nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

एक वर्षमा के-के गर्यो मकवानपुरको थाहा नगरपालिकाले ? यस्तो छ मेयर बिष्टको बयान

Thaha147-1536563033.jpg

प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुर जिल्लाको एकमात्र नगरपालिका हो थाहा । मकवानपुर जिल्लामा १ उपमहानगर, १ नगर र ८ गाउँपालिका छन् ।

थाहा नगर देशकै एक चर्चित नगरपालिका पनि हो । थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको गाउँ हो यो । उनै रुपचन्द्र विष्टले शुरु गरेको थाहा अभियान कै नामबाट सो नगरपालिकाको नाम थाहा नगरपालिका राखिएको छ ।

तत्कालीन पालुङ, दामन, बज्रबाराही, आग्रा, चित्लाङ र टिस्टुङ गाविसलाई समेटेर थाहा नगरपालिका घोषणा गरिएको हो । दामन पालुङको नाम सुन्ने बित्तिकै पर्यटकीय क्षेत्र र आलुसहितका तरकारी फल्ने ठाउँका रुपमापनि चिनिन्छ । हिउँ परेको बेला दामन तपाई पनि जानु भएको होला ?

त्यहाँ हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिने भ्यू टार पनि छन् । ऋषेश्वर मन्दिर छ, अरु रमणीय र पर्यटकीय स्थल पनि छन् । मौसम चिसो हुन्छ वर्षैभरी । धेरै विशेषता छन् दामनपालुङ अनि समग्र थाहा नगरको ।

देश कै चर्चित नगरभित्र पर्ने थाहा नगर अहिले के गरिरहेको छ त ? आज हामी थाहा नगरको पछिल्लो हालखबरका बारेमा केही चर्चा गर्न लागिरहेका छौं ।

अरु स्थानीय तहमा जस्तै थाहा नगरले लामो समयपछि जनप्रतिनिधि पाएको १ वर्ष पूरा भइसकेको छ । स्थानीय तहको निर्वाचनबाट मेयरमा लवशेर विष्ट र उपमेयरमा खड्ग गोपाली निर्वाचित भएका छन् ।

१ वर्षभित्र मुख्य काम के भए त ?

मेयर लवशेर विष्टका अनुसार थाहा नगर विशेष गरी कृषि र पर्यटनको संभावना भएको क्षेत्र हो । त्यसकारण पनि कृषि, पर्यटन र पूर्वाधार, थाहा नगरको मूल आधार भन्ने नारा सहित थाहा नगर अघि बढीरहेको छ ।

स्थानीय वासिन्दाले बर्षौंदेखि स्थानीय स्तरमा नै कोल्डस्टोर हुनु पर्छ भनेर देखेको सपना अबको २ वर्षभित्र पूरा हुँदैछ । १७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणका लागि ११ करोड ९४ लाखमा टेण्डर समेत भइसकेको छ । र, अब छिट्टै काम शुरु हुने मेयर विष्ट बताउँछन् ।

सो कोल्डस्टोर निर्माणका लागि स्थानीय सहकारीहरुले ४० प्रतिशत लगानी गर्ने भएका छन् भने बाँकी रकम प्रदेश सरकार र नगरपालिकाबाट प्रबन्ध गरिने छ ।

कोल्डस्टार निर्माण भएपछि त्यसको सञ्चालन र व्यवस्थापनका लागि स्थानीय स्तरमा नै शीतभण्डार सहकारी संस्था स्थापना गरिएको छ । स्थानीय सहकारी संस्थामा आबद्ध व्यक्तिहरुले सो कोल्डस्टोर सञ्चालन र व्यवस्थापनका लागि नै शीतभण्डार सहकारी बनाएका हुन् । ती सहकारीहरुमा करीब २४ हजार स्थानीय वासिन्दा आबद्ध रहेका छन् ।

५ वर्षभित्र ६० किमि सडक कालोपत्रे

थाहा नगर १२ वडामा विभाजित छ । मेयर विष्टका अनुसार प्रत्येक वडाका एउटा बाटोलाई नगरस्तरीय बाटोमा रुपमा निर्माण विकास गरिंदैछ । सो नगरस्तरीय बाटोको ५ किमि सडकमा ५ वर्षभित्र कालोपत्रे गर्ने गरी काम अघि बढेको छ । धेरै जनताले प्रयोग गर्ने बाटोलाई नगरस्तरीय बाटोका रुपमा चयन गरिएको छ । अरु बाटोलाई पनि स्तरउन्नति गर्दै जाने योजना रहेको छ ।

आँखा अस्पताल पनि बन्दै

थाहा नगरमा तिलगंगा आँखा अस्पताल र हेटौंडा सामुदायिक आँख अस्पतालको सहयोग÷सहकार्यमा ४० लाखको लागतमा थाहा नगरमा आँखा अस्पताल बन्दैछ । यो काम पनि छिट्छै शुरु हुने चरणमा रहेको मेयर विष्ट बताउँछन् ।

कस्तो बन्छ पर्यटकीय थाहा पार्क ?

