DO-1618544727.jpg
Sunday, 18th April, 2021
वि.स.

बिहेअघिको त्यो 'गल्ती'
अनामिका

Anamika-1612013282.jpg
  • अनामिका

जुन कुरा नहोस् भनेर मैले कैयौं दिनदेखि भगवानसँग प्रार्थना गरिरहकी थिएँ, आखिर त्यही कुरा भएरै छोड्यो- मेरो पतिले सुहागरातकै दिन मेरो ‘भर्जिनिटी’को बारेमा शंका गर्दै मलाई प्रश्न गरे- “यो भन्दा पहिले तिम्रो कसैसँग …?”

म राती निली भएँ, डरले मेरा अधरहरू काँप्न थाले, मुख सुक्यो, लाजले मेरा नजर झुकें। म बोल्न सकिनँ।

मेरो बिहे हुने टुंगो लागेपछि मलाई मेरो ‘भर्जिनिटी’को कुराले निकै सताउँदै आएको थियो।

मेरो हुनेवाला पतिले मेरो ‘भर्जिनिटी’को बारेमा प्रश्न उठाए भने मैले के जवाफ दिने होला, कसरी उनलाई सम्झाउने होला अनि त्यसबाट हाम्रो वैवाहिक जीवनमा पर्नसक्ने असरबाट कसरी बच्ने होला भनेर म निकै तनावमा थिएँ तर मैले कसैलाई पनि त्यो कुरा बताउन सक्दिनथें।

मैले बिहे अगाडि जे गरें त्यो मेरो जवानीको जोशमा गुमेको होसले निम्त्याएको परिणाम थियो, त्यो एउटा गल्ती थियो।

तर त्यसो भन्दैमा उनले त्यति सजिलै त्यसलाई लिने छैनन् भन्ने पनि मलाई थाहा थियो।

एउटा सानो उत्तेजना आफूलाई सम्हाल्न नसक्दा म उम्कनै नसक्ने गरी फसिसकेकी थिएँ।

मलाई थाहा थियो सबैजसो पुरूषहरू आफ्नी श्रीमतीको पवित्रताको बारेमा निकै संवेदनशील हुन्छन्।

उनीहरूले आफ्नी श्रीमती आफ्नो व्यक्तिगत सम्पत्ति हुन् जस्तो ठान्छन्। सबै श्रीमानहरूको लागि बिहे पछिको त कुरा छोडौं, बिहे अगाडि पनि श्रीमतीका पुराना सम्बन्धहरू र कृयाकलापहरू पनि स्वीकार्य हुँदैनन्।

मैले कल्पनामा पनि सुन्न नचाहेको त्यो प्रश्न मेरा पतिले नसोधुन् भन्ने पुकारा गर्दै मेरो सुहागरातको दिन म निकै तनावमा कोठाभित्र उनको प्रतीक्षा गर्दै थिएँ।

सायद सबै महिलाहरू सुहागरातको दिन तनावमै हुन्छन् होला। लोग्ने मान्छेसँग पहिलो पटक एउटै कोठामा, एउटै ओछ्यानमा ढोकामा चुकुल लगाएर सुत्नु पर्दा कुन चाहिँ महिलालाई तनाव नहोला र ? तर त्यो तनावमा मेरो अर्को तनाव पनि थपिएर म निकै अधिर भएकी थिएँ।

तनावसँगै म अलिकति भए पनि के होला, कस्तो होला, भनेर उत्सुक र रोमान्चित पनि थिएँ। त्यो दिन मैले कसैलाई आफ्नो तन, मन र जीवन दिँदै थिएँ।

बिहेको रातो पोशाकमा सजिएकी म हाम्रो सुहागरातको लागि भनेर श्रृङ्गारिएको सुन्दर कोठाको पलङको डिलमा बसेर उनी आउने प्रतीक्षा गरिरहेकी थिएँ।

सायद सबै नवविवाहित दुलहीहरूलाई हुँदो हो कि सुहागरातको दिन उसको पति मायालु पाराले आउन्, आफ्नो घुम्टो खोलुन्, नशालु नजरले आफूलाई हेरून्, आफूले पनि लजाएर उनलाई हेरियोस् अनि एकै नजरमा जीवनभर कहिले डगमग नहुने, कसैको नजर नलाग्ने माया बसोस्, दुई मन एक बनुन्, दुई शरीर एक बनुन् त्यस्तै त्यस्तै।

म पनि त्यस्तै आशा गरेर उनको प्रतीक्षा गर्दै थिएँ। ती सुन्दर कल्पनामा मेरो ‘भर्जिनिटी’को तनावले घरिघरि भाँजो हालिरहेको थियो।

म त्यसलाई बिर्सेर आफ्नो सुहागरात रंगीन र अविस्मरणीय बनाउन चाहन्थें तर फेरि त्यही प्रश्न दिमागमा तैरिन आइहाल्थ्यो- म ‘भर्जिन’ नभएको उनले थाहा पाए भने के गर्ने ?

उनी आए। कोठामा अलि मधुरो बत्ती थियो। त्यसमा ‘जीरो वाट’को अर्को रातो बत्तीको प्रकाशले वातावरण झन् मनमोहक बनाएको थियो। अत्तर छिटेको मेरो शरीरबाट आएको सुगन्ध कोठाभरि फैलिएको थियो। भित्र पसेर उनले ढोका बन्द गरे, चुकुल लगाए। मेरो मुटुको धड्कन तेज भयो।

त्यसपछि उनी मेरो नजिक आएर छेउमा बसे। म मूर्तिजस्तै हलचल नगरी बसेकी थिएँ। मलाई डर र उत्सुकता दुवै लागिरहेको थियो। सुहागरातमा के गर्नुपर्छ भन्ने कक्षा मलाई कसैले दिएको थिएन त्यसैले उनले जे गर्छन् त्यहीमा सहमति जनाउनु नै मेरो लागि सबभन्दा सजिलो र उत्तम उपाय थियो।

उनी मेरा पति, मैले मान्नुपर्ने मान्छे। अब ममाथि उनको हुकुम चल्नेछ। मेरो मनमा उनी बस्नेछन्, मेरो मनमा हैकम जमाउनेछन्। मनमा मात्र हैन केही छिनमा उनले मेरो शरीरमा पनि स्वामित्व जमाउने छन्। त्यसपछि मेरो शरीर यो जुनीभरि उनको लागि हुनेछ, सिर्फ उनको लागि। मेरो मनमा तिनै सोचाइहरू आइरहेका थिए।

त्यही बेला हामी बीचको अमुकता र कोठामा छाएको सन्नाटालाई तोड्दै उनले हिम्मत गरेर मेरो घुम्टो खोल्न लागेको जस्तो गरे र सोधे “सुत्ने हो?”

मलाई निकै थकाइ लागेको थियो, म जतिसक्यो छिटो सुत्न चाहन्थें तर कसरी उनीसँग एउटै ओछ्यानमा सुत्ने? त्यसैले सुत्न मन लागे पनि मैले सुत्न मन नलागेको बहाना बनाएर टाउको हल्लाएँ।

त्यसपछि उनले मलाई हातमा समातेर ओछ्यानतिर ताने। म नाकमा डोरी लगाएको गाईजस्तै उनको बशमा परेर ओछ्यानको बीचमा गएर बसें। उनी अलि नजिक आएर मेरो हात समाते र मेरो ढाडतिरबाट मलाई अङ्गालो हाले। मैले पनि विरोध गरिनँ। किन विरोध गर्थें र? वास्तवमा म पनि त्यही नै चाहन्थें, मलाई पनि उत्सुकता त थियो नै।

मेरो मुहार नजिकै आएर सानो आवाजमा उनले सोधे, “के छ विचार?” उनको स्वासको तातो र सुगन्धित हावाले मेरो मन झन् चञ्चल बनायो। केहीबेरको लागि मेरो मनबाट तनाव भाग्यो, म सुहागरातको रोमाञ्चक वातावरणमा भुलें।

‘के छ विचार?’ भन्ने उनको प्रश्नले मलाई लाज लागेको थियो र अलिकति मुन्टो बटारेर मैले भने “छि: पहिलो दिनमा नै?”

“आज सुहागरात हो नि त्यसलाई हामीले अविस्मरणीय बनाउनु पर्छ” उनले झन् नजिक आएर मेरा अधरहरू चुम्न खोज्दै हँसिलो मुहारमा भने।

“अरूले थाहा पाए भने के भन्लान्? नाइँ हुन्न” मैले बहाना बनाएको जस्तो गरेर नजर झुकाएर भनें। तर उनका नशिला नजरहरू, मन्द मुस्कान,‍ र स्वासको न्यानो कामुकताले मलाई लठ्ठ बनाइसकेको थिय । म अर्कै संसारमा प्रवेश गरिसकेकी थिएँ।

