Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा सात वटा नयाँ झोलुङ्गे पुल

Pul-1506063658.jpg

वर्षातको बाढीमा जोखिमपूर्ण यात्रा गर्न बाध्य मकवानपुरको ग्रामिण क्षेत्रका जनताले बितेको आर्थिक वर्षमा सात वटा नयाँ झोलुङ्गे पुल पाएका छन् । नयाँ झोलुङ्गे पुल निर्माणसँगै वर्षातको बाढीले बगाएर अकालमै ज्यान गुमाउनुपर्ने एक दर्जन गाउँका जनताको बाध्यता टरेको छ । स्वीस सरकारको सहयोगमा जिल्ला समन्वय समिति मकवानपुरले राडो नेपाल मकवानपुरमार्फत नयाँ झोलङ्गे पुल निर्माण गरेको खबर ६ असोजको साझाकुरा दैनिकले लेखेको छ ।

मकवानपुरको कालिकाटार र भार्ता जोड्ने च्याखेटार पुल, आग्राको घट्टेपुल, भार्तामा पाख्रे, खैराङमा तिलार तुम्बाङ, खैराङ्मा सुबोल तर्लिङ, नामटारमा गोपिराङ बेतेघारी र गर्दवा झोलुङ्गे पुल निर्माण भएको प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमिल्सिनाले जानकारी दिए । दुई करोड करोड ५३ लाख ६७ हजार चार सय ८७ रुपैँया खर्चेर सात वटा झोलुङ्गेपुल निर्माण गरिएको उनले बताए । हजार तीन सय ४१ घरघुरी प्रत्यक्ष लाभान्वित भएको राडो नेपालका सव इञ्जिनियर चन्द्र योञ्जनको भनाइ छ । गत आर्थिक वर्ष २०७४ मा सात नयाँसँगै तीन वटा पुरानो झोलुङ्गे पुल मर्मत गरिएको उनले बताए । ‘स्थानीयले पनि पुल निर्माणमा उत्तिकै सक्रियता देखाए’, योन्जनले भने, ‘जनसहभागितामा हुने काम समयमै र सहज सम्पन्न हुँदोरहेछ ।’ केन्द्रीय बजेटबाट थप दुई वटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । नामटार बेतेघारी झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर लामाले पुल निर्माणपछि वर्षातको समयमा जोखिम मोलेर बाढी तर्नुपर्ने बाध्यता हटेको बताए ।

‘झोलुङ्गे पुल निर्माणपछि वर्षौदेखि खेप्दै आएको बाध्यता हटेको छ’,उनले भने । कालिकाटारका स्थानीय नरेन्द्र रिजालले कालिकाटार र भार्ता जोड्ने च्याखेटार पुल निर्माणपछि गाउँपालिका जोडिएको बताए । ‘झोलुङ्गे पुल नहुँदा गाउँपालिकाको सदरमुकाम आउन भार्ताका स्थानीयलाई निक्कै समस्या थियो ।’, उनले भने, ‘पुल निर्माणपछि वर्षातको समया पनि गाउँपालिका केन्द्र पुग्न कुनै समस्या छैन ।’ मकवानपुरमा हालसम्म ६८ वटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला समन्वय समितिले जनाएको छ । ‘थप एक दर्जन गाउँमा झोलुङ्गे पुलको आवश्यकता छ’, प्रमुख जिल्ला इन्जिनियर तिमल्सिनाले भने, ‘ती ठाउँहरुमा पनि पुल निर्माणको पहल भइरहेको छ ।’



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif