Tuesday, 13th April, 2021
वि.स.

माननीयज्यू ! ९२ वर्षीया वृद्धाले पनि इन्जोय गरेर मुद्दा हालिन् ?

Bidari-1601083568.jpg

‘साबालकको रेप (बलात्कार) त ९० प्रतिशत रेप नै होइन । उमेर पुगेका व्यक्तिले रेप भयो भन्छ भने ९० प्रतिशत होइन, १० प्रतिशत हुनसक्छ । सहमतिमा इन्जोय (मज्जा लिने) गर्ने, कुरा नमिलेपछि मुद्दा लगाइदिने ।’ यो भनाइ मानसिक रुपमा अस्थिर वा सार्वजनिक परिचय नभएका कुनै सामान्य व्यक्तिले आफ्ना साथीभाइबीच गरेको मजाक नभई राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले सञ्चार माध्यममार्फत सार्वजनिक गरेको धारणा हो ।

सांसद विडारीको भनाइमाथि टिप्पणी गर्नुभन्दा पहिले बलात्कारसम्बन्धी केही प्रतिनिधि घट्नाको चर्चा गरौं ।

घटना १ 

विडारीले टेलिभिजनमा जोड दिएर यस्तो अभिव्यक्ति दिनुभन्दा ठीक दुई हप्ताअघि भदौ १९ गते कञ्चनपुरको कृष्णपुर नगरपालिका– ६, का ३० वर्षीय पुरुष बलात्कार आरोपमा पक्राउ परे । उनीमाथि ५८ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाकाअनुसार महिलाको उजुरीको आधारमा आरोपी पक्राउ परेका हुन् ।

माननीय विडारीज्यू, ३० वर्षीय पुरुषसँग ‘इन्जोय’ गरेर बलात्कारको मुद्दा लगाउने महिला को हुन्, जान्न चाहनुहुन्छ ? तपाईंको शब्दमा ‘इन्जोय’ गरेर फसाउने महिला त्यही आरोपीलाई १० महिना कोखमा राखेर जन्म दिने उसैकी आमा हुन् । माननीज्यू, कुनै पनि आमाले दश धारा दुध खुवाएर हुर्काएको छोरोसँग ५८ वर्षको उमेरमा ‘इन्जोय’ गर्लिन् र बलात्कारको मुद्दामा फसाउलिन् ?

घटना २

१९ भदौमै खेतमा पानी लगाउन गएकी सप्तरी, डाक्नेश्वरी नगरपालिका– ७ ब्रहमपुरकी १६ वर्षीय संगीता मण्डललाई स्थानीय चार जनाले बलात्कार गरे ।

थिलथिलो बनेको शरीर र मनमा हिम्मत जुटाएर घर पुगेकी संगीतालाई प्रहरीमा उजुरी गर्न जाँदा खोज्दा जयकान्त मण्डल, वासुदेव मण्डल, सत्यनारायण मण्डललगायत गाउँका अगुवाहरुले रोके । उनीहरुले सामूहिक बलात्कारको घटना बाहिर ल्याउँदा गाउँको इज्जत जान्छ, प्रहरीमा गए ठीक हुँदैन भनेर धम्की दिदै बरु बलात्कारीहरूबाट ५५ हजार रुपैयाँ दिलाउँला भने ।

माननीय विडारीज्यू, तपाईंलाई लाग्दो हो चार जनासँग ‘इन्जोय’ गरेर ५५ हजार रुपैयाँ पाउनु त आर्थिक उपार्जनमा चमत्कारै हो । तर ब्रहमपुरका गाउँस्तरीय अगुवाहरूले आफ्नो घाइते आत्मसम्मानमा नुनचुक छरेपछि संगीताले आत्महत्या गरिन् ।

विवेक भएको जो कोही मान्छेले त्यसलाई आत्महत्या होइन, हत्या मान्छ । तपाईं त मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको पनि ज्ञाता । कस से कम बलात्कार जस्तो पाशविक क्रुरताको शिकार बनेका महिलाहरुलाई नगिज्याउँदा तपाईलाई के कष्ट हुन्छ ?