“कस्ले थाहा पाउँछ र?” उनले मलाई मनाउन प्रयास गर्दै भने।

“जे भए पनि” भन्दै मैले उनलाई आफ्नो बाहुबाट हटाउन प्रयत्न गरें तर उनले मानेनन्। त्यसपछि मैले उनका बलिष्ठ बाहुहरू आफूबाट हटाउन कोशिस गरिनँ।
रात छिप्पिन लागिसकेको थियो। बाहिर सबैतिर चकमन्न भैसकेको थियो। उनले कोठाको बत्ती निभाए। पूर्णिमाको रात रहेछ, बाहिर टहटह जून लागेर उज्यालो थियो। कोठामा लगाएको पर्दाको सानो छिद्रबाट छिरेको पूर्णचन्द्रको प्रकाश बिम्बले पनि मलाई नै हेरिरहेको जस्तो लाग्यो।

म चन्द्रमासँग पनि लजाएँ अनि झ्यालतिर हातको इशाराले देखाएर उनलाई पर्दा खुलै छ भने। उनले पर्दा पूरै बन्द गरे अनि फर्केर फेरि मेरो नजिक आए।

मैले ‘जीरो वाट’को रातो प्रकाशको बत्ती पनि निभाउन इशारा गरें। त्यो बत्ती पनि निभेपछि कोठामा पूर्ण अन्धकार छायो त्यसपछि मलाई अलि ढुक्क जस्तो भयो र लाज पनि अलि कम भयो।
उनले विस्तारै मेरो शरीरका अङ्ग प्रत्यङ्गमा हात लगाउन थाले। कुनै जवान पुरूषले मेरो शरीर छुँदा मलाई पहिले काउकुती लागेजस्तो भयो तर पछि कुखुराको छालामा उठेका बिबिराजस्तै गरी शरीरभरि काँडा उठे र जिउ नै जिरिङ्ग भयो।

पहिलो पटक एकजना लोग्ने मान्छेसँग त्यसरी नजिक हुँदा डर र संकोच दुवै लाग्ने नै भयो। तर उनलाई चाहिँ कुनै संकोच लागेको थिएन, उनी पूर्णरूपमा कसरी मलाई आफ्नो कब्जामा बनाउने भन्ने ध्येयमा थिए। सायद त्यही नै होला स्त्री र पुरूषमा फरक।

उनले विस्तारै मेरो ओठ चुम्न थाले। एकैछिनमा मैले उनलाई मेरो ओठमात्रै हैन सम्पूर्ण शरीर नै सुम्पिएँ। म एक नारी, लोग्ने मान्छेलाई आफूमा समाहित गर्ने मेरो क्षमता छ। मैले उनको मनमात्रै है तनलाई पनि आफूमा समाहित गरें, एकैछिनमा मैले उनलाई पनि तृप्त पारें र आफू पनि तृप्त भएँ।

त्यसपछि हामी संसारका सारा दु:ख बिर्सेर स्वर्गको आनन्दमा अङ्गालो हालेर सुतिरहेका थियौं।

म ‘भर्जिन’ नभएको उनले थाहा पाएनन् भनेर म ढुक्कजस्तै भएँ तर त्यही बेला उनले अचानक सोधेको प्रश्नले मलाई छाङ्गाबाट खसे झैं गरायो, “यो भन्दा पहिले तिम्रो कसैसँग …?”

“किन र?” मैले झस्केर सोधें।

जे प्रश्न उनले नसोधुन् भनेर मैले पुकारा गरेकी थिएँ त्यही प्रश्न उनले सोधेका थिए। जुन कुरा उनले थाहा नपाऊन् भन्ने म चाहन्थें, सबभन्दा पहिले नै त्यो कुरा उनले थाहा पाए। म कसरी भनूँ उनलाई कि ‘हो, मैले ‘भर्जिनिटी’ गुमाइसकेकी छु’ भनेर? मलाई त्यो कुरा भन्न डर लागेको थियो।

म चाहन्थें कि मेरो त्यो नितान्त व्यक्तिगत र गोप्य कुरा उनले थाहा नपाऊन्। सुहागरातको दिन थाहा नपाएपछि त त्यो प्रश्नबाट म सधैंको लागि सुरक्षित हुनेछु भन्नेमा म थिएँ। तर सत्य कुरो लुकाएर कसरी लुक्थ्यो र? मैले नभने पनि, उनले थाहा नपाए पनि सत्य त त्यही थियो कि उनीसँग बिहे हुनुभन्दा पहिले नै मैले गल्ती गरिसकेकी थिएँ।

