nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

चित्लाङमा पृथ्वीनारायण शाहको शालिक अनावरण

MG_7953-1506309498.jpg

आधुनिक नेपालका निर्माता राजा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक चित्लाङमा स्थापना गरिएको छ । ८ असोजमा नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच उक्त शालिकको अनावरण गरिन् । चित्लाङस्थित थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिका(थानकोट)को सीमानास्थित चन्द्रागिरी भालेश्वर डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडले पृथ्वीनारायण शाहको शालिक निर्माण गरेको हो । शालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले  नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै उनको शालिक निर्माणले इतिहासको जगेर्ना भएको उल्लेख गरिन् । उनले इतिहासमा काठमाण्डौं–मकवानपुर हुँदै तराई ओहोरदोहोर गर्ने बाटोको बीचमा पृथ्वीनारायण शाहको शालिक बन्नु पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण उपलब्धी भएको बताइन् ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायाण देवले चन्द्रागिरि हिल्सले केवलकारको निर्माण मात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याएको भन्दै प्रशंसा गरेका थिए । उनले सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी गराएका थिए ।

५ फिट ८ इन्च उचाईको शालिक मुर्तीकार नविन सुवेदीले गरेका हुन् । पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित चन्द्रागिरिमा शाहको शालिक राखेर नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।   नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाह मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरिको बाटो हुदै गरेको बताइन्छ । सोही क्रममा काठमाडौंं उपत्यकाको सुन्दरताका साथै असोज महिनामा उपत्यकामा फलेको लहलह धानदेखि लोभिएर बडो खेतीयोग्य जमिन रहेछ भनी आफ्नो राज्य विस्तारको क्रम उपत्यकामा पु¥याएको इतिहास छ ।

शालिक अनावरण कार्यक्रममा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मन्तव्य राखेका थिए । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, राप्रपाका अध्यक्ष कमल थापा, मकवानपुर–२ का साँसद सुभाषचन्द्र ठकुरी लगायतका नेताहरु कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै साँसद सुभाषचन्द्र ठकुरीले चन्द्रागिरी हिल्स लिमिटेडले स्थानीय जनतालाई लगानी गर्ने अवसर दिनुपर्ने धारणा राखे । उनले भालेश्वर क्षेत्रमा विकासको नाममा वन  विनास र प्रदुषण भएको भन्दै कम्पनीले आफ्नो आम्दानीबाट स्थानीय क्षेत्रको बाटो, कृषि, शिक्षा आदिमा लगानी गर्नुपर्ने बताए  ।

चन्द्रागिरी हिल्स लिमिटेडले प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएरलगायतका अन्य साहसिक पर्यटनका योजनाहरुको तयारी  गरिरहेको छ । उसले पशुपतिनाथको मन्दिर बनाइसकेको छ भने स्वयम्भु निर्माण गर्ने तयारी गरेको छ । एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना अनुसार काम भइरहेको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)