घटना ३

काठमाडौको तारकेश्वर नगरपालिका–१, का २८ वर्षीय कृष्ण तामाङलाई बलात्कार आरोपमा प्रहरीले २०७४ फागुन २८ गते पक्राउ गर्‍यो । उनी पनि पीडित महिलाकै उजुरीमा समातिएका थिए ।

लक्का जवानसँग ‘इन्जोय’ गर्ने महिला निकै कामुक होलिन् भन्ने तपाईको दिमागमा खेल्यो होला । तर, बलात्कार पीडित ९२ वर्षीय हजुरआमा हुनुहुन्थ्यो ।

साल्मे–९, नुवाकोटकीे ७८ वर्षीय हजुरआमा, बैजापुर–९, बाँकेकी ७२ वर्षीय हजुरआमा र घोरझेङ, मुस्ताङकी ७० वर्षीया हजुरआमाको उजुरीमा प्रहरीले पक्राउ गरेर बलात्कारको मुद्दा चलाएका सबै ३० वर्ष हाराहारीका लाठेहरु छन् । घोरझेङकी हजुरआमा त बिमारले ओछ्यान परेकै एक वर्ष भइसकेको थियो ।

तपाई नेपाल देशको राष्ट्रिय सभाका बुज्रुक । फेरि कुनै सञ्चारमाध्ययबाट ‘साबालकको रेप त ९० प्रतिशत रेप नै होइन’ भन्ने आफ्नो ज्ञान प्रवाह गर्नुअघि यी हजुरआमाहरूको पीडित अनुहार सम्झनुस् ।

घटना ४

माननीय विडारीज्यू, ४ असोज २०७४ मा समातिएका कपिलवस्तु, वाणगंगा नगरपालिका– ७, घेरवा वनगाईका ४५ वर्षीय पूर्णबहादुर खत्री (नवराज) माथि २३ वर्षीयालाई बलात्कार गरेको आरोप थियो । तपाईको सातिर दिमागमा लाग्यो होला, ‘सहमतिमा इन्जोय’ गरेर ती युवतीले पुरुषलाई फसाइन् ।

तर शारीरिक रुपमा अपाङ्ग ती महिला हिँडडुल गर्न सक्दिनन् । घरमा कोही नभएको मौका पारेर पूर्णबहादुरले बलात्कार गरेको प्रहरी अनुसन्धानको निश्कर्ष छ ।

ती महिलाले पनि ‘इन्जोय’ गरेर बलात्कारको आरोप लगाइन् भन्ने तपाईंको सोचलाई कस्तो वुद्वि मान्ने ?

घटना ५

सर्लाहीको बाग्मती नगरपालिका–६ थापाटोलवासीले २६ वर्षीय मोतीराम क्यापछाकीलाई २७ जेठ २०७५ मा करणी आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो । माननीयज्यू, तपाईं‌ फेरि ‘सहमतिमा इन्जोय गरेर कुरा नमिलेपछि एउटा युवकलाई खोरमा जाक्यो’ भन्नुहुन्छ होला । तर ती युवकले छिमेकी लक्ष्मी कार्कीले पालेको बाख्रीलाई करणी गरेका थिए ।

बलात्कारका ९० प्रतिशत घट्ना ‘सहमतिको इन्जोय हुन्’ भन्ने धारणा स्थापित गर्न लागिपरेका वरिष्ठ अधिवक्ताज्यू, फेरि कुनै टिभीमा गएर लक्ष्मी कार्कीको बाख्रीले कुरा नमिलेपछि मुद्दा लगाई दिई नभन्नु होला । तपाईंलाई जे–जे मन लाग्छ बोल्दै जाने, बाँकी नेपालीले सुनिबस्ने दिन हटाउनु भए धेरै राम्रो हुनेछ । तपाईं जस्तालाई विधायक मान्न अभिशप्तहरुले त गर्न नै के सक्छन् र !

