Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

युनिलिभर खोल्ने सहमति

विगत केही दिनदेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनी नेपाल युनिलिभर सञ्चालनमा आउने भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको पहलमा  मंगलबार उद्योग व्यवस्थापन, मजदुर ट्रेड युनियनका प्रतिनिधि, मजदुरहरुका बीच भएको छलफलबाट उद्योग खोल्ने सहमति भएको हो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलमा युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले उद्योग सञ्चालन भएको ४५ दिन भित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो । 
उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिन सम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानी आगामी दिनमा कार्वाही नगर्ने, २९ मई २०१६ मा भएको सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने, प्रत्येक मजदुरलाई रुदुई लाख रुपैयाका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्ने जस्ता मागहरु सम्बोधन गर्ने लिखित सहमति गरेको छ । छलफलमा  मउवासंघका अध्यक्ष न्यौपानेले मंगलबार भएको सहमति कुनैपनि पक्षले वेवास्ता गरे उद्योग वाणिज्य संघ त्यसको विरुद्धमा जाने चेतावनी समेत दिएका थिए । 
उद्योग व्यवस्थापन र मजदुरहरुलाई संघको सामुन्ने लिखित सहमति गराएर मंगलबार नै श्रम विभागमा सो सहमति प्रमाणित गराउन हस्ताक्षरित पत्र पठाईएको छ । छलफलमा उद्योग संघका अध्यक्ष नवराज अर्याल, मउवासंघका महासचिव महेन्द्र राउत, मजदुरका तर्फबाट जयराम धिताल, रविबाबु मल्ल, लालकृष्ण प्याकुरेल, राम सापकोटा, चन्द्रप्रसाद सापकोटा, उद्धवप्रसाद पहाडी, चितबहादुर विश्वकर्मालगायतको सहभागिता रहेको थियो । केही दिनदेखि उद्योग बन्द हुँदा करीब ६० करोड रुपैया नोक्सान भएको उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले बताए ।