DO-1618544727.jpg
Sunday, 18th April, 2021
वि.स.

काठमाडौंको एक मन्दिर, जहाँ सम्बन्धविच्छेदको टुंगो लगाउन निर्जला व्रत बसिन्छ

Anandadi-1603593048.gif

मन्दिर जाने र भगवानको उपासना राम्रो र शुभ कामका लागि गरिन्छ । तर, काठमाडौंको एउटा मन्दिर जहाँ सम्बन्धविच्छेदको छिनोफानो गर्ने मेला लाग्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

एउटा कठोर जात्रा सम्पन्न गरेपछि श्रीमान् वा श्रीमतीले चाहेमा नयाँ सम्बन्ध गाँस्नेदेखि पुरानो सम्बन्धको बिट मार्नेसम्मको माहोल एउटै जुटाउने जात्रा काठमाडौंमा हरेक वर्ष मनाउने गरिन्छ ।

कसैसँग सम्बन्धविच्छेद वा नयाँ सम्बन्धको गाँठो कस्नेदेखि रोगव्याधी अन्त्य हुनेसम्मको विश्वास लिएर मेला भर्न आउँछन् भक्तजन । यस्तै रोचक जात्रालाई इतिहासदेखि नै अभिछिन्न बोकेर बसेको चोभारको डाँडोमा रहेको आनन्दादि लोकेश्वर मन्दिर ।

भित्तैभरि थामा, पित्तल र चरेसका थालैथालले ढाकेको, एउटा तले शैलीको मन्दिर, त्यसको ठीकअघि शिखर शैलीको मन्दिर र चारैतिर सत्तलहरूले ढाकेको मन्दिर परिसर यतिबेला कात्तिक जात्राका लागि तयारी अवस्थामा छ ।

बौद्धमार्गीहरूको लागि क्षितिगर्भ बोधिसत्व र हिन्दुहरूको लागि गन्धेश्वर महादेवको पवित्र भूमि हो त्यो क्षेत्र । यही मन्दिरलाई स्थानीय काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो मन्दिर भनेर दाबी गर्छन् । त्यसैको छेउमा एउटा लिच्छविकालको भनेर दाबी गरिएको चैत्य छ । किंवदन्तीले यही मन्दिरलाई उपत्यकाको सर्वाचीन मानेपनि यसको वैज्ञानिक पुष्टि भइसकेको छैन ।

****

हिन्दु र बौद्धलाई एउटै सूत्रमा बाँढ्नको लागि बौद्धले मान्ने आठवटा बोधिसत्वलाई हिन्दूहरूले शिव स्वरूपमा पूजा गर्ने गर्छन् । यही सौहार्दता यो मन्दिरले पनि बोकेको छ । आनन्दादि लोकेश्वरका पुजारी सरोज शाक्य ज्ञान प्राप्त भइसकेका तर बुद्ध बन्न नचाहेका वा नसकेका ज्ञानी पुरुषलाई नै बोधिसत्व भनिने बताउँछन् । यहाँका जस्तै बोधिसत्व उपत्यकाका आठ स्थानमा छन् । तर ती सबै स्थानमा हिन्दुहरूले पुज्ने शिवको स्वरूप अनिवार्य हुन्छ ।

जस्तो, साँखुको बज्रयोगिनीमा रहेका मैत्री बोधिसत्वलाई हिन्दुहरूले मणिलिङ्गेश्वरको रूपमा मान्ने गर्छन् । त्यस्तै, गोकर्णमा रहेको गगनगञ्ज बोधिसत्वलाई गोकर्णेश्वर, चाँगुनारायणमा रहेका समन्तभद्र बोधिसत्वलाई कीलेश्वर शिवलिंग, कुम्भेश्वरमा रहेका वज्रपाणि बोधिसत्वलाई कुम्भेश्वर, फर्पिङमा रहेका मञ्जुश्री बोधिसत्वलाई गोपालेश्वर शिवलिंग, शिखर नारायणमा रहेका सर्वनिवरणविष्कंभि बोधिसत्वलाई फणिकेश्वर महादेव, चोभारमा रहेका क्षितिगर्भ बोधिसत्वलाई गन्धेश्वर शिवलिंग र आदेश्वरमा रहेको खगर्भ बोधिसत्वलाई विक्रमेश्वर शिवलिंगको रूपमा मान्ने गरिन्छ ।

शिवेन रचितं क्षेत्रं भवता–पि तपः कृतम् ।
अतः क्षेत्रोत्तमे बुद्ध शैवाचारपरायणाः ।।