घटना ६

२०७४ मंसिर ३ गते ललितपुरको तोरीबारीमा बेहोस अवस्थामा फेला परेकी गोदामचौर ‘क’ (परिवर्तित नाम) लाई एकहप्ता सघन उपचार कक्षामा राखेपछि होस् खुल्यो । उनको टाउकोमा ३० वटा टाँका लगाइएको छ, टुक्राटुक्रा बनेका हातलाई डाक्टरहरुले तानतुन पारेर जोडिदिएका छन् ।

मंसिर २ गते माइतबाट घर फर्कर्दै गरेकी उनलाई रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलले बलात्कार गरेपछि पटक–पटक टाउकोमा ढुंगाले हानेर मरी भन्ने भएपछि तोरीबारीमा फ्याँकेका थिए । अदालतले उनीहरूलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन सजाय सुनाएको छ ।

माननीयज्यू, तपाई देशका बुज्रुकहरूको सभा मानिने राष्ट्रिय सभाका माननीय र वरिष्ठ अधिवक्ता मात्र होइन, एकजना मानव पनि हो । एउटी महिलाले ‘सहमतिमा इन्जोय गरेर’ तीनजना पुरुषलाई फसाइदिन्छे भन्न कसरी सक्नुभयो ?

घट्ना भएको तीन वर्षपछि पनि गोदामचौर ‘क’को उपचार जारी छ । उनीहरुले अपराधी र सरकार दुवैलाई खर्च भराउन सकेका छैनन् । दशौं लाख उपचार खर्च जुटाउन घरजग्गा बेचिसके । छँदाखाँदाको जागीर गुम्यो, परिवारै विस्थापित भएको छ ।

गोदामचौर ‘क’ र उनको परिवारलाई तपाई सहयोग गर्नु हुन्न, ठीक छ, नगर्नु होस् । तर, उनीहरुको पीडामा नुनचुक पनि नगर्नुस् ।

अदालतले ठोस सवुद्–प्रमाणको आधारमा बलात्कारीहरुलाई सजाय तोकेको छ । धन्न, तपाई न्यायाधीशको कुर्सीमा पुगिसक्नु भएको छैन । भोली तपाई न्यायमुर्ति बन्नुभयो भने त गोदामचौर ‘क’हरुको के हविगत हुँदो हो, धेरै चिन्ताको बिषय छ !

घटना ७

नेपाली बृहत् शब्दकोशले ‘कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबरजस्ती सम्भोग गर्ने काम, बलपूर्वक सतीत्व नष्ट पार्ने काम’ लाई बलात्कार मानेको छ । तपाईले भनेको ‘सहमतिम इन्जोय गरेर मुद्दा दर्ता गर्नेहरू’को लागि भने यो भौतिकभन्दा बढी आत्मामाथि आक्रमण हो ।

पिडितहरु भन्छन्– बलात्कारीले एकपटक बलात्कार गर्छ, समाजले जीवनभर । माननीय विडारीज्यू, तपाई बलात्कार पीडित हजुरआमा, आमा, दिदीबहिनी र छोरीहरुलाई जीवनभर पिरोल्ने प्रवृत्तिको कमाण्डर नबन्नुहोस् ।

अहिले पनि कार्यपालिकालाई राष्ट्रिय सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति हुनुहुन्छ । यति महत्वपूर्ण व्यक्ति तपाईले खासगरी महिलाका सवालमा यो बिघ्न विकृत सोच लिएर के निर्देशन दिनुहोला ?

‘पेट, वक्षस्थल देखाएर हिंडेपछि इन्जोय त भइहाल्छ नि’ भन्ने पनि तपाईं नै हो क्यारे ।

सन् २०११ मा एक्सन एड, इण्डियाकी सारिका सिन्हाले गरेको अध्ययनअनुसार भारतमा बलात्कारमा परेकामध्ये ४८ प्रतिशतले साडी वा बुर्का र ४१ प्रतिशतले कुर्ता सलवार लगाएका थिए । फ्रक लगाउनेहरू १० प्रतिशत थिए । माननीयज्यू, तपाई कसरी ‘सहमतिमा मज्जा लिने, कुरा नमिलेपछि मुद्दा लगाई दिने’ भन्न सकिरहनु भएको छ ?