“हैन त्यसै सोधेको” उनले आफ्नो मनको भाव लुकाउन खोज्दै भने। तर उनको प्रश्नको लवजले उनको भावलाई प्रवाहित गरिरहेको थियो। उनले सोझै नभने पनि बिहेभन्दा पहिले मेरो कसैसँग सम्बन्ध भएको र त्यसबाट आफू खुसी नभएको कुरा भन्न चाहेका थिए।

मैले बुझिसकेकी थिएँ- उनको सोझो अर्थ थियो- म उनले आशा गरेकी जस्तो ‘भर्जिनिटी’ नगुमाएकी पवित्र नारी थिइनँ।

हो, म ‘भर्जिन’ थिइनँ। तर त्यो एक दुर्घटना थियो। मैले जानी जानी त्यसो गरेकी थिइनँ। जवानीको जोशमा आफ्नो तृष्णा मेटाउनको लागि कहिलेकाहीँ अलि बढी गरिन्छ। त्यो पनि मैले त्यस्तै जोशमा गरेको कार्य थियो। तर मैले त्यो कुरा कसैलाई भनेकी थिइनँ। कसैले थाहा नपाऊन् भनेर सबैबाट छिपाएकी थिएँ तर उनीबाट छिपेन।

सबै लोग्ने मान्छेहरूले अवश्य पनि आफ्नी श्रीमती ‘भर्जिन’ हुन् भन्ने चाहनु स्वभाविकै हो।

पुरूषहरू आफ्नी श्रीमती कसैले नकोरेको सफेद खाली पानाजस्तै चाहन्छन् ताकि त्यो शुद्ध पानामा आफ्नोमात्र नाम लेख्न पाइयोस्, आफ्नो आधिपत्य जमाउन पाइयोस्।

हो, पुरूषहरूले नारीहरूलाई कागज नै सोच्छन्, कसैले त्यो कागजमा आफ्नो नाम कोर्‍यो भने मेटाउन सकिँदैन, उनीहरूको लागि त्यो कुरूप देखिन्छ, पुरानो मानिन्छ। उनले पनि त्यही चाहेका थिए।

नयाँ भनेर किनेको सामान अरू कसैले पहिले नै प्रयोग गरिसकेको पुरानो सामान पर्‍यो भने क्रेतालाई कति चित्त दुख्छ, उनको हालत पनि त्यही भएको थियो।

हामी नारीहरूलाई पुरूषहरूले किनबेचका ‘सामान’ जस्तै नै त सोच्छन्। उनले पनि मलाई नयाँ सामान भनेर किनेका थिए तर पुरानो पर्‍यो भन्ने शंकामा दु:ख मनाउ गर्दै थिए।

मेरो हुनेवाला पतिले सुहागरातको दिन मेरो बारेमा थाहा पाएर सोधिहालेछन् भने ‘साइकल चलाएर त्यस्तो भएको हो’ भनेर टार्ने भनेर मैल बिहे अगाडि नै मानसिकता बनाएकी थिएँ। त्यसैले आफ्नो योजना अनुसार नै मैले काँपेको स्वरमा भने, ‘खै साइकल चलाउने भएकोले हो कि?” मैले ढाँट्ने प्रयास गरे।

म हरेक दिन घरबाट ४ किलोमिटर टाढाको स्कुलमा उबडखाबड बाटो हुँदै साइकल चलाएर स्कुल जान्थें। तर मेरो ‘भर्जिनिटी’मा विचरो साइकलको कुनै सम्बन्ध थिएन र उनले पनि त्यसमा विश्वास गरेनन्।

“हैन होला। भनन मैले ‘माइन्ड’ गर्दिनँ” भनेर मलाई आफ्नो गल्ती खोल्न दबाव दिन थाले।

मेरो गुमेको ‘भर्जिनिटी’मा उनको अप्रसन्नता लुकेको स्पष्ट थियो।

‘मैले ‘माइन्ड’ गर्दिनँ’ भनेर आफूलाई मेरो सामू आधुनिक देखाउन चाहे पनि उनले निकै ‘माइन्ड’ गरिसकेका थिए।

उनले मलाई आफ्नो काखाबाट हटाए, मलाई नछोएर उत्तानो परेर सुते, उनको बेखुसी अँध्यारो त्यो कोठामा पनि उनका बोली र कृयाकलापले स्पष्ट देखाइरहेका थिए।