अर्थात्, शिवले रचिएको यो क्षेत्र हो, यहाँ तपाई (बुद्ध)ले पनि तपस्या गर्नुभयो। यसैकारणले हे बुद्ध ! यो उत्तम ठाउँमा शैवको आचारमा लागेका र बौद्धको आचारमा लागेका मानिसहरू निश्चय नै हुनेछन् भनेर नेपाल महात्यममा उल्लेख गरिएको छ । त्यसैले यो ठाउँको बारेमा प्राचीनकालदेखि नै उल्लेख भने भएको देखिन्छ ।

****

वि.सं.२०७२ सालको महाभूकम्पको दुई वर्षअघि काठमाडौंको चोभारकी डंगोल थरकी एक महिलालाई सुनाकोटीका एक पुरुषले कात्तिक मेलाकै क्रममा बिहे गरेर लगे । बिहेको अरू कुनै प्रक्रिया पूरा गर्ने कुरा त कहाँ हो कहाँ आफन्त र छिमेकीलाई नै आश्चर्यचकित पार्नेगरी ती महिला सुनाकोटी निवासी एक पुरुषकी पत्नी भइन् । त्यो अरू केही नभएर महिलाले बसेको कात्तिक मेलाको अन्तिम पाँचदिनको निर्जला व्रत उठाउन ती पुरुष आएपछि उनीहरू स्वतः नयाँ सम्बन्धमा बाँधिएका हुन् ।

‘उनीहरूको चिनजान थियो कि थिएन त्यसबारे हामी बेखबर छौं’ पुजारी शाक्य भन्छन् ‘तर भूकम्पको दुई वर्ष अघि नै यो मन्दिरले एउटा नयाँ जोडी जुरायो, जसले जात्रालाई झनै महत्वपूर्ण बनाएको छ ।’

त्यो मेलामा बसेर पूजा आराधना गर्नु जो कोहीको लागि पनि सजिलो भने पक्कै छैन । चाहे पुरुष होस् या महिला, सबैले आफ्नो इच्छापूर्तिका लागि व्रत बस्न पाउँछन् । तर यसको नियम आफँैमा कठोर छ ।

कात्तिकको पूर्णिमादेखि मंसिर पूर्णिमासम्म एक महिना मनाइने कात्तिक मेलाको अन्तिम ५ दिन निर्जला व्रत बस्ने गरिन्छ । विधिपूर्वक निर्जला व्रत बसेकी विवाहिता नारी वा पुरुषले मंसिर पूर्णिमाको भोलिपल्ट निर्जला व्रत उठाउने गर्छन् । तर यस्तो व्रतबस्ने अधिकांश महिलाहरू नै हुन्छन् । निर्जला व्रत उठाउने क्रममा यदि श्रीमान् आएनन् भने सम्बन्धविच्छेदको लागि अरू प्रक्रिया चालिरहनु पर्दैन भन्ने मान्यता थियो भने स्त्रीले सम्बन्धविच्छेद गर्नुप¥यो श्रीमान्लाई खबरै नगरी व्रत बस्न आउन सक्छिन् ।

‘यहाँ केवल सम्बन्ध विच्छेद मात्रै होइन, विवाह पनि हुन्छ’ शाक्यले अनलाइनखबरसँग भने ‘बिमिरो, मखमली फूल आदि सहितको निर्जला व्रत उठाउन श्रीमान् नआएर अरू नै कोही पुरुष आए भने तिनै पुरुषसँग उनको विवाह भएको मान्ने परम्परा छ । त्यसैले पनि यो जात्रा विशेष छ ।’ व्रत उठाउने बेलामा नेवार परम्पराअनुसार भोजभतेर गर्ने लगायतको नियम पूरा गर्नुपर्ने उनी बताउँछन् ।

महामारी र रोग नियन्त्रण गर्ने विश्वास

आनन्दादि लोकेश्वरलाई उपत्यकाका चार लोकेश्वरमध्ये महामारीका देवताको रूपमा मान्ने चलन छ । चोभारका आनन्दादि लोकेश्वर, बुंगमतीका आर्यावर्तादिलोकेश्वर, काठमाडौं जनबहालका पद्मपाणि लोकेश्वर र बनेपाका सृष्टिकान्त लोकेश्वरका छुट्टाछुट्टै विशेषता छन् ।

जस्तै, आनन्दादि लोकेश्वरको विशेषता रोग वा महामारीको निवारण, पद्मपाणि लोकेश्वरको स्तुति आयु वृद्धिका लागि, आर्यावर्तादि लोकेश्वरको स्तुति अन्नका लागि र बनेपाका लोकेश्वरलाई सृष्टिकर्ताको रूपमा मान्ने गरिन्छ ।

