nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

म्लाङ प्वाँहारको २१औं च्यारिटी हेटौंडामा 

‘खेलाडीसे किकसे ठिकलाला म्लाङ प्वाँहारला पिकसे ठिक लाला ।’ जब खलनायक म्लाङ प्वाँहारले यो डाईलग बोल्छन् तब दर्शकहरुमा हाँसोको फोहोरा छुट्छ अनि पर्र ताली पड्कन्छ । कहिले हाँसोको फोहोरा अनि कहिले कारुणिक पिडामा छट्पटाउँछन् दर्शकहरु । यो दृश्य हो ओम  चलचित्र हलमा तामाङ कथानक चलचित्र  ‘म्लाङ प्वाँहार’ को च्यारिटी शोको ।
ग्रेटर ताम्सालिङ मिडिया प्रा.लि.द्धारा संचालित रेडियो ताम्सालिङ अनलाईनको आयोजनामा आज शनिबार हेटौंडाको ओम हलमा कलाकारहरु सहितको उपस्थितिमा  तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को बिशेष प्रदर्शन गरिएकोे हो । 
करिब ५ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको शोमा चलचित्रका निर्माता  एवं  खलनायक बिकु थोकर, नायिका सुनिता लुङ्बाका साथमा संचारकर्मी लगायत अन्य तामाङ  बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
तामाङ चलचित्रलाई गाउँगाउँमा पुराउने अभियान सुरुवात गरेका निर्माता थोकरको यो २१ औँ च्यारिटी शो हो । यस अघि पनि यो चलचित्रलाई देशका विभिन्न स्थानहरु र गाउँ–गाउँमा प्रदर्शन गरिसकिएको छ । चलचित्र नेफ्टा अवार्डमा उत्कृष्ट ५ जनाजाति चलचित्रको सूचिमा समेत पर्न सफल भएको थियो ।

सामाजिक कथावस्तुमा तयार भएको चलचित्रले गाउँमा राम्रो नेतृत्वकर्ता छान्न नसक्दा कस्तो नियति भोग्नुपर्छ भन्ने कुरालाई उठान गरेको छ । तामाङ भाषामा बनेता पनि चलचित्रले सम्पूर्ण नेपाली समाजको कथा बोकेको छ । गाउँको स्थानिय चुनावमा अध्यक्ष चयनको विषयलाई उठान गरेर नेपाली राजनितिको तिखो ब्यङ्ग्य गरिएको छ चलचित्रमा । यो चलचित्रमा राजनितिक विषय केन्द्रबिन्दुमा रहेता पनि उत्कृष्ट गीतसंगितका साथमा चलचित्रलाई आवश्यक पर्ने मसलाहरुले भरिएको छ चलचित्र । चलचित्रलाई शंकर महर्जनले निर्देशन गरेका हुन् ।
थोकर फिल्म्स् प्रा.लि.को पहिलो चलचित्र म्लाङ प्वाँहारमा  चलचित्रका निर्माता थोकर, सुनिता लुङ्बा, जंगे लोप्चन, सफल दोङ, सुनिता दोङ लगायतको कलाकारहरुको मूख्य भूमिका रहेको छ । चलचित्रमा बिशाल कल्तान र बिशाल थिङको संगित संयोजन रहेको छ ।
चलचित्रको प्रदर्शनबाट प्राप्त रकम रेडियो ताम्सालिङ अनलाईनको विकास कार्यका लािग हस्तान्तरण गरिएको निर्माता थोकरले जानकारी दिए । रेडियो ताम्सालिङ अनलाईनको पहिलो प्रयासलाई सबैले सहयोग गरेको जानकारी दिँदै रेडियोका संचालक दिलबहादुर लामा तामाङले आगामी दिनमा पनि यस्तै  सहयोगको अपेक्षा गरेको बताए ।
चलचित्रको च्यारिटी शोको सुरुवातमा चलचित्रका कलाकारहरु बिकु थोकर, सुनिता लुङ्बा, राधिका स्याङ्ता, संचारकर्मी सुदिन दोङ र अमिर योञ्जनलाई तामाङ चलचित्र संघका अध्यक्ष सन्तकुमार दोङ तथा सचिव राजकुमार गोलेद्धारा खादा ओढाएर सम्मान गरिएको थियो ।

-चन्द्र घलान , हेटौंडा



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)