थाहा नगरपालिकाको नयाँ गाउँमा पर्यटकीय थाहा पार्क बनाएर पर्यटक भित्र्याउने योजना पनि बनेको छ । भ्यूटावर, पिकनिक स्पोट, चिल्ड्रेन पार्क, रेष्टुरेन्ट सहितको रमणीय पार्क बन्नेछ । यसका लागि डीपीआरको काम छिट्टै शुरु गरिनेछ–मेयर विष्टले भने ।

थाहा नगर क्षेत्र भित्र दामन भ्यूटावर लगायतका धेरै पर्यटकीय क्षेत्र रहेका छन्, पर्यटनपनि थाहा नगरको संभावना भएकाले पर्यटन गूरुयोजना बनाएर पूर्वधार विकास गर्ने सोच रहेको छ– मेयर विष्ट भन्छन् ।

४०० टनेलमा तरकारी खेती

कृषिलाई आधुनिकीकरण गर्ने क्रममा ४०० वटा टनेल वितरण गरिएको छ । ती टनेलमा स्थानीय कृषकहरुले गोलभेडा, भेडे खुर्सानी खेती गरिरहेका छन् । ती टनेलका लागि स्थानीय कृषकहरुले ५० प्रतिशत लगानी गरेका छन् भने नगरपालिका ५० प्रतिशत लगानी गरिदिएको छ ।

थाहा नगरको शंखमूललाई व्यवस्थित गरिंदै

मेयर विष्टका अनुसार धार्मिक महत्वको स्थल शंखमूल ३ स्थानमा रहेकामा भारत, काठमाण्डौ र थाहा नगरमा रहेको छ । थाहा नगरको वडा नम्बर २ र ३ को बीचमा रहेको शंखमूललाई व्यवस्थित गरी धार्मिक पर्यटकहरुलाई आकर्षित गर्ने योजना भइरहेको छ । धार्मिक महत्वको स्थललाई रमणीय बगैंचा सहितको संरचना बनाएर धार्मिक पर्यटकहरुलाई भित्राउने मेयर बिष्टले बताए ।

४२ रोपनीमा बन्दैछ व्यवस्थित बसपार्क

थाहा नगरमा ४२ रोपनी जग्गामा व्यवस्थित थाहा नगर बसपार्क बन्दैछ । त्यसका लागि थाना बजारमा ४२ रोपनी जग्गा छुट्याइसकिएको छ । सो स्थलमा पार्टी प्यालेस र स्थानीय संघसंस्थाको कार्यालय समेत बनाउने योजना रहेको छ ।

सडक पूर्वाधार के के बन्दैछन् ?

थाहा नगरमा पर्ने कुन्छाल–कुलेखानी सहायक राजमार्ग १० करोडको लागतमा स्तरीयकरण हुँदैछ । यसका लागि प्रदेश र संघीय सरकारलेपनि महत्व दिएको छ । त्यसैगरी चित्लाङ–चन्द्रागिरी(गणेहशमासिंह राजमार्ग) निर्माण÷स्तरीकणका लागि संघीय सरकार समक्ष पहल गरिएको छ ।

यो सडकको लम्बाई २२.५ किलोमिटर रहेको छ । तत्कालै १४ किलोमिटर सडक बनाउने काम संघीय सरकारले शुरु गर्नेछ–मेयर विष्टले भने । यो बाटो सूसञ्चालनमा आएको खण्डमा थाहानगरले विकासमा फड्को मार्नेछ र संघीय राजधानी काठमाण्डौमा बस्दै आएकाहरुले पनि नजिकैको थाहा नगरतर्फ आँखा लगाउन सक्नेछन् ।

थाहा नगर काठमाण्डौ उपत्यकाको बैकल्पिक सहर

संघीय सरकारले देशका विभिन्न स्थानमा सुरुङ मार्ग निर्माणको कुरालाई प्राथमिकतामा राखेको छ । यो अन्तरगत थानकोट–चित्लाङ सुरुङमार्गपनि प्राथमिकतामा परेको छ । यो सुरुङ मार्गको लम्बाई डेढदेखि २ किलोमिटर मात्र हुनेछ । यो मार्ग छिटो निर्माण शुरु गराउनका लागि पहल गर्दै आएको विष्टले बताए ।

