nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ रोजगार संयोजक छनोट हुने प्रक्रिया र गर्नुपर्ने काम

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार संयोजक नियुक्त गर्न आवेदन खुलाएको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी नियुक्त गर्न शुक्रबारदेखि आवेदन माग गरिएको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृत रोजगार संयोजक नियुक्तिका लागि दरबन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ अनुसार मन्त्रालयले विज्ञापन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालले जानकारी दिनुभयो । 

मन्त्रालयले १० हजारभन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी (नासु सरह)को र १० हजारभन्दा बढी जनसंख्या भएका बाँकी स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी श्रृजना गरेको छ । 

स्वीकृत दरबन्दीमा शुक्रबारदेखि अनलाईन फारम भर्ने व्यवस्थासहितको कम्युटर प्रणालीको विकास गरिएको छ । इच्छुक उम्मेदवार आफैँले अनलाइन फारम भर्न सक्नेछन् । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ । 

रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतबापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ वर्षभन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइने छ । 

पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा तीनजनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइने छ । 

कम्युटर ज्ञानको नतिजा पनि सफ्टवेयर मार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागुनभित्र सबै प्रक्रिया पूरा गरी रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्र १ गतेबाट बेरोजगारहरुको सूचीकृत गर्ने काम सुरु हुने बताएको छ । रोजगार संयोजकको फारम  http://www.pmep.gov.np/applications मा अनलाइनबाटै पनि भर्न सकिने छ । 

रोजगार संयोजकको काम 

रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने, स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी त्यसको सूचना दिने, स्थानीय तहभित्रको रोजगारीको सम्भावित स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने, रोजगारदाताका लागि श्रमिकका बारेमा जानकारी गराउने, रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने काम गर्नेछन् । 

यस्तै बेरोजगारहरुको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने,  आफ्नो कामका बारेमा  नियमित रुपमा सम्बन्धित गाउँ कार्यपालिका तथा नगर कार्यपालिकालाई जानकारी गराउने, ऐन तथा नियमावली बमोजिम आफूले गरेका कामका बारेमा  मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा मासिक रुपमा प्रतिवेदन पठाउने काम रोजगार संयोजकले गर्नुपर्ने छ । 

योसँगै आफ्नो कार्यक्षेत्रभित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना दिने, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दिने सेवा र आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पु¥याउने, वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई दिने भत्ता वितरण गर्ने काम गर्नु पर्नेछ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)