मञ्जुश्रीले स्थापना गरेको किंवदन्ती

कुनै समय काठमाडौं उपत्यका कालीदहको रुपमा थियो । सो समयमा विपश्वी बुद्धले कमलको फूलको बीजारोपण गरेर गए । पछि मञ्जुश्रीले उपत्यका घुम्न आउँदा मानव बस्तीको लागि त्यहाँको पानी बाहिर निकाल्ने क्रममा चार ठाउँमा छेदन गरेर हिँडे भन्ने किंवदन्ती पाइन्छ ।

अन्तिममा चोभारको डाँडो छेदन गरिसकेपछि उपत्यकामा सबैभन्दा पहिले स्थापना गरिएको मन्दिर आदिनाथ वा आनन्दादि लोकेश्वर हो भन्ने स्थानीय जनश्रुतिमा छ ।

यो मन्दिरमा कात्तिक पूर्णिमादेखि मेला लाग्ने चलन कहिलेदेखि सुरु भयो ? भन्नेबारेमा भने किंवदन्तीले केही बोल्दैन । तर एक महिलाले एक महिनासम्म यही मन्दिरमा आएर नित्यपूजाआजा गरेपछि उनलाई लागेको कुष्टरोग निको भएकाले आनन्दादि लोकेश्वरलाई महामारीका देवता र एक महिनासम्म मेला लाग्ने प्रचलन सुरु भएको हो भन्छन् मन्दिरका पुजारी शाक्य । एक महिनासम्म लाग्ने भएकोले यो मेलालाई कात्तिक मेला वा कात्तिक सेवा पनि भन्ने चलन छ ।

एक महिनाबाट ५ दिनमा झरेको संस्कार

भनिन्छ, पहिलेपहिले मन्दिरमा एक महिनासम्म उस्तै धुमधामले पूजा हुने गर्दथ्यो, साथमा निर्जला व्रत पनि । तर कठोर व्रत एकमहिनासम्म बस्न धेरै कठिन हुने भएपछि यसलाई पाँच दिनमा झारियो । यो समयमा बसिने व्रतको नियम भिन्दै छ ।

पाँचदिनसम्म मन्दिर परिसरबाट बाहिर जानुहुँदैन । भित्र पनि मन्दिरको पुजारीले दिएको पानीबाहेक अरू केही पनि खान र पिउन हुँदैन, कुकुर जस्ता पशुपन्छीलाई समेत छुन नहुने विधान छ । त्यस्तै, व्रतालुको घरमा पनि लिपपोत गर्न नहुने, मासु खान नहुने, माग्नेलाई भिक्षा दिन नहुने जस्ता विधान छन् । यी सबै पूरा गरेर एक महिनासम्म बस्न कठिन हुने भएकोले पनि यसलाई पाँच दिनमा झारिएको हुन सक्ने बताइन्छ । तर यसको पनि स्पष्ट कारण उल्लेख भएको पाइँदैन । यो व्रतलाई नेवारी भाषामा माय् अप्सं भन्ने चलन छ ।

के–के हुन्छ विधि ?

चोभारको डाँडोमा रहेको आनन्दादि लोकेश्वरको चारै दिशामा तीर्थहरू छन्, जसको आ–आफ्नै विशेषता छन् । चारवटा कुण्ड(तीर्थ) पुग्ने क्रममा पहिलो दिन निर्जला व्रत बस्नेहरू चोभारको मुनि रहेको चखुबखु तीर्थ जाने गर्छन् । जुन तीर्थलाई जलविनायकको नामले पनि चिन्ने गरिन्छ । त्यसको ठीकपछि मञ्जुश्रीले पहाड काटेको भनेर मानिने गल्छीसँगै एउटा गुफा छ । त्यसको भित्र पोखरी पनि छ । त्यही पोखरीबाट पानी बाहिर आएको छ । पहिलो दिन भक्तजनहरू त्यही पोखरीमा गएर नुहाउने गर्छन् ।

दोस्रो दिन वाग्मती र नख्खुको दोभानमा रहेको तीर्थमा गएर नुहाउने चलन छ । व्रतालुलाई स्नानको लागि मन्दिर परिसरबाहिर जाने छुट छ । सबै भक्तजनहरू एकसाथ लागेर ती तीर्थमा नुहाउन जाने चलन छ । त्यस्तै, तेस्रो दिन चलनचल्ती अनुसार सुलक्षण तीर्थ (बल्खुबाट चोभारतिरको एक किलोमिटर दुरीमा पर्ने तीर्थ) जाने चलन छ ।