उनी जान्न चाहन्थे कि आफूले मात्र आफ्नो नाम कोर्न चाहेको कागतमा कुन चाहिँ दुष्टले पहिले नै आफ्नो नाम कोरेछ भनेर, उनी जान्न चाहन्थे कि आफूले नयाँ भनेर किनेर ल्याएको सामान पहिले नै कसले प्रयोग गरिसकेको रहेछ भनेर। तर मेरो त्यो गोप्यता खोल्ने पक्षमा म थिइनँ। मलाई लाज लागिरहेको थियो।

“उसो भए खेलकुदले गर्दा हो कि?” मैले फेरि अर्को बहाना बनाएँ। म ‘हाइ जम्प’को खेलाडी पनि थिएँ। वास्तवमा मैले मेरो ‘भर्जिनिटी’ तोडेको पनि एकपटक टुर्नामेन्टमा गएको बेला होटलमा बसेको समयमा नै थियो।

तर मैले उनलाई खेलको बहानाले पनि चित्त बुझाउन सकिनँ। मेरो पहिले कुनै केटा साथीसँग शारीरिक सम्बन्ध नै भएको शंका उनका प्रश्नहरूले व्यक्त गरिरहेका थिए।

उनी चाहन्थे कि म कुनै एक जना केटाको नाम लिऊँ ताकि उनले मेरो पवित्रतामा प्रश्न उठाउन पाऊन् र आफूलाई मभन्दा पवित्र प्रमाणित गर्न सकून् अनि भविष्यमा हरेक कुरामा मेरो पवित्रताको कुरालाई लिएर मलाई हेप्ने, पीडा दिने, मेरो सानो गल्तीलाई बहाना बनाएर आफूले त्यो भन्दा केयौं गुणा ठूलो गल्ती गर्न पाऊन् र आवश्यक परेमा मलाई छोड्ने सम्मको बहाना बनाउन सकून्।

उनको दबावले गर्दा मैले आफ्नो कुरा नखोली सुखै नहुने जस्तो भैसकेको थियो। म लाजले भुतुक्क भएकी थिएँ। 

मलाई मात्र थाहा थियो त्यो दुर्घटना के थियो भन्ने। हुन त मैले कुनै पाप गरेकी थिइनँ तर म भर्जिन थिइनँ। मलाई थाहा पनि थिएन ‘भर्जिनिटी’लाई कसरी परिभाषित गर्ने।

तर उनले सोचेजस्तो कुनै पनि अर्को लोग्ने मान्छेसँग म निकट भएकी थिइनँ। मेरो शरीर पवित्र थियो, मेरो मन पवित्र थियो। कसैले यसलाई छुन पनि पाएका थिएनन्, कसैले यसमा राज गर्न पाएका थिएनन्।

मेरो परिभाषा अनुसार म कुमारी नै थिएँ तर उनको परिभाषा अनुसार म ‘भर्जिन’ भने थिइनँ। आफ्नो यौन सन्तुष्टि पूरा गर्न मैले आफैंले आफ्नो सहायता गरेकी मात्र थिएँ। त्यसैबाट मैले उनले भनेको जस्तो आफ्नो भर्जिनिटी गुमाएकी थिएँ।

मैले जे गरेकी थिएँ त्यो कुरा उनलाई भन्न मलाई लाज लागिरहेको थियो। मलाई आफ्नो कार्यप्रति आत्मग्लानी र लघुताभाष भएको थियो।

अब लाजै पचाएर आफूले गरेको काम नभनी नहुने भयो भनेर सोचिरहेकी बेला मेरो मनमा पनि कुनै बिजुली परेजस्तो गरी अचानक एउटा प्रश्न आयो- म ‘भर्जिन’ हैन भन्ने उनले कसरी थाहा पाए त?

मैले त्यही प्रश्न उनलाई सोधें।

उनले कत्ति पनि हडबड नगरी उत्तर दिए, “थाहा भैहाल्छ नि। मलाई त्यस्तो ‘फिलिङ’ नै भएन।”

“फिलिङ’ भएन? कस्तो ‘फिलिङ’ हुनुपर्छ र?” मैले उनकै शब्दहरू दोहोर्‍याएर ‘फिलिङ’ शब्दमा विशेष जोड दिएर प्रश्न गरें।

मैले दोहोर्‍याएर सोधेको प्रश्नले बल्ल उनलाई होशमा ल्यायो। त्यसपछि उनी झस्किए। मलाई चोर पकड्ने धुनमा उनी आफैं चोर पकडिए- आफ्नी श्रीमतीलाई पवित्र खोज्ने, उसको कुमारित्वमाथि प्रश्न गर्ने उनी आफैं चाहिँ पवित्र रहेनछन्।

-सेतोपाटीबाट