हालैमात्र मकवानपुर जिल्लाका प्रतिनिधि सभाका सांसद, प्रदेश सांसदहरु सहितको टोलीले सो सुरुङमार्ग निर्माण तत्काल थाल्नका लागि दबाब स्वरुप अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई समेत भेट गरेको थियो । सो क्रममा अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधार मन्त्री मात्रिका यादवले सो सुरुङ मार्गको संभाव्यता अध्ययनको काम सुरु गर्ने प्रतिबद्धता जनाएको मेयर विष्टले बताए । यो मार्ग जतिसक्दो छिटो बनाउनका लागि आफ्नोतर्फबाट सकेजति पहल गर्दै आएको उनले बताए ।

थानकोट–चित्लाङ सुरुङ मार्ग बनेमा राजधानी उपत्यकाको बढ्दो जनघनत्व र उकुसमुकुसलाई कम गराउन मद्दत मिल्ने मेयर विष्टले बताए । थानकोटबाट करिब २ किमि कै दूरीमा थाहा नगर पुग्न सक्ने अवस्था निर्माण भयो भने राजधानी काठमाण्डौको जनघनत्व थाहा नगरमा बिस्तार हुनेछ । त्यसकारण सो सुरुङमार्गले थाहा नगरलाई काठमाण्डौ उपत्यकाको बैकल्पिक सहर निर्माणको ढोका खोल्नेपनि उनले बताए ।

भौतिक पूर्वाधार बनेमा थाहा नगर काठमाण्डौ उपत्यका नजिकैको स्याटेलाइट सिटीका रुपमा विकास हुने मेयर विष्टको विश्वास रहेको छ ।

रुपचन्द्र विष्टको पदचाप पछ्याउँदै थाहा नगर

दामन–पालुङलाई आधार क्षेत्र बनाएर रुपचन्द्र विष्टले थाहा आन्दोलन चलाएका थिए । हरेक कुराको थाहा जनताले पाउनु पर्छ । जनतालाई सूचनाबाट बञ्चित गर्नु हुँदैन, थाहा अभियानको उद्देश्य पारदर्शी रुपमा काम गर्नु नै हो ।

मेयर विष्ट भन्छन्- अहिले थाहा नगरमा पारदर्शीरुपमा काम गर्न हामी क्रियाशील छौं । सूचनाको हक जनतालाई निर्वाध रुपमा उपलब्ध गराउन गराइरहेका छौं । यसकारण हामी रुपचन्द्र विष्ट अर्थात रुदानेको बाटो हुँदै अगाडि बढिरहेका छौं ।

लगानीकर्ता थाहा नगर आउनुस्

मेयर विष्टले संभावना बोकेको थाहा नगरमा लगानी गर्न आउन लगानीकर्ताहरुलाई आह्वानपनि गरे । उनले भने– थाहा नगरमा पर्यटन, होटल व्यवसायको संभावना छ, त्यसकारण निजी क्षेत्रलाई आह्वान गर्छौं र हामी स्वागत गर्न तयार छौं ।

यसैगरी थाहा नगरा पशुपालन, पशुस्वास्थ्य सुरक्षा, शिक्षालाई गुणस्तरीय बनाउने, प्राबिधिक शिक्षा शुरुवात गर्ने सवालमा पनि काम भएका छन् । कक्षा ८ को नगरस्तरीय परीक्षा गरिएको छ । जनकल्याण माविमा बाली विज्ञान शिक्षा कक्षा ९ बाट शुरु गरिएको छ ।

डाँडाबासमा इञ्जिनियरिङको पढाईपनि बिद्यालयस्तरबाट शुरु गरिएको छ । चित्लाङमा वनविज्ञानको डिम्लोमा पढाई शुरुवात भएको छ । जनकल्याण मावि मै बालिविज्ञानको डिप्लोमा पढाई पनि शुरु भएको छ । यी कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने मेयर विष्टको भनाई छ ।

थाहा नगरको भौगोलिक अवस्थिति

तत्कालीन पालुङ, दामन, बज्रबाराही, आग्रा, चित्लाङ र टिस्टुङ गाविस समावेश भई २०७१ बैशाख २५ गते थाहा नगरपालिका घोषणा भयो । २०६८ सालको जनगणना अनुसार ४१ हजार ६ सय २३ जना थाहा नगरमा बसोबास गर्छन् । थाहा नगरको क्षेत्रफल १९१.१२ वर्ग किलोमिटर रहेको छ ।

१२ वटा वडामा बिभाजित थाहा नगरको पूर्वमा इन्द्रसरोवर गाउँपालिका र काठमाण्डौ जिल्ला, पश्चिममा कैलाश गाउँपालिका, उत्तरमा धादिङ र काठमाण्डौ जिल्ला तथा दक्षिणमा भीमफेदी, इन्द्रसरोवर र कैलाश गाउँपालिमा सीमाना जोडिएको छ ।

-खेम बोलखे, क्लिकमाण्डुबाट साभार ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)