यसरी व्रतालुहरू पूर्णिमाको दिन मन्दिरमा चढाउने पानी ल्याउने कुण्डमा गएर स्नान गर्ने गर्छन् । निर्जला व्रतको अन्तिम दिन कुवाको पानी ल्याएर नुहाइधुवाइ गरेपछि पर्वते(काठमाडौं उपत्यकाबाहिरबाट आएका)हरूले आफैं सामान उठाएर लैजान्छन् भने काठमाडौं उपत्यकाका नेवारहरूले मन्दिरका गुरुज्यूलाई विधिपूर्वक मन्त्र भन्न लगाउँछन् ।

आनन्दादि लोकेश्वरमा लाग्ने कात्तिक मेला मंसिरको पूर्णिमाको दिन लाग्ने गर्छ । तर व्रत बस्नेहरूले भने प्रतिपदाको दिन मात्रै व्रत उठाएर लैजाने गर्छन् । यसरी निर्जला व्रत बसेका दम्पतीले एक वर्षपछि सोही मन्दिरमा आएर एक रात जाग्राम बस्नुपर्र्ने नियम छ । एकवर्षपछि मन्दिरमा गएर पूजा नगरेसम्म खानामा चोखोनितो बार्नुपर्छ भन्ने मान्यता छ ।

यो साल के हुन्छ मेला ?

यो मेला महिनाभरि नै मान्छेको भिड लाग्ने उत्सव हो । तर यो वर्ष पनि यो मेला भने रोक्ने कुनै निर्णय नभएको पुजारी शाक्य बताउँछन् । कोभिड १९ को जोखिमका कारण यो साल पहिले जस्तो धेरै मान्छेको भिड नहुने र आउने व्रतालु वा भक्तजनलाई व्यवस्थापन मिलाएर भए पनि मेला सञ्चालन गर्ने तयारी रहेको शाक्य बताउँछन् । ‘यो साल व्रत बस्न आउने पनि कमै हुनुहुन्छ होला, तर व्रत बस्न आउनेलाई पनि हामी भौतिक दुरी कायम गरेर बस्ने व्यवस्था मिलाउने तयारीमा छौं’ शाक्यले भने ‘तर मेला रोक्ने पक्षमा छैनौं ।’

कात्तिकमै मेला राख्नुको कारण

कात्तिकमै यो मेला किन राखियो होला त ? शाक्य भन्छन् ‘पहिलेपहिले देवताहरूसँग मान्छेले प्रत्यक्ष कुराकानी गर्थे, यहाँका भगवान् पनि राति समयसमयमा मान्छेको दुःख हेर्नको लागि बाहिर डुल्न जाने गर्नुहुन्थ्यो । एकदिन पुजारी रातमा ब्युँझिँदा गद्दीमा भगवानलाई देखेनन् ।

त्यो रात त्यत्तिकै बित्यो । भोलिपल्ट बिहान भगवान्लाई पुजारीले त्यही आसनमा देखे । तर भगवानको घुँडामुनि पहेँलो रंग देखियो । त्यो पहेँलो रंग तोरीको फूलको रंगको भन्ने आधारमा यो जात्रा नै तोरी फुल्ने समयमा एक महिना मनाउन थालियो ।’

मन्दिरको भित्तामा किन राखिन्छ थाल ?

यस मन्दिर र मन्दिरलाई चारैतिर घेरेको सत्तलहरूको भित्तामा समेत चरेस, तामा या पित्तलका थालहरू देख्न सकिन्छ । यो थाल चढाउने चलनको बारेमा पनि रमाइलो किस्सा सुनाउँछन् स्थानीय ।

पहिलेपहिले महिलालाई दाइजोबापत दिइएको सामान ती महिलाको मृत्युपछि श्रीमान्को घरमा चलाउने चलन थिएन । त्यसैले घरमा चलाउन नमिल्ने सामान मन्दिरमा ल्याएर चढाउने गरिन्थ्यो ।

बिस्तारै त्यो क्रममा बन्द हुँदै गयो । त्यसपछि मान्छेले आफ्नो मनोकांक्षा पूरा होस् भनेर त्यहाँ ल्याएर थाल चढाउन थाले । यसरी चढाएको थाललाई मन्दिर व्यवस्थापनले त्यही भित्तामा किला ठोकेर राख्न थालेको शाक्य बताउँछन् ।

-अनलाइनखबरबाट साभार

https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes.com@gmail.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरु माझ देशविदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौ । तपाईको आलोचनात्मक सुझावको अपेक्षा गर्दछौं । सिधै केही सुझाव, समाचार र विज्ञापन दिन चहानुहुन्छ भने सम्पर्क ९८०७२९५०७२ (-सम्पादक)