nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाका थप ५० कृषकले टनेल बनाउँदै, नगरपालिका र च्वाइस नेपालको सहयोग

plastic-1683543452.jpg

थाहा नगरपालिकामा व्यवसायिक तथा आधुनिक खेती प्रणालीतर्फ कृषकहरु आकर्षित भइरहेको बेला थाहा नगरपालिकाले ५० जना कृषकहरुलाई प्लास्टिक टनेलका लागि सहयोग गरेको छ । च्वाइस नेपाल र कृषकहरुसँगको सहकार्यमा नगरपालिकाको कृषि विकास शाखाले सोमबार कृषकहरुलाई  टनेलका लागि प्लास्टिक वितरण गरेको हो ।

नगरपालिकाको प्राङ्गणमा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र कृषि प्रसार अधिकृत संजय तिवारीले कृषकहरुलाई प्लास्टिक वितरण गरेका हुन् ।

प्लास्टिक वितरण गर्दै नगर प्रमुख विष्टले कम लागतबाट अधिकतम उत्पादन र गुणस्तरीय उत्पादनबाट अधिकतम लाभको लागि नगरपालिकाले नवीनतम प्रविधिमा आधारित कृषि प्रणाली विकासमा जोड दिइरहेको बताए । उनले नगरपालिका र च्वाइसको सहयोगलाई सदुपयोग गरी आर्थिक स्तर वृद्धिमा ध्यान दिन कृषकहरुलाई आग्रह गरे ।

नगरपालिकाले कृषकहरुलाई ७२ वर्गमिटरको ९०  जिएसएम सिल्पोलिन प्लास्टिक वितरण गरेको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार टनेलका लागि प्लास्टिक वितरण गर्न रु. डेढ लाख विनियोजन गरिएको र कृषकहरुको करिब सोही बराबरको लगानीमा कृषकहरुबाटै प्लाास्टिक खरिद गरिएको थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी  दिए ।

कृषि शाखा प्रमुख तिवारीका अनुसार सोमबार प्लास्टिक वितरण गरिएका कृषकहरुका लागि च्वाइस नेपालले फलामको टनेल निर्माणमा सहयोग गर्नेछ । प्रति टनेल रु. ४५ हजार खर्च अनुमान गरिएको टनेलका लागि च्वाइस नेपालको प्रति टनेल रु. २५ हजार खर्च हुने र कृषकहरुले पनि लगानी गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए ।

टनेल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको र ६ जना कृषकहरुको लागि शिखर बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोग रहने च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले जानकारी दिए ।