nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

असार मसान्तसम्म रोजगारदाता सूचीकृत हुने

विभिन्न कारणबाट सरकारले तोकेको समयावधिभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन नसकेका रोजगारदाता तथा श्रमिकले आगामी असार मसान्तसम्म कोषमा सूचीकृत हुन सक्ने भएका छन् ।

सामाजिक सुरक्षा कोष सञ्चालक समितिको हालैको बैठकले कोषमा सूचीकरणका लागि आउन नसकेका रोजगारदाता वा श्रमिकलाई आगामी असार मसान्तसम्म सूचीकरण गर्न सक्ने निर्णय गरेको कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले जानकारी दिनुभयो । सरकारले गत कात्तिक २६ गते नेपाल राजपत्रमा एक सूचना प्रकाशित गरी यही वैशाख १५ गतेभित्र विभिन्न चरणमा मुलुकभरका रोजगारदातालाई कोषमा सूचीकृत हुन आह्वान गरेको थियो ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको सन्दर्भमा विभिन्न नीतिगत अस्पष्टता रहेको भन्दै रोजगारदाताले सूचीकरणमा आलटाल गर्दै आएका थिए । सरकारले काठमाडौंउपत्यकाभित्रका रोजगारदाता र सबै श्रमिक आपूर्तिकर्ताले गत फागुन ६, काठमाडौँ उपत्यका बाहेकका प्रदेश नं ३ का रोजगारदाताले गत फागुन १५, प्रदेश नं १ का रोजगारदताले गत चैत १, प्रदेश नं २ का रोजगारदाताले गत चैत १५, गण्डकी प्रदेश र प्रदेश नं ५ का रोजगारदाताले यही वैशाख १ तथा कर्णाली र सदूरपश्चिम प्रदेशका रोजगारदाताले यही वैशाख १५ गतेसम्म आफूलाई कोषमा सूचीकरण गराउनुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी सूचीकरण भएका रोजगारदाताले तीन महिनाभित्र आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेका व्यक्तिलाई कोषमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको थियो । बुधबारसम्म विभिन्न प्रदेशका गरी दुई हजार ४१७ रोजगारदाता र तीन हजार ७१९ योगदानकर्ता सूचीकरण भइसकेका कोषले जनाएको छ ।