Friday, 24th September, 2021
वि.स.
.-1624118193.jpg

संरक्षणको पर्खाइमा मकवानपुर चिसापानीगढीका तोपहरू

top_20210725022606-1627182664.jpg

नेपाल एकीकरणका साक्षी मकवानपुर चिसापानी गढीका ऐतिहासिक तोपहरूसँगै बहुमूल्य सामानहरू संरक्षणको पर्खाइमा छन्। कालभैरव र बटुक भैरवको मन्दिरलाई घेरेर राखेको लामो मार क्षमता रहेको सातवटा तोप संरक्षणको अभावमा बेवारिसे अवस्थामा रहेको हो। 

हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापनीस्थित गढीका ती ऐतिहासिक सामग्रीहरू एक्लो पुजारीको जिम्मामा रहेको छ। सुरक्षा अभावमा २०६८ सालमा यहाँ रहेको बहुमूल्य पञ्चरत्न, मुकुटमाला र नाग मुकुट चोरी भए पनि सरकारले यसको संरक्षणमा हालसम्म चासो दिएको छैन। 

राजा पृथ्वीनारायण शाहले अंग्रेज फौजलाई हराएपछि भाकल पूरा गर्न यहाँ बटुक भैरव र काल भैरव मन्दिर स्थापना गरेको इतिहास छ। ‘गढीमा रहेको आकासे तोप पृथ्वीनारायण शाहले अंग्रेज फौजलाई हराउँदा प्रयोग गरेको इतिहास छ’, भीमफेदी ६ नम्बर वडा अध्यक्ष सीताराम थापाले भने, ‘काल भैरवलाई पृथ्वीनारायण शाहले आकासे तोपभित्र बन्द गरेर राख्नुभएको कथन छ, भित्र के छ अहिलेसम्म कसैले खोलेर हेरेका छैनन्।’ 

यहाँ रहेको बटुक भैरवको नाममा सेनाको बटुक दल कम्पनी १८४२ साल आषाढ ३० गते स्थापना भएको थियो। नेपाली सेनाको बटुक दल माओवादी सशस्त्र द्वन्द्वको समयमा हटाइएको थियो। त्यसयता चिसापानी गढीमा बिहान बेलुका पुजारीले धुपबत्ती गर्ने बाहेक अन्य सुरक्षा छैन। 

गढीको दक्षिणतर्फ फर्काएर राखिएको काली तोपले ६१ किलोमिटर परसम्म प्रहार गर्न सक्ने मन्दिरका पुजारी मानबहादुर पौडेलले बताए। ‘यसको लम्बाइ १५ फिट ९ इन्च रहेको छ, भने तोपमा प्रयोग गरिने गोलाहरूमा श्री ३ जंगबहादुर लेखिएका छन्’, उनले भने, ‘पूर्वतर्फ रहेको पहिलो तोपले बागमती खोलासम्म प्रहार गर्न सक्छ। दोस्रो तोपले भीमफेदीको सुपिङसम्म, पश्चिमतर्फ राखिएको तोपले पोखरासम्म, दक्षिणतर्फ राखिएको तोपले हेटौंडाको रातोमाटेसम्म प्रहार गर्न सक्ने बताइएको छ।’ 

सात वटा तोपकोबीचमा घेरिएर रहेको चिसापानी गढीस्थित बटुक भैरव र काल भैरवको मूर्ति महिलाले हेर्न नहुने धार्मिक मान्यता छ। पुजारी पौडेलले भने, ‘गढीभित्र रहेको बटुक भैरवको मूर्ति महिलाले हेरेमा अनिष्ट हुने जनविश्वास छ, त्यसैले महिला मन्दिरभित्र प्रवेश गर्दैनन्।’ 

गढी संरक्षणका लागि सुरक्षा टोली खटाउन स्थानीय प्रशासन र प्रहरीमा पहल गरेपनि कसैले चासो नदिएको चिसापानी गढी संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष थापाको गुनासो छ। ‘मन्दिरमा धुपबत्ति गर्न गाउँपालिकाले पैसा दिन्छ, राज्यको अरु कुनै सहयोग छैन’, उनले भने, ‘इतिहास बोकेको गढी र यसका महत्वपूर्ण सामानहरूबारे राज्यले चासो नदिँदा हराउँदै जाने सम्भावना बढी छ।’

गढी संरक्षणको पहलले सार्थकता पाउन लागेको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताए। ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गाउँपालिकासँगको सहलगानीमा यसको संरक्षण र पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ’, उनले भने, ‘ठेक्का प्रक्रिया पनि अघि बढिसकेको छ, हामी यसको संरक्षण गर्दै धार्मिक पर्यटकीय गन्तव्य निर्माणको अभियानमा छौं।’

संरक्षणको अभावमा चिसापानी गढीको १८ हेक्टर जमिनमध्ये गढीले ओगटेको १३ रोपनी बाहेक अन्य सबै जमिन स्थानीयले अतिक्रमण गरेका छन्।

चिसापानी गढी २०१८ सालसम्म प्रशासनिक बडाहाकिमको अड्डा रहेको थियो। नेपालमा भएका करिव २ सय  गढीहरूमध्ये सामरिक महत्वको सेनवंशिय गढीहरू मकवानपुर गढी, सिन्धुली गढी, हरिहर गढी, जित गढी, काठे गढी र चौदण्डी लगायतका गढीमध्ये चिसापानी गढी मुख्य गढी मानिन्छ। अन्नपूर्णपाेष्टबाट



jhamka-1624645162.jpg
ict-nepal-1625344508.gif
corona_ad-1626692113.gif
thah-COO-1587359073.png
balsram-1625416970.jpg
IMG_20210817_182710-1629204149.jpg
239373963_289010124458427-1629544843.jpg


thaha-ad1-1629699206.jpg

thaha-ad2-1629699300.jpg
thaha-ad3-1629699344.jpg
thaha-ad4-1629699560.jpg
thaha-ad5-1629699604.jpg