२०७० भदौ १० देखि २०७५ भदौ ९ गतेसम्म नेपाल प्रहरीमा दर्ता भएका १००० वटा घट्ना केलाउँदा अपाङ्गगता भएका, गर्भवती, बिरामी, सुत्केरी, नवजात शिशुदेखि ओछ्यानबाट उठ्न समेत नसक्नेहरूसम्म बलात्कारको शिकार भइरहेको प्रष्ट हुन्छ ।

एकजना माननीय रामनारायण विडारी भने ‘सहमतिमा मज्जा लिने, कुरा नमिलेपछि मुद्दा लगाइदिने’ भन्ने सार्वजनिक अभिव्यक्ति दिइरहनु भएको छ । नेपाली समाज तपाईंलाई स्वीकार गर्न अभिशप्त छ ।

माननीयज्यू, तपाईंकै बुझाईमा पनि ‘इन्जोय’का लागि सहमति चाहिन्छ । त्यसअनुसार पनि सहमतिबिनाको यौन सम्पर्क त बलात्कार नै हो ।

तपाई जस्ता कानुनका विद्वानलाई प्रचलित मुलुकी संहिताको प्रावधान थाहा नहुने कुरै भएन, जसले ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै पनि बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवरजस्ती करणी गरेको मानिन्छ’ भनेको छ ।

करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरी र होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मुलुकी संहिताले मञ्जुरी मान्दैन ।

तपाईसमेत रहेको संघीय संसदबाट पारित मुलुकी संहिता अनुसार बलात्कार हुनका लागि पुरुष लिंग योनीमा प्रवेश गरेकै हुनुपर्छ भन्ने पनि छैन । संहिताले ‘गुद्द्वार वा मुखमा लिंग पसाएमा, गुद्द्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवरजस्ती करण गरेको मानिने’ व्यवस्था गरेको छ ।

प्रहरी प्रधान कार्यालयको प्रकाशन ‘पुलिस मिरर २०१९’ अनुसार नेपालमा दैनिक ६ वटा बलात्कारका घट्ना दर्ता हुन्छ । त्यस हिसाबले वार्षिक २ हजारभन्दा बढी मुद्दा प्रहरीकोमा पुगेको देखिन्छ ।

तपाई रामनारायण विडारीको धारणाअनुसार यीमध्ये ९० प्रतिशत बलात्कार झुठो हो । भनेपछि, प्रहरीले एकहजार ८०० भन्दा बढी नलिनुपर्ने सम्बन्धी मुद्दा लिइरहेको छ ।

सर्वोच्च अदालतमा पनि आर्थिक वर्ष २०७५/०७६ मा एकहजार ४३३ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएका थिए । माननीय विडारीको वुद्धिअनुसार यीमध्ये पनि ९० प्रतिशत बलात्कारको मुद्दा फर्जी हो । त्यो भनेको एकहजार २०० भन्दा बढीलाई उल्टै मुद्दा लगाउनुपर्ने होला ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका विडारीले नेपाली जनताको करबाट मासिक पारिश्रमिक ६५ हजार १७२, आवास सुविधा १८ हजार, बिजुली धारा २ हजार, फिल्डमा दैनिक भत्ता दुई हजार ५ सय, सञ्चार सुविधा ३ हजार, फर्निचर सुविधा १५ हजार र दश लाख बराबरको बिमा सुविधा लिइरहेका छन् ।

जनताबाट एक भोट नपाए पनि विडारीले बुझिरहेको सेवासुविधाको ५० प्रतिशतभन्दा बढी हिस्सामा महिलाको योगदान छ । तिनै रामनारायण बिडारी सामान्य सार्वजनिक शिष्टतासमेत बिर्सेर महिलाको अस्मिता र आत्मासम्मानमाथि तारन्तार प्रहार गरिरहेका छन् ।

अचम्म छ, एउटा सांसदमा महिला जगतमाथि यस्तो अश्लील गाली बर्साउने ह्याउ कहाँबाट आइरहेको होला ?

-सन्त गाहा मगरले अनलाइनखबरमा लेख्नु भएको खबर स्टोरी हामीले साभार गरेका हौ । 

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)