Friday, 25th September, 2026
वि.स.

डाँडाबासमा निःशुल्क स्वास्थ्य शिविर, २८६ जना महिलाकाे उपचार

IMG_20230309_202759-1678409102.jpg

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीड्ड युथको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा सञ्चालित दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

थाहा नगरपालिका वडा नं. ७, ८ र कैलाश गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी थाहा–७ स्थित डाँडाबासको श्री सुन्दरीदेवी मा.वि. मा संचालन गरिएको शिविरबाट २८६ जना महिलाहरुको उपचार गरिएको संस्थाका कोषाध्यक्ष डा. गगन कार्कीले बताए। शिविरको पहिलो दिन २४ फागुनमा ७८ जना महिलाहरुको भिडियो एक्सरे, २५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) र २ जना पाठेघर खसेको महिलामा रिङ पेसरी राखी उपचार गरिएको डा. कार्कीले जानकारी दिए।

सो शिविरमा आएका विरामीहरुमध्ये दुई जनाको पाठेघरको शल्यक्रियाका लागि काठमाडौं मोडल अस्पताल पठाइएको र उनीहरुको निःशुल्क उपचार गरिने समेत उनले बताए ।

यसै गरी शिविरको दोस्रो दिन २५ फागुनमा २०० जना महिलाहरुको भिडियो एक्सरे सहितको उपचार, ३० देखि ५० वर्ष उमेरका ३७ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) गरिएको थियो । शिविरमा ५० वर्ष उमेरभन्दा माथिका ४० प्रतिशत महिलाहरुको उपचार गरिएको थियो । शिविरमा विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा वरिष्ठ स्त्री राेग विशेषज्ञ डा. बिना श्रेष्ठ, वरिष्ठ रेडियाेलाेजिष्ट डा. अनुज बज्राचार्य, डा.सितल श्रेष्ठ, डा. गगन कार्की, डा. पवन कार्की लगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

आर्थिक रुपमा विपन्न वर्गका महिलाहरुका लागि शिविरले प्रत्यक्ष लाभ दिएकोप्रति थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले खुसी व्यक्त गरेका छन् । यस्तो शिविरहरु थाहा नगरपालिकाको प्रत्येक वडागत रुपमा हुनुपर्ने र  त्यसका लागि थाहा नगरपालिकाको कार्यालय सकारात्मक रहेको गोपालीले बताए।

शिविरको दोस्रो दिन थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरजकुमार भुजेल र थाहा नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष शिवराज थिङको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०