nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सांसद खतिवडाले भने–रुपचन्द्र हैन, उनको दर्शन सबैले अंगालौं

मकवानपुर प्रतिनीधि सभा क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले थाहा  दर्शनका प्रणेता दिवंगत रुपचन्द्र विष्टलाई कसैले पनि आफ्नो पार्टीको भनेर काखी च्यापेर राख्न आवश्यक नभएको बताएकाछन् । विष्ट कुनै पार्टीको पनि नभएको बरु उनको दर्शनलाई सबै पार्टीले अंगाल्नू अहिलेको आवश्यकता भएको औल्याएकाछन् । सामाजिक क्षेत्रमा क्रियाशील फरक सोच अभियानले रुपचन्द्र विष्टको ८४ औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा सांसद खतिवडाले यस्तो बताएका हुन् । रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा फरक सोचले विगत तीन वर्षदेखि थाहा दिवस मनाउँदै आएको छ । यसवर्ष तेस्रो थाहा दिवस, चौथो तिर्थदास स्मृति सामाजिक सम्मान र जया नारी शैक्षिक कोष घोषणा कार्यक्रम गरेको हो । 

फरक सोच अभियानकी जयन्ती रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले रुपचन्द्रको सपना साकार पार्नको लागि आफ्नो तर्फबाट हरतरहले लागि पर्ने बताए । उनले ‘थाहा’ लाई भनेर नभई व्यवहारमै उतार्नको लागि आफूले नेतृत्व गरिरहेको स्थानीय तहबाट थालनी गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा थाहानगर उपप्रमुख खड्ग गोपालीले रुपचन्द्र विष्टको आफू पनि चेलो भएको बताउँदै विष्टको जीवनीको चर्चा गरेका थिए । नेकपा एमाले मकवानपुर जिल्ला कमिटि सदस्य विष्णु प्रसाद ढकालले रुपचन्द्रको अभ्यासलाई अब पनि प्रयोगमा ल्याउन आवश्यक भएको सुनाए । ढकालले रुपचन्द्र विष्टको पारिवारिक पृष्ठभूकीको चर्चा गरेका थिए । 

कार्यक्रममा वक्तहरुले मन्तव्य व्यक्त गरिरहँदा मनहरी गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी एकराज उप्रेतीले रुपचन्द्र विष्टको दैनिकी दुरुस्त उतारे । सभामा उपस्थित अतिथी र सहभागीहरुलाई मन्त्रमुग्ध भए । रुपचन्द्र विष्टसंग दशक बढि संगत गरेका उप्रेतीले विष्टप्रतिको श्रद्धा र सम्मान व्यक्त गरेका थिए । उनले थाहा दिवस मनाउन थालेकोमा खुशी व्यक्त गरे । उनले सुनाए–‘सकिदै नसकिने, पुरानो हुँदै नहुने ‘थाहा’ नै हो ।’ आफूले मनहरीमा थाहा वाचनालय संचालनमा ल्याउन लागेको र सडक समेत थाहामार्ग भनेर थाहालाई फैलाउन लागेको जाकारी गराएका थिए । उनले थाहा साँधुरो हैन सँधै फराकिलो बनाउन आग्रह गरे । कार्यक्रममा स्थानीय समाजसेवी ज्योति रायमाझीले रुपचन्द्रको दर्शनलाई भाषण होइन अब व्यवहारमा उतार्नुपर्ने बताए । सँधै शिक्षा र सम्वृद्धिको लागि लागिपरेका विष्टको कामलाई अझै निरन्तरता दिन आवश्यक भएको औल्याए ।

जनमुखी अभियान प्रालिका अध्यक्ष अरुण रायमाझी, वडा अध्यक्ष राजेश के.सी.लगायतले रुपचन्द्र विष्टको दर्शनको चर्चा गरेका थिए । कार्यक्रममा सहभागी तथा अतिथीहरुलाई फरक सोच अभियानकी उर्मिला गोपालीले स्वागत गरेकी थिइन् । कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनीधिहरु, सहकारी, बैंकका प्रतिनीधि तथा रजनीतिकदलका प्रतिनीधिहरुको आतिथ्य रहेको थियो । 

