nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको सिमभन्ज्याङ-भिमफेदी केवलकार संभाव्यता अध्ययन सफल, लगानीकर्ताको खोजी

THA-BH-1572140732.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाले पर्यटकीय क्षेत्र सीमभञ्ज्याङदेखि भीमफेदसीम्म केबलकार चलाउने तयारी गरेको छ । गत मंसिर महिनामा सकिएको सम्भाव्यता अध्ययनबाट सकारात्मक रिपोर्ट आएपछि नगरपालिका अहिले लगानीकर्ताको खोजीमा जुटिरहेको छ ।

गत आर्थिक वर्षमा विशेषज्ञ टोलीबाट सम्भाव्यता अध्ययनबाट केबलबारको लम्बाई ४.८ किमि हुने अनुमान गरिएको छ । “काठमाडौंबाट प्राविधिकको टोली झिकाएर सम्भाव्यता अध्ययन गर्दा प्राविधिक रुपमा केबलकार बनाउन सकिने रिपोर्ट आयो अब हामी लगानीकर्ताको खोजीमा छौं,” थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, “यस वर्षभित्र लगानीकर्ता छनोट गरी अर्को वर्षबाट काम नै सुरु गर्ने गरी तयारी गरेका छौं ।” उनका अनुसार सीमभञ्ज्याङमा केबलकारसहितका व्यवस्थित होटल, चिल्ड्रेन हाउस, हिउँघर र विभिन्न हिमालदेखि भारतको रक्सौलसम्म देखिने टावर पनि निर्माण गरिनेछ । कारोबार दैनिकमा हेटौंडाबाट केशव समर्पणले लेखेका छन्।

एक संरचनादेखि अर्कोमा पुग्न बाटो बनाउँदा धेरै रुखहरू काट्नुपर्ने भएकाले रुख बचाउन स्काई ब्रिजहरू पनि बनाइने योजना छ ।केबलकारसहित विभिन्न संरचना निर्माण गर्न करिब साढे तीन अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । “डेढ अर्बमा केबलकार र अर्को डेढदेखि दुई अर्बमा अरु संरचना बन्ने अनुमान गरेका छौं । लगानीकर्ता छनोटपछि यो लागतमा केही घटीबढी हुनसक्छ,” मेयर विष्टले भने । करिब ३ लाख खर्च गरेर सम्भाव्यता अध्ययन गरेको नगरपालिकाले अहिले केबलकारसहितको संरचनाको एनिमेटेड भिडियो बनाइरहेको छ । उक्त भिडियोको आधारमा लगानीकर्ताले लागत अनुमानसमेत गर्नेछ ।

लगानीको लागि थाहा नगर वा भीमफेदीका स्थानीय कम्पनीलाई प्राथमिकता दिने र नभए स्वदेशी या विदेशी कम्पनी छनोट गरिने नगरपालिकाको तयारी छ । थाहा नगरका मेयर विष्टका अनुसार लगानीकर्ताले ५० प्रतिशत र भीमफेदी र थाहानगरका स्थानीयको पनि ५० प्रतिशत सेयर लगानी गर्ने तयारी गरिएको छ । “हामीले ५० प्रतिशत शेयर नागरिकको लागि छुट्याएका छौं, त्यो पनि हामी सुरुमै उठाउँदैनौं, लगानीकर्ता छनोटपछि संरचना निर्माण सुरु भएपछि मात्र हामी शेयर संकलन सुरु गर्छौं ।” विष्टले भने । ठूलो योजना भएकाले काम पूरा गर्न करिब ३ वर्ष लाग्ने अनुमान गरिएको छ । “मेरै कार्यकालमा यति ठूलो योजना सम्पन्न गर्ने लक्ष्यका साथ म अघि बढिरहेको छु, हेरौं कत्तिको सम्भव हुन्छ, लगानीकर्ता छनोटपछि काम सम्पन्न हुने समयबारे एकिन भइएला,” मेयर विष्टले भने ।लगानीकर्ता छनोटपछि विस्तृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी पर्यटन मन्त्रालयको स्वीकृतिपछि काम थालनी हुनेछ । सार्वजनिक जग्गाको प्रयोगको लागि संघीय सरकारसँग स्वीकृतिको प्रक्रिया पनि त्यसपछि सुरु हुने नगरपालिकाले जनाएको छ ।

थाहानगर पर्यटनसँगै बेमौसमी तरकारी उत्पादनको हिसाबले देशमै कहलिएको क्षेत्र हो । थाहा नगरमा बार्षिक करिब दुई अर्ब रुपियाँ बराबरको आलुमात्र उत्पादन हुने तथ्यांक छ । जुनसुकै मौसममा पनि चिसो भइरहने थाहा नगरमा विशेष गरी भारत र नेपालबाट विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । पर्यटकलाई लक्षित गर्दै नगरमा सुविधा सम्पन्न होटलहरू पनि निर्माण भइरहेका छन् । थाहा नगरकै चित्लाङमा पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालनमा छ ।

मार्खुको मानवनिर्मित इन्द्रसरोबर तालमा डुङ्गा खेल्ने र प्राकृतिक दृश्यमा रम्ने पर्यटक पनि धेरै नै छन् । थाहानगरका दामान, पालुङ, टिष्टुङ र चित्लाङ, इन्द्रसरोबरको मार्खुलाई समेटर एकीकृत पर्यटकीय योजना समेत निर्माण गर्ने तयारी नगरपालिकाले गरिरहेको मेयर विष्टको भनाइ छ ।नेपालको राजधानी काठमाडौंबाट पनि नजिक र भारतको रक्सौलबाट पनि नजिक हुँदा भारतबाट र काठमाडौं हुँदै थाहानगरमा पर्यटकको राम्रो आवागमन हुने गरेको छ । “अहिले नै पनि पर्यटकको आवागमन राम्रो छ, अब केबलकार नै बनिसकेपछि भारतीय पर्यटकलाई झनै सजिलो हुन्छ । भैंसेदेखि सीमभञ्ज्याङसम्मको घुमाउरो बाटोको दूरी केबलकारले निकै घटाउने छ,” मेयर विष्टले भने । काठमाडौंदेखि सीमभञ्ज्याङसम्मको दूरी ६१ किमि मात्रै छ भने भारतको रक्सौलबाट भैंसेसम्मको दुरी करिब ६५ किलोमिटर रहेको छ । रक्सौलबाट सीमभञ्ज्याङसम्मको दूरी १०५ किमि रहेकोमा भीमफेदीबाटै केबलकार छढ्न पाउँदा झण्डै ३० किमि दूरी छोट्टिनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)