम्रो तयारी अनुगमन गर्न आएका टोलीले नमूना भनेका छन् । दैनिक एक सय भन्दा बढी स्वास्थ्य परीक्षणमा आउँछन् । चिकित्सकको टोली परिचालित छ । त्यति मात्र होइन, बिरामी ओसारपसारमा समस्या नआओस् भनेर एम्बुलेन्सको चालकलाई पनि पिपिइ दिएका छौँ । बिरामी र चालकको कक्ष छुट्याएका छौँ । कोही बिरामी पनि अब एम्बुलेन्स पाइएन, चालकले लगेन भन्ने समस्यामा पर्ने छैनन् ।

अनलाइनबाट नागरिकसँग सम्पर्क

चैत ३० गते राति १० बजे एउटा फर्म बनाएर बेवसाइटमा राख्यौँ । नयाँ वर्षका दिन नै ३३ जना नागरिक सम्पर्कमा आउनु भयो ।’ विदेश तथा नेपालकै कुनै शहरमा अड्किएर बसेका नागरिक छन् भने सम्पर्कमा आउनुहोस् भनेर फर्ममा १० वटा प्रश्न राख्यौँ । काठमाडौं बसेका एक युवाले भरेको फर्म पढेपछि उनका अभिभावककहाँ पुगेँ । युवकले भरेको फर्मको सन्देश थियो ः म काठमाडौंमा काम गर्छु, अलिअलि पैसा पनि छ, तर घरमा वृद्ध बुबा एक्लै हुनुहुन्छ, खानै समस्या छ, भएको पैसा पठाउने माध्यम पनि छैन । यो सन्देशपछि वृद्धको घर पुग्दा फर्ममा भनिएको जस्तै दर्दनाक अवस्था पाइयो र सहयोग ग¥यौँ । इन्टरनेटबाट पनि नागरिक खोज्ने यो अभियान चलाएका छौँ ।

देशका विभिन्न भूगोलमा थाहा नगरपालिकाका नागरिक अड्किएका छन् । तिनलाई हामीले सम्पर्कमा ल्याएका छौँ । तत्काल घर ल्याउन सकिने अवस्था छैन । यहाँका परिवारलाई हामी सहयोग गरौँला, उनीहरु जहाँ छन्, त्यहीँ बस्न भनेका छौँ । खाने, बस्ने व्यवस्थाका लागि त्यहाँका स्थानीय सरकारलाई भन्नेछौँ । उनीहरुले पठाएका आधारमा हामी बिल भुक्तानी गरेर नागरिकलाई स्थानीय सरकार हुनुको अनुभूत गराइरहेका छौँ । फर्म भरेर सम्पर्कका आउनेको संख्या बढ्दो छ ।

हाम्रो यो कार्यलाई मकवानपुरकै राक्सिराङ गाउँपालिकाले पनि अनुकरण गरेको छ । लकडाउनका बेला गाउँपालिकाभन्दा बाहिर रहेर बिचल्ली परेका नागरिकको खोजी अनलाइनमार्फत शुरु गरेको छ । गुगलमा फर्म निर्माण गरी फेसबुकमा सेयर गरिएको अनलाइनबाट फर्म भर्ने सेवाले आफ्ना नागरिक कहाँ के कस्तो अबस्थामा छन् भन्ने पत्ता लगाउन सहज भएको छ । इन्टरनेटको पहुँचले पनि नागरिकको पीर मर्का बुझ्न सहज भएको छ ।

चामल बाँडेर होला र ?

मकवानपुरका १० स्थानीय तहले आफ्ना नागरिकलाई राहत वितरण गरिरहेको छ । काम गर्न नपाएपछि दैनिकी नै गुजार्न गाह्रो भएको अवस्थामा कसरी उनीहरुको भोक टार्ने भन्ने समस्या पहिलो हो । अझ यो मात्रै पनि समाधान होइन । लकडाउन त अरु लम्बिने हो अनिश्चित छ । कति दिन यसरी केही पोका चामल बाँडेर समस्या समाधान गर्न सकिन्छ ? खाद्य संस्थानबाट केही चामल किनेर राखेका छौँ । स्थानीय नागरिक समाजका संघसंस्थालाई पनि भनेका छौँ ।

चामल बाँडेर मात्र समस्या समाधान हुने होइन । लकडाउन लम्बिँदा अरु के के गर्न सकिन्छ भनेर हामीले एउटा योजना बनाएका छौँ । त्यो राम्रो हुन सक्छ कि भन्ने लागेको छ । स्थानीय वडा सदस्यको सिफारिसका आधारमा केही चामल बाँड्न हामीलाई समस्या छैन । थाहा नगरपालिकाको वडा नम्बर नम्बर ९ मा हामीले ९ जना त्यस्ता छाक टार्नै समस्या भएकालाई राहत दिएका छौँ । थाहामा राहत बाँडिएको यति हो । मकवानपुरकै १० स्थानीय तहमध्ये सबैभन्दा कम राहत हामीले बाँडेका हौँ । अरु स्थानीय तहले त ठूलो परिमाणमा राहत बाँडेको समाचार आएका छन् ।

दुई वडामा नमूना खेती

लकडाउन फेरि थपिएको छ । गाउँ फर्किएका शहर जाने स्थिति पनि छैन । बरु भएकाहरु पनि गाउँ फर्कन चाहिरहेका छन् । हामीले थाहा नगरपालिकामा जग्गा किनेर बसेकाहरुको तथ्यांक संकलन गरिरहेका छौँ । काठमाडौं, हेटौंडामा रहेकाहरुले थाहामा ठाउँठाउँमा ठूलो संख्यामा जग्गा किनेका छन् । उनीहरुसँग जग्गा मागेका छौँ । एकजनाले त मेरो एकसय रोपनी जग्गा दिन्छु पनि भनिसक्नु भएको छ ।

अब त्यस्ता जग्गाहरुमा यिनै फर्किएका युवापुस्तालाई खेती गर्न लगाउने तयारीमा छौँ । अहिले खेतीपातीको समय पनि भएको छ । उनीहरुलाई मल, बीउ सबै हामी दिन्छौँ । खेतीपातीमा लगाउँछौँ । पछि उनीहरुले उत्पादन गरेको अन्न पनि हामी नै किनिदिन्छौँ । मानौँ, थाहा नगरपालिकामा १० टन मकै मात्रै उत्पादन भए पनि त ठूलो राहत भयो नि ! गाउँ फर्केर बसेकाहरु उत्पादनमा जोडिन्छन् । अरुलाई पनि यो राम्रो सन्देश हुन सक्छ । हामीले उत्पादनलाई जोड्ने योजना नबनाई राहतका चामल मात्र बाँडेर पनि नागरिकलाई परनिर्भर बनाउनु हुन्न । अहिले विभिन्न वडाका खाली जग्गाको तथयांक खोजिरहेका छौँ । समूह बनाएर युवालाई काममा लगाउँछौँ । गाउँमा रहेका बेला उत्पादनमा जोड्न यो हाम्रो प्रयास पनि राज्यलाई सहयोग हुन सक्छ । यसका लागि थाहा नगरपालिकाका दुई वडालाई छान्नेछौँ । दुई वडामा नमूना खेतीको तयारी गरेका छौँ ।

नागरिकलाई उत्साहित पारौँ

लकडाउनका कारण जनता निरासा छन् । उनीहरु के गर्ने, कसो गर्ने, अब त खत्तमै हुने भयो कि भन्ने सोचिरहेका छन् । घरघर पुगेर सतर्क रहन भनेका छौँ । बाहिर रहेका परिवारका सदस्यलाई सम्पर्क गराएका छौँ । दुवैतिर कोही पनि भोकै मर्नु पर्दैन भनेर विश्वस्त गराएका छौँ । योसँगै अब गर्न सकिने काम के हुन सक्छ ? गाउँमै परिवारसँग बसेर कृषि उद्यमलगायतका काम गर्न सकिन्छ भनेर सम्भावना खोजेका छौँ । स्थानीय सरकारले आफ्ना नागरिकलाई निरास नबनाउन मात्रै सके पनि लकडाउन लम्बिँदा उनीहरु आत्तिने छैनन् । हामी जनप्रतिनिधि प्रत्येक नागरिकसँग जोडिएर उनीहरुको मनोदशा मात्रै सुनिदिन सक्यौँ भने पनि उनीहरुको मन हलुका हुनेरहेछ ।

(थाहा नगरपालिकाका मेयर लवशेर विष्टले रामकुमार एलनसँग गरेको कुराकानीमा आधारित)