कार्यक्रमको अवसरमा प्रमुख अतिथी खतिवडा तथा अतिथीहरुले विकास घर प्राङ्गणमा रहेको रुपचन्द्र विष्टको पूर्ण कदको शालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै जया नारी शैक्षिक कोषमार्फत थाहानगरका २० जना छात्राहरुलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो । 

कार्यक्रमको अवसरमा उपस्थित भएका अतिथीहरुलाई फरकसोचको तर्फबाट जयन्ती रायमाझीले मायाको चिनो प्रदान गरेकी थिइन् । 

पत्रकार नेगीलाई थाहा पत्रकारिता पुरस्कार

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका युवाहरुको समूह फरक सोच अभियानले हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता तर्फको पुरस्कार यस वर्ष थाहा नगरमा बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार कुमार नेगीलाई प्रदान गरिएको छ । 

स्व. रुपचन्द्र विष्टको ८४ औं जन्म जयन्तीको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच पत्रकार नेगीलाई नगद १० हजार रुपैयासहित उक्त पुरस्कार प्रदान गरिएको हो । अघिल्ला वर्षहरुमा तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मानको रुपमा संचार क्षेत्रमा क्रियाशील मकवानपुरे पत्रकारलाई सम्मान–पत्र प्रदान गर्दै आएकोमा यस वर्षदेखि थाहा पत्रकारिता पुरस्कारको रुपमा उक्त सम्मान प्रदान गरिएको फरक सोचका प्रमुख यादवजंग रायमाझीले बताए । 

थाहानगरमै बसेर पत्रकारिता गरी पुरस्कार पाउनेमा  नेगी पहिलो हुन् । उनी हाल थाहानगरबाट प्रकाशित हुने शान्तिपुर दैनिकका प्रकाशक एवम् सम्पादक हुन् । दक्षिण एसियाकै पहिलो अडियो टावरदेखि रेडियोसम्म र भित्तेपत्रिकादेखि राष्ट्रिय दैनिकसम्म विभिन्न पदमा रही काम गरेको भन्दै नेगीलाई थाहा पत्रकारिता पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक जयन्ती रायमाझीले बताइन् । 

२२ वर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशील नेगी विगत १५ वर्षदेखि राजधानी दैनिकको मकवानपुर सम्वाददातासमेत रहेका छन् । उनी तामाङ समुदायबाट नेपालको सामुदायिक रेडियोका पहिलो स्टेशन म्यानेजर हुन् भने मकवानपुरको दैनिक पत्रिकाको समेत पहिलो तामाङ सम्पादक हुन् । सामुदायिक संचार केन्द्रले संचालन गरेको दक्षिण एसियाकै पहिलो अडियो टावरमा उनी २०५५ सालमा कार्यक्रम संयोजक थिए । उनी उत्तरी मकवानपुरबाट प्रकाशित हुने क श्रेणीको विकास खबरपत्रिका साप्ताहिकको सम्पादक र विकासखबर डट कमको प्रधान सम्पादकसमेत रहेका छन् । 

थाहानगरको विकास घरमा आयोजित एक समारोहबीच नेगीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम संयोजक जयन्ती रायमाझीको अध्यक्षतामा भयको कार्यक्रममा प्रमुख अतिथि मकवानपुर–२ का प्रतिनिधि सभा साँसद विरोध खतिवडाले नगद, सम्मान–पत्र र दोसल्लासहित नेगीलाई पुरस्कार प्रदान गरेका थिए । 

सिंहलाई सम्मान, विष्ट र गोपाली अभिनन्दन

नेगीसँगै लामो समयदेखि निजी श्रोत शिक्षकको रुपमा कार्यरत नरेन्द्र सिंहलाई सम्मान गरिएको थियो ।

त्यस्तै संघीय नेपालको पहिलो जननिर्वाचित थाहा नगरका प्रमुख लवशेर विष्ट र उपप्रमुख खड्ग गोपालीलाई नागरिक अभिनन्दन